एक समयमा राइम (तुक) कविताको आत्मा थियो, अहिले यो लोप हुँदैछ ।

दार्शनिक जेरेमी बेन्थम कविता उति मन पराउँदैनथे । उनका लागि कविता भनेको “पंक्तिको अन्त्यमा पुग्न असफल” लेखन मात्र थियो। कवि डब्ल्यू.एच. ओडेनका लागि कविताले “केही पनि घटाउँदैन”। बरू लेखक आर्नोल्ड बेनेट कविताको पक्षमा थिए र उनी भन्थे, कविता अत्यन्तै शक्तिशाली विचार हो । उनले भनेका थिए, “कविता”का शब्दले आगोको पाइपभन्दा पनि चाँडो भीडलाई तितर-बितर पार्न सक्छ।

यी सबै कविताका परिभाषाहरूमा के समानता छ ? समानता के छ भने यी कुनै पनि भनाइले कवितालाई छन्द वा तुकान्तको कुरा गर्दैनन् । भनाइको अर्थ, कवितामा राइम भन्ने जुन तत्त्व छ, त्यसका बारेमा यिनले केही पनि भन्दैनन् । सन् १९३३ मा कवि ए.ई. हाउसम्यानले “द नेम एन्ड नेचर अफ पोएट्री” शीर्षकको व्याख्यान दिँदा “राइम” शब्द मात्र एक पटक प्रयोग गरे, र त्यो पनि “खराब राइम” वाक्यांशमा। मार्टिन हाइडेगरले ‘ह्वाट आर पोएट्स् फर?’ (कवि केका लागि ?) (१९४६) लेखमा यसलाई जताबाट पनि बचाउने प्रयास गरे: उनले “अनन्त” १० पटक, “मृत्यु” ५ पटक प्रयोग गरे, तर “राइम” एक पटक पनि प्रयोग गरेनन् ।

कविहरूले कवितालाई राइम भएको वा नभएको आधारमा परिभाषित गर्दैनन्। यो राम्रो कुरा हो, किनभने अहिले कवितामा राइम नै हुँदैन। उपन्यासकार पी.जी. वोडहाउसले कवितालाई “पुरानो प्रकारको (जसमा राइम हुन्छ)” र “आधुनिक प्रकारको (जसमा ग्यास-वर्क्स र सडेका लासहरूको बारेमा हुन्छ)” गरी दुई भागमा विभाजन गरेका थिए। द इकोनोमिस्टले अंग्रेजी भाषाका ११ हजार कविताको विश्लेषण गर्दा के पायो भने, आधुनिक कविता ग्यास-वर्क्स र लासहरूको श्रेणीमा पर्छ। सन् १९०० मा, ८०% कवितामा छन्द वा राइम हुन्थ्यो; अचेल मात्र २५% मा हुन्छ। राइमको संख्या पनि घटेको छ: २०औँ शताब्दीको सुरुमा ६०% भन्दा बढी लाइनहरूमा राइम हुन्थ्यो; अहिले ५% भन्दा कममा मात्र छ। कवि वेन्डी कोप भन्छन्, “राइम” त अचेल चलनबाहिरै भइसक्यो ।

कविताका प्रतिष्ठित पुरस्कारहरूले पनि यसलाई पुष्टि गर्छन्। यस वर्षको ग्रिफिन कविता पुरस्कारका दावेदारहरू त अनपेक्षित किसिमका (जस्तैः अनरेगुलेटेड वेस्ट म्यानेज्मेन्ट फेसिलिटीजस्ता शीर्षकहरू) सिर्जना गरेका छन्। टी.एस. इलियट पुरस्कार विजेताहरूका कविताहरूमा ‘द बडी एज सिमेटरी’जस्ता शीर्षकहरू छन्। यी सबैमा “penumbra” जस्ता शब्दहरू र अनपेक्षित इटालिक्सको प्रयोग भरमार भएका छन् । तर यसमा वाक्यको सुरुमा क्यापिटल अक्षर, मजाक, वा राइमहरू छैनन्।

यस्तो हुनु ऐतिहासिक रूपमा असामान्य कुरा हो। कवितामा एक समयमा राइम र ताल हुन्थ्यो: यी दुवै शब्दहरू हिज्जे बनाउन निकै गाह्रो हुने कारणले हरकोही कविता लेख्न पनि सक्दैनथे । प्राचीन ग्रीकबाट आएको काव्यिक परम्परा भएका हुनाले हरकोहीको वशको कुरा पनि थिएन। १०औँ शताब्दी ईशापूर्वमा चीनमा छन्दकविताको पहिलो उल्लेख भएको थियो। संस्कृतमा त सबैकुरा छन्दमै सिर्जना हुन्थ्यो। यसको सर्वव्यापकता र दीर्घकालीनताले के संकेत गर्छ भने मस्तिष्कलाई छन्द वा गीतिशैली वा सस्वर वाचन मन पर्छ। मान्छेलाई गेयात्मक स्वतः महसुस हुनुकका पछाडि हाम्रो दिमागको “हार्डवायर” पनि एक हो। ‘प्ले इट अगेन, सामः रिपिटेशन इन द आर्ट्स्’का लेखक स्यामुएल जे. कीजरको भनाइअनुसार, शब्दहरूमा छन्दलाई सजिलै पहिचान गर्न सकिन्छ। छन्दका विविध प्रकारबारे तपाईं जानकार नहुनु होला तर छन्द चिन्न भने सक्नुहुन्छ।

कुनै समय सामान्य पाठकहरूले पनि धेरै प्रकारका राइम (छन्द)हरू चिन्न सक्थे। बालबालिकाका लागि र वयस्कहरूका लागि बेग्लाबेग्लै बनाइन्थे । बालबालिकाका लागि हास्यपूर्ण छन्द हुन्थे। ती छन्दकविता सुनेर बालबालिका रमाउँथे। वयस्कहरूका लागि भने कटु छन्द हुन्थे। ती कहिलेकाहीँ अश्लीलताको हदसम्म पुग्थे। कहिलेकाहीँ वियोगका छन्दकविताहरू पनि हुन्थे। तिनले तपाईंको अशान्त रातलाई आनन्दसमेत दिन्थे।

लामो समयको प्रचलनपछि छन्द ढल्यो। कवि जोन मिल्टनले आफ्नो महाकाव्य ‘प्याराडाइज लस्ट’मा छन्द छोड्ने निर्णय गरेर कवितामाथि पहिलो प्रहार गरे। तर खासमा छन्दको हत्या गर्नेहरूमा आधुनिकतावादीहरू थिए।

१९औँ शताब्दीको सुरुमा, लगभग आधा जनसंख्या साक्षर थिए। २०औँ शताब्दीको सुरुमा ९७% सम्म साक्षरता प्रतिशत पुग्यो। यो समानतावादका लागि राम्रो थियो, तर बौद्धिक अहंकारका लागि खराब, किनभने कविताले मात्र आनन्द दिँदैन, यसले प्रतिष्ठा पनि दिन्छ। कम साक्षरताको युगमा कविता पढ्न सक्ने क्षमताले कसैलाई अलग बनाउँथ्यो; जब सामूहिक साक्षरताको युग सुरु भयो, बौद्धिकताको अर्को चिह्न आवश्यक थियो, त्यो चाहिँ आधुनिकतावादको रूपमा आयो।

२०औँ शताब्दीमा, धेरै कलाहरू “अधिक जटिल, दुर्गम र सराहना गर्न गाह्रो” हुँदै गएको धारणा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर स्टिभन पिंकरको छ । उनी भन्छन्, “सम्भवतः अभिजात वर्गलाई सामान्य जनताबाट अलग गर्ने उद्देश्यले यस्तो अवस्था सिर्जना हुन थाल्यो। कुनै पनि मूर्खले आनन्ददायी चीजलाई आनन्द लिन सक्छ, तर केवल समर्पित बौद्धिकले नै आनन्दहीन चीजलाई पनि आनन्द लिन सक्छ भन्ने अभियानजस्तै शुरू भएयता शताब्दीको मध्यतिर छन्दका लाइनहरू आधा भन्दा कम हुन पुगे।

यसैले आधुनिकतावादी कविता कविताको मयूरपुच्छर हो: यो कठिन बन्न विकसित भएको हो, तर यदि तपाईँले यसलाई बुझ्न सक्नुहुन्छ भने यो प्रभावशाली छ। टी.एस. इलियटको आधुनिकतावादी महाकाव्य ‘द वेस्ट ल्यान्ड’को उद्धरणलाई विचार गर्नुहोस् त, यो ल्याटिन भाषाबाट शुरु हुन्छ, र प्राचीन ग्रीकमा “apothanein thelo” (“म मर्न चाहन्छु”) शब्दहरूसँगै समाप्त हुन्छ। इलियटले सबैलाई यस्तो महसूस गराउन सक्छन्।

राइमको कमीको अर्को सम्भावित कारण बजार शक्ति—वा यसको अभाव पनि एक हो। कुनै समयमा कविहरूले कविता बेचेरै पैसा कमाउँथे: लर्ड बायरनको द कोर्सर नामक कविताकृति त एक दिनमा १० हजार प्रति बिक्री भएको थियो। पाठकहरूले छन्द चाहन्थे, त्यसैले कविहरू सकेसम्म छन्दमै लेख्न रूचाउँथे। २०औँ शताब्दीमा भने कवि फिलिप लार्किनले भनेजस्तै “कविता बनाएर” भन्दा “कवि बनेर” बाँच्न सकिने भयो।

हालका कविता पुरस्कार विजेताहरूको सूची हेर्नुहोस्: धेरैजसोमा तीन समानता देख्नुहुनेछ। तपाईँले ती कविको नाम नसुन्नु भएको हुनसक्छ। तिनका कविताहरूमा छन्द हुनेछैन। र, तिनीहरू विश्वविद्यालयहरूमा कवितालाई (आंशिक रूपमा) राज्य-सब्सिडी प्राप्त प्रेरणाको रूपमा बेच्दै कविका रूपमा काम गरेका देखिने छन्। यो कविता भन्दा पनि साहित्यिक उपयोगिता हो। यो सडक सतह वा मलजल निकासी जस्तै हो। सभ्य समाजका लागि यसलाई आवश्यक त मानिन्छ तर कसैले पनि यसका लागि पैसा खर्च गर्न चाहँदैन।

अहिले जुन कविता बिक्री भइरहेको छ, तिनमा दुई कवि मुख्य रूपमा देखिन्छन्। तिनले सामाजिक सञ्जाललाई मज्जाले उपयोग गरिरहेको देखिन्छ। जस्तैः डोना एश्वर्थ र रुपी कौर। यस्तो लाग्छ, उनीहरूले सामाजिक सञ्जालका लागि कविता उत्पादन गरिरहेका छन्। यो बौद्धिकहरूका लागि दुःखद बन्न पुगेको छ किनभने इन्स्टापोएट्सको कविता ‘ग्यास-वर्क्स’ र ‘चिहान’ कविताजस्तो होइन। यो अनलाइन वा सामाजिक सञ्जालमा व्यस्त हुनेहरूका लागि डिजाइन गरिएको छ। त्यसैले यो निरापद छ र प्रायः चराहरूको रेखाचित्रहरूजस्तै हुन्छ।

एश्वर्थले राम्रा चीजहरूका बारेमा लेख्न मन पराउँछिन्। उनले तपाईँको “आन्तरिक आवाज”, “आन्तरिक प्रकाश” र “आन्तरिक बालापन”लाई ठाउँ दिन्छिन्। त्यो कुरा धेरै पाठकहरूलाई तिनीहरूको “आँतको उज्यालो”सँग जोडिदिएको छ। उनले पाठकहरूलाई तिनीहरूको “आन्तरिक आलोचक”लाई सुन्नु हुँदैन भनी चेतावनी दिन्छिन्। (केही समीक्षाहरू हेर्दा, एश्वर्थले बाह्य आलोचकहरूलाई पनि नसुन्ने रोज्न सक्छिन्।) उनले आशालाई सम्मान गर्छिन्। उनको सल्लाह छ, “आशालाई कारको कुञ्जी छेउमा राख्नुहोस् नत्र त यो हराउन सक्छ।”

स्वाभाविक रूपमा, यस्ता कविताहरूमा राइम हुँदैन। किनभने राइम, दुर्भाग्यवश, लगभग पूर्ण रूपमा हराइसकेको छ। सम्भवतः कसैले यसलाई कारको कुञ्जीको छेउमा राख्न बिर्सिए।

उसो भए छन्दकविता कसरी हराए त ?

सन् १९०० मा ८०% कवितामा छन्द थियो। ६०% भन्दा बढी लाइनहरूमा तुकान्त हुन्थ्यो। सन् २०२५ सम्म आइपुग्दा २५% कवितामा मात्र राइम छ। त्यस्तै ५% भन्दा कम कविताहरूमा मात्र तुकान्त छ। खासगरी सन् १९५० को दशकपछि तुकान्त वा छन्दविहीन कविताको बाढी नै आयो। विज्ञहरूको भनाइमा, आधुनिकतावादी कविहरूले “कठिन” र “अस्पष्ट” शैली अपनाए। यसका विपरीत सामाजिक सञ्जालका रूपी कौरजस्ता कविहरूले सरल, तुकविहीन र छन्दविहीन कवितालाई बढावा दियो।

(इकोनमिस्टमा प्रकाशित आलेखको अनूदित तथा सम्पादित अंश।)