फिदिम बजारको नजिकै सानो गाउँ ! पहाडी जिल्ला भए पनि धेरै चिसो छैन, मधेशको जस्तो उराठ लाग्दो गर्मी पनि छैन । बिहानको हावाले चूपचाप मनको झ्याल ठोकिन्छ । पहाडको त्यो काठको घर, जताततै पारिजातको वासना र ओभाएको घामको न्यानोपन ! गोठको छानो जिउँदै जस्तै हल्लिन्छ । त्यसको तानाबानामा झुन्डिएका छन् अनेक स्मृतिहरू । अधुरा हाँसोहरू, टुक्रिएका सपना, र ती सबै जो कहिल्यै पूरा नहुने भविष्यसँग सधैंका लागि बिदा भए ।
धनबहादुर आज पनि बिहान साढे पाँच बजे उठ्छन् । एकछिन दलानतिर हेरेर बस्छन् । जुन दलानबाट कहिल्यै फर्किएन काइँलीको हाँसो, जसले यो घरको भित्ताभरि उज्यालो पोत्थ्यो ।
गोठको कुनाबाट बाख्राहरू कराउँछन् तर त्यो आवाजले अब धनेलाई ब्यूँझाउँदैनन् । उनी त पहिल्यैदेखि भित्रभित्रै बिउँझिएका छन् । एक्लोपनको आँधीमा लडेका छन् । घरभित्रको गन्धमा काइँलीको सिन्दुर मिसिएको छ । र भित्तामा टाँसिएका ती पुराना तस्वीरहरू, जसमा मुस्कान छैन, केवल सम्झना बाँकी छन् ।
तीस वर्षअघि काइँलीसँग भागेर विवाह गरेका थिए । सुन्दर सपना बोकेर, अनि समाजलाई छलेर ।
काइँलीले भनेकी थिइन्, “हाम्रो प्रेमले घर बनाउने हो, समाजको अनुमतिले होइन ।”
धनेले त्यो वाचा जोगाएका थिए । काठको दुई तल्ले घर, एक छोरी माया, अनि प्रेमको हेरचाहले भरिएको जिन्दगी !
‘माया‘ नाम जस्तै मायालु, मन लोभ्याउने बोली, सूर्यमुखी जस्तो हाँसो, चरा जस्तो चञ्चल, पानी जस्तै गहिरो मन ! फिदिम बजारको बोर्डिङ स्कूलमा पढ्थिन् । “बुबा, आज अचार राख्नुभयो ?” भनेर खुट्टा ठटाउँदै भान्सातिर झुल्किन्थिन् । त्यो बेला धनेको मन नदीझैं बग्थ्यो, शान्त तर चञ्चल !
समाजले त्यो परिवारको शान्तिमा विष मिसायो । गाउँलेहरू तीखो कुरा गर्थे, “धने, एउटा छोरीले के गर्छ र ? छोरा भइदिएको भए…!”
धने चूप लाग्थे । तर काइँली चूप लाग्दिन थिइन् । रातको अँध्यारोमा काइँलीले सपना सजाउँथिन् । छोरा सम्झिएर कपडा सिउँथिन् – सानो साइजको छालाको ज्याकेट, ढाकाको टोपी, अनि नीलो रङको मोजा ।
एक रात, जब सिस्ने हावा झ्यालको पर्दा उडाउँदै थियो, काइँलीले आँसु पोख्दै भनिन्, “धने, मलाई फेरि आमा बन्न मन छ… एकपटक फेरि जीवन बोकेर हिंड्न पाऊँ ।”
उसका हात समाउँदै धने बोल्यो, “हाम्रो जीवन आधा अधुरो छैन, तर पनि …. । तिमी चाहन्छ्यौ भने, परिवारमा नयाँ जीवन ल्याउन तयार छु ।”
काइँली फेरि आमा बन्न लागिन्, सिङ्गो घर उज्यालोले भरिएको जस्तो लाग्यो धनेलाई । बिहान उनले भुटेको मकैमा प्रेम मिसाउँथे, दिउँसो काइँलीको आँखाको चमकमा नयाँ जीवनको किरण देख्थे, अनि बेलुकाको चिसो दूधमा उनले भविष्यको मिठास अनुभूत गर्थे ।
“छोरी भए गीता, छोरा भए अर्जुन, है त !” एक साँझ सुत्ने बेलामा धनेले भनिरहे ।
काइँलीले टिमटिम बलेको बत्ती निभाउँदै कानमा फुसफुसाइन्, “तिमी जस्तो धनी मन पाउने नाम जे राखे पनि पुग्छ ।”
तर समय सधैं साक्षी हुँदैन । कहिलेकाहीं त्यो निर्मम शत्रु बन्दो रहेछ । छ महिनामा पेट दुख्यो । रातको दुई बजेको सुइँयाँले झसङ्ग पार्यो धनेलाई ! बाहिर बर्खाको ओठमा बिजुलीको आँखा चम्किरहेको थियो । धनेले काइँलीलाई बोक्दै अस्पताल पुर्याए । हतार, दौडधुप, र आर्तनाद…! सन्तान जन्मियो—पखेटा नफुटेको चराको जस्तो, एक किलोको । सास लिएझैं गर्यो । र तुरुन्त फेरि चूप ।
नाम राख्न नपाइएला भनेर धनेले कानमा फुसफुसाए, “अर्जुन…!”
तर त्यो नामसँगै सास पनि हरायो ।
काइँलीलाई पनि बचाउन सकिएन । रक्तस्रावले उसको जीवनको सम्पूर्ण रङ हरायो ।
काइँलीले अन्तिम पटक धनेको अनुहार हेरेर मुन्टो हल्लाइन् । के त्यो माफीको संकेत थियो ? कि अधुरो अभिलाषाको ?
त्यो रात, धने एक्लै थिए । अस्पतालको खाली कुर्सीमा, न आँसु पुछिदिने कोही, न सम्हालिदिने कोही । आँसु बगिरह्यो, मन भित्रको आगो निभाउन सकेन ।
घर फर्कंदा माया सिँढीको छेउमा कुर्लिन्, “आमा खोइ ?”
धनेले केही भन्न सकेनन् । उनको मौनताभित्र सागर जस्तो गहिरो पीडा बस्यो । मायालाई च्याप्प अँगालेर भक्कानिए ।
समय बित्यो, तर पीडा सकेनन् । माया ११ वर्ष पार गरिन् । बाबुको आँखाभित्र आमाको छाया खोज्थिन् । रातमा निदाउनु अघि उनी आमाका पुराना सारीहरू मिलाउँथिन् । ती मध्ये एउटालाई सिरानी पनि बनाउँथिन्, त्यही सारी जसलाई काइँलीले अन्तिम पटक लगाएकी थिइन् ।
किशोरावस्थाको ढोका जब खुल्न थाल्यो, मायाको मनमा अनेक प्रश्न टक्कटक्क ठोक्किन थाले । शरीरको परिवर्तन, मनको कम्पन, र प्रेमको पहिलो परिभाषा ! तर जवाफ दिने कोही थिएनन् ।
बुबासँगको सम्बन्ध अब केही परिधिमा सीमित थियो— पढाइ, खाना, सपनाको लागि केही अनुशासन !
माया बिस्तारै १६ काट्न लागेकी थिइन् । आँखा रसिला भए । लाजले रातोरातो भएको अनुहारमा बालापन र परिपक्वता बीचको द्वन्द्व देखिन थाल्यो । उनी सधैं ऐनाको अगाडि केही न केही खोजिरहन्थिन् । शायद आफ्नो परिवर्तन हुँदै गरेको अनुहार तथा शरीरमा आमा खोज्थिन्, वा बुबाको मौनताभित्र चिच्याइरहेको अपनत्व ।
कक्षाकोठामा प्रजनन र यौनका पाठ पढ्दा उनी भित्तामा आँखा टोलाउँदै बसिरहन्थिन् । केही शिक्षकलाई सोध्ने हिम्मत हुँदैनथ्यो । साथीहरूबीच पनि कुरा हुने गर्थ्यो, तर सबैले थाहा पाए जस्तो अभिनय मात्रै गर्थे ।
प्रेम, मायाले एकैपटक अनुभव गरिन् । किताबको पानामा होइन, आफ्नै मनको छेउछाउमा । एकजना साथी अलिक मीठो कुरा गर्ने । उनले भन्थे मायालाई, “तिमी साह्रै फरक छ्यौ, माया !”
दुवैले दुवैको कुरा बुझ्न कोशिश गर्थे । सँगै खान्थे । सँगै घुम्थे । सँगै समय बिताउँथे ।
एक साँझ, वर्षा परिरहेको थियो । मायाको मनको आकाश पनि झरीमै थियो । केटाले मायालाई प्रेम गरेको दाबी गरे, अनि डर र विश्वासको बीचमा डोलिरहेकी माया, अज्ञात यात्रा तर्फ अगाडि बढिन् । त्यस यात्रा जुन आमाबिनाकी छोरीलाई गाह्रो हुन्थ्यो, त्यस यात्रा जुन समाजले फिटिक्कै स्वीकार गर्दैनथ्यो, जुन यात्रा बाबासँग कुरा गर्न असहज हुन्थ्यो ।
त्यसको केही हप्तासम्म उनी चूपचाप थिइन् । शरीरमा केही असहज परिवर्तन र मनमा त उही पुरानै डर । बुबालाई भन्न सकिनन् । भन्नसक्ने अवस्था पनि थिएन ।
“कसैले थाहा पायो भने ?” भन्ने सोचले रात–रातभरि निद्रा हराउन थाल्यो मायाको ।
मायाको डरको नाममा त्यस केटाले यत्ति मात्र बोल्थ्यो, “चिन्ता नलिऊ, म औषधि ल्याउँछु । केही हुन्न ।”
औषधि ! त्यो कस्तो रङको थियो ? मायाले राम्रोसँग पनि हेरेकी थिइनन् । आँखाभरि आँसु थियो, तर मनभित्र लाजको भारी चढिसकेको थियो । आफ्नो अज्ञानता, समाजले रोपेको छुरा, र महिला शरीर प्रतिको बेवास्ता …! यी सबैले उनीलाई सानो उमेरमै सजाय दिइरहेका थिए ।
जब मायाले गर्भपतनका औषधि सेवन गरिन् । उनलाई लाग्यो, “बुबालाई थाहा दिनुभन्दा त मर्नु नै ठीक होला ।”
त्यसै रात बाहिरबाट धने घर फर्क्यो । घर पुग्दा धनेको स्वर अकस्मात् तरिकाले गुन्जियो, “माया !”
धनेको स्वर चिच्याहट बनेर भित्तामा ठोक्कियो । मायाको आवाज आएन । ओछ्यानभरि रगतको डाम थियो, र मायाको अनुहार सेतो छाया र थरथराएको शरीर, अनि आँखाभित्र एक किसिमको माफी भाव दौडिरहे । उनले छोरीलाई काखमा उठाए, कुनै सीसाको टुक्रा समाते जस्तो गरी । हतारमा छोरीलाई बोक्दै फिदिम अस्पताल, त्यहाँबाट बिर्तामोडको ठूलो अस्पताल पुगे धने ।
बिर्तामोडको आकस्मिक कक्षमा, मायाले श्वास लिँदै गर्दा उनका कलिला र चिसा औंलाहरूले बुबाको हातमा चिमोटिरहेका थिए । त्यो आखिरी क्षण थियो – जहाँ शब्दहरू जीवनभन्दा भारी लाग्थे ।
अन्तिम स्पर्शमा मायाले बुबाको हात टोक्दै भनेकी थिइन्, “बुबा ! म… डराएँ… मैले… भन्न सकिनँ… आ…आमा भई… भइदिएको भए सोध्थें होला… तर तपाईंलाई…”
गह्रुँगा शब्दहरू अधुरै रहे- श्वास रोकियो ।
धनेको दुई हत्केलाभित्र एउटी छोरीको सम्पूर्ण आयु समेटिएको थियो । र त्यही हातबाट, मायाको जीवन चिप्लेर गयो ।
धने अब एक्लै छन् ।
सकस पछिको शान्त, गाउँको चिसो हावा, र घरभित्रको शून्यता ! यी सबै उनका सहयात्री बनेका छन् ।
मायाको कोठामा चप्पल अझै छ, भित्तामा उनीले बनाएको रंगीन पेन्टिङ अझै टाँसिएको छ ।
धने त्यसको अगाडि बसेर कहिलेकाहीं भन्छन्, “तँ रङ मिलाउँथिस्, म सपना बुन्थें…।” विगत अब स्मृतिमा मात्र होइन, हड्डीमा घोप्टिएको पीडा बनेको छ । तर उनले त्यस पीडालाई मौन गराएनन् । कहिलेकाहीं अस्पताल जान्छन् र प्रसव विभागतिर टोलाएर बस्छन् ।
कहिलेकाहीं उनी चूपचाप गर्भवती महिलालाई भन्छन्, “गर्भ भनेको केवल सन्तानको प्राप्ति मात्र होइन, त्यो त आत्माको समर्पण हो । यसलाई प्रेमले स्याहार्नुपर्छ, लाजले होइन ।”
गाउँलेहरू भन्छन्, “धने बौलाए !” तर साँचो कुरा धनेले आफ्नो भोगाइबाट बुझे – गर्भ मात्र शरीरको कुरा होइन, त्यो त आत्माको जन्म हो । मृत्युसँगको लडाइँ पछिको प्राप्ति हो ।
धनेले यो पनि बुझे – अज्ञानता हिंसा हो । लाज मृत्युको कारण हो । र समाजको मौनता कुनै आत्मा गुम्ने चिहान जस्तै हो ।
धनबहादुर अब बाँचेका छैनन्, तर मरेका पनि छैनन् । उनी एक छाया जस्तै बाँचिरहेका छन् – एक्लोपनको छाया !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










