हस्तलिखित कविता किन ?

कविता भाषाको सर्वाधिक, प्रशोधित र शक्तिशाली स्वरुप हो । हजार शब्दमा अभिव्यक्त गर्न नसकिने कुरा कविहरु थोरै शब्दमा अभिव्यक्त गर्न सक्छन् । तसर्थ कवितालाई बौद्धिक खुराकका रूपमा हेर्ने गरिन्छ ।

विश्व साहित्यमा कविताको आफ्नै विशिष्ट सौन्दर्य छ । कविता यस्तो अस्त्र हो जो विश्वका हरेक परिवर्तनमा अमोघ अस्त्रका रूपमा लिइन्छ । पछिल्लो समयमा निक्कै चोटिला छोटा कविताहरू पाठकीय आकर्षणमा पर्न थालेका छन् । यो कविता कर्म गर्नेहरूका लागि गौरवको कुरा हो ।

हामीकहाँ पनि छोटा कविता नलेखिएका होइनन् । प्रशस्त लेखिदै आएका छन् । विचार सम्प्रेषणमा तीव्र स्वरुप मानिदै आएको छोटा कवितालाई हामीले थप पाठकीय आकर्षण बढाउने हेतु प्रसिद्ध साहित्यिक पोर्टल साहित्य पोस्टको सहकार्यमा ’हस्ताक्षर कविता अभियान’ सुरु गरेका छौं ।

आधुनिक युगका कारण हामीले आफ्नो हस्ताक्षर आफैँ बिर्सिसकेका छौँ । हामीले कम्प्युटर, ल्यापटप र हात हातमा हुने मोबाइलको किप्याड थिचेर सजिलोसँग आफ्नोकुरा आदानप्रदान गर्न सक्छौं । यद्यपि हामीले परम्परागत हस्ताक्षर पनि भुल्नु हुन्न भन्ने मान्यताले यो निक्कै दूरुह कार्यलाई जोगाउने र लेख्न प्रेरित गर्न यो अभियान चलाएका छौं ।

थोरै शब्दमा सघन भाव सम्प्रेषण गर्नसक्ने सामार्थ्य बोकेका कविताले पक्कै पनि यहाँहरुको मन–मस्तिष्क तान्ने अपेक्षा गरिएको छ । यो नम्र प्रयासलाई यहाँहरूका उत्कृष्ट रचनासहित सहभागिता रहने कुरामा हामी आशावादी छौं ।

आगामी दिनमा यो अभियानलाई यहाँहरुको रुची र उत्साह हेरेर डिजिटल पुस्तकका रूपमा समेत ल्याउने योजनामा छौं ।

श्रीबाबु कार्की

याे साताका हस्ताक्षर कविताहरू    

हस्ताक्षर कविताका लागि छाेटा कविता पठाउने ठेगाना : shreebabu43@gmail.com अथवा sahityapost2020@ gmail.com

कविता पठाउँदा स्पष्टरूपमा हस्तलिखित कविताका लागि छाेटा कविता लेख्नुपर्नेछ । साथमा कविकाे तस्बिर अनिवार्य गरिएकाे छ । कविता छान्ने सम्पूर्ण अधिकार हस्ताक्षर कविता अभियन्तामा हुनेछ ।