१. विकलबाट शब्द–चोट पाएका भैरवले भने – म पनि उसको जस्तो लेख्न नसकौंला र ?
कुरो व्यंग्यमणि भैरव अर्यालको, तर उनको मात्र होइन । कुरो अविरल बग्दछ इन्द्रावतीका सर्जक रमेश विकलको, तर इन्द्रावतीको होइन । अँ, कुरो भैरव अर्याल र रमेश विकल दुवैको हो । भैरव व्यंग्यमणि हुनुमा विकलले गरेको योगदानको हो । अझ भनौं – दुईको सम्बन्धमा आएको एक तिक्तताको हो ।
कुरो के भने – विकल र भैरवको पहिलो भेट वि.स. २०१० सालमा भएको थियो, शारदाविक्रम बस्नेको घरमा । त्यहाँ पौराणिक नाटक ‘जननेता कृष्ण’ मञ्चन गर्ने सल्लाह भयो । कृष्ण अर्थात् भगवान् कृष्ण । कृष्ण भएपछि उनका अघिपछि राधा, यशोधा र गोपिनीहरु चाहियो । तर त्यस समयमा नारीलाई नै नारीपात्र तुल्याउन असम्भव नै थियो । त्यसैले, कृष्णका साथमा नारीपात्रहरुको भूमिका पनि पुरुषहरुले नै निर्वाह गर्नुपर्यो । तर पुरुष पनि नारीको भूमिकामा सुहाउने त हुनै पर्यो नि, हैन ?
नाटक रमेश विकलले लेखेका थिए । आफूले लेखेको नाटकका पात्रहरुलाई न्याय गर्नु उनकै पहिलो कर्तव्य ठहर्यो, शायद । त्यसैले उनैले प्रस्ताव राखे – ‘भैरवजीलाई एउटा नारीको भूमिका दिनु कसो होला ?’
विकलको प्रस्तावलाई भैरवले खै कसरी बुझे, तर मुखमुहार भने रातो बनाए । मुखमुहार रातो हुनुको सोझो अर्थ हो, विकलको प्रस्ताव उनलाई जँचेन । पाठकलाई जानकारी नहुन सक्छ, व्यंग्यका धुरन्धर भैरव नारीकण्ठका थिए । हुनसक्छ, विकलको प्रस्तावलाई उनले आफ्नो कण्ठप्रतिको व्यंग्यका रूपमा बुझे ।
अनि भयो के त भन्दा, एकदिन भैरवले शारदाविक्रम सामु विकलको उक्त प्रस्तावप्रति खेद प्रकट गर्दै गनुसो पोखे – ‘हेर्नोस् न ! त्यो रमेश विकल अर्कालाई साह्रै होच्याएर बोल्छ । ऊ लेखक भयो भन्दैमा त्यसरी अर्कालाई बिझ्ने गरी भन्न त … । म पनि लेखौं भने उसको जस्तो लेख्न नसकौंला र ?’
छैन त कुरा खास्साको ? बरु भन्नुस्, तपाईंलाई के लाग्छ – विकलसँगकै ईखका कारणले भैरवले लेख्न शुरु गरेका होलान् ? – विकल आफ्नो संस्मरणात्मक कृति ‘सम्झनाका तरेलीभित्रका अनुहारहरु’मा लेख्छन्, ‘मबाट चोट खाएको भैरवको स्वाभिमानले साँच्चै कलम समातेर लेख्न थालेछ र मेरोजस्तो र मेरोजति मात्र होइन, मेरोभन्दा बेग्लै पहिचानको र धेरै उत्कृष्ट रचना लेख्यो । लेख्यो र सफलताको शिखरमा पनि मभन्दा धेरै माथि पुग्यो । अनि आज मलाई एउटा कुरामा गौरव छ, मेरो त्यस दिनको व्यंग्य (?) ध्वनिले ‘भैरे’को भैरव अर्यालीय व्यक्तित्वको विकासका किञ्चित् भए पनि योगदान दिनेको छ कि ?’
===
२. नायक बाजेलाई किताब लेखेर खलनायक बनाउने नातिनी
साहित्यपोस्ट कार्यलयको छेवैको चिया पसलमा छौं । पसलको नामै ‘चियासँगै’ । तर बिगारेर लेखेका छन् – चिया सँगै । बेला बेला त लाग्छ – ‘चिया र सँगै’ लाई छुट्याउनेहरूकहाँ चिया पिउन भेला नहोऔं । तर स्वादको कुरो छ । जिब्रोले धेरै कुरा निर्धारण गर्छ भन्ने कुरो सत्य रहेछ ।
चियासँगै कोही न कोही सधैं सँगै हुन्छ । तर हाम्रा प्रिय दाइ अच्युत कोइरालासँग सधैं सँगै भइँदैन । सँगै भएको दिन भने सोध्न मन लागिहाल्छ – अच्युत दाइ, अब यो संसार कता जान्छ ?
कुरो संसारको होइन, नातिनी-बाजेको हो । अझ भनौं, नातिनीले खोतलेको क्रूर बाजेको इतिहासको हो । मलाई चाहिँ अच्युत दाइले सुनाएको हो । अप्ठेरो चाहिँ कहाँ छ भने – दाइका कुरा दाइकै शब्दमा सम्प्रेष्य हुन्छन्, स्वादिला हुन्छन् । खतरा किन मोल्नु ।
अब सुन्नुहोस्; अच्युत दाइ आज्ञा गर्नुहुन्छः
सिल्भिया फोटीकी आमा सन् २००० मा मृत्युशैय्यामा छटपटाउँदै गर्दा छोरीसँग एउटा अनुरोध गरेकी थिइन्, ‘तिम्रा हजुर बा अर्थात् मेरा बा महान् मानिस थिए । तिनका बारेमा म मर्नुअघि नै जीवनी पढ्न पाए हुन्थ्यो !’
पेशाले पत्रकार तथा शिक्षिका सिल्भियाका लागि यो राम्रै कुरा थियो, कम्तीमा आमाको एउटा अपेक्षा पूरा गर्न सक्ने भएछु ।
जब हजुरबाका बारेमा उनले खोजी शुरू गरिन्, उनलाई किताब लेख्ने कि नलेख्ने भन्ने अलमल हुन थाल्यो । उनकी आमाको जन्मभूमि लिथुआनियामा हजुरबा जोनास नोरेकालाई एउटा नायकको सम्मान गरिन्थ्यो । जब जब बालखैमा आमाले हजुरबा जोनासका कथा सुनाउँथिन्, उनको हृदयमा ती महान् व्यक्तिप्रति सम्मान उम्लिएर आउँथ्यो । त्यसैले हजुरबाको जीवनी चाँडै सक्ने हुटहुटी जाग्न थाल्यो ।
उनकी आमाको निधनपछि त उनका लागि यो काम अझ बढी प्राथमिकतामा नै पर्यो ।
त्यसपछि उनको पत्रकारे जिज्ञासा बढ्न थाल्यो । तर उनको मन त्यो बेला अमिलिन थाल्यो, जब उनलाई नजिकबाट चिन्ने लिथुआनियाली-अमेरिकीहरूले गुह्य कुरा चुहाउन थाले ।
एक समय उनका हजुरबा नायक होइन, यहुदीविरोधी र कतिपय यहुदीका हत्यारासमेत रहेछन् । जब अझ खोतल्दै गइन्, एउटा पुस्तक नै तयार भयो – द नाजीज् ग्रान्डडटरः हाउ आई डिस्कभर्ड माई ग्रान्डफादर वज अ वार क्रिमिनल ।
सन् १९४६ को मार्च महीनामा रूसी सेनाले उनलाई पक्राउ गरी ३६ वर्षको उमेरमा मृत्युदण्ड दिएको थियो । सिल्भियाले के पत्ता लगाइन् भने जर्मनहरूसँग मिलेर सन् १९४१ ताका उनले प्लन्ज शहरमा करीब २ हजारभन्दा बढी यहुदीको हत्या गर्न सघाएका रहेछन् ।
उनको यस कार्यबाट ज्यादै खुशी भएर जर्मनीले उनलाई स्थानीय नेता बनायो र उनको कार्यकालमा ८ हजारभन्दा बढी यहुदीलाई मृत्युको मुखमा पुर्याए ।
यो किताब तयार पार्नका लागि जब उनी सन् १९९० को दशकमा लिथुआनिया पुगेकी थिइन्, उनलाई रूसी जासुसको आरोप लगाएर कम्ता दुःख दिइएको थिएन । किताब तयार भएपछि लिथुआनियाको राजधानी भिलनस त्यहाँका स्थानीय मेयरसँग हजुरबाले गरेको पापमोचनको प्रस्ताव राखिन् । भिलनसमा उनको जुन मूर्ति उभ्याइएको थियो, त्यसलाई हटाउन आग्रहसमेत गरिन् । भिलनसका मेयर यसमा सहमत भए ।
‘मैले स्वर्गमा भएका मेरा हजुरबासँग माफी मागिसकेँ तर सँगैमा मैले गर्नुपर्ने कर्तव्य पनि उहाँलाई स्पष्ट पारेँ । यति गरेपछि सत्यका पक्षमा मैले जे गर्नुपर्ने थियो, त्यो जिम्मेवारी पूरा गरेँ,’ उनले हालै न्युयोर्क टाइम्सको सम्पादकीय कोलममा लेखेकी छन् ।
दाइले नातिनी-बाजेको कुरा सक्दै अन्त्यमा भन्नुभयो – जुन दिन यही तहको इमान्दारिता किताब लेखनमा मात्र होइन, प्रत्येक अभिभावकले गरेका काममा तिनका सन्तानले समीक्षा गर्न थाल्नेछन्, त्यो बेला देश बन्छ बन्दैन मलाई थाहा छैन तर एउटा वास्तविक क्रान्तिको शुरूवात चाहिँ अवश्य शुरू हुन्छ । कहिलेकाहीँ सोच्छु… साँची यो तहको इमान्दार पुस्ता नेपालमा छ कि छैन होला, है ?
मचाहिं के सोचिरहेको छु भने नि – ‘पत्याउनुस्/नपत्याउनुस्’को हरेक अंकमा एउटा शीर्षक दाइको नाम गरिदऊँ । त्यसो गरे कसो होला ! हे हे हे ….
===
३. स्वामी विवेकानन्दको चलाखी
कुरो हामी सबैका स्वामी विवेकानन्दको !
सन्त स्वामीहरू पनि यात्रा गर्छन् । हो, विवेकानन्द युरोपको यात्रामा थिए । सुविधासम्पन्न रेलको यात्रा, उनी झ्यालबाट दृश्यलाई पर परसम्मको दृश्यमा पुर्याइरहेका थिए । उनको नजिकै दुई युरोपेली महिलाहरू थिए, तर सन्तको ध्यान महिलाहरूले खिच्न सकेनन् । सबै महिलाहरू मेनका र उर्वसी हुँदैन, हैन त ?
कुरो चाहिँ के भने, सन्त स्वामी विवेकानन्द गेरू वस्त्रमा थिए । सँगैका महिलाहरूले उनको वस्त्रलाई विषय बनाए, र खुब मजाक उडाए । वस्त्र सेमिङ क्या ! तर, सन्तलाई सांसारिक कुराको छुःमलतब; उनी दृश्यको संसारमा डुबिरहे, डुबिरहे ।
सन्तले पनि भक्त र प्रशंसकलाई छोड्न सक्दैन, शायद । विवेकानन्दले हातमा एक ब्रान्डेड घडी बाँधेका थिए जुन उनलाई एक युरोपेली प्रशंसकले उपहार दिएका थिए । वस्त्र सेमिङका मस्त महिलाहरूलाई घडीले तान्यो । शायद भने होला – यस्तो फुस्रे मान्छेको हातमा ब्रान्डेड घडी कस्तो नसुहाएको !
ती दुई महिलाले स्वामीतिर हेर्दै अंग्रेजीमा भने – ओ मान्छे, तिम्रो हातमा भएको घडी थपक्क हामीलाई देऊ । नत्र भने प्रहरीलाई बोलाउँछौं, र तिमीले हाम्रो इज्जत लुट्न खोज्यौ भनिदिन्छौं ।
महिलाहरूको कुराले सन्तको ध्यानमा कुनै असर गरेन । सुनेनन् या नसुने झैं गरे । अंग्रेजी नबुझेका पनि त हुनसक्छन् !
तर ती महिलाहरूले हार खाएनन् । तिनीहरूले विवेकानन्द बहिरो रहेछ भन्ने ठाने, र इशाराले कुरो बुझाउन चाहे । तर अझै पनि सन्तले कुरो बुझेनन् । बरू उल्टो, स्वामीले कलम र कापी झिकी ती महिलालाई दिए, र भन्न खोजेको कुरा लेखेर दिन इशारा गरे । सन्तको इशारा ती महिलाहरूले तत्कालै बुझे । हतारहतार सोही कुरा लेखेर दिएँ, र घडी पाउने कुरामा ढुक्क भए ।
स्वामी विवेकानन्दले पढे । मुसुक्क मुस्कुराए । र, फनक्क महिलाहरूतर्फ फर्किएर अंग्रेजीमा भने, ‘अब ठीक छ, प्रहरी बोलाउनुस् ।’
सन्त स्वामी विवेकानन्दले आफूहरूलाई उल्लू भनाएको कुरा सज्जन महिलाहरूलाई बुझ्न निमेष लागेन । उनीहरू जुरुक्क उठे, र अनुहार लुकाउन अर्को डिब्बातर्फ लगे ।
तपाईंलाई के लाग्छ ? – स्वामी विवेकानन्दले सही गरे कि गलत ? फेरि, यो घटना नै बकवास मान्ने अधिकार पनि त तपाईंलाई छँदै छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
‘मेटामोर्फसिस’ बेजोड कृति हो, जीवनकालमा सबैले एकफेर पढ्नुपर्छ : रामचन्द्र के.सी.
३ माघ २०८२, शनिबार 








