
१. विषयप्रवेश
लघुकथाको आयाम सानो हुन्छ । यसको तात्पर्य संरचनाका हिसाबले संक्षिप्त र स्वरूपमा लघुतम हुन्छ भन्ने हो । लघुकथा निर्माण गर्नका लागि पात्रका कार्य व्यापारले घटना घट्नु पर्दछ । कुनै पनि घटना समयसँग सम्बन्धित हुन्छ । लघुकथा आफै लघुतम हुने भएकाले घटनाको समय अर्थात् कालखण्ड पनि छोटै हुनुपर्छ भन्ने मान्यता छ । तर आधुनिक नेपाली लघुकथाहरूमा लघुकथाको कालखण्ड तत्क्षणदेखि पूरै जिन्दगी समेटिएको पाइन्छ । यसबाट के देखिन्छ भने लघुकथामा समेटिएको कालखण्ड कति लामो वा छोटो हुने भन्ने अन्योल छ । यही अन्योलले गर्दा लघुकथामा मानकता स्थापित गर्न पनि कठिनाइ परिरहेको छ ।
प्रश्न उठ्छ, लघुकथामा कालखण्ड हुनुपर्ने जति छोटो या लामो नभएको खण्डमा कालखण्ड दोष लाग्छ कि लाग्दैन ? यदि कालखण्ड दोष लाग्छ भने कस्तो अवस्थामा लाग्छ ? लघुकथालाई कालखण्ड दोष मुक्त कसरी बनाउन सकिन्छ ? इत्यादि प्रश्नहरूको उत्तर नेपाली साहित्य जगतमा पाउन कठिन छ । यस्तो बेलामा पुराना र नवसर्जकहरूलाई कालखण्ड दोषका बारेमा जानकारी दिइएन भने कालखण्ड ग्रसित लघुकथा लेख्ने बानी बस्छ र मानक लघुकथा लेख्न सकिँदैन । विधागत उन्नयनका लागि पनि कालखण्ड दोषका बारेमा छलफल र अनुसन्धान हुन जरूरी छ । यसका साथै कालखण्ड दोषलाई मान्यता दिन र लघुकथा लेखनका सिद्धान्तमा समावेश गर्न जरूरी छ । यो आलेख यही कालखण्ड दोषका विषयमा केन्द्रित छ ।
* * * *
२. लघुकथामा कालखण्ड दोष
लघुकथामा कालखण्ड दोष छ कि छैन भनेर हेर्न लघुकथाको कथानकलाई हेर्नु पर्छ । स्वरूपमा लघु हुने भएकाले लघुकथाको कथानक सीमित घटनाबाट निर्माण गरिएको हुन्छ । सकभर घटना एउटा अथवा बढीमा दुई वटा भन्ने मान्यता पनि छ । तर त्यस्ता घटना अथवा घटनाहरूलाई समयको एउटै कालखण्डमा राखेर कथानक बनाइनुपर्छ भन्ने अर्को मान्यता छ । फरक कालखण्डमा घटेका घटनाहरू समावेश गरेर कथानक बनाउनु र एउटै कालखण्डमा घटेका घटनाहरू उनेर कथानक बनाउनु फरक कुरा हो ।
जब लघुकथामा एक भन्दा धेरै कालखण्डहरू हुन्छन् त्यतिखेर त्यो लघुकथा कालखण्ड दोषयुक्त हुन्छ । अर्थात्, लघुकथामा कालखण्ड दोष भनेको लघुकथा एउटै कालखण्डमा सीमित नभएर विभिन्न कालखण्ड भएर अगाडि बढ्नु हो । अर्कोतर्फ, धेरै घटनालाई र विभिन्न कालखण्ड अथवा समयको अन्तराललाई जोड्ने सीप सर्जकमा नहुँदा पनि लघुकथामा कालखण्ड दोष उत्पन्न हुन्छ ।
लघुकथामा हुनसक्ने कालखण्ड दोष थाहा पाउने अर्को तरिका भनेको कार्यकारण शृङ्खलामा देखिएको समयको अन्तराललाई पर्खनु हो । लघुकथाको कथानकमा समाविष्ट घटनाहरूका बीचको सामयिक अन्तरालमा समयले फड्को मार्यो भने पनि त्यसरी बनेको लघुकथा कालखण्ड दोषले ग्रसित हुन्छ ।
नेपाली लघुकथामा कालखण्ड दोषका बारेमा अध्ययन अनुसन्धान भएको बिरलै पाइन्छ । नेपालभन्दा बाहिर हिन्दी साहित्यमा लघुकथामा हुने कालखण्ड दोषले व्यापकता पाइसकेको छ । हिन्दी साहित्यमा कालखण्ड दोषयुक्त लघुकथालाई ‘लघुकथा’ नमानेर ‘छोटा कथा’ (शर्ट-स्टोरी) को श्रेणीमा राखिएको छ । अंग्रेजी साहित्यमा पनि कालखण्ड दोषका बारेमा अध्ययन अनुसन्धान भएको पाइन्छ । लघुकथामा कालखण्ड व्यवस्थापनमा हुने फरकबाट त्यस रचनालाई लघुकथा (माइक्रो स्टोरी/माइक्रो फिक्सन) भन्ने कि अन्य प्रभेद (फरक नामाकरण) मा समावेश गर्ने भन्ने निश्चित खाका पनि तयार भएको पाइएको छ ।
कालखण्ड दोष युक्त लघुकथा कस्तो हुन्छ भन्ने प्रष्ट पार्न हरिप्रसाद भण्डारीको एउटा लघुकथालाई हेरौं ।
लघुकथा : काला सर्पको खोजी
सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई डस्यो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो विष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी तक्ताम्य अवस्थामा रुँदै घर पुगिन् ।
उनको दर्दनाक अवस्था देखेर घरका जहान आत्तिए । सक्दो औषधिमूलो गरे । छिमेकीहरूले सहानुभूति देखाए । सर्पविरुद्ध आक्रोश उब्जियो तर तत्काल त्यो सर्पलाई मार्न सकिएन ।
डसाइको पीडाले उनी महिनौं थलिइन् । आराम भएपछि उनलाई गाउँमा बस्न मन लागेन । आफन्तको साथ लागेर शहरतिर लागिन् ।
शहरमा जुठो भाँडो गरेर जेनतेन प्राण धान्दै थिइन् । एक रात त्यस्तै अर्को सर्पले उनलाई फेरि डस्यो । त्यस घटनाले उनको जीवनमा अर्को पीडा थप्यो । जीवनलाई थप विषाक्त बनायो । त्यसपछि त डसाइका घटनाहरू दोहोरिन थाले ।
सर्पहरूको अत्याचारबाट आजित भएर उनी सर्पविहीन ठाउँको खोजीमा भौतारिंदै मठ-मन्दिर, पाठशाला, कार्यालय, सामाजिक सङ्घसंस्था आदि ठाउँहरूमा पुगिन् तर त्यहाँ पनि कुनै न कुनै प्रकारका सर्पसँग जम्काभेट भई नै रह्यो । डसाइका प्रयत्नहरू जारी रहे ।
पीडा खप्दाखप्दा सर्पहरूको डसाइ अब उनका लागि नौला विषय रहेन । डसाइका कारण बरु उनी सर्पभन्दा पनि विषालु भइन् । सर्पहरू उनलाई अमृत ठानेर पिउन खोज्थे र पिउँदापिउँदै लट्ठिएर ढल्थे । सर्पहरू ढलेको देखेपछि उनलाई आनन्द लाग्थ्यो । अनि ढलेको सर्पमाथि घृणाले थुक्थिन् ।
अब भने उनलाई कुनै सर्पले डस्छ कि भन्ने पिरलो भएन । सर्पको डसाइबिना उनी नै बरु बाँच्न नसक्ने भइन् । त्यसपछि उनी शरीर डसाउनकै लागि काला सर्पको खोजीमा भौतारिंदै हिड्न थालिन् ।
(साभार: हरिप्रसाद भण्डारी, काला सर्पको खोजी, २०६८)
काला सर्पको खोजी लघुकथाको कथानक धेरै वटा कालखण्डहरू भएर अगाडि बढेको छ । पहिलो कालखण्डमा उनी सर्पको डसाइबाट रक्ताम्य अवस्थामा घरमा पुग्नु र घर छिमेकले औषधोपचार गरेको घटना छ । दोस्रो कालखण्डमा सर्पको डसाइबाट निको भएपछि उनी शहरतिर लागेको घटना छ । तेस्रो कालखण्डमा जुठो भाँडो गरेर प्राण धानिरहेको अवस्थामा अर्कै सर्पले डसेको घटना छ । चौथो कालखण्डमा उनी सर्पविहीन ठाउँको खोजीमा भौंतारिएको घटना छ । पाँचौं कालखण्डमा सर्पहरूले उनलाई डस्दै ढल्दै गर्छन् र यसरी ढलेका सर्पहरूलाई उनले थुक्ने गरेको घटना छ । छैठौं कालखण्डमा सर्पको डसाइबिना उनी आफैं बाँच्न नसक्ने भएर सर्प खोज्दै हिंडेको घटनाबाट लघुकथाको अन्त्य भएको छ । यसरी लघुकथाको कथानक पाँच कालखण्डहरू भएर अगाडि बढेको छ । एउटै कालखण्डमा नसकिएर विभिन्न कालखण्ड समेटिएको र समयको अन्तराल धेरै भएकाले यो लघुकथा कालखण्ड दोषबाट मुक्त हुन सकेको छैन । यसैले काला सर्पको खोजी कालखण्ड दोषयुक्त लघुकथा हो ।
* * * *
३. लघुकथामा कालखण्ड दोष निवारण
लघुकथामा कालखण्ड दोष निवारण गर्ने उपाय पनि छन् । सबैभन्दा पहिले त लघुकथा कालखण्ड दोषयुक्त हुन सक्छ भन्ने धारणालाई सहर्ष स्विकार्नु पर्छ । दोस्रो, नजानेर अथवा नबुझेर कालखण्ड दोषयुक्त लघुकथा लेखिसकेको छ भने तिनलाई सुधार्ने चेष्टा गर्नुपर्छ । अथवा कालखण्ड दोषयुक्त लघुकथालाई छोटा कथा भन्नुपर्ने हुनसक्छ । कालखण्ड दोष मुक्त लघुकथा लेख्नका लागि तल दिइएका तरिकाहरू अपनाउन सकिन्छ ।
३.१ एउटै कालखण्डमा सीमित कथानक
लघुकथा सिर्जना गर्दा कथानक एउटै कालखण्डमा सीमित गरियो भने कालखण्ड दोष आफै हट्छ । यहाँ सम्झनुपर्ने कुरा के छ भने एउटै कालखण्डमा एउटा घटना मात्र हुन पनि सक्छ अथवा घटनाहरू हुन पनि सक्छन् । सर्जकको असावधानीले गर्दा घटनाहरूको बीचमा समयको अन्तराल आयो भने त्यसबाट अर्को कालखण्ड उत्पन्न हुनसक्छ । त्यसैले लघुकथाको एकोन्मुखी अभिलक्षणलाई आत्मसात् गर्दै कथानकलाई एउटै कालखण्डमा सीमित गर्नुपर्छ ।
३.२ सिपद्वारा समयको अन्तरालको निरूपण
यदि कथानक फरक समयमा घटेका घटनाहरूबाट सिर्जित छ र विभिन्न कालखण्ड भएर गएको छ भने सर्जकको सिल्पद्वारा समयको अन्तराललाई मिलाउन सकिन्छ । यसको उद्देश्य विभिन्न कालखण्डलाई सर्जकले आफ्नो सिपद्वारा एउटा मात्र कालखण्ड बनाउनु हो । यसलाई प्रष्ट पार्न स्टिभ मस र जोहन एम. ड्यानिएलद्वारा सम्पादित दि वोर्ल्ड्स शर्टेस्ट स्टोरिज अफ लभ एन्ड डेथ सङ्ग्रहबाट लिएको डग लंगको लघुकथा हेरौं ।
लघुकथा : द्रुत अग्रगमन
अन्तिम तीन सेकेन्डमा उसको जिन्दगी आफ्नै आँखा अगाडि फनफनी घुम्यो कसरी जन्मँदा नीलोबाट आमाका दूध चुसेपछि ज्यानमा रगत आएको, काछे लाएर बामे सरेको, आफ्नी दिदीलाई अङ्कमाल गरेको, निस्फिक्री खेलेको, हाँसेको, लडिबुडी गरेको, स्कूल गएको, झगडा गरेको, आमालाई गाली गरेको, बाबुको मृत्युमा रोएको, स्नातक उत्तीर्ण गरेको, पढाइअनुसार काम गरेको, विवाह गरेको, कार्यालयमा कामचोर बनेको, जागीरबाट निकालिएको, श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको, जँड्याहा बनेको, द्रुत गतिमा गाडी चलाएको, आँखै नहेरी विपरीत दिशाबाट आइरहेको गाडीमा ड्याम्मै ठोक्काएको थियो ।
(साभार: डग लंग, १९९९)
(अनु. कुसुमाकर शर्मा गौतम)
यस लघुकथामा शुरूको एउटा वाक्यले धेरै कालखण्डमा घटेका घटनाहरूलाई एउटै कालखण्डमा घटेको बनाइएको छ । विपरीत दिशामा आइरहेको गाडीमा ठोकिएर मर्नुअगाडिको तीन सेकेन्डमा आफ्ना जीवनमा घटेका सबै घटनाहरू उसको मन मस्तिष्कमा फनफनी घुमे । विभिन्न कालखण्डमा घटेका घटनाहरूको सामयिक अन्तराललाई एउटै कालखण्डमा जोडेर ल्याउने शिल्पको राम्रो उदाहरण यो लघुकथा हो । शिल्प सिकेर एवं अभ्यास गरेर तिखार्न सकिन्छ । यसरी लघुकथालाई कालखण्ड दोषबाट मुक्त गर्न सकिन्छ ।
३.३ पूर्व दीप्ति शैलीको उपयोग
लामो अन्तरालमा घटेका घटनाहरूलाई पूर्वदीप्तिमा प्रस्तुत गरेर लघुकथालाई कालखण्ड दोषबाट मुक्त गर्नसकिन्छ । लघुकथामा अत्यधिक प्रयोग हुने शैली पूर्व दीप्त शैली हो । यो शैली प्रयोग गरेर लेखिएका लघुकथाहरू प्रशस्त पढ्न पाइन्छ । पूर्वदीप्तिले बितिसकेका घटनाहरूलाई स्मृतिका रूपमा वर्तमानसँग जोड्छ । यस शैलीमा पात्रका रूपमा समाख्याताको भूमिका अहम हुन्छ ।
पुर्वदीप्ति शैली प्रयोग गरेर कालखण्ड दोषबाट मुक्त लघुकथा हेरौँ ।
लघुकथा : उपहार
आज पनि बालकृष्णको नजर लाहुरेफूलको त्यही एउटा थुँगामा पर्यो ।
समयले कोल्टो फेरे पनि उनलाई स्मृतिले छोड्न मानेन । एक हप्ताअघि लाहुरेफूलको त्यही एउटा थुँगा मात्रै ढकमक्क फुलेको थियो । आफ्नै भारले थुँगा नुहेको थियो । थुँगालाई सिधा बनाउन घुमाउँदै माथिल्लो तहको चाङमा पुर्याउन खोज्दा कमलो डाँठ प्याटै भाँचियो । भाँचिएको डाँठलाई हरियो पातलो बोक्राले मात्रै जोडेको थियो । पहिलो फूल आफैले भाँचेकोमा बालकृष्ण साह्रै दुखी भए ।
चुकचुकाउँदै बालकृष्णले डाँठ सिधा बनाए । थुँगातिरको भाँचिएको डाँठको टुप्पोलाई फेदतिरको टुप्पोमा बसाले । नछुट्टिएको पातलो बोक्राले मात्रै त्यो अड्याउन सकेका थिए । त्यति गर्दा पनि तुरुन्तै ठड्याइएकाले जोडिएछ र जीवन सञ्चार भएछ । आज त्यो थुँगा सानो भए पनि अरू थुँगाहरूसँगै खडा छ ।
बालकृष्ण भुइँमा बसे र त्यो थुँगालाई हल्का स्पर्श गरे । उनी जब एक पाइला अगाडि सरेर अर्को थुँगा छुनै आँटेका थिए, पछिल्तिरबाट उनको तेह्र वर्षे छोरो लर्खराउँदै करायो, “तिस्कुल दाने बेला भो बा । लोती थान आऊ ।”
बालकृष्णले फर्केर हेरे । लाहुरेफूलको त्यही जोडिएको थुँगा र आफ्नो विकलाङ्ग छोरो दुवै सँगसँगै मुस्कुराएको जस्तो लागेर गमे, “दुवै प्रकृतिका सांसारिक उपहारहरू, आहा ! कति सुन्दर छन् ।”
(साभार: कुसुमाकर शर्मा गौतम, हिउँको राप लघुकथा सङ्ग्रह, २०८०)
यस लघुकथामा प्रष्ट दुई वटा कालखण्ड समाविष्ट छन् । बालकृष्ण आफ्नो करेसा बारीको फूललाई स्पर्श गर्दैगर्दा उनको विकलाङ्ग छोरो आएर ‘भात खान आऊ बा’ भनेकोसम्मको एउटा कालखण्ड हो । एक हप्ताअघि भाँचिएको लाहुरे फूललाई जोगाउन घटेका घटनाहरू समावेश भएको समय अर्को कालखण्ड हो । एक हप्ता अघिको कालखण्डलाई पूर्वदीप्तिमा राखेर समयको अन्तराल र समयको फड्कोलाई दोस्रो कालखण्डमा यसरी घोलिएको छ कि यहाँ कालखण्ड दोष देखिंदैन । यसरी पूर्वदीप्ति शैली प्रयोग गरेर लघुकथालाई कालखण्ड दोषबाट मुक्त गर्न सकिन्छ ।
३.४ नाटक शैलीको उपयोग
नाटक शैली प्रयोग गरेर पनि कालखण्ड दोषबाट मुक्त लघुकथा लेख्न सकिन्छ । नाटक मञ्चन हुँदा फरक फरक दृश्यहरू बनाएर देखाइन्छ । ती दृश्यहरू हाम्रै आँखा अगाडि आउँछन् र जान्छन् । यही धारणाअनुरूप फरक कालखण्डमा घटेका घटनाहरूलाई नाटकका विभिन्न दृश्यहरूको रूपमा प्रस्तुत गर्दै अहिले नै मञ्चन भैरहेको जस्तो गरेर लघुकथा निर्माण गरियो भने पनि लघुकथा कालखण्ड दोषबाट मुक्त हुन्छ । किनभने घटनाको समय जति पुरानो भए पनि ती घटनाहरू आफ्नै अगाडि देखिएकाले मञ्चन भैरहेको कालखण्ड त अहिलेको हो ।
नाटक शैली प्रयोग भएको लघुकथालाई एक पटक हेरौँ ।
लघुकथा : समयको चक्र घुम्दै छ
शहरको प्रसिद्ध टैगोर नाटकघर खचाखच भरिएको छ । बस्नलाई सीट नपाएका दर्शकहरू भित्तोमा अडेस लगाएर पनि उभिएका छन् । रङ्गमञ्चका हजुरबाबु मानिएका नीलाम्बर दत्तको यो अन्तिम प्रस्तुति हो ।
हलभित्रका बत्ती निभ्दै गैरहेका छन्, अगाडिको पर्दा उठ्दैछ ।
दृश्य: एक
झलमल्ल उज्यालोमा मुगल दरबार सजाइएको छ । सम्राट जहाँगीर अग्लो शाही सिंहासनमा ठाँटले विराजमान छन् । भुइँमा भारदारहरू दायाँ र बायाँ बसेका छन् । एउटा अंग्रेज दुवै हात पछाडि बाँधेर अलिकति झुकेर उभिएको छ । उसले शाही हिन्दूस्तानको सुरत शहरमा व्यापार गर्ने र कलकारखाना खोल्ने अनुमति पाऊँ भनी इस्ट इन्डिया कम्पनीका तर्फबाट निवेदन गरेको छ । भारदारमा सर-सल्लाह चल्दै छ ।
“अनुमति छ …” सम्राटको ठूलो आवाजका साथ भएको निर्णयले बैठक समाप्त हुन्छ ।
मञ्चको उज्यालो घट्दै छ… हलको बत्ती बल्दै छ ।
दृश्य: दुई
मञ्चमा बढ्दै गएको उज्यालोमा कारागारको एउटा कोठा देखिन्छ । दुवै खुट्टा खुम्च्याएर बसेका भगत सिंह, सुखदेव, र राजगुरु गहिरो चिन्तनमा छन् । जेलर कोठाभित्र आउँछ ।
“आज तिमीहरू तिनै जनालाई फाँसी दिने हो भन्ने थाह छ हैन भरत सिंह ! तिम्रो अन्तिम इच्छा के छ ?”
“हामी भारत स्वतन्त्र भएको हेर्न चाहन्छौं । इन्कलाब जिन्दाबाद …” तिनै जनाको एकमुष्ट आवाज कारागारको भित्तामा ठोक्किएर गुन्जन्छ ।
मञ्चको उज्यालो घट्दै छ, पर्दा झर्दै छ ।
दृश्य: तीन
बिस्तारै चम्किंदै गएको बत्तीमा मञ्चको अँध्यारो हराउँदै छ । दर्शकका अघिल्तिर लालकिल्लाको एउटा आँगनको दृश्य आउँछ । बेलायतको झण्डा तल झर्दै छ र भारतको झण्डा माथि जाँदै छ ।
आँगनको उज्यालो घट्दै छ । मञ्चको एकापट्टिको भागमा उज्यालो फैलिँदै जान्छ । बिहानको समय छ । प्रभातको किरणसँगै टोल छिमेकमा मान्छेहरू एक-आपसलाई अङ्कमाल गर्दैछन् … मिठाई बाँड्दैछन् …स्वतन्त्रता मनाउँदैछन् ।
मञ्चको पर्दा सुस्त सुस्त खस्दै छ ।
दृश्य: चार
झलमल्ल उज्यालो मञ्चमा भारतीय संसद्को दृश्य देखिन्छ । सत्तापक्ष र विपक्षका बीच एउटा गम्भीर विषयमा छलफल चलिरहेको छ ।
“देशको अर्थ व्यवस्था सुधार्नका लागि व्यापारमा विदेशी लगानीकर्ता भित्र्याउन कानून खुकुलो पार्नुपर्छ …” सत्तापक्षको तर्क छ ।
“यो त हाम्रो स्वदेशी अर्थ व्यवस्था बिगार्ने षडयन्त्र हो …।” विपक्षले जोडदार खण्डन गर्दैछ ।
प्रत्येक सांसदले आ-आफ्नो मेचमा भएको बटन दबाएर मत दिइसकेकाछन् । सबै सांसद लोकसभा अध्यक्षद्वारा परिणामको घोषणा हुने प्रतीक्षामा छन् ।
“सरकारको प्रस्ताव बहुमतद्वारा पारित भयो …” लोकसभा अध्यक्षको दबेको आवाजसँगै मञ्च अँध्यारोमा दुब्दैछ ।
झलमल्ल बत्ती बल्दा पनि हल स्तब्ध छ । यसपटक दर्शकले ताली बजाउन नै भुलेकाछन् ।
(साभार: मधुदीप: समय का पहिया लघुकथा संग्रह, २०१५)
(अनु. कुसुमाकर शर्मा गौतम)
यस लघुकथामा नाटक शैली प्रयोग गरेर ४०० वर्ष पुरानो मुगल साम्राज्यको समयदेखि हालको समयसम्मका विभिन्न कालखण्डमा घटेका घटनाहरूलाई समेटिएको छ । धेरै समयको अन्तरालमा घटेका घटनाहरूलाई दर्शकदीर्घाका अगाडि मञ्चन गर्दै अहिले एकै कालखण्डमा घटेको जस्तो गरी प्रस्तुत गरेर यस लघुकथालाई कालखण्ड दोषबाट मुक्त गरिएको छ ।
* * * *
४. उपसंहार
लघुकथामा कालखण्डको महत्त्वपूर्ण स्थान छ । तर पनि लघुकथाको कालखण्ड कति लामो हुनुपर्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन । एक भन्दा बढी कालखण्ड समावेश गरिएको लघुकथा कालखण्ड दोषयुक्त हुन्छ । कालखण्ड दोषयुक्त लघुकथा मानक लघुकथा बन्न सक्दैन । लघुकथालाई कालखण्ड दोषबाट मुक्त गर्ने उपायहरू पनि छन् ।
सबैभन्दा पहिले त लघुकथामा हुनसक्ने कालखण्ड दोषलाई स्वीकार्न सक्नु पर्छ । यसले कालखण्ड दोषका बारेमा जान्ने उत्सुकता बढ्छ । आफ्नो लेखन शिल्प बढाउन लघुकथाका सिद्धान्त पढ्नु पर्छ । एक भन्दा बढी कालखण्ड समावेश भएको छ भने पूर्वदीप्ति अथवा नाटक शैली प्रयोग गरेर कालखण्ड दोषको निवारण गर्न पनि सकिन्छ । कालखण्ड दोष लघुकथाको उन्नयनका लागि विकराल समस्या हो । यसलाई सबै सर्जकहरू, समीक्षक, समालोचक, सम्पादक, अनुसन्धानकर्ता र लघुकथाका अभियन्ताहरू मिलेर समाधान गर्नुपर्छ ।
* * * *
सन्दर्भ सामग्री
अर्याल, लक्षमण (२०७८). लघुकथा विमर्शन. चितवन: वाल्मीकि साहित्य सदन ।
अश्क, गोपाल (२०८०). लघुकथा: प्रक्रिया र पाठ (दोस्रो संस्करण). चितवन: आधुनिक लघुकथा मञ्च ।
कसजू, विनयकुमार (२०६५). लघुकथा: गल्पदेखि झल्याँस्ससम्म. प्रतिनिधि नेपाली लघुकथा (सम्पा. विनय कुमार कसजु). काठमाडौं: विवेकशील सृजनशील प्रकाशन प्रा.लि. ।
गौतम, कुसुमाकर शर्मा (२०८०). हिउँको राप लघुकथा सङ्ग्रह. ललितपुर: साझा प्रकाशन ।
गौतम, लक्षमणप्रसाद (२०७२). लघुकथाको रचनाविधान. काठमाडौं: लघुकथा समाज ।
डग लंग (१९९९). फास्ट फोरवार्ड. दि वर्ल्ड्स शर्टेर्स्ट स्टोरिज अफ लभ एन्ड डेथ (सम्पा. स्टिभ मस र जोहन एम. ड्यानिएल). फिलाडेल्फिया: रनिंग प्रेस ।
नेलेस विलियम (२०१२). माइक्रो फिक्सन: ह्वाट मेक्स ए भेरी शर्ट स्टोरी भेरी शर्ट ? न्यारेटिभ-२०/१:८७-१०४.
नेपाल प्रज्ञा प्रतिष्ठान (२०७५). नेपाली बृहत् शब्दकोश. संशोधित र परिवर्धित दशौँ संस्करण. कमलादी, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रभाकर, योगराज (२०१६). लघुकथा में कालखण्ड दोष ।
भट्ट, पुष्करराज (२०७७). लघुकथाको परिचयगत सन्दर्भ र लेखन कला. साेपान-१७/६:१६६-१७४ ।
भण्डारी, हरिप्रसाद (२०६७). काला सर्पको खोजी. ललितपुर: साझा प्रकाशन ।
मधुदीप (२०१५). समय का पहिया लघुकथा संग्रह. नई दिल्ली: दिशा प्रकाशन ।
शर्मा, मोहनराज (२०७८). समालोचनाका नयाँ कोण. काठमाडौं:ओरिएन्टल पब्लिकेसन हाउस.
श्रेष्ठ, दयाराम (२०७९). कथा दर्शन. काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

