सम्झनाका किनाराहरूबाट
खोसेर ल्याउँछु म सबेरै
मेरो शैशवकाल
शैशवकाल जस्तै
दुबोका पातहरू
ढुङ्गा, माटो, खोला, झरना
चराहरूको गीत
मेरो प्यारो वखलढुङ्गा ,
म उभिएको ठाउँमा
सम्झना छ तर वखलढुङ्गा छैन
म उभिएको ठाउँमा
मेरो शैशवकाल छैन
मात्र सम्झना छ
कहिले काहीँ सम्झना
यसरी बढ्छ कि
स्वयं किनाराको खोजीमा
आत्तिन थाल्छ,
मैले यात्राहरूमा
अक्षरहरू बिछ्याएको छु,
मेरा प्रिय अक्षरहरू
कविताको उडान चढेर पुग्नेछन्
सम्झनाका किनाराहरूसम्म,
लेख्नेछन् निर्भय
सिद्घिचरणको बैँस फुलिसक्यो,
अनुहारमा चम्किरहने जून
आँखामा छचल्किरहने सागर
ओठ छोएर गड्गड्याइरहने
बादलहरूको हुँकार
अक्षरहरूमा कैद भसक्यो,
रोगीहरूले यी अक्षरहरू
पढ्न पाए भने
रोग निर्मूल भएको
आभाषहरू पिउनेछन्,
अन्धाहरूले यी अक्षरहरूका
सरगमहरू सुन्न पाए भने
मनका आँखाहरू खोलेर
संसार देख्नेछन्
बैँस हराएकाहरूले
उमेर पाएझैं
मन रित्तिएकाहरूले
अँगालोभरि अनुभूतिहरू पाउनेछन्,
सिद्घिचरण
शिरमा हिमाल बोकेर
पग्लँदै पग्लँदै नदी बग्नेछ
जब आउने छ सम्झना
कविता–नदीको किनारामा
हाँसिरहनेछ सिद्घिचरण
कवितामा
शब्दहरूको जन्ममा
अक्षरहरूको नशा–नशामा
युग बोकेर
बाँचिरहने छ सिद्घिचरण,
म खोसेर ल्याउँछु
मेरो शैशवकाल
दुबोको जीवन
ढुङ्गा, माटो, खोला, झरना
चराहरूको गीत
मेरो प्यारो वखलढुङ्गा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










