बिहानीको हावा अझै शीतल थियो । राकेशको हातमा चिया थियो, र नजर घरको झ्यालबाट बाहिरको डिल्लीबजार पीपलबोट सडकमा । झ्यालबाहिरको रमिता हेर्न उसलाई निकै मन पर्थ्यो । मान्छेहरूको हाउभाउ, गन्तव्यतिर दौड, र ती अनुहारहरूमा उत्रिएका भावहरू उसलाई किताब जस्तै लाग्थे ।

“यी दुई जनालाई हेर, एउटै रङका लुगा लगाएर हिंडेका छन्,” उसले भुइँमा बसिरहेकी श्रीमतीलाई भन्यो, “फेरि एउटै डिजाइनका पनि ! पक्का प्रेमीप्रेमिका हुन्, लुकीछिपी डेटिङमा हिंडेका ।”

सञ्जु हल्का मुस्कुराइन् मात्र, केही भनिनन् । उनलाई थाहा थियो, राकेशका यस्ता अनुमान र कथा हरेक दिनको शुरूवातमा सामान्य थिए । कहिलेकाहीं यस्ता कथा निकै हास्यास्पद हुन्थे, त कहिले अलिक अनौठा ।

राकेशलाई भीडभाड मन पर्दथ्यो । कारण थियो – ऊ भित्रको उत्सुकता । “मान्छेका मनभित्र के चलिरहेको होला ?” भन्ने जिज्ञासाले उसलाई सधैं झकझकाउँथ्यो । तर त्यो केवल उसको कल्पनामा सीमित थियो । ऊ कोही योगी थिएन, न त कुनै वैज्ञानिक । ऊ एक आध्यात्मिकता र विज्ञान प्रविधिको फ्युजन र संयोजनबारे बुझ्न चाहने जिज्ञासु र अध्ययनशील युवा  थियो ।

राकेशलाई लाग्थ्यो, मानिसका मनका कुराहरू बेलैमा पढ्न सकियो भने हाम्रा समाजका धेरै जसो विकृति र विसंगतिहरूलाई केही हदसम्म भए पनि मनोपरामर्श तथा सरसहयोगको माध्यमबाट निराकरण गर्न सकिन्छ । यसरी वैज्ञानिक र आध्यात्मिक तरीकाले मानिसका मनबारे अध्ययन र उल्लेख भएका कुराहरू राकेशको दिमागमा गढेर बसेका थिए ।

* * *

पुस महिनाको चिसो घाम लागिरहेको थियो । भृकुटी मण्डपको प्रदर्शनी हलमा लागेको ‘विज्ञान र प्रविधि मेला’मा उसले श्रीमतीलाई साथ लिएर गएको थियो । कतै कम्प्युटर, कतै रोबोट, कतै स्वचालित कृषि प्रविधि । तर राकेशको ध्यान भने एउटा सानो स्टलमा अडियो, जहाँ सानो बोर्डमा लेखिएको थियो, “अन्तर्मनको ध्वनि सुन्ने चमत्कारिक हेडसेट ।”

“यो के होला ?” राकेश बिस्तारै बोल्यो । उसकी श्रीमती सञ्जुले हेरेर भनिन्, “तपाईंको शोखसँग मेल खाने जस्तो छ, जाऔं न हेर्न !”

स्टलभित्र भेटिए डा. ईशान नेवा । राकेशका अमृत साइन्स कलेजमा आईएस्सी पढ्दा देखिका साथी । उनीहरू बीच कुराकानी भयो ।

“यो हेडसेटले मानिसको मनको भावना र विचारहरूलाई इलेक्ट्रो-वेभको माध्यमबाट समात्छ,” डा. ईशानले भने, “तर हूबहू शब्दमा होइन, संकेत, आवाज, कल्पना वा आकृतिको रूपमा ।”

“यसको अर्थ मैले अरूको मनको आवाज सुन्न सक्छु ?” राकेशका आँखा चम्किए ।

“हो, सक्छौ । तर सधैं ठीक अर्थ निस्कन्छ भन्न सकिन्न । यो यन्त्र, चमत्कारिक हेडसेट, भर्खर प्रयोगात्मक चरणमा छ ।”

“म यसलाई प्रयोग गर्न चाहन्छु ।” राकेशले भने ।

ईशान अलिक दुबिधामा परे तापनि अन्ततः उनी राकेशलाई हेडसेट प्रयोग गर्न दिन सहमत भए । राकेशलाई हेडसेट प्रयोग गर्दा पालना गर्नुपर्ने गोपनीयता र सर्वमान्य नैतिक व्यवहारको लागि यौटा शपथ-पत्रमा हस्ताक्षर गर्न लगाइयो ।

हेडसेट लगाउँदा बाहिरी संसार शान्त भएजस्तो भयो राकेशलाई । भीडभाड थियो, तर बाहिरको आवाजहरू केही सुनिंदैनथ्यो । उसले वरिपरि हेर्‍यो । यौटा बच्चा आमासँग केही सामान किनिदिन जिद्दी गरिरहेको थियो । हेडसेटले ती आमाको मनोभावको आभास दियो, “मैले सबैभन्दा बढी माया गर्ने तिमीलाई हो बाबु, तिम्रो जिद्दी गर्ने बानी मलाई प्यारो लाग्छ !”

राकेश चकित भयो । उसले सोचेको भन्दा फरक, त्यो आमाको मनमा आफ्नो बालकप्रतिको असीम प्रेम थियो । किनमेल वा अरू समस्याहरू र झन्झटभन्दा बेग्लै !

राकेशले केही पर मोबाइलमा कुरा गरिरहेको एक युवकको भावनाको अर्थ लगायो, “आज तिमीलाई जसरी पनि भनिछाड्छु, नत्र फेरि हिम्मत नआउन सक्छ ।”

“ऊ कसैलाई प्रेम प्रस्ताव गर्न लागिरहेको छ ।” राकेश मुस्कुरायो ।

मेलाबाट राकेश र श्रीमती सञ्जु डिल्लीबजार घर पुगे । राकेशलाई सञ्जुले आफ्ना माइतीका बुवाआमा र घरका सासूससुरालाई कसरी हेर्छिन् जान्ने उत्सुकता भयो ।

तुरुन्तै हेडसेटले केही ध्वनि संकेत दियो – शान्त स्वर, सञ्जुको भित्री मनको आवाज, “मलाई जन्मदिने बुबा-आमा र कर्मदिने सासू-ससुरा मेरा लागि भगवान हुनुहुन्छ । वहाँहरूको खुशीमा नै म मेरो जीवनको आनन्द पाउँछु ।”

धेरै समयदेखि अरूका अन्तर्मनका आवाज सुन्न र जान्न उत्कठ इच्छुक राकेश अहिले झस्किएको अनुभव गरिरहेको थियो । सञ्जुको मनको कुरा सुनेपछि राकेशमा एक खालको अपराध बोध पलायो । राकेशलाई लाग्यो, “सञ्जु खुलेर सोचिरहेकी थिइन्, तर म चोर झैं सुन्दै थिएँ । यो त विश्वास विरुद्धको कुरा भयो नि ?”

चिया पिउँदै गर्दा ऊ बारम्बार त्यस्तै सोचिरह्यो । प्रविधिले उसलाई अरूको अन्तर्मन चिन्न दिएको थियो, तर उसलाई आफ्नै अन्तर्मन अलिक अँध्यारो लाग्न थालेको थियो ।

“साँच्ची, मान्छेका मनभित्र चियाउनु सही हो त ? के मैले सोच्दा पनि नचाहिएको कुरा सुन्ने अनुमति छ ?” यस्तै सोच्दै दिन बितायो ।

त्यस दिन राती उसले चमत्कारिक हेडसेट आफ्नो दराजको एक कुनामा थन्क्याइदियो । ढुक्कले निदाउन खोज्यो, तर निद्रा ऊबाट टाढै रह्यो ।

* * *

केही दिनपछि एक साँझ राकेश बागबजारको रत्नपुस्तक भण्डार गएको थियो । उसलाई अदृश्य शक्ति र आधुनिक प्रविधिबारे लेखिएका पुस्तकहरू मन पर्थे । किताबहरू पल्टाउँदै गर्दा पछाडिबाट एउटा कोमल आवाज आयो, “राकेश ?”

“सरिता ?”

उनी थिइन्, दरबार हाईस्कूल पढ्दाकी पुरानो साथी ! लाम्चा आँखा, गहुँगोरो अनुहार, अझै पनि त्यही सुमधुर हाँसोले सरितालाई सदाबहार बनाएको थियो ।

“तिमी त झन् भद्र देखिंदो रहेछौ, के गर्दैछौ आजकल ?” सरिताले सोधिन् । कुनामा उभिएरै कुराकानी भयो । सामान्य हालखबरदेखि हाईस्कूले दिनका रमाइलो झझल्कासम्म ।

राकेशले मनमनै सोच्यो – “यी सरिता अझै पनि त्यति नै असल र सजिलो लाग्छिन्, तर अब उनी विवाहित होलिन्, शायद बच्चा पनि होलान् !”

सरितालाई आज भेटेको बेला हेडसेट साथमा नभएकोमा राकेश खिन्न भयो ।

घर फर्किएपछि उसले पुनः दराजबाट हेडसेट झिक्यो र प्रयोग गर्न तयारी अवस्थामा राख्यो ।

दुई दिनपछि फेरि सरिता दरबारमार्गमा भेटिइन्, उनी फोनमा व्यस्त थिइन् । राकेशले सरितालाई देखेर अलि वर नै हेडसेट लगायो । सरिता र राकेशका आँखा जुधे । यस पटक हेडसेटले सरिताका मनका केही भावनात्मक संकेतहरू ल्यायो, “कति रमाइलो हुन्थ्यो होला, ती पुराना दिनहरू फर्किएर आउँथे भने । अहिलेका साथीहरू बफादार छैनन् । राकेश ? ऊ शायद अझै पहिले जस्तै सोझो छ ।”

राकेश गहिरिएर सुन्दै थियो, यन्त्रको स्क्रीनमा विचित्रका संकेतहरू देखिए । राकेशलाई भने सम्पूर्ण शरीर चिसो भएको र ऐठन भएको जस्तो महसूस भयो ।

उसले हेडसेट तुरुन्त फुकाल्यो । राकेशले सञ्जुलाई सम्झ्यो ।

त्यो रात ऊ लामो समय झ्यालतिर टुलुटुलु हेर्दै बस्यो । प्रविधिले गर्दा ऊ अरूका मनको कुरा थाहा पायो, तर साथसाथै उसले आफैंभित्रको कमजोरी, डर, लालच र द्विविधाहरू पनि देख्न थाल्यो ।

राकेशलाई उसकी श्रीमती सञ्जुले जिस्काउँदै सोधिन्, “के भयो तपाईंलाई आजकल ? केही अलि गहिरो सोचिरहेको जस्तो देखिनुहुन्छ ।”

राकेश मुस्कुरायो, सिरानीको कुनामा राखेको हेडसेटलाई एक चोटि हेरेर भन्यो, “मान्छेको अन्तर्मन पढ्ने चाहना शायद सोचेभन्दा पनि गहिरो जिम्मेवारी रहेछ ।”

अर्को दिन राकेश डा. ईशानलाई भेट्न गयो ।

“राकेश, यो प्रविधि केवल भावना बुझ्ने उपकरण हैन,” ईशानले गम्भीर अनुहारमा भने, “तिमीले जति धेरै प्रयोग गर्छौ, यन्त्रले तिमीलाई पनि बुझ्न थाल्छ । कहिलेकाहीं यन्त्रले केवल भोगाइ सुन्दैन, डर र चाहनाको मिश्रण पनि टिप्छ ।”

राकेश हाँस्यो मात्र ।

डा. पनि मुस्कुराए । अनि बोले, “तिमीले त्यो सरिता नाम गरेकी केटीको विचार सुन्दाखेरि, चमत्कारिक हेडसेट भित्रको यन्त्रले केही अनौठो प्रतिक्रिया दिएको रेकर्डमा छ । यन्त्रको स्क्रीनमा तिमीले पनि ‘अति भारको धर्का’हरू देखेका थियौ । त्यो सामान्य हैन ।”

“त्यसको अर्थ के लाग्छ ? त्यसले के असर पर्छ ?” राकेशले सोध्यो ।

“केही निश्चित छैन । जानकारी मात्र दिन चाहेको । अब हेडसेट चलाउँदा सावधानी अपनाऊ,” ईशानले भने ।

त्यस रात, राकेशले सपनामा हेडसेट लाएर आफू बौद्ध स्तूपाको आँगनमा उभिएको देख्यो । वरिपरि अनुहार नभएका मानिसहरू उभिएका थिए । उनीहरू बोल्दै थिएनन्, तर आवाज आइरहेको थियो, “हामी सबैको मनको कुरा सुनिएको छ, अब गोप्य केही रहँदैन, अन्तर्मन उदाङ्गो हुन्छ, र कसै प्रतिको माया, विश्वास अरूका लागि लाजको वस्तु बन्छ ।”

सामूहिक भनाइ यस्तो थियो, “मानव मनको अन्तर्यलाई अरूले जान्ने प्रविधिको विकास हुनु प्रकृतिको शाश्वत नियम विरुद्धमा छ । मानवभित्रको कौतुहलता, रहस्य र जिज्ञासालाई उदाङ्गो पार्दा संसारको ‘सार’ हराउनेछ । हामी त्यस्तो प्रविधि विकासको विरुद्धमा छौं ।”

राकेश हठात् ब्यूँझेर उठ्यो । शरीर पसिनाले लछर्प्पै भिजेको थियो । घडीमा बिहानको ४ बजेको थियो ।

* * *

अर्को एकदिन राकेश रत्नपार्कतिर गयो । त्यहाँ रहेका मानिसका अन्तर्मनका सोचहरू बुझ्न खोजिरहेको थियो ।

हेडसेटमा अचानक एउटा ध्वनि आयो, “सबै तयारी पूरा भयो । भोलि २ बजे सम्पूर्ण सिग्नल अफ हुनेछ । हामी मनको भाव बुझ्ने प्रविधिको सोर्स कोड ह्याक गर्न सफल भयौं ।”

राकेश अचम्ममा पर्‍यो । उसलाई यी कुरा जासुसी जस्तो लाग्यो ।

राकेशले वरिपरि हेर्यो । यौटा गाढा खैरो चश्मा र कालो ज्याकेट लगाएको व्यक्ति प्रफुल्ल मुद्रामा कसैसँग मोबाइल फोनमा गफ गर्दै थियो । राकेशलाई हेरेर उसले आँखा जुधायो । त्यसै क्षण, राकेशको हेडसेटको सानो स्क्रीनमा ‘अतिभारका धर्साहरू’ देखिए र सञ्चार अवरुद्ध भयो ।

* * *

राकेशले केही दिनपछि सरितालाई चियावाला, बखुण्डोलमा भेट्न बोलायो । सरिता समयमै आइन् । सधैंजस्तो मिलनसार मुहार, तर आँखामा अलिक थकान ।

“के भो ? अलि थाकेको जस्तो देखिन्छौ त !”

“केही छैन, राकेश ! सबै ठीकै छ ।”

राकेशको मनमा कौतूहल जागिसकेको थियो । उसले हेडसेट झिक्न खोज्यो, तर मनले रोक्यो, “म उसलाई विश्वास गर्छु, फेरि किन उसको मनभित्र चिहाउनु पर्‍यो ?”

“राकेश !” सरिताले यताउता हेरेर केही मसिनो स्वरमा भनिन्, “के तिमी त्यो विज्ञान मेलाको चमत्कारिक हेडसेट प्रविधि अझै प्रयोग गर्दै छौ ?”

राकेश चकित पर्‍यो, “तिमीलाई कसरी थाहा भयो ?”

“म त्यो प्रोजेक्टमा इन्टर्न थिएँ केही समय, तर केही रहस्यमय कुरा देखेर म छुट्टिएँ ।”

राकेश केही बोलेन, मुस्कुरायो मात्र । एक एक कप चिया पिएर उनीहरू छुटे ।

राकेश त्यहाँबाट सरासर डा. ईशानको अफिस थापाथली गयो । उसले रत्नपार्कमा भएको घटना सुनायो । ईशानले आफूलाई त्यसबारे पहिले नै थाहा भएको बताए । राकेश झस्कियो । राकेश र सरिताको भेट र सरिताको संलग्नताबारेमा पनि राकेशलाई सुनाए । राकेश अझ अचम्मित भयो । राकेशको मुटु अब सामान्य लयमा धड्किन छोडिसकेको थियो । सिग्नल अफको योजना, रहस्यमय चश्मावाला व्यक्ति र सरिताको संलग्नता ! यी सबैले उसमा नयाँ प्रकारको उत्सुकता जन्माइरहेका थिए ।

डा. ईशानले राकेशलाई अफिस भित्रको गोप्य ल्याबमा लिएर गए । त्यहाँ केही हेडसेट टुक्राटुक्रा पारेर अध्ययन गरिएका थिए, कम्प्युटर स्क्रीनहरूमा मस्तिष्कका तरंगहरूको चलायमान चार्टहरू देखिन्थे ।

“हेडसेट बनाउँदा हाम्रो सोच भविष्यमा मानव भावना बुझ्न सकिने यन्त्र तयार गर्ने थियो । तर हामीले बिर्सियौं, भावना स्थिर हुन्नन् । कहिले रीस, कहिले लालच, कहिले घृणा, कहिले प्रेम ।”

“अर्को कुरा यो यन्त्रले मनका भावहरूलाई संकेत र तरंगहरूका रूपमा समात्छ । कहिलेकाहीं अचेतन मनका गहिरा भावहरू पनि टिप्छ,” ईशान भन्दै गए । “तर ती संकेतहरूको अर्थ लगाउने प्रयोगकर्ताको भावनाले पनि तिनको वास्तविक अर्थलाई प्रभाव पार्ने रहेछ ।”

“यो प्रविधि बारेमा थप गहिरो अनुसन्धानको निरन्तरता जरूरी छ । तिमी यसमा संलग्न भइसकेका छौ । तिमी अब केवल प्रयोगकर्ता होइनौ, यो प्रविधि विकासका साक्षी पनि हौ ।”

डा. ईशानका कुराले राकेश झन गम्भीर भयो ।

केही बेर सोचेर राकेशले भन्यो, “म अगाडि बढ्न तयार छु ।”

* * *

त्यसै दिन दिउँसो सरिताको सन्देश आयो ।

“हामी फेरि भेट्न सक्छौं ? मलाई तिमीसँग केही कुरा भन्नु छ ।”

उनीहरू बेलुकीपख वसन्तपुरको जिन्स क्याफेमा भेटे । उनीहरूमध्ये कुनैले पनि पहिले जस्तो हल्का हाँसो गरेनन् ।

सरिताले भनिन्, “राकेश ! तिमी अझै पनि गम्भीर र संवेदनशील छौ । केही समय डा. ईशानको टीमसँग काम गर्दा मैले तिम्रो नाम गोप्य रूपमा हेडसेटमा देखेको थिएँ । ईशानले तोकेका परीक्षण व्यक्तिहरूमध्ये एक !”

राकेश स्तब्ध भयो।

“त्यसो भए तिमीले मेरो अन्तर्मनका कुराहरू पनि सुनेकी थियौ, सरिता ?” उसले मुस्काएर सोध्यो ।

“अहँ, कहिल्यै हिम्मत भएन, र चाहना पनि थिएन,” सरिताले राकेशलाई हेरेर भनिन्, “किनभने म जान्दथें, मान्छेलाई महसूस गरेर बुझ्नु ठूलो कुरा हो, उसको भित्री मनको कुरा सुनिनु होइन ।”

एकछिन दुवै जना केही बोलेनन् । सरिताका कुराले राकेशको मनमा अझ द्विविधा थपियो । राकेशले लामो सास फेरेर भन्यो, “जीवनमा केही कुराहरू बुझे पनि, त्यसभित्रको अन्तर्द्वन्द्व सधैं बाँकी रहँदोरहेछ ।”

सरिताले भनिन्, “राकेश, मेरो सल्लाह मान्छौ भने तिमी यो अनावश्यक झमेलाको पछि नलाग ।”

राकेश केही बोलेन, फेरि भेट्ने सल्लाह गरेर उनीहरू छुट्टिए ।

घर पुगेर राकेशले सञ्जुलाई सबै बेलिबिस्तारमा सुनायो । डा. ईशानसँगको भेटघाट र भावी अनुसन्धानमा सहभागिताको कुरा । सरितासँगको भेट र यस्तो झमेलामा नपस्न उसले दिएको सल्लाह ।

राकेशको कुरा सुनेपछि सञ्जुले हाँस्दै सोधिन्, “अनि तिम्रो आफ्नो अन्तर्मनको आवाजले चाहिं के भन्छ त ?”

राकेशले केही थकित स्वरमा भन्यो, “सञ्जु, म शायद अहिले नै अन्तर्मनको आवाज सुन्न सक्ने भइसकेको छुइनँ । म यस विषयमा अघि बढ्ने कि पछि हट्ने कुराको निर्णय कही दिन सोचविचार गरेर मात्र लिन्छु ।”

* * *

पछिल्लो समयमा राकेशले आफूमा आएका भावनात्मक परिवर्तनलाई राम्ररी बुझ्न सकिरहेको थिएन । केही कुरा महसुस गर्दथ्यो तर तिनमा तार्किकता देख्दैनथ्यो । उसलाई आफू कतिपय बेलामा दिग्भ्रमित भएको जस्तो लाग्थ्यो । त्यस बेला उसले आफ्ना पुराना स्मृति, बाल्यकाल, अनि आमाका काखमा खेल्दा सुनेका शब्दहरू समेत महसूस गर्दथ्यो । आँखा नचिम्लिई सपना देख्थ्यो । कसैले झस्काइदिंदा तन्द्राबाट ब्यूँझे झैं गर्दथ्यो । आफूलाई लागेका कुरा र भोगेका अनुभव सञ्जुलाई नलुकाई सुनाउने गर्थ्यो ।

राकेशले एक रात यौटा सपना देख्यो । पुरानो पाठशालामा ऊ काठको बेञ्चमा बसेको थियो । अगाडि उसका बाल्यकालका एकजना सादगीपूर्ण तर रहस्यमय गुरु उभिएका – गुरु बेदानन्द मिश्र । यी गुरुले राकेश र सरिताहरूलाई विज्ञान र आत्मज्ञानलाई सँगै जोडेर लैजानुपर्छ भनेर सिकाउँथे ।

राकेशले केही बोल्नु अगावै ती गुरुले भने, “राकेश, ज्ञान बाहिर पनि हुन्छ, तर असली बुद्धि तिमी भित्रै लुकेको छ । प्रविधिले सोच देखाउँछ, तर अन्तर्मनले तिम्रो नियत ।”

राकेश सुनिरह्यो । गुरुले सोधे, “तिमी अहिले जुन यन्त्र चलाइरहेका छौ, के त्यसले अरूको सोच देखाउँछ कि तिमीभित्रको भाव ?”

राकेश झस्कियो । किनभने उसले हेडसेट प्रयोग गर्दा बारम्बार देखिने अस्पष्ट तरंग, संकेत र आवाजहरू सबै उसको आफ्नै मनको प्रतिबिम्ब हो कि भन्ने शंका उसलाई पनि थियो ।

राकेशले गुरुको भनाइप्रति सहमतिको टाउको हल्लायो र सोध्यो, “गुरु ! म अब के गरूँ ? पछाडि फर्कने कि अघि बढ्ने ?”

गुरुको जवाफ थियो, “पछि फर्कने, अघि बढ्ने भन्दा पनि तिमीले आफूलाई यो काममा लगाइराख्ने हो भने तिमी अरूको मन भित्रका कुरा पढ्न हैन, पहिले आफ्नो अन्तर्मनको आवाज सुन्न तयार हुनुपर्छ ।”

बिउँझिएपछि राकेशले बेदानन्द गुरुका ती शब्दहरू सम्झिरह्यो – सपना मात्रै हो कि चेतनाको कुनै संकेत ? कि उसको आफ्नै अन्तर्मनको आवाज ?

राकेशले डा. ईशानलाई उनको अनुसन्धानमा सहभागी नहुने मेसेज पठायो, त्यही मेसेजको कपी सरितालाई पनि पठायो ।

मेसेजमा लेखिएको थियो, “अहिलेको लागि यही नै मेरो अन्तर्मनको आवाज हो ।”