राजेश केसी फलानोको नामले चिनिएका चर्चित व्यङ्ग्य चित्रकार हुन् ।
पहिलोपटक टाइम्स अफ इन्डियामा कार्टुन देखेपछि मोहित भएका केसीको द राइजिङ नेपालबाट कार्टुन यात्रा सुरु भएर कान्तिपुर, नागरिक, बाह्रखरी, अन्नपूर्ण पोस्ट हुँदै ‘बाह्रखरी’सम्म पुगेको छ ।
नवलपरासी सुस्तापूर्वका केसीको कर्मथलो भने काठमाडौँ हो । काठमाडौँको लैनचौरमा हुर्किएका उनी आदर्श प्राथमिक विद्यालयमा नर्सरीमा भर्ना भए ।
नर्सरीमै पढ्दा चित्र कोरेका केसीको चित्रलाई कक्षा शिक्षिकाले कक्षाकोठाको भित्तामा टाँसिदिइन् । यसले उनकाे हाैसला ह्वात्तै बढाइदियो । त्यसपछि त उनले चित्रहरु कोर्न छाडेनन् । स्कुल पढ्दा टाइम्स अफ इन्डिया पत्रिकामा उनले एउटा कार्टुन देखे । कार्टुनमा इन्दिरा गान्धीको सबै अनुहार बिग्रिएको थियो ।
त्यसपछि उनले त्यस्तै अनुहार बिग्रिएको चित्रहरु कोर्न थाले । उनले कापी तथा कक्षाकोठाका बोर्डहरुमा त्यस्तै अनुहार बिगारेर साथीहरुको चित्र कोर्न थाले । ‘कहिलेकाहीँ आफ्नो अनुहार बिगारिदिएकोमा साथीहरु रिसाउँथे र खुशी पनि हुन्थे,’ उनी भन्छन्, ‘अरुको अनुहार बिगारेर बनाउन पाउँदा मलाई पनि खुब रमाइलो लाग्थ्यो ।’
ब्याचलर पढ्दै गर्दा केसी र उनका केही साथहरु मिलेर एड्भरटाइजिङ एजेन्सी खोले । त्यसमा उनी कला निर्देशक थिए। केही समयमा नै एजेन्सी बन्द भयो । सन् १९९० मा एक जना छिमेकी दाइको सहयोगमा एक जना जापानीले खोलेकाे ट्राभल एजेन्सीमा काम गर्न थाले । यसै क्रममा सन् १९९१ मा उनले कोरेको कार्टुन ‘द राइजिङ नेपाल’ अंग्रेजी दैनिकमा छापियो । पछि कान्तिपुर दैनिक प्रकाशन हुन थालेपछि पहिलो अंकबाटै उनका व्यंग्यचित्र प्रकाशन हुन थाल्यो ।
सुरुमा उनलाई काम गर्न अलि गाह्रो भयो । ‘आफ्ना कार्टुन पाठकले बुझेनन् जस्तो लाग्यो,’ उनले भने, ‘पछि मैले आफूलाई काममा सुधारेँ र पाठकलाई पनि बुझाउन सजिलो भो ।’
२०५२ सालमा कांग्रेसका पुराना नेता सिके प्रसाईंले उनको कार्टुनमाथि पाठकपत्र लेखे। उनी भन्छन्, ‘कार्टुनमाथि आएको यो पहिलो पाठकपत्र थियो ।’ पाठकपत्र पढेर उनलाई खुसी भने लाग्यो । ‘तर मैले त्यो पत्रलाई धेरै वास्ता गरिनँ’, उनले भने । त्यसपछि उनलाई कार्टुनका बारेमा थप पत्रहरु पनि आउन थाले । त्यसले उनलाई कार्टुन कोर्न थप हौसला प्रदान गर्यो ।
खासगरी उनी सामाजिक र राजनीतिक विसंगतिहरुमा व्यङग्यचित्र कोर्ने गर्दछन् । ‘म त्यस्तो कुनै विषयवस्तु चयन गरेर कार्टुन बनाउने गर्दिनँ, वातावरण नियाल्दै गर्दा जुन विषयवस्तुले मन छुन्छ, त्यसकै बनाउँछु’, उनले भने ।
अहिलेको समयमा त कार्टुन बनाउनका लागि धेरै विषयवस्तुहरु छन्। उनी भन्छन्, ‘समाचार पढेर, सामाजिक राजनीतिक गतिविधिहरु हेरेर नै कार्टुन कोर्न सकिन्छ ।’ त्यस बेला भने यत्तिका विषयवस्तु थिएनन् । भए पनि पाठक अहिलेका जति सचेत थिएनन् ।
उनको चित्र बनाउने त्यस्तो कुनै निश्चित समय भने छैन । जुन विषयवस्तुले उनको मन आकर्षित गर्छ, त्यही विषयवस्तुलाई उनले चित्रमा उतार्छन् ।
‘मलाई चित्र कोर्न त्यति धेरै समय लाग्दैन, जति क्याप्सन फुराउन लाग्छ’, उनले भने, ‘अहिले डिजिटल युग छ । म प्रायः मोबाइलमा नै चित्र कोर्छु ।’
हाल उनी बाह्रखरी अनलाइन पत्रिकाका लागि कार्टुन कोर्ने गर्दछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।