त्यो जस्तोसुकै बदमास भए तापनि एउटा कुरा त कबुल गर्नैपर्छ । त्यसले कहिले बलजफ्ती गरेन । मैले पछि भन्नासाथ मेरो बाटो उत्तिखेरै छोड्यो । त्यसले बलजफ्ती मलाई ट्याप्प समातेर आफ्नो अभिलाषा पूर्ण गरेको भए ?

०००००

चन्द्रकुमारी आत्तिँदै आफ्नी सखीकहाँ गइन् । इन्द्रमायाले चन्द्रकुमारीको फुङ्ग उडेको अनुहार देखेर आत्तिएर तिनलाई समात्न पुगिन् । चन्द्रकुमारी सहारा पाएर झन् लत्त छाडेर इन्द्रमायाको काँधमा हात राखेर आलिङ्गन गर्दै झुन्डिइन् ।

इन्द्रमायाले तिनलाई सहारा दिँदै कोठाभित्र ल्याएर बिछौनामा बसाल्दै सोधिन्- “क्या हो चन्दा, के भयो, किन यसरी आत्तिएकी ?”

चन्द्रकुमारीले चिसो लामो सास फेरेर भनिन्- “दिदी, मेरी सखी, मैले यता विचित्र अनुभव गरें । यसले, मलाई बडो विचित्र अत्याहट पनि हुन्छ, चित्तमा पटक्क शान्ति छैन । तिमीलाई थाहा नै छ, यता पन्ध्र दिनदेखि तिमीकहाँ म आइनँ । मलाई क्षमा गर, म त एउटा भुँवरीमा परेकी थिएँ र यो पन्ध्र दिन रिँगटा लागुन्जेल त्यो भुँवरीमा परेर फनफनिएँ ।”

इन्द्रमाया तिनको देब्रे हात आफ्नो हातमा लिएर समसुम्याउन थालिन् । चन्द्रकुमारी एकछिन चूप लागिन् र फेरि भन्न थालिन्- “कसरी थालूँ ? कुन छेउबाट प्रारम्भ गरूँ ? मैले राम्ररी कुरा पुऱ्याउन र शृङ्खलाबद्ध कुरा भन्न सकिनँ भने नआत्तिए । सब सुनिरहूँ । म नलुकाई सबै कुरा तिमीलाई भन्छु ।

* * *

हाम्रो घरको एउटा कोठामा बहालमा एउटा युवक बस्न थाल्यो । त्यो नेपालमा कार्य विशेषले आएको रहेछ र केवल पन्ध्र दिन मात्र नेपाल बस्ने त्यसको काम रहेछ । अब तिमी भनौली यति चाँडै पन्ध्र दिनमै कसरी कुरा भयो त ? कसरी तिमीलाई बुझाऊँ, कसरी त्यसको व्यक्तित्वको वर्णन गरूँ ? आँधीबेहरी के हो कुन्नि, तर त्यो निश्चय नै साधारण युव थिएन । त्यसलाई देख्नेबित्तिकै एक्कासि मान्छे त्योतिर आकृष्ट हुन्छ र एक चोटि तानिएपछि कहाँसम्म पुग्ने हो, कोही भन्न सक्तैन ।

मेरो पतिको त त्योसित उत्तिखेरै घनिष्ठता भयो र हाम्रो कोठामा त्यो सजिलैसँग आउनजान थाल्यो । मैले एक चोटि मेरा पतिलाई भनें पनि- “क्या हो सरासर त्यो हाम्रो कोठामा आउँछ । मलाई त अप्ठ्यारो पनि लाग्छ र मलाई त्यो मानिस मन पर्दैन ।”

उनले मेरो कुरा सुनेको नसुन्यै गरे । त्यसैदिनदेखि यो भयानक अनुभवको सूत्रपात भयो ।

हाम्रो कोठा र उसको कोठाको माझमा काठको भित्ता थियो । एकदिन राति दस बजेको हुँदो हो, तिम्रा हुस्सु भाइलाई निद्रा परेन । उता, उसको कोठामा पनि बत्ती बलिरहेको थियो । उनी त्योसँग कुरा गर्न उसको कोठामा गए । म कान थापेर तिनीहरूको कुरा सुन्न थालें । तिनीहरूलाई सिगरेट खान मन लाग्यो । तिम्रा भाइले वहीँबाट कराए- “ए, सिगरेटको डब्बा यता ल्या त ।”

उनले यति के भनेका थिए, त्यो युवकले भन्यो- “उहाँ सुतिसक्नुभयो होला । उहाँलाई कहाँ कष्ट दिनु, म नै लिएर आउँछु ।

त्यो सरासरी मेरो कोठामा आयो । मैले हतारमा सुतेको भाव ल्याउन पनि पाएको थिइनँ । त्यसले भन्यो- “सिगरेट कहाँ राखेको छ ?”

मैले आत्तिएर सिरानबाट सिगरेटको डब्बा त्यसलाई दिएँ । किन हो कुन्नि, मेरो हात काम्यो । उसले कामिरहेको हातलाई देख्यो र सिगरेटको डब्बा समात्न छोडेर मेरो हात समात्यो । म मूर्ख, मेरो मुखबाट निस्क्यो- “के गरेको ? तिनले थाहा पाए भने ।”

उसले झन् सुरिएर भन्यो- “मलाई म्वाइँ देऊ न !”

म त आत्तिएँ । मैले बडो बल गरेर प्रार्थनाको वाणीमा भनें- “मलाई छाड, म प्रार्थना गर्छु, बरु…पछि…।”

त्यो युवक एकछिन पत्थरको मूर्तिझै‌ं निश्चल भएर उभिरह्यो । पछि मुसुक्क हाँसेर ‘लौ त’ भनेर कोठाबाट बाहिर निस्क्यो ।

त्यो आफ्नो कोठामा गएर मेरा पतिसँग कुरा गर्न थाल्यो । म एकछिनसम्म जाडोले काठिएजस्तो भएँ । जब उनी सुत्न आए, मैले भनें- “त्यो कहिले जान्छ ?”

उनले सोधे- “किन ?”

मैले परिणामको वास्तै नगरेर भनें- “मलाई त्यो मानिस

बदमासजस्तो लाग्छ ।”

उनले सशङ्कित भएर प्रश्न गरे- “किन ?”

मैले परिस्थिति सम्हाल्ने कोशिश गरेर भनें- “तिमीहामी बसेका बखतमा त्यो सरासर हाम्रो कोठामा आउँछ । यो कस्तो चाला ? अहिले सिगरेट लिन आएको थियो ।”

मेरा पतिले भने- “हेर, तिम्रो त बडो शङ्का गर्ने बानी रहेछ । त्यो त्यस्तो आत्मीयता देखाउँछ, तिमीचाहिँ त्यसको चालमा शङ्का गर्छ्यौ ?”

भोलिपल्ट म सिँढीबाट तल झर्न थालेकी थिएँ । करुवा लिएर तिम्रो भाइको निम्ति पानी लिन झरिरहेकी थिएँ । त्यो युवक त्यही मौकामा माथि उक्लिरहेको थियो ।

उसले बाटो छेकेर भन्यो- “म्वाइँ देऊ, हिजो पछि दिउँला भनेकी थियौ ।”

मैले कातर भएर भनें- “मलाई नाश गर्न कम्मर कसेका छौ ?”

उसले छक्क परेर भन्यो- “तिम्रो नाश ? मैले तिम्रो म्वाइँ खाए तिमी नाश हुन्छ्यौ, के भनेकी ?”

मैले फेरि भनें- “अबेर भैरहेछ, माफ गर, पानी लिएर छिटै पुग्नु छ, माफ गर ।”

त्यसले मेरो प्रार्थनाले प्रभावित भएर भन्यो- “एक चोटि च्वाक्क दिन कति बेर लाग्छ र ?”

त्योप्रति असीम घृणाको भाव मेरो हृदयमा उदय भयो । मैले भनें- “बाटो छोड्छौ कि चिच्याऊँ ?”

उसले महान् आश्चर्य प्रकट गरेर सोध्यो- “तिमी रिसायौ ?” मैले परास्त भएर भनें- “अहिले होइन, पछि ।”

त्यो जस्तोसुकै बदमास भए तापनि एउटा कुरा त कबुल गर्नैपर्छ । त्यसले कहिले बलजफ्ती गरेन । मैले पछि भन्नासाथ मेरो बाटो उत्तिखेरै छोड्यो । त्यसले बलजफ्ती मलाई ट्याप्प समातेर आफ्नो अभिलाषा पूर्ण गरेको भए ?

म स्वीकार गर्छु, त्यसको चरित्रको यो सानो अभिव्यक्तिले म साह्रै प्रभावित भएँ । त्यसलाई सरासर नजाती कसरी भनूँ ?

मेरा दुलहा दिउँसो बजार गएका थिए । त्यो युवक आफ्नो कोठामा बसेर कुन्नि के लेख्नमा व्यस्त थियो । म आफ्नो कामले भान्सा र आफ्नो सुत्ने कोठामा ओहरदोहर गरिरहेकी थिएँ । त्यसको कोठा माझमा पर्थ्यो । एक चोटि त्यसका र मेरा चार आँखा भए । उसले चट्ट लेख्न छोडेर मलाई सोध्यो- “अब तयार छ्यौ ?”

म केही उत्तर नदिएर आफ्नो बिछ्यौनामा लडें । अचानक शक्ति क्षीण भएजस्तो लाग्यो । मलाई किन हो कुन्नि एउटा चिठी लेख्न मन लाग्यो र कम्पित हातले केवल यति लेखें : तिमी चाँडै जाइहाल्छौ रे, उसमा पनि केवल म्वाइँ खान किन खोज्छौ ?

मैले त्यो कागत भित्ताको प्वालबाट त्यसको कोठामा खसालिदिएँ र निद्रा नलागे पनि आँखा टम्म चिम्लेर बिछ्यौनामा सुतें । मेरो मुटु ढुकढुक गरिरहेको थियो, घाँटी सुक्तै आयो । निसास्सिउँला जस्तो भएँ ।

त्यसपछि त्यसको बडो अनौठो व्यवहार हुन थाल्यो । अचानक त्यसले मेरो वास्ता नै गर्न छोड्यो । केवल कोठाभित्र बसेर लेखपढ मात्र गरिरहन्थ्यो । त्यसको व्यवहार अत्यन्त रिसउठ्दो थियो । बीचबीचमा मेरो मन रिसले कराउँथ्यो- त्यसको के हक, त्यसको के अधिकार ?

त्योचाहिँ निर्विकार भएर आफ्नो काममा व्यस्त भएको जस्तो देखिन्थ्यो । एकदुई चोटि म त्यसका कोठाभित्र पनि बडो साहस गरेर पसें । त्यो किताबबाट आँखा उठाएर मतिर यसो पुलुक्क हेर्थ्यो र फेरि किताब पढ्न व्यस्त हुन्थ्यो ।

म यो अन्यायले भित्रभित्रै डढेर खरानी हुन्थे, लज्जित हुन्थे । मेरो बेइज्जती गर्न त्यसले कम्मर कसेको थियो ।

एकदिन त्यो के लेखिरहेको थियो, म त्यसको कोठामा गएँ । मूर्तिलाई एक चोटि निरीक्षण गरेको जस्तो गरेर मलाई चिसो आँखाले हेरेर लेख्न थाल्यो । म झम्टेर गएँ र त्यसको कापी खोसेर च्यात्न थालें । त्यो छक्क परेर ‘के गरेकी ?’ भन्न थाल्यो ।

म कापी च्यात्दै जान्थे, रुँदै जान्थे, भन्दै जान्थे- “लौ जा, लौ, पापी निष्ठुर, बदमास, दगाबाज, लौ अरू लेख् ।”

म आफ्नो कोठामा आएर खुब रोएँ र त्यस पापीलाई खुब सरापे । रुँदारुँदा थाकेर सास फेर्न मलाई गाह्रो हुन लाग्यो ।

त्यो मेरो कोठामा आएर व्यग्र भएर सोध्यो- “के भयो, हँ ?” मैले आफ्नो सारा शक्ति बटुलेर सारा घर थर्काउने गरेर चिच्याएँ- “निस्की यहाँबाट ।”

त्यो फनक्क फर्केर बाहिर निस्क्यो । म धेरै बेर रोइरहें । फेरि पति आउनासाथ मैले भनें- “त्यो कहिले जान्छ ? हाम्रो घर छोड्न त्यसलाई भन ।”

उनले सोधे- “त्यसले केही अनुचित व्यवहार गर्‍यो र ?”

म यसको उत्तर के दिन्थे ? मैले भनें- “तिमी पनि बाहिर जान्छौ । मलाई एकलै यो घरमा एउटा युवकको नजिकै बस्न डर लाग्छ ।”

मलाई त्यसदिन आफ्नो पतिको असाध्य माया लाग्यो । मैले तिनीसँग टाँस्सिएर रातभरि आफ्नो भित्रको डरलाई बिर्सने प्रयत्न गरिरहें । एउटा नूतन प्रेमको वेग मेरो हृदयमा बग्न थाल्यो । यस्तो तीव्र प्रेमको अनुभव मलाई कहिले पनि भएको थिएन

आफ्नो पतिको न्यानो छातीमा टाउको राखेर उनको मुटुको ढुकढुक सुन्दा मलाई अवर्णनीय सुखको अनुभव

भयो ।

साँच्चै भनूँ भने, दिदी, मैले त्यसदिनदेखि पो आफ्नो पतिलाई माया गर्न थालें ।

अब मलाई त्यस युवकप्रति घृणाको भावना छैन । यथार्थमा त म त्यसको कृतज्ञ छु ।

आज त्यो गयो । म दिनभरि विचलित थिएँ । हृदयमा शून्य अनुभव गरिरहेकी छु र झन् मेरो पति बजार डुल्न गए ।

अब मलाई एउटा कुराले छटपटी पारिरहेको छ । त्यो युवकलाई जाती भन्नु कि नजाती ? त्यो मेरा निम्ति एउटा रहस्य भयो । यसले मेरो मनमा खुलदुली परिरहेछ ।

* * *

चन्द्रकुमारीले जिज्ञासाका दृष्टिले इन्द्रमायातिर हेरिन् । इन्द्रमाया छक्क परेर सुनिरहेकी थिइन् । पछि तिनको ।

मनमा यो प्रश्न उठ्यो- चन्द्रकुमारी किन आत्तिएकी ?

(विश्वेश्वरप्रसाद कोइरालाको कथासंग्रह ‘कथा’बाट)