ज्ञान उदास, एउटा निरन्तरताको नाम । २०१८ सालदेखि कविता प्रकाशन गरेर नेपाली साहित्यिक आकाशमा उदाउनु भएका कवि ज्ञान उदास आजपर्यन्त सिर्जना, अक्षर, कापी, कलम, किताव वरिपरि पाइनु हुन्छ । लेखन तथा अध्ययन कर्मलाई खासै नौलो केही काम नमान्ने उहाँका लागि साहित्यिक सेवा भने अविच्छिन्न साधना हो । गत ३८ वर्षदेखि नयाँ खबरकागज साप्ताहिक पत्रिका प्रकाशनलाई निरन्तरता दिनुभएका उहाँले यसैलाई पछिल्ला दिनको साथीसङ्गति र सक्रियाताको साधन बनाउनु भएको छ । यसर्थ सर्जक ज्ञान उदासका लागि साहित्यिक कर्म साधना, साधन तथा साध्य सबै हो । नयाँ सिर्जना केही गर्न सकेको छैन भन्नुहुने उहाँ सामाजिक माध्यममा मीठा र चोटिला मुक्तकसाथ भेटिनु हुन्छ । सातवटा कविता सङ्ग्रह प्रकाशित गरिसक्नु भएका कवि उदासले तीनवटा कृति सम्पादन गर्नुभएको छ । केही गरेको छैन भन्दै उहाँ यतिखेर दुईवटा कृतिको तयारीमा जुटेको जानकारी दिनुहुन्छ । केही नगरेका उदासको सक्रियता यति हुँदोरहेछ । सक्रिय उदासको सक्रियता कस्तो हुन्थ्यो विगतमा अनुमान लगाउन सकिन्छ । के हुन् ती दुई कृति ? जिज्ञाशा मेट्दै भन्नुहुन्छ ‘मेरा कविता कृति र साहित्यिक योगदानका बारेमा लेखिएको ग्रन्थ र अङ्ग्रेजीमा अनुदित मेरा कविता कृतिमा तल्लिन छु ।’ सबै अवस्था सामान्य नै ररिरहे २०७७ सालभित्र यी पुस्तक प्रकाशन हुने सर्जक उदासले सम्भावना व्यक्त गर्नुभयो ।
![](https://sahityapost.com/wp-content/uploads/2020/09/gyan-udas-4.jpg)
ज्ञान उदास
साहित्य र साहित्यकारलाई एकाग्रताले विशेष अर्थ राख्छ भन्नुहुने उहाँ आफू जे जति सक्छु एकाग्रतासाथ नेपाली साहित्यको श्रीवृद्धिमा लाग्छु भन्नुहुन्छ । वर्तमान दिन उहाँका लागि उत्साहजनक छैनन् । अहिलेको राजनीतिलाई उहाँ कुनै पनि शब्दमा राजनीति भन्न सक्नुहुन्न । ‘यस्तो पनि कुनै राजनीति हो र ?’ । यस्तो राजनीतिले साहित्य, कला तथा समग्र वाङ्मयलाई न संरक्षण न प्रवद्र्धन र विकसित गर्न भन्ने निश्कर्षमा हुनुहुन्छ उहाँ । हालैका नियुक्त, पुरस्कार, मानसम्मानले साहित्यिक क्षेत्रको घोर उपेक्षा गरेका अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘यस्तोमा सच्चा साहित्यकारले नियुक्ति तथा पुरस्कारको खेलोफड्कोमा चाख राख्नुमा कुनै औचित्य हुँदैन, ‘मेरो त धर्मले नै दिदैन पनि, पञ्चायतकालमा सबैसँग निकट हुँदा त केही मागिएन, अहिले त्यो चाहना राख्नु नैतिकता बेच्नु मात्रै हुनेछ ।’’ त्यसैले उहाँ सुखी हुनुहुन्छ । लोभ नभएपछि सुखी होइन्छ भन्ने उहाँको विश्वास हो । उहाँ केही पाउने अभिलाषा पाल्नु हुन्न । त्यसमा आशावादी पनि हुनुहुन्न । आक्रोशित पनि हुनुहुन्न तर आफूले के गर्नु पर्ने हो भन्नेमा स्पष्ट हुनुहुन्छ । भन्नुहुन्छ–म केही गर्दिन, जे गर्छु नेपाली साहित्यका लागि गर्छु ।
उहाँहरूले मेरो कविता सहर्ष स्वीकार्नु हुन्थ्यो । अहिले मधुपर्कमा कविता छाप्न झण्डै वर्ष दिन कुर्नुपर्छ ।
रचना प्रकाशित हुँदा हरेक सर्जक जीवन्त हुने अनुभव छ उहाँसँग । उहाँका कविताहरू २०१८ सालदेखि नै प्रकाशित भएता पनि २०२१ सालमा रूपरेखाको विशेषाङ्कमा कविता प्रकाशित भएपछि आफू पनि ‘कवि’ भएको नोस्टाल्जिया उहाँमा सुरक्षित छ । यो क्षेत्रमा कवि भएर चिनिनुलाई उहाँ पाठक, सम्पादक तथा प्रकाशकको स्वभाविक माया भन्नुहुन्छ । अझ भन्ने हो भने उहाँ आफूलाई मधुपर्कले समयको एक स्थापित र सक्रिय कवि बनाएको विगत सम्झनु हुन्छ । वि.सं २०२५ बाट प्रकाशित मधुपर्कमा २०२७÷०२८ देखि कवि उदासका यथेष्ट कविता प्रकाशित छन् । कविता छाप्न ती दिन र यी दिनमा केही भिन्नता अनुभव गर्नुहुन्छ । उहाँ ती दिन सम्झनु हुन्छ– नारायणबहादुर सिंह, भैरव अर्यालजस्ता मुर्धन्य साहित्यकार नै मधुपर्कको सम्पादक हुनुहुन्थ्यो । उहाँहरू कविता वा अन्य रचनाको स्तर नाप्ने क्षमता राख्नुहुन्थ्यो । सबैलाई स्नेह गर्नुहुन्थ्यो । उहाँहरूले मेरो कविता सहर्ष स्वीकार्नु हुन्थ्यो । अहिले मधुपर्कमा कविता छाप्न झण्डै वर्ष दिन कुर्नुपर्छ ।
हाल विभिन्न पत्रपत्रिका र सामाजिक माध्यमका कारण रचना प्रकाशन गर्न धेरै विकल्प भए पनि अहिले जुनसुकै पत्रिकाका सम्पादकले स्तरीयतालाई भन्दा सम्पर्कलाई महत्व दिने गरेका उदाहरण छन् उहाँसँग । जो नजिक छ, जो प्रभावमा छ, उसैका रचनालाई स्थान दिने प्रवृत्ति मौलाएको अनुभव पनि उहाँमा छन् । पहिलाका सम्पादक तथा प्रकाशकले सम्पर्कभन्दा पनि स्तरीयताका आधारमा रचना प्रकाशन गर्ने, नगर्ने अनुभव सँगाल्नु भएका उहाँ हालका प्रवृत्तिलाई अनौठो मान्नुहुन्न बरु थप्नुहुन्छ ‘व्यक्तिअनुसार व्यवहार प्रदर्शन ।’
पेचिला मुक्तक र छोटा कविताका लागि सिद्धहस्त सर्जक उदासका २०२२ सालमै गोरखापत्रमा मुक्तक प्रकाशित छन् । गोरखापत्र र मधुपर्कले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदान स्मरण गर्दै मधुपर्क पुरस्कार मधुपर्कमा रचना नै नछापिएकाहरूले पनि पाएकामा आश्चर्य मान्नुहुन्छ र प्रश्न गर्नुहुन्छ ‘अब स्थापित पुस्ताको योगदानको कसरी कदर हुन्छ ?’ नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको विकासमा धेरै काम गर्न सक्छ भन्दै कवि उदास यस्तो गरिमामय संस्थालाई राजनीतिक वाद, विश्वास, पात्र र प्रवृतिभन्दा माथि राख्नुपर्ने आवश्यकता देख्नुहुन्छ तर त्यहाँ ‘नेकपाका छाप लागेकाहरूले मात्र अवसर पाएकामा सन्तुष्ट हुनुहुन्न ।’ उहाँ विद्यमान प्रदुषित वातावरण बाहिरै रहेर सेवा गर्नुलाई राम्रो सम्झनु हुन्छ । भन्नुहुन्छ ‘मलाई पद, पुरस्कार, सम्मानको लोभ छैन, तर योगदानको सम्मान हुनुपर्छ ।’
जनताका लागि लेख्छु भन्नेसँग उहाँको केही विमति छ । सर्वप्रथमत उहाँ आफ्नै लागि लेख्नुहुन्छ । आफूलाई पुरस्कृत गर्ने एउटा मापदण्ड उहाँ आफैले बनाउनु भएको छ । ‘लेखनमा आफूलाई सन्तुष्टि मिल्यो भने त्यही नै आफ्नो लेखनबाट आफूले पाउने पुरस्कार वा उपहार हो’ उहाँले मापदण्ड सुनाउनुभयो । लेखनले आफूलाई छोयो भने अरूलाई पनि छुन्छ भन्ने उहाँ आफ्ना लागि लेखे पनि पाठक तथा जनतालाई छुनेगरी लेख्ने प्रयास गर्नुहुन्छ । आफू यसैका लागि निरन्तर साधनारत रहेको बताउँदै उहाँ नेपाली साहित्यको विकास र समृद्धिका लागि अरू गहन कृतिहरू प्रकाशमा आउनु पर्ने शुभकामना दिनुहुन्छ । नयाँनयाँ आशा लाग्दा कवि, लेखकहरू आउनु भएको र उहाँहरूको साथ तथा लगनशीलताले अझ उत्कृष्ट कृति नेपाली साहित्य भण्डारमा आउनेमा विश्वस्त उहाँ आफू पनि यसैका लागि प्रयत्नशील रहेको बताउनु हुन्छ । नेपाली साहित्यिक आकाश आशा लाग्दो देख्नुहुने कवि उदास नयाँनयाँ प्रतिभाहरू देखिनु भएकोमा अझ विश्वस्त हुनुहुन्छ, ‘आगामी दिन नेपाली साहित्य थप उज्ज्वल शिखरमा पुग्ने छ ।’ राज्यबाट निष्पक्ष अवसरहरू पाए नेपाली कविता र कविका अनुहार झल्मलाउनेमा उहाँ थप आशावादी मात्र होइन पूरै विश्वस्त हुनुहुन्छ ।
पिण्डेश्वर संस्कृत पाठशाला धरानको मुखपत्र ‘नेपाल’ मा २०१८ सालमा पहिलो कविता ‘आमासित’ प्रकाशन गर्नुभएका कवि उदासका कुनबेस ( कविता सङ्ग्रह २०१९), हामी बस पर्खिरहेका छौं बस् ( कविता सङ्ग्रह २०२८), मनका कुराहरू (गीत, गजल सङ्ग्रह २०५८), ज्ञान उदासका कविता (कविता सङ्ग्रह २०७१) मेरो पुरानो कविता (कविता सङ्ग्रह २०७३) यस्तो लाग्छ (मुक्तक सङ्ग्रह २०७४), खाली सारङ्गी( हाइकु सङ्ग्रह २०७४) प्रकाशित छन् । यसैगरी उहाँले हस्ताक्षर (नेपाली स्रष्टाहरूको विचार २०४९) नानीका कथाको किताब ( बालकथा २०६४,दोस्रो संस्करण २०७४) स्रष्टा हस्ताक्षर (नेपालीभाषी साहित्यकारहरूको हस्ताक्षर २०७४) पहाड साहित्यिक (२०२८) ‘नानी’ बालपत्रिका २०५५ देखि २०५९ सम्म) र नयाँ खबरकागज साप्ताहिक (२०३९ देखि हालसम्म) सम्पादन गर्नुभएको छ ।
कवि उदासले विभिन्न पुरस्कार तथा सम्मान पाउनु भएको छ । नेपाली साहित्य स्वर्णपदक (तीन मुक्तकका लागि, २०२४), केदारमान व्यथित राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) महाकवि देवकोटा शताब्दी सम्मान (२०६६) भानुभक्त पुरस्कार (२०७१) बासु शशी साहित्य सम्मान (२०७५) समेत झण्डै एक दर्जन पुरस्कार र सम्मानले विभूषित कवि ज्ञान उदासको जीवनी,व्यक्तित्व र कृतित्वबारे विभिन्न शोधार्थीले शोधपत्र तयार गरेका छन् ।
पङ्तिकारको अनुरोधमा ज्ञान उदासले कवि ज्ञान उदासबारे कविता लेख्नु भएको छ तर त्योभन्दा धेरैअधि २०२८ सालमै उहाँले ‘ज्ञान उदासः ऊ जन्मेको मङ्गलबार’ शीर्षकमा कविता लेख्नु भएको थियो । वि.सं. २००० मङ्सिर २४ गते बिहीबार चैनपुर संखुवासभामा जन्मेका उहाँले किन ‘ज्ञान उदासः ऊ जन्मेको मङ्गलबार’ शीर्षकमा कविता लेख्नुभयो ? ‘मैले मङ्गलबारलाई एउटा प्रतीक बनाएको हुँ, त्यसमा मेरो अनुहार जस्ताको त्यस्तै देखिएको छ जस्तो लाग्छ’ उहाँ भन्नुहुन्छ । रत्न पुस्तक भण्डारबाट प्रकाशित ‘हामी बस पर्खिरहेका छौं, बस्’ सङ्ग्रहमा सङ्कलित कवितालाई उहाँ आफ्नो अनुहार भन्न रुचाउनु हुन्छ । बुबा, आमा कृष्णप्रसाद उदास र बालकुमारीका पुत्ररत्न ज्ञान उदास श्रीमती प्रेमा उदास श्रेष्ठ, दुईछोरा प्रज्ञान र विज्ञान तथा दुईछोरी भावा,जुनु र नातिनातिनासँगको रमाइलोमा काठमाडौँ महानगरपालिक–७ चाबहिलबाट पूर्व हेरेर मनभरि संखुवासभा साँच्नु हुन्छ । ओठभरि संखुवासभा हाँस्नु हुन्छ तर उहाँ राजधानी र राजनीतिका वर्तमान समय आशा लाग्दो देख्नुहुन्न । कोरोनाले विश्व सङ्क्रमित भएको, देशभर बाढीपहिरोले धनजनको ठूलो क्षति पु¥याएको र जनता ठूलो भुमरीमा परेको अनुभवले उहाँ दुःखी हुनुहुन्छ । रोगले भन्दा भोकले विपन्न जनता पीडित देख्नुहुन्छ उहाँ । कतिपय ठाउँहरूमा भोकले नागरिक प्रताडित भएका, कहीं छोराछोरी भोकभोकै भएको दृश्य देख्न नसकेर बाबुआमाले आत्महत्या गरेको घटनाले कवि उदास घायल हुनुहन्छ । उदास हुनुहुन्छ । जनता मूकदर्शक छन् । यस्तो बेलामा देशसँग आफू पनि दुखिरहेको अनुभव सुनाउनु हुन्छ ।
आफ्नै आँखामा
(ज्ञान उदासका आखाँमा कवि ज्ञान उदास)
मैले बाबुआमाको पनि परिचय पाउन सकिनँ
मैले छोराछोरीको परिचय पाउन सकिनँ
नाति, नातिनीहरूको पनि परिचय पाउन सकिनँ
दाज्युभाको पिलो भएँ
दिदीबहिनीका लागि ठेट्ना मकै
मैले बाबुआमाको पनि परिचय पाइन
मेरा भाइबहिनीको परिचय माथि छ
मेरा आफन्तहरूको परिचय झन् माथि छ
आफ्नो परिचय दिउँ भने
मेरो परिचय नै छैन
मेरोभन्दा ती छायाहरूको परिचय झन्झन् माथि छ
ऊ जन्मेको मंगलबार
त्यो ज्ञान उदास
साँच्चैको उदास उदास,
कहाँबाट आयो त्यो
कसले ल्याएर यहाँ पछा¥यो ?
सँधैको रून्छे रून्छे अनुहार लिएर
त्यसलाई बाँच्न कसले सिकायो ?
मरे पनि त हुन्थ्यो नि !
त्यसको यहाँ अस्तित्वै छैन
बाँच्नलाई त जीवन साँच्नुपर्छ
त्यसले केही साँच्नै जानेन
हरघडी बन्छ त्यो दुनियाँको उपहास
साँच्चै त्यो ज्ञान उदास !
सँधैको सबैको नरमाइलो अट्टाहास–अट्टाहास,
ए, सायद त्यो सानो कोठामा जन्मेको होला
त्यही कोठा र कोक्रोको परिधिभित्र
सायद त्यो पुड्कै भएर हुर्केको होला
मत धेरै भन्न सक्तिन ! त्यसले के बिगा¥यो बिगारेन
सबै भन्छन् त्यसले त सबै बिगा¥यो रे
एकजना भन्छन् त्यसले केही बिगारेन
सबैको अगाडि एकजना मूर्ख बन्छ
त्यसले यहाँबाट पनि लखेटिन प¥यो
सबै र आफैलाई छाडेर
अनि त के भनुँ त्यो ज्ञान उदास
लाग्छ सँधैको निराशा निराश
साँच्चै त्यो सँधैको उदास उदास
त्यो मेरो एकजमानाको साथी हो
म कसरी भुल्न सकूँ त्यसलाई ?
हामी जन्मेथ्यौं एउटै आमाको गर्भबाट एकदिन
ऊसले पृथ्वी छोयो, मैले आकाश
जन्मेको दिन त पानी परेको थियो–यद्यपि
घरभरि खुशियाली थियो,
‘छोरा’ जन्मेको उपलक्ष्यमा
उसको बा आमामा पनि
खुशीको आभास देखिन्थ्यो
त्यसबेला छातीभरी बैँस बोकेकी एउटी तरूणी आई
तिनले मलाई म्वाई खाई
उसैबेला म तरूण भैसकेको थिएँ
तर ज्ञान उदास ! त्यो सानो बच्चै
थाङ्नामा गुट्मुट्याइएको थियो
त्यसैले होला–
त्यो ज्ञान उदास
लाग्छ त्यसको जीवन सँधैको नीरस नीरस
त्यो एउटा नरमाइलो क्षण र विरोधाभास
हो,एउटा घटना याद आयो
त्यसको पास्नीको दिन
घर अगाडि कुकुर रोएथ्यो
बिरालो र मुसाको घमासान युद्ध
त्यसको पास्नीको साइत
त्यहाँ त एउटा रणक्षेत्रै बनेथ्यो
रगताम्य ! रगताम्य
सायद त्यही रगत देखेर
त्यो बालक तर्सेथ्यो
सातो फिर्न सक्या होओइन होला अझै
त्यही हड्बड,त्यही जमघट
त्यही उजाड्लाग्दो झन्झटमा
म एउटा क्यान्भास लिएर तैयार थिएँ
सजिलैसँग उतार्न सकेँ–
उसको तस्बीर
तर पछिबाट राम्ररी हेर्छु त–
नाकै छुटेछ सम्पूर्ण अनुहारसँग
अस्तित्वै छुटेछ
व्यक्तित्वै छुटेछ
सम्पूर्ण !
सम्पूर्ण जिन्दगीसँग
अनि त,
त्यो ज्ञान उदास
साच्चैको उदास
सँधैको निराश
नयाँसडकको अल्मल्याइ र
किचकन्नीको परिहास
हो, त्यो ज्ञान उदास
भर्खरको दुलहा–दुलहीले
मनाउन नपाएको मधुमास !
हो त्यो मंगलबार जन्मेको
त्यसको पास्नी पनि मंगलबारै परेको
हरे,कस्तो नरमाइलो बार यो
कस्तो उजाड लाग्दो बार यो
कस्तो दिक्दार लाग्दो बार यो
अकबरे खुर्सानीको पिरो राग जस्तो
बैँस नपुगेको युवकयुवतीको पराग जस्तो
हेर्दै रिसाहा जस्तो बार यो
बजारको गल्लीगल्ली र रछ्यान र छ्यानमा
भुकी हिड्ने खिचा कुकुर जस्तो
त्यो ज्ञान उदास जन्मेको मंगलबार
साँच्चै धेरै दिन खान नपाउनेहरूको
निन्याउरो र चाउरिएको अनुहार जस्तो ,
लाग्छ त्यसैले–
त्यो ज्ञान उदास
सँधैको निराश
हो,साँच्चै सँधैको उदास, उदास
हामीले यो स्तम्भको नाम ‘त्रिभुवन‘ राखेका छौँ । साहित्यमा त्रिभुवनको अर्थ हुन्छ, सर्जक, सिर्जना र पाठक । संयोगले यो स्तम्भका लेखकको नाम पनि त्रिभुवन नै छ । यो स्तम्भमा हामीले प्रचारबाट टाढा रहेर निरन्तर साधना गर्ने सर्जकलाई उहाँको आफ्नै जीवनमाथि कविता लेख्न लगाएका छौँ भने उहाँको त्रिभुवन जीवनको बारेमा सर्जक एवं पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई उहाँको जीवनमाथि टिप्पणी गर्न अनुरोध गरेका छौँ ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)