डनल्ड ट्रम्पले हलिउडलाई “फेरि महान” बनाउन खोजेका छन्। तर उनको यो प्रस्तावित नीतिले अमेरिकी चलचित्र उद्योगलाई नै नोक्सान पुर्याउन सक्छ। उनले विदेशमा बनेका सबै चलचित्रहरूमा १००% शुल्क लगाउने योजना बनाएका छन्। उनको भनाइ अनुसार, अमेरिकी चलचित्र उद्योग “मर्दैछ”। तर यो भनाइ वास्तविकताभन्दा टाढा छ। हलिउडले चुनौती भोगिरहेको छ, यो सत्य हो। २०२१ देखि २०२४ सम्ममा अमेरिकामा चलचित्र निर्माण खर्च २८% ले घटेको छ। अवतार (२००९) देखि विकेड (२०२४) सम्मका धेरै चलचित्रहरू अमेरिका बाहिरै छायाङ्कन गरिएका छन्। तर ती फिल्मलाई लगाइने करले हलिउडलाई कसरी मद्दत गर्छ भन्ने प्रश्नको उत्तर बुझिन नै बाँकी छ।

चलचित्र निर्माण अन्तर्राष्ट्रिय सहयोगमा आधारित छ। निर्माणको लागत विभिन्न देशका लगानीकर्ताहरूले बेहोर्छन्। कथा, सेटिङ र विशेष प्रभावहरू पनि विश्वभरिको प्रतिभा मिलेर बन्छ। उदाहरणका लागि, नेटफ्लिक्सको ‘एमिली इन पेरिस’ अमेरिकाबाहिर नै गएर, फ्रान्समा नै बनाउनु पर्थ्यो । त्यसको विषय नै पेरिस भएका कारण अमेरिकामै बनाउन गाह्रो थियो। त्यसो त सेट बनाएर अमेरिकामा “नक्कली पेरिस” खडा गर्न सकिन्छ, तर त्यो वास्तविकतासँग मेल खाँदैन। यस्तै, विदेशी भूमिकाका लागि चिनियाँ वा जापानी अनुहार खोज्नु परे, गोराहरूलाई त्यसको अभिनय गराएर पक्कै पनि वास्तविकता देखिने छैन । त्यस्तै अमेरिकी कलाकारहरूलाई जापानी वा फ्रेन्च उच्चारण सिकाउनु पनि सजिलो छैन।

ट्रम्पले ट्यारिफ १०० प्रतिशत लगाउने घोषणा गरेका छन् तर यो शुल्क कसरी लागू गर्ने? के नेटफ्लिक्स, अमेजनजस्ता प्लेटफर्ममा पनि यो लागू होला? इङ्ल्यान्डमा बनिँदै गरेको मार्भल कमिक्सको नयाँ चलचित्रले यसलाई कसरी सामना गर्ला? यी प्रश्नको उत्तर दिन गाह्रो छ। ट्रम्पले “प्रतिशोधात्मक शुल्क” जस्ता सरलीकृत नीति अपनाउन सक्छन् । तर अरू देशले पनि हलिउडका फिल्मलाई त्यस्तै कर लगाए भने हलिउडको हालत के हुन्छ ?

यो सत्य हो, पछिल्लो समय अमेरिकाको महँगो सुटिङ, कर लगायतका सुविधाको कमजोरी जस्ता कारणले धेरै निर्माताहरूले बेलायतमा सुटिङ गर्न थालेका छन् । बेलायतले पनि आफूकहाँ सुटिङ हुने अधिकांश विदेशी फिल्मका लागि उच्च गुणस्तरका स्टुडियो, कामदार र प्राविधिकहरू उपलब्ध गराएर सहज बनाएको छ । पछिल्लो स्ट्रिमिङ क्रान्तिको सुविधालाई बेलायतले राम्रैसँग प्रयोग गरेको छ । राम्रा शृंखलाहरू बेलायतमा नै बनाइएका छन् वा त्यहाँ सुटिङ गरिएका छन् । यसका लागि उसले बेलायती स्टुडियोहरूलाई विभिन्न समय गरेको कर छूट लगायतका सुविधाहरूको भूमिका निकै छ । सम्भवतः बेलायतमा धेरै हलिउडका फिल्महरू सुटिङ हुन थालेकोमा केही निर्माताहरूमा छटपटी बढेको हुनसक्छ वा केहीलाई देशभक्ति जागेको हुनसक्छ ।

तर हलिउडका निर्माताहरूले के बुझ्नुपर्छ भने अहिले हलिउड संसारभर हेरिन्छ । त्यसैले उसले सन् २०२३ मा मात्र १५.३ बिलियन डलर बराबरको नाफा अमेरिका बाहिरबाट कमाएको थियो । त्यो भनेको उसको आम्दानीको ७०% भन्दा बढी आम्दानी हुन आउँछ । यसका बाबजुद पनि ट्रम्पलाई गलत सल्लाह दिइएको मान्नुपर्छ । अर्कोतर्फ हलिउडबाहिर बनेका र अन्य देशबाट अमेरिकामा प्रदर्शन गरिने फिल्महरूलाई उनले साँध लगाउन यो करको कुरा उठाएका हुन् भने हलिउडलाई पनि अन्य देशले साँध लगाउन विभिन्न करहरू थोपर्ने सम्भावना उत्तिकै छ । यस्तै उनले डिजिटल सेवामा शुल्क थप्न सक्छन् । यसले हलिउडलाई नै घाटा हुने सम्भावना उच्च छ ।

ट्रम्पले जोन भोइट, सिल्भेस्टर स्टेलोन जस्ता स्टारहरूसँग हलिउडको आम्दानी बढाउन सल्लाह गरेका छन्। तर असली समस्या अमेरिकामा निर्माण महँगो हुनु हो। हड्तालले कर्मचारीहरूको माग पूरा गर्यो, तर यसले लागत बढायो। अर्कोतर्फ, हलिउडसँग यति बेला कन्टेन्ट क्राइसिस बढ्दो छ । ऊसँग कथा छैन । पुराना कथाहरूलाई नयाँ कलेवरमा पेश गर्नुबाहेक नयाँ केही हलिउडलाई सुझिरहेको छैन । यस्तोमा हलिउड इतरका उद्योगले केही सुन्दर कथा र प्रस्तुतिहरू दिइरहेको छ । बेलायतजस्ता देशहरूले भने सस्तो र उत्कृष्ट सुविधा पनि दिइरहेका छन् । अमेरिकाले यसको प्रतिस्पर्धा गर्न नियम खुकुल्याएर अनि लगानीमा प्रोत्साहन दिए हुन्थ्यो। अमेरिकाकै कतिपय राज्यले हलिउडलाई लोभ्याउने अनेक प्रयास गरिरहेका छन् । तिनलाई सघाए हुन्थ्यो ।

ट्यारिफले हलिउडलाई “महान्” बनाउन सक्दैन। यसले लागत मात्र बढाउँछ र अन्तर्राष्ट्रिय साझेदारी र सहयोगलाई नष्ट गर्छ। हलिउडको सफलताको गुत्थी नै यसको वैश्विकता हो। ट्रम्पले यसलाई बुझ्नु आवश्यक छ।

(फाइनान्सियल टाइम्सको सम्पादकीयको सम्पादित तथा विस्तृत अंश ।)