मूल असमिया पर्या कविता: बिरेन गगै
अनुवादक: डा. देवेन सापकोटा

बिरेन गगै

कहाँ के भइरहेको छ
सबैले देखिरहेका छन्
सबैले सुनिरहेका छन्
एकातिरबाट मक्काउँदैछन्
फराकिलो तगाराका घर-बारी
आँगन र भकारीहरू

खेत-मनोहर रोपाहार छैनन्
हरूवा हराए, रित्तो गोठ

जङ्गलमा आगो लाग्दा
सबै सँगै थियौँ
कसैले कसैलाई छोडेका थिएनौँ
वैशाख-वसन्तमा फेरि फर्केर
सँगै बनाएका थियौँ घर

अहिले भए ऋतुविहीन जङ्गल-भूमि
हाँगा-पातमा नाच्दै-गाउँदै आउँदैन बतास
हरियाली हराएर हाहाकार वन
नदी-पानी नपाएर मृत्युसँग लडिरहेछन् माछा

यतिबेला कसैको घर छैन
घरेलु फूलको मात्र क्षणिक सुवास
ऋतुबाहेक कतै सुन्न पाइँदैन
महिना एउटाको बोली

आँखाको झिम्क्याइमै मानौँ हरायो
आमैको औँलाको पाटीगणित

स्मृतिले पनि गुमायो मेसो
कति दिनसम्म रहलान्
भूगोल र इतिहासका पृष्ठहरू

अन्तरको बन्जरबारीको हावामा
उडिरहेको छ
एउटा अलच्छिनी दिउँसो
सूर्यले बिदा लिँदा
पृथ्वीको छातीमा बिस्तारै ओर्लिन्छ
एक तर्साउने साँझ ।


मूल असमिया पर्या कविता: बिरेन गगै
अनुवादक: डा. देवेन सापकोटा
(पारिपार्श्विक कविता, सम्पादन: प्रकल्प रञ्जन भागवती, पृष्ठ: Pg, 68-69)