कुरो बच्चै बेलाको हो । त्यतिखेर एउटा पुरानो घरमा बस्ने गथ्र्यौं । त्यो घरलाई यसकारण पुरानो भनिएको हो कि त्यो टायलले छाएको थियो, पिल्लर प्रयोग गरिएको थिएन, र धेरैजसो भाग माटोले लेपन गरिएको थियो । घरभेटी नबस्ने, एकान्त, सजिलो, सस्तो भनेर बुबाले यँहा डेरा बसाएर आफू चाहिँ गाँउ लाग्नु भएको थियो । त्यो पुरानो घर दुई तलाको थियो । माथी दुई, तल दुई गरेर जम्मा चारवटा कोठा थिए । हामी (हजुरआमा, दुइटी बैनी र म) तलका दुई कोठामा बस्थ्यौं । बसेको दुई वर्ष हुँदा माथिका दुवै कोठा एकै दिनमा खाली भए । धेरै दिनसम्म ती कोठाहरू खाली नै रहे । निम्न आयस्तरका मानिसहरू हेर्न आउथे प्रायः । तैपनि उनीहरू तीभन्दा पनि सस्तो कोठा खोज्न चाहन्थे । अनेक बाहाना गरेर आउछु भनेर आउथेनन् । यस्तो गर्ने ती निम्न आयस्तरका मानिसहरूको लिस्ट लामै बन्छ ।
अचम्म कस्तो भने ती कोठाहरू एकै दिनमा प्याक भए । एउटा कोठामा हात हेराउने मान्छे बस्न आएको थियो भने अर्को कोठामा काम गरेर खाने मान्छे बस्न आएको थियो ।
हात हेरेर खाने मान्छेको कथाः
हात हेरेर खाने मान्छे बूढो थियो, कुप्रिएको । सधैं जोगीले वा सन्तले लगाउने जस्तो कपडा लगाएको हुन्थ्यो । एक जोडी मात्र लगाउथ्यो वा सबै कपडा एउटै खाले थिए, म सदा चकित हुन्थेँ । एउटा आँखा डेर्यो थियो । लट्ठी टेकेर हिँडथ्यो । तर पनि ऊ कहिल्यै अशक्त जस्तो देखिएन । ऊ अपवाद बाहेक कोहीसँग बात गर्दैनथ्यो । यदि बात गरिरहेको फेला पर्यो भने, कसैको हात हेरिरहेको हुन्थ्यो ।
मलाई ऊ निकै डरलाग्दो मानिस लाग्थ्यो । उसको छेउछाउ पर्न वा उसलाई हेर्न सक्दैनथेँ । सन्तको पैरन, कुप्रो, डेढो आँखाको हेराई र एकदम मौन । यस्तो मानिस के डरलाग्दो हुँदैन ?
टोलका मानिसहरू पनि छक्क थिए । त्यस्तो अनौठो मानिस त्यस टोलमा यसभन्दा पहिले कहिले पनि बस्न आएको थिएन । बच्चाबच्चीहरू अर्थात् मेरा साथीहरू पनि यस घरको वरिपरि आउन छाडिसकेका थिए । मलाई बोलाउने निउँमा तिनीहरू पहिला मेरो कोठामा आएर खाजा खाएर जान्थे । बिस्तारा बिगार्थे, मेरा खेलौना खेल्थे अनि अन्त्यमा खेल्न लिएर जान्थे । अब त स्कुलबाट फर्किदा यताउता लाग्ने बाटोमा सल्लाह हुन्थ्यो– यति बजे यँहा आएस् । मलाई पनि एक हिसाबले आफू बस्ने घरमा फर्किन मन नै लाग्दैनथ्यो । जानै पर्ने बाध्यता । आफ्नोमा नगए फेरि जानु कँहा ? कसकोमा ? कति रातको लागि ?
सन्त सबेरै निस्कन्थ्यो । दिनभरी हात हेथ्र्यो । उसले हात हेर्नकै लागि भनेर मङ्गलगढी चोक नजिक सानो घुम्ति खोलेको थियो । व्यस्त चोकमा सबैभन्दा बढी त्यही घुम्ति व्यस्त देखिन्थ्यो । मानिसको खचाखच, चहलपहल र पर्खाइ देखेर लाग्नु स्वाभाविक पनि हो– अझै पनि ठग्न सजिलो छ । अझै पनि कसैबाट ठगिन पनि सजिलो छ ।
हेराउन आउने मानिसहरूले ल्याएका चामल, रुपैयाँले उसको गुजारा चल्नेको थियो । गुजारा के भन्नु ? मालामाल भएको थियो । किनभने एक दिनको चामल जम्मा पार्दा उसलाई करिब आधा महिना खान पुग्ने हुन्थ्यो ।
ऊ एक्लो थियो । एक्लो मान्छे कति नै पो खान्छ र ? एक दिनमा त्यति चामल जम्मा हुन्थ्यो भने आधा महिनामा कति हुन्थ्यो ? एक वर्षमा कति हुन्थ्यो ? तर उसले त्यतिधेरै चामल जम्मा गरेर के गथ्र्यो ? फेरि त्यति धेरै चामल उसको कोठामा पनि थिएन । यति यकिनका साथ किन भनेको हुँ भने ऊ दिउँसो नभएको मौका पारी मैले झ्यालबाट सब हेरिसकेको थिए । एउटा पुरानो थोत्रो खाट थियो । तिन जोडी कपडा (एउटा निकै नौलो देखिन्थ्यो र सबै कपडा एकै रङ्गका थिए ।) झुण्डाइएका थिए । स्टोभ थियो एक कुनामा । त्यही वरपर खाना बनाउने सरसामानहरू थिए । भुइँमा चामलका ठाँउ ठाँउ फाटिएका बोराहरू बिच्छाइएका थिए । पछाडि पट्टितिरको झ्याल नजिक एउटा खोपा थियो । खोपामा कुनै भगवानको फोटो राखेर अगरबत्ती बालिएको थियो । वास्ना आइरहेथ्यो बाहिरैसम्म । यीभन्दा बढी त्यँहा केही पनि थिएनन् । त्यसो भए त्यतिधेरै चामल ऊ कहाँ लगेर राख्थ्यो ? अथावा के गथ्र्यो त्यतिधेरै चामलको ?
ऊ विवाहित हो वा अविवाहित ? यो पनि थाँहा थिएन किन भने उसकी स्वास्नी ऊसँग थिइन् । उसका बालबच्चाहरू पनि थिएनन् । र उसलाई आजसम्म कसैले पनि स्वास्नी र बालबच्चाहरूसँग देखेका थिएनन् ।
दिनभरी जम्मा भएको चामल र पैसा धेरै भाग यतै दिएर र केही मात्र आफू लिएर जाने गर्छ । उसले यसो किन गथ्र्यो ? केका लागि गथ्र्यो ? यी प्रश्नहरू म कहिले काही सोच्ने गर्छु ।
यो पत्ता लगाउन एकदिन मैले उसको पिछा गरे । घुम्ति बन्द गरेर ऊ सरासर मुख्य बजारतिर लाग्यो । वीरेन्द्र चोक । गणेश चोक । गणेश चोकबाट जिरो ड्याम । त्यही नजिकै एक तलाको पक्की घरमा ऊ छिर्यो । अनि झिसमिसेमा पुरानो घर फर्कियो । म पनि उसको पछिपछि लागेर फर्किए । अर्को दिन पनि यसरी नै पिछा गरे । अर्को । अर्को । फेरि अर्को । र अन्त्यमा अर्को दिनमा मैले पत्ता लगाएरै छोडे, त्यो पक्की घर उसको हो । त्यँहा उसकी श्रीमती (उसकी श्रीमति ठ्याक्कै आधा उमेरकी देखेर म एकछिन रनभुल्लमा परेँ) र बालबचेराहरू (तीन्टा थिए । जो सबैभन्दा ठूलो हो, त्यो बढीमा बाह्र तेह्र वर्षको थियो । छिमेकीले यी सब सुनाएका थिए । जय होस् उनको ।) बस्ने गर्छन् । दिनभरी जम्मा भएको चामल र पैसा धेरै भाग यतै दिएर र केही मात्र आफू लिएर जाने गर्छ । उसले यसो किन गथ्र्यो ? केका लागि गथ्र्यो ? यी प्रश्नहरू म कहिले काही सोच्ने गर्छु ।
अर्को बिहान मलाई भनियो कि उसले कोठा सारिसकेको छ । पुलिसलाई बोलाइसकिएको छ । आउँदै होला । आउन दिऊँ । एकै छिनमा थाहा भैहाल्छ उसले कोठा सार्नु संयोग मात्र थियो ? वा नियोजित थियो ?
काम गरेर खाने मान्छेको कथा
काम गरेर खाने मान्छे धेरै नै बूढो थियो । धेरै नै कुप्रिएको थियो । धेरै नै रोगी थियो । उसको हालत यो थियो कि रोग के लागेको छ ? किन लागेको छ ? उसले कहिल्यै उपचार गराएन । उपचार गराउन पैसा चाहिन्थ्यो । पैसा ऊसँग थिएन । पैसा कोसँग छ ? पैसा कोहीसँग मात्र किन छ ? पैसा सबैसँग किन छैन ? किन कहिल्यै हुँदैन ? किन कहिल्यै हुँने छैन ? यस्तो माक्र्सवादी कुरो उसले कहिल्यै सोच्न मन मानेन । यस्तो सोच्न उसले कहिल्यै पेटभरी खान पाएन । शरीरभरी कपडा लगाउन पाएन । जीवनभरी बस्नलाई राम्रो घर पाएन । यदि उसले यस्तो सोचेको भए के हुन्थ्यो ? …………. आ छाडदिनुहोस्, यस्तो गयगुज्रेको सम्भावनार्थ !
बरु उसका बारेमा अरू उत्खनन् गरौं ।
अँ, उसकी धर्मपत्नी बितेपछि, उसका छोराहरूले उसलाई खासै वास्ता गर्नतर्फ ध्यान दिएनन् । बरु आफ्ना धर्मपत्नीका ब्रा, प्यान्टीतर्फ अलि बढी ध्यान दिए । ऊ निस्कियो त्यो घरबाट वा ऊ निकालियो त्यो घरबाट ? कहिलेकाहीँ त्यस क्षणका बारेमा सोच्दा ऊ दोधारमै हुन्छ । ऊ यस सहरमा के कसरी आइपुग्यो, त्यो बरु मिथ्या हुनसक्ला तर ऊ आइपगेको ठिक सत्य हो । नपत्ताए सोध्नसक्नु हुन्छ, एउटा खुट्टा भाँचिएको, दुब्लो, रोगी भुस्याहा कुकुरलाई । ऊ नै हो पहिलो जीव जसले त्यो मान्छेलाई यस सहरमा आइपुगेको देखेको थियो । उक्त कुकुर यस सहरमै अथवा यस संंसारमै नरहेको भए, त्यो अर्कै कुरा !
उसलाई याद छ, पहिलो रात सडकपेटीमा सुतेको । त्यसपछिका कयौं रात पनि उसलाई याद छ, सडकपेटीमै सुतेको । एकदिन कताकताबाट एउटा दयालु मान्छे आयो र उसलाई काममा लगायो । तर पछि त्यो दयालु मान्छे निर्दयी भएर निस्कियो । काममा यसरी लगायो कि ऊ चौबीसै घण्टा त्यही काम गरिरहन थाल्यो । उसले लगातार आठ वर्ष त्यहाँ काम गर्यो । एकदिन उसलाई त्यही सडकपेटीमा सुतेको अर्को रोगी भुस्याहा कुकुरले देखेको थियो । (तपाईँ सोध्न सक्नु हुन्छ, त्यस कुकुरलाई । मलाई यकिन छ यो कुकुर यसै सहरमा अथवा यसै संसारमा छ । उसले पक्का विस्तृत बताइदिने छ ।)
तपाईँले यति चासोका साथ प्रश्न सोध्नु स्वभाविक हो । यही थाहा पाउन म एकदिन ऊ सुतिरहेको मौका पारेर झ्यालबाट हेर्न गए । एक कुनामा पुरानो थोत्रो खाट थियो ।
ऊ त्यहाँबाट आफैँ निक्लियो वा उसलाई निकालियो ? यसबारेमा सोच्दा ऊ अझै पनि दोधारमै हुन्छ । विचरा उसलाई यति पनि थाहा भएन, उसको श्रम, उमेर र स्वास्थ चुसेर मिल्काइयो । त्यसकारण ऊ रोगी भएको थियो, कमजोर भएको थियो र उमेर निकै ढल्किसकेको थियो । ऊ यस पुरानो घरमा आएदेखि काम गर्न जान पनि अशक्त भएको थियो । भनौन्, थला परेको थियो । तब ऊ के खाएर बाँचिरहेको थियो ? तपाईँले यति चासोका साथ प्रश्न सोध्नु स्वभाविक हो । यही थाहा पाउन म एकदिन ऊ सुतिरहेको मौका पारेर झ्यालबाट हेर्न गए । एक कुनामा पुरानो थोत्रो खाट थियो । ऊ त्यसैमाथि अर्धचेत अवस्थामा पल्टिरहेको थियो । तिन जोडी कपडा (एक निकै पुरानो र धर्मसिएको थियो) झुन्डाइएका थिए । स्टोभ थियो अर्को कुनामा । त्यही वरपर खाना बनाउने सरसामानहरू केही पनि थिएनन् । तर भुइँमा चामलका एक ठाँउमा पनि नच्यातिएका बोराहरू बिच्छाइएका थिए । पछाडिपट्टिको झ्याल नजिक एउटा खोपा थियो । खोपामा कुनै भगवानको (माक्र्सको फोटो योभन्दा अघि बस्नेहरूले छोडेर गएको हुनुपर्छ) फोटो राखेर मच्छेर मार्ने धुप बालिएको थियो । वास्ना आइरहेथ्यो बाहिरैसम्म । तर वास्ना फरक लागि रहेथ्यो ।
त्यसको अर्को बिहान म ब्युँझिदा मलाई भनियो कि उसको मृत्यु भएको छ । मलाई एकछिन टोलाई बस्न दिनुहोस् । तपाईँ आगामी के पढने ? बारेमा अटकल काटी बस्नुहोस् ।
उसको मृत्यु भएको अप्रिय घटना थाहा पाउदा मैले यकिन गरे हिजो ऊ अर्धचेतमा पल्टिरहेको थिएन । ऊ मरिसकेको थियो । उसको मृत्युमा कोही रोइरहेका थिएनन् । रमिरहेका थिएनन् । यो एक किसिमको दुःखद रमिता थियो ।
पुलिसलाई बोलाइसकिएको थियो । आउदै होलान् ! आउन दिनुहोस् ! एकैछिनमा पत्तो लागि हाल्छ !
अर्को कोठामा बस्ने मान्छेले किन त्यसै दिन कोठा सारेको थियो ? वा यो संयोग मात्र थियो ? अथवा उसको मरण रोगले, भोगले वा हात हेरेर खाने मान्छेले गरेको थियो ?
त्यस पुरानो घरका दुवै कोठा जसरी एकै दिन खाली भएका थिए, जसरी एकै दिन प्याक भएका थिए, त्यसरी नै ती पुनः खाली भए । ती कोठाहरू धेरै दिनसम्म खाली नै रहे । निम्न आयस्तरका मानिसहरू आउथे प्रायः हेर्न । तैपनि उनीहरू तीभन्दा पनि सस्तो कोठा खोज्न चाहन्थे । अनेक बाहाना गरेर आउछु भनेर आउथेनन् । यस्तो गर्ने ती निम्न आयस्तरका मानिसहरूको लिस्ट लामै बन्छ ।
अचम्म कस्तो भने ती कोठाहरू एकै दिनमा प्याक भए । एउटा कोठामा चोर बस्न आएको थियो । अर्को कोठामा गाउँबाट एउटा इमान्दार मान्छे बस्न आएको थियो ।
यसरी नै यो पुरानो घर धेरै वर्षदेखि बाँचिरहेको छ । एउटा कोठामा सत्यलाई र अर्को कोठामा असत्यलाई बास दिएर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।