मलाई यस्तो लाग्छ;
यहाँ तपाईंले ‘लाग्छ’ पछि जे देख्नुभयो, अचेलका वाक्यहरूमा देख्न मुश्किल छ ।
नेपालीमा त लुप्तप्रायः भइसकेको सेमीकोलन (अर्द्धविराम) अंग्रेजी भाषाबाट पनि हराउन थालेको भन्दै चिन्ता गर्न थालिएको छ ।
भाषाविज्ञहरूले अर्द्धविराममाथि अनुसन्धान गर्दा के पाए भने, २५ वर्षअघिसम्म यस्ता अर्द्धविरामहरू किताबमा प्रशस्त देखिन्थे । अचेल भने ती देख्न मुश्किल हुन थालेको छ ।
अध्येताहरूले सन् २००० ताका सेमीकोलनहरू प्रत्येक २०५ शब्दपछि अनिवार्य देख्थे । अहिले आएर त्यो शब्दसीमा बढेर ३९० शब्दमा पुगेको छ ।
यो अध्ययन गरेकी हुन्, लीशा म्याकलेन्डनले । द पर्फेक्ट इंग्लिश ग्रामर वर्कबुककी लेखिकाका अनुसार बेलायतमा ६७ प्रतिशत विद्यार्थीहरूले जीवनमा विरलै वा कहिलेकाहीँ मात्र सेमीकोलन प्रयोग गर्ने गरेको स्वीकारेका छन् ।
उनले ठूलो संख्यामा विद्यार्थीहरूमाझ गरेको शाब्दिक सर्भेमा यो कुरा देखिएको हो ।
जम्माजम्मी ११ प्रतिशत विद्यार्थीहरूले मात्र ( ; सेमीकोलन) लाई आवश्यकताअनुसार अझै पनि प्रयोग गर्ने गरेको बताएका थिए ।
भाषा प्रशिक्षण सफ्टवेयर बनाउने कम्पनी बाबेलले हालै लेखिका लीशालाई हराउँदो सेमीकोलनका बारेमा विद्यार्थीहरूमाझ सोध्न आग्रह गरेको थियो ।
लीशाले पनि ५ लाखभन्दा बढी विद्यार्थीहरूमाझ पुगेको सोको अनुसन्धान गरेकी थिइन् । तीमध्ये आधा वा त्योभन्दा बढीले शब्दमा उपयोग हुने विभिन्न किसिमका संकेत, चिह्न, विरामहरूका बारेमा कि त पूरै थाहा नपाएको, थोरबहुत थाहा पाए पनि तिनलाई कहाँ-कसरी प्रयोग गर्ने भन्नेबारे पूर्ण जानकारी नभएको भनी स्वीकार गरेका थिए ।
लीशा भन्छिन्, ‘म चाहिँ यो सेमीकोलनको भयंकर प्रशंसक हुँ । यसले जुन विराम र अर्थ दिन्छ, त्यसको कुनै जोडा छैन । यो सानो चिह्न वास्तवमा ठूलो सोचको परिचायक हो । कमा र थोप्लो मिलेर बन्ने यो चिह्नले बेग्लै किसिमको भाषामा निकै भव्य भाव दिने गरेको छ । यो हराउँदै जानु चिन्ताको विषय हो ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










