सप्तरङ्गी छन्दमालाको ५६ औं श्रृङ्खलामा कोशी प्रदेशका छन्द कविहरूका छन्दोबद्ध कविताहरूलाई समेटिएको छ।
सम्पादक: यम रेग्मी
संयोजक: माधव पोखरेल “गोज्याङ्ग्रे”
गणतन्त्र
हरिप्रसाद रिमाल
छन्द:वियोगिनी

हरिप्रसाद रिमाल
जनता जहिले भयौँ लिटो
जननेता नहुँदा सुधो पिठो
पनि खान दुरूह छन् सुके
श्रम गर्ने गणतन्त्रमा लुके।
१
सब खेत बनेर बन्जर
परको आश्रयमा यहाँ नर
गणतन्त्र कता बरालियो
श्रमको मूल्य सबै बतासियो।
२
अहिले गणतन्त्र मौन छ
धन कालो थपियोस् विचार छ
कुविचार कहाँ फराकिलो
हुन सक्थ्यो बनियो गुदा पिलो।
३
बलहीन यहाँ लछारिए
खलको राज्य भयो निसासिए
सब इज्जत मास्न थालियो
जनताको गणतन्त्र देखियो।
४
पदमा नहुँदा मिठा कुरा
पद पाए पछि बन्दछन् कडा
बल-बुद्धिविना कठोर झन्
जनताको खुन चुस्न व्यस्त छन्।
५
गतिलो गणतन्त्र नामले
सब उद्योग सके कुपात्रले
ठग हुन् सजिलै चिन्यौँ यहाँ
कृषि प्राधान्य धरा लग्यौ कहाँ।
६
इतिहास बचेर के भयो ?
गरिमा बाँच्न दियौन खेद यो
जनता अहिले धरापमा
जहिले छौ रसराग माझमा।
७
प्रश्नोत्तर
मुक्ति पोखरेल
छन्द: वसन्ततिलका

मुक्तिनाथ पोखरेल
को पार्छ यो अवनिमा दिनरात साँझ
पार्छन् तिनै रवि सदा दिनरात आज
को भर्छ जीव सबभित्र बसेर श्वास
हो खेल यो प्रकृतिको उही भर्छ सास ।
१
को पार्न सक्छ मन यो दगुरेर डुल्ने
जो बन्छ अस्थिर त्यहीँ छ मनै हुँडल्ने
को गर्छ त्यो विषयमा दिनरात भुल्ने
कामान्ध गर्छ विषयादि सबै चहार्ने ।
२
ज्ञानी भनेर नरमा कसरी चिनिन्छ
जो गर्न सक्छ वश इन्द्रिय मान्नुपर्छ
हो धर्म उत्तम भनेर छ शास्त्रमा के
आफ्नो सनातन छ धर्म परम्परा जे ।
३
को हुन् ठुला भुवनमा भन देवता ती
मातापिता गुरु यिनै बुझ देवता यी
कल्ले बढाउँछ निरन्तर लोभ भारी
जन्जालले नित डुबाउँछ मोह पारी ।
४
के कुद्छ तीब्र गतिले नअडेर धेर
दौडन्छ त्यो मन कतै नगरेर देर
को छन् निरञ्जन निरन्तर तत्त्व जान्ने
ब्रह्मज्ञ हुन् यति कुरा सहजै बखान्ने ।५
खुसी भर्न उत्साहको रङ्ग लाऔँ
कविराज घिमिरे
छन्द: भुजङ्गप्रयात

कविराज घिमिरे
छ पाको खुसी पर्व देखेर दङ्ग
युवा प्रौढ बाला गए किन्न रङ्ग
सबै हर्ष मानेर होली जगाऔँ
खुसी भर्न उत्साहको रङ्ग लाऔँ ।
१
छपक्कै भिजेको छ कुर्ता र धोती
मजामा कुदेका लिँदै रङ्ग बोकी
जबर्जस्त हान्दै कसैमा नजाऔँ
खुसी भर्न उत्साहको रङ्ग लाऔँ।
२
लखेट्तै समाती घिसारी पछारी
उता वस्त्र केही धकेल्दै उतारी
कुनै गोप्य छन् अङ्ग जानी नलाऔँ
खुसी भर्न उत्साहको रङ्ग लाऔँ।
३
कतै नील रङ्गीन रातो पहेँलो
छ कालो कतै हातमा गर्न रेलो
सही शुद्ध होली सबैले मनाऔँ
खुसी भर्न उत्साहको रङ्ग लाऔँ।
४
यता हेर्न थाल्यो खुलेरै वसन्त
गुराँसे छ पाखो वधूझैँ सशक्त
मनाएर होली लु आजै रमाऔँ
खुसी भर्न उत्साहको रङ्ग लाऔँ।
५
नखाऔँ कसैले रुखो भाङ गाँजा
बनोस् यो सबैको ठुलो चाड साझा
जितोस् सत्यले प्रेम सद्भाव पाऔँ
खुसी भर्न उत्साहको रङ्ग लाऔँ।
६
मानव, मानव बन्न सके
रोहिणी रसिक
छन्द: मदिरा

रोहिणी रसिक
जीवन अस्थिर घुम्छ सबैतिर चित्त अकारण फस्छ कतै
फूल मनोहर कान्ति प्रदायक लिन्छ सुवास बस्छ उतै
गीत सुनाउँछ लठ्ठ बनाउँछ ह्रास रचाउँछ जान्छ भुली
अग्लिन जान हिमालयझैं नझुकी जहिलै ढकमक्क फुली।
१
देश बनाउन प्रेम बढाउन भाव बुझाउन लाग्न सके
फेर्न परिस्थिति तोड्न यथास्थिति झट्ट सकिन्छ नि जाग्न सके
घर्षण कारण बन्छ सदैव र बर्षिन थाल्दछ मेघमणि
लाग नसा रज वीर्य विकारित पित्त निचोर्न छिटो धमनी।
२
कान्ति बढाउन भोलि उदाउन दिव्य अकाश सँगै क्षमता
पर्दछ बन्नु समाशृत प्राज्ञिक संगतमा अनि बढ्छ प्रभा
रोज गरे मिहिनेत हुइन्छ प्रशिद्ध भनी बुझ्न सके सबले
फेर्न सकिन्छ हरेक कुरा जब मिल्न सकिन्छ बुझेर लढे।
३
हेर समाज बिभक्त छ आज मिलाउनुपर्छ भनेर बुझी
जाग छिटो युग पार्न सफा कसियार बढार्न लिएर कुची
श्वेद फुलाउन कर्म फलाउन जाँगर जोत मिलेर यहाँ
छौँ सँगमै उठ जाग छिटो अब नूतन फक्रनुपर्छ मुना।
४
स्पन्दन ताल बजाउछ नाच सँगै अनि स्पन्दन छाम्न सिक
देश लिएर सँगै पहिचानहरू स्थिति फेर्नुछ आँट झिक
मानवका मतभेदहरू युग हाँस्दछ बन्द गरौं जिरह
मन्द सुवासित हौं र भनौँ सब मानिस मानिस एक अब।
५
दिव्य शोभा हरायो
देवीप्रसाद मिश्र
छन्द : चित्रलेखा

देवीप्रसाद मिश्र
खोजेको हो असल मुलुकले अग्रगामी विकास
नेता लाग्दा अपहित पथमा छैन सङ्लो, निकास
पार्टी खायो गुट उपगुटले शान्ति टाढा भगायो
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।
१
हेमन्तीका विधिवश गुँडमा पस्न थाल्दै छ बाड
पक्का खाँबो ढलपल छ सदा, छैन राम्रो अबाड
पाखा भित्ता डगमग भवका देखिए त्रास आयो
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।
२
चारो खोज्दै पर पर अहिले जान्छ डाँफे उडेर
एक्लै बस्छन् मुजुर विरहमा बास आफ्नो रुँगेर
च्याँ च्याँ गर्दै चिरबिर बचरा तड्पिँदा चित्त खायो
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।
३
एक्लो सानो हरिण परिधिका कन्दराभित्र नाच्दै
हिँड्थ्यो केही मनमगज जिती साथमा प्रेम गाँस्दै
जत्था जाेडी ,छलसित बलियो ,बाघ आई समायो
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।
४
डाँफे नाच्ने कुमुदित वनमा फुल्न छाडे चमेली
बाजा बज्छन् अपनयन रुखा न्यायको खै त ठेली ?
यस्तो देख्दा वरपर जहिले तड्पने झन् खरायो
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।
४
जाती आमा
प्रल्लाद भट्टराई पहरेदार
छन्द: विद्युन्माला

प्रह्लाद भट्टराई पहरेदार
मीठा बाँड्दै लाने आमा
माम्री खुर्की खाने आमा
छिट्टै फुर्की-जाने आमा
साँच्चै मैले माने आमा ।
१
कैले प्यासै कैले भोकै
के के भोगिन् के भन्ने खै
जैलेतैले कामैकाम
सुम्लैसुम्ला डामैडाम।
२
सेताम्मे भै बेंसी झर्थिन्
रक्ताम्मे भै खोलो तर्थिन्
खुट्टा छाम्दा कीलैकील
थाप्लो हेर्दा खीलैखील
३
डोको भर्थिन् खाँदी खाँदी
औंलो काटे टालो बाँधी
अँध्यारामा छाम्ने गर्थिन्
बत्ती बाल्दै डाम्ने गर्थिन्
४
मेरी आमा औधी जाती
धर्ती जत्रो ठूलो छाती
चोला सारी हुन्थे काती
कैलेकाहीँ धुन्थिन् राती ।
५
चारै बज्दा उठ्ने बानी
पिठ्यूँ छाती दोटा नानी
आमा हुन्थिन् पानी पानी
सुत्ने हामी भाग्यमानी ।
६
कोसौंदेखिन् राती धाई
थुप्रै मान्छे ग्वार्रे आई
सुत्ने भन्थे खाना खाई
लन्ठा बढ्थ्यो आमालाई ।
७
बालक
माधव पोखरेल “गोज्याङ्ग्रे”
छन्द: शार्दूलविक्रीडित

माधव पोखरेल गोज्याङ्ग्रे
खाली भो जब पेट बालकहरू रोएर आमासँग
खाना माग्छद आँसुसँगै धरधरी रोएर आमासँग
भोको पेट सहन्न बालकहरू खाना छ आमासँग
चुस्दै दूध बसेर काख सहजै रम्दैछ आमासँग ।
१
मायाको ममता त औषध भयो दिन्छिन् सधैँ प्रेमले
काखे बालक भुल्छ भोक सहजै आमासँगै हर्षले
खेल्दै काख बसेर हर्षित हुँदै भुल्नेछ आमासँग
चुस्दै दूध बसेर काख सहजै रम्दैछ आमासँग ।
२
मेरो बाबु भनेर स्नेहसितले भुल्याउँदै साथमा
केही माग भए पुरा गरिदिने आमा सधैँ माथमा
बोली छैन बुझेर भाव उसको माया छ आमासँग
चुस्दै दूध बसेर काख सहजै रम्दैछ आमासँग ।
३
नानी बाबु भनेर स्नेहसितले बोल्ने कलाले पनि
आमा पात्र सधै बसेर शिरमा शिक्षा दिनेछिन् अनि
आफ्नो माग पुरा हुने लहडमा झ्यामिन्छ आमासँग
चुस्दै दूध बसेर काख सहजै रम्दैछ आमासँग ।
४
ज्ञानी स्वच्छ सफा छ भित्र मनको बच्चा सधैँ कञ्चन
गर्दै नाटक दाजु भाइसँग ऊ जिस्केर के भन्दछन्
दङ्ग्याई घरमा अनेक थरिका खाना छ आमासँग
चुस्दै दूध बसेर काख सहजै रम्दैछ आमासँग ।
५
रचनाको लागि: yamregmi1543@gmail.com



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










