आज म थाक्दिनँ
सगरमाथाको टुप्पो हेरेर
सपनाको उचाइ मापन गर्छु
धूलो लागेका बाटोहरूमा पाइला राखेर
भोलिको उज्यालो खोज्दै हिँड्छु
मेरा हरेक पसिना
एक पत्थर हो—
भोलिको दरबार बनाउने इँटा
अहिलेको अन्धकारले मलाई डर देखाउँछ
तर म जान्दछु—
सत्य सधैं बिहानसँगै उदाउँछ
म भोलि रमाउँछु भनेर
आजको पीडा अँगाल्छु
किनकि म जान्दछु
सजिलो भोलिका लागि
आज अप्ठ्यारा डोबहरू पार गर्नुपर्छ
आजको घाम तिखो लाग्छ
आजको हिंडाइ पट्यार लाग्न सक्छ
हातको रेखाभरि पसिना बग्छ
तर यिनै थोपा–थोपा पसिनामा लुकेको छ
भोलिको सहजता, भोलिको मुस्कान
आज समयसँग लड्नुपर्छ
नीदसँग सम्झौता गर्नुपर्छ
र सपनाहरूलाई
पुनः–पुनः सम्झाउनु पर्छ
जीवन एक खेत हो
आज छर्ने बीउहरू
भोलिको अन्न बन्छन्
माटो मोल्छु म
पसिनाले सिञ्चन गर्छु
र आशाले खनजोत गर्छु—
किनभने मलाई थाहा छ
सजिलो भोलि
कठिन आजकै उपज हो
किनभने म विश्वास गर्छु—
भोलि सजिलो हुन्छ
यदि आज गाह्रो हुँदासमेत
म हार मानिन भने ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










