भारत र पाकिस्तानबीच गएको साता निकै ठूलो रस्साकस्सी थियो ।

भारतले पाकिस्तानलाई निकै ठूलो धक्का दिने गरी कार्बाही गर्ने हल्लाका बीच केही आक्रमण पनि गर्यो ।

पछि अमेरिकी राष्ट्रपतिको पहलमा दुई देशबीच सुलहको अवस्था आइलाग्यो । यसका पछाडि चीनबाट पाकिस्तानले किनेको फाइटर प्लेनले ढालेका केही भारतीय राफेलको चर्चा पनि उठ्यो ।

यस हिसाबले हेर्ने हो भने पाकिस्तान पनि हवाई हमलामा कम छैन भन्ने संकेत देखियो । उसको शक्ति पछिल्लो समय चिनियाँ हवाई युद्धक विमान हो भने आखिर ती चिनियाँ विमानको सशक्तता के हो ? ती विमानको परीक्षण कसरी भएको थियो ? ती विमानका विशेषता के हुन् ?

यी कुराहरू जान्न चाहनुहुन्छ भने आजको शनिबार एउटा फिल्म हेर्नोस् ।

यो फिल्मको नाम त थाहा पाइहाल्नुभयो, बर्न टू फ्लाई ।

यो फिल्म तीन वर्षअघि चीनमा रिलिज हुँदा सबैभन्दा बढी व्यापार गर्न सफल भएको थियो । यो फिल्मको व्यापार यति भयो कि धेरैले चिनियाँ आत्मविश्वासका रूपमा यसलाई चिनाइएको थियो ।

त्यो बेला कोभिडबाट फिल्मी संसार भर्खरै तंग्रिन थालेको थियो । व्यापार चम्किसकेको अवस्था थिएन तर यो फिल्मको व्यापारले चिनियाँ फिल्मले हलिउड फिल्मले भन्दा बढी व्यापार गर्न सक्छन् भनी प्रमाणित गरिदिएको थियो ।

केहीले त चिनियाँ स्थानीय सरकारले अनिवार्य रूपमा यो फिल्म हेर्नू भनी उर्दी लगाएको भनी कुरा काट्नसमेत भ्याएका थिए ।

त आउनोस्, आज यो फिल्म हेरी शनिबार मनाऔँ ।