उनीहरू भन्थे –
ईश्वरले बनायो जात
ईश्वर त बोल्दैन
लेख्दैन
गाली गर्दैन
ऊ मौन थियो –
जब हातहरूले
“शुद्ध”को छाला चिर्दै
को-को छुत- को अछुत
उनीहरूले आफूखुसी लेखे

शिव ध्यानमा थिए
ब्रह्मा कल्पनामा
विष्णु निद्रामा
त्यही बीच,
एक पण्डितले बनायो जात
एक शासकले दियो स्वीकृति
परम्परा लादेर बनाइए नियमहरू

ऋग्वेदका मन्त्रहरू
जातको गन्धमा भिज्न थाले
कविता होइन, आदेश बनाइयो
कसले पढ्न पाउने?
कसले मात्र सुन्न?
कसलाई छुन हुने,
कसले छोए नरक-वास

कसैले प्रश्न गरेनन् –
किन ब्रह्माले चार वर्ण बनाए?
किन कोही टाकुरा चहार्ने
कोही सधैं भूमिमा थिचिने?

के रगतले जात छुट्ट्याउँछ?
कि ढोंगले?
कि संकोचले?
तिमीहरू भन्छौ –
संसार त नियमले चल्छ,
“हामीले परम्परा छाड्न हुन्न”

धर्म त उसैले बनायो
जो डराउँथ्यो परिवर्तनसँग
जात जन्मिएन
जात निर्माण भयो –
सत्ता र भयको यन्त्रालयमा

मन्दिर बनायौ –
तिमी जसको
पूजा गर्छौ –
त्यो देवता,
उसको हातले बनाएको
माटोको मूर्ति हो

उसले बनाइदिएको
भगवानको नीलो मूर्ति-
अघि घुँडा टेकेर
तिमी धूप बाल्छौ
अर्घ चढाउँछौ
नतमस्त उभिन्छौ
हात जोड्छौ

तर तिमीहरूका –
देवताको आँखामा
उसको छायाँ बिझिहरयो
घण्ट बनाउने उसका हातलाई
प्रसाद चाख्न प्रतिबन्ध गरियो

ऊ गलत जन्मिएको हो
ऊ पसिना भएर बाँच्छ
उसको नाम गलत
जात गलत
रगत गलत
छायाँ अपवित्र

आफूले बनाएको मूर्ति
सजिएको मन्दिरको
ढोकामा परम्पराले
लेखिदिएको छ –
“अछूतलाई प्रवेश निषेध।”

मलाई थाहा छ –
तिमी हलो समाउन्नौ
खेत जोत्नेलाई ‘हली’ भन्छौ
उसले फलाएको अन्न चाहिन्छ
उसको अन्न फलाउने हातले
बार्दली नाँघेर कहिल्यै
तिमीहरूको भान्सा नटेकून्

कति सस्तो छ तिमीहरूको भय?
के ऊसले पानी छोयो भने
तिमीहरूको ईश्वर मर्छ?
के उसको छायाँ परेको खाना खाए
तिमीहरूको नरकवास हुन्छ?

मैले आर्यघाटमा
देखेको छु- दुई शव
एउटा चढेको बाँसमा
अर्को- ट्रकको छायाँमा

एउटा –
“पण्डितको बाउ,”
अर्को –
“चर्पी सफा गर्नेको आत्मा”
दुवैका आमा रोएकै थिइन्
एकै रङको रुवाईमा

दुवै जले – एउटै माटोमा
एउटै घाट – “दुई जात”
राग एउटै, धूवाँ एउटै
मर्म एउटै, शोक एउटै

मैले प्रश्न गरेँ –
“कसले बनायो जात?”
“हे मानव!
“किन अझै किन बाँधिन्छौ
भित्रभित्रै चिटिक्क,
धर्मको रेसा बुनेर? ”
मैले गरेका प्रश्न
“पवित्रता भन्दा भयानक
धर्म तोड्ने” ठहराइयो।

मैले सोधेँ
तर मेरो प्रश्न
“धर्म तोड्ने” ठहरियो
किनकि –
जात भनेको धर्मको ज्वरो हो
न निको हुन्छ
न आफैं सकिन्छ

अब
लेख्नु छ नयाँ वेद,
नयाँ पुराण –
जहाँ शिवले डमरु दलितसँग बजाउँछन्,
सरस्वतीले सबैका स्वर गान्छिन्
जहाँ जात छैन –
छ केवल आत्माको उज्यालो र छायाँ ।