मूल असमिया पर्या कविता: आनिस उज जामान
अनुवाद: डा. देवेन सापकोटा

अनिस उज जमान
जङ्गलमा आगो दन्केको थियो
मौरीको चाकाबाट झरेको थियो
मह
उनीहरूले गुनगुनाउँदै भनिरहेका थिए—
मानिसहरू यस्तै हुन्छन्
चराहरूको कोलाहलमा
किथ्राहरूले ब्युँझिदा देखे आगो
काँचा बाँसहरू पड्केका आवाजमा
सर्प-भ्यागुताहरूका मुटु चर्किए
सबैले एकसाथ फेरि भने—
मानिसहरू यस्तै हुन्छन्
जङ्गलको आगोले हावा बोलायो
बाँस, खर, इकडा1को जङ्गल बीचैबीच
आगो लप्कदै जाँदा
कतै कसैले चिच्च्याएका थिए
मौरीहरूकी रानीले
उनीहरूलाई सान्त्वना दिँदै भनिन्—
तिमीहरू टाढा जाओ
जहाँ मानिसहरू छैनन्
म आफ्नो साम्राज्य छोडिजान सक्दिनँ
मलाई मर्न देऊ
तिमीहरूको दु:खमा दु:खी भए पनि म निरुपाय छु
तिमीहरू जाओ
त्यो अग्लो पहाडको पल्लापट्टि एउटा खोल्सो छ
हात-पाउ त्यहीँ धोइलिनु
सावधानीसँग जाओ
त्यहाँ पनि मानिसहरू हुन सक्छन्।
——————————————-
1इकडा= असमको नदीको बगरमा प्राकृतिक रूपमा जन्मिने हात्ती-घाँस (Saccharum ravennae)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 







