मन भारी भएपछि
बिसाउने दौंतरीको चौतारी खोज्दै
आइपुगेछु तिम्रो ओठको आँगनीमा
प्यास मेटाउन
तिम्रो एक मुस्कानमा

सानु,
आखाँहरू अल्झिएपछि
मन चञ्चल बनेपछि
थाहा छैन – मैले के गर्नु पर्छ?

तिम्रा भावनाका भुमरीमा
परेको मेरो मन
सामना गर्दैछ
छालहरूका चाललाई

प्यारी,
_ मौनताको महासागरले मान्छेलाई किन मलिन बनाउँछ?
_ भाषा भन्दा भावनाको उत्तर बढी किन खोज्छ मान्छे?

थाहा यत्ति मात्र छ कि
सृष्टिको आशाभन्दा
मलिनताको महासागर ठूलो हुन सक्दैन

अब मनमा गुराँश फुलेपछि
एक्कै छिन मुस्कुराउन मिल्दैन?