टाइफुन आँधीले हिजो रातभर आगो फुकिरह्यो । आगोका एकै झिल्काले शहर जल्ला भन्ने ठानेर होला पानीका फोहोरा पनि वर्षाइरहेथ्यो त्यसले । झ्यालको सानो चरबाट छिरेर उडाई लैजालाझैँ गरिरह्यो । टाइफुन हेर्ने रहरले कयौँचोटि हुर्रिएथेँ म झ्यालतिर । टाइफुनले निहुरिमुन्टी खेलाएको देखिन्थ्यो सडक किनारका रूखहरू । सडकमा अलपत्र लडिरहेथे केही मोटरसाइकलहरू । टाइफुनले लडायो कि तिनलाई ? टाइफुनको भयले मान्छे ओत लाग्न भाग्दा छोडिएका पनि हुन सक्छन् ती ।

भूमरी र लहरो छुटेर वेगिएको टाइफुनको अनौठो हुँकारले सुरक्षित कोठाभित्र पनि डराउँदै बेडमै फर्किएथेँ म धेरैचोटि । रातभर आँधी घुमिरह्यो मेरो मनभरि ।

झ्यालढोका नखोल्न र खुला ठाउँमा नजान सतर्क गराइएको थियो हामीलाई । तैपनि जीवनमा पहिलोपटक जम्काभेट हुन आएको टाइफुनलाई अनुभूत गर्न चाहन्थेँ म । चिनियाँसहित हाम्रो टोलीका दुई दर्जन मान्छे होटल भियनाको कुन कुनामा थिए, पत्तो थिएन ।

अगस्त १० सन् २०१९ । बिहान मिर्मिरे हुनासाथ केही साथीलाई फोन लगाएँ, उठेन । रामचन्द्र शर्माले भने उठाउनुभो । सडकमा ओर्लेर टाइफुन हेर्ने सल्लाह भयो हाम्रो ।

डराईडराई होटलको लबीमा पुग्यौँ । बाहिर निस्कने ढोका खुलै रहेछ । जोडले हुर्रिएको आँधीको सामना गर्दै सडकनेर पुग्यौँ । विपद्को घडीमा गुहार माग्दै रोइरहेका मान्छेहरूको कारुणिक कोकोहोलो झैँ सुसाएको थियो सडक । निर्दयीले निर्धाउपर बर्साएको लठ्ठीले झैँ चुटिरहेथ्यो हावाको झोक्काले । घरिघरि परेका पानीका बाछिटाले छुँदा असिनाले हिर्काए झैँ भइरहेथ्यो । आफैँमाथिको बिजुलीको तार, सामुन्नेको भवनको जस्ता पाता वा सडक किनारका रूखका हाँगाबिगा टाउकैमा खस्छन् कि भन्ने डरले पनि निलिरहेथ्यो खर्लप्प ।

“एउटा फोटो खिचिदिनुस् न !” रामचन्द्र सरको अनौठो प्रस्ताव आयो ।

“आँखा त राम्ररी हेर्न सकिएको छैन सर, …!” छिटो होटलभित्र छिर्ने इशारा गर्दै भनेथेँ मैले ।

फोटो जस्तो आए पनि टाइफुनको सम्झना हुन्छ नि भनेपछि एकाध फोटा खिचिदिएथेँ हतारहतार । म पनि खिचिएथेँ त्यसरी नै । आँधीको थप्पड सहँदै अनुहार बिगारेको फोटो हेरेर हाँसेथ्यौँ कोठामा फर्केपछि ।

बिहानको खानपिन र नित्यकर्ममा पनि टाइफुन छिरेझैँ भयो । आँधीमा रूमल्लिएर बितेको हिजोको अनिंदो रात अनुहारमा बोकेर गाडी चढेँ म । चाइना आर्ट म्युजियमतिर निस्कने सूचना भर्खरै गरेको थियो जोनीले ।

सडकछेउका रूखपातहरू हल्लिएर, नुहेर, बयली खेलिरहेछन् । अनुहारभर आँशु र सिङ्गान लत्पत्याउँदै रोइरहेको बालकझैँ देखिन्छ टाइफुनले लछारपछार पारेको सडकछेउछाउ । त्यही बालकको जिङ्ग्रिङ्ग कपालझैँ छन् सडकछेउका रूखबिरूवाहरू पनि । गाडीहरू पातला छन् सडकमा । मान्छेहरू पनि देखिँदैनन् उतिसारो ।

शुभकार्यका लागि आँगनमा गाडेका केराका थामझैँ भर्खरै सारेर टेको लगाएका रूखहरूमा अडिन्छन् मेरा नजर । ती रूखमा हुरीको सुस्त गति देखेर टाइफुन कम हुँदै जान लागेको हो कि भनी मनमा भरियो अलिकति साहस ।

हामी चाइना आर्ट म्युजियम सामुन्ने पुग्यौँ । म्युजियम र आसपासका क्षेत्रमा सन् २०१० मा वर्ल्ड एक्स्पो भएको रहेछ । ‘राम्रो शहर राम्रो जीवन’ केन्द्रीय विषयको त्यो एक्स्पो १८४ दिन चल्दा सात करोडभन्दा बढी दर्शकले हेरेका रहेछन् । एउटा ऐतिहासिक सम्झनाको कुइनेटामा उभिएझैँ लाग्यो मलाई ।

रातो भवन । ठूल्ठूला पिल्लर । तलभन्दा माथि फुकेझैँ देखिने अनौठो संरचना । प्रवेशद्वारमा लाइन लागेका चिनियाँहरूको अचम्मको भीड हेरेरै रमाइरहेछु म ।

आकासमा हल्का बादल छ तर हावा जोडदार छ । झण्डाझैँ फहराइरहेछन् सबैका शरीरका लुगा । स्वाभिमानी नेपालीपन र नेपाली सुवास छर्यौँ होला हामीले पनि चिनियाँ भूमिमा ।

पूरै शरीरको बलले धर्तीमा अडिँदै जसोतसो एकहातले पत्नी र बच्चो उठाइरहेको मूर्तिले तान्यो मलाई । त्यो मूर्तिछेउ आएर चिनियाँहरू पनि त्यस्तै पोजमा उभिन्थे र खिचिन्थे । एउटी केटीले दुरुस्तै त्यसै गरी । त्यसको हिरा जस्तो जीउमा सङ्घर्षको कथा अभिव्यक्त त्यो कला औधी सुहायो । मलाई लाग्यो, जीवनको दुरुस्त प्रतिरूप, कला, संस्कृति र साहित्यमा पो भेटिँदो रहेछ ।

घुमिघुमी हेर्न थालियो म्युजियम । केकका अनेक आकृति उनिएको मूर्तिछेउ घोत्लिएँ म निकैबेर । मूर्तिमा पनि रस र सुवासको मिठास घोलिएझैँ लाग्थ्यो । शायद त्यसको मिठास बाँड्दो हो छेवैको कफी सपले पनि ।

पहिरोमा लतारिन लागेको मान्छेलाई बचाउन तलबाट धकेल्दै र माथिबाट तान्दै गरेका मान्छेहरूको पेन्टिङ औधि मन पर्यो मलाई । बाँध भत्केको यथार्थ फोटोसँगैको दाह्रा नङ्ग्रा उजाइरहेको विकराल पेन्टिङले पनि कहेझैँ लाग्थ्यो विपद्को दर्दनाक इतिहास र दिइरहेथ्यो सचेतना शिक्षा ।

आफ्ना बच्चा र भेडाका पाठाहरूले घेरिएकी बूढीआमैको मूर्तिछेउ खिचिएँ म । त्यो मूर्ति हेर्दा आमाको माया पाएर हर्षविभोर भएझैँ लाग्थ्यो दुनियाँ । ठूलीदिदीको काखमा लुटपुटिएका भाइबहिनीको मूर्तिले पनि दर्शाइरहेथ्यो भातृत्वप्रेम । दीक्षान्त समारोहबाट भर्खर फर्केकी दिदीको काँधमा मुस्काउँदै अडिएका बहिनीहरूको पेन्टिङले पनि दिइरहेथ्यो त्यस्तै भाव र आत्मीयता ।

आफ्नै छातीमा गुडुल्किएको काठको मूर्तिले मान्छेलाई जीवनको असली अर्थ सिकाइरहेझैँ लाग्थ्यो । शायद त्यसले भनिरहेथ्यो– विपरीत परिस्थितिमा ओत लाग्ने सुरक्षित स्थान आफ्नै छाती । भुइँमा टेकाएको बन्दुकको कुन्दामा शरीरको भार अड्याएको सिपाहीको मूर्तिको छायाँमा लुकेको अनुहार पनि निकै नियालेँ मैले । तर, अँध्यारोमा घोलिएको अनुहारको भाव कसरी पहिल्याउनु खोई ?

माछाको पेटमा कुँदिएको आँखा चिम्लेकी परीको काष्ठमूर्ति पनि खुब मन पर्यो ।

डाक्टरले आमाको काखको बिरामी बच्चो जाँचिरहेको मूर्तिमा पनि झुम्मिइरहेथे मान्छेहरू । शायद त्यो बच्चाको स्वास्थ्यको कामना गर्दै डाक्टरका हितकारी सुझाव सुन्न चाहन्थे तिनीहरू ।

पाँचतारे रातो चिनियाँ झण्डा पृष्ठभूमिमा टाँगेको विशाल हवाईजहाजको मूर्ति सामुन्ने दुईटा औँला ठड्याएको चिनियाँ बच्चोको फोटो खिचिदिएँ मैले । नेपाली देखेर उत्साहित दुईजना चिनियाँ केटाहरूसँग खिचिन चाहेँ म पनि ।

म सेल्फीमा निमग्न रहँदा भीमले हँसाउनुभो– “तीनैजनाको अनुहार दुरुस्तै मिल्यो त !”

“नाक, आँखा, अनुहार मिलेनन् होला, तर भातृत्व, प्रेम, सद्भाव त मिलिहाल्छ नि संसारका सबै मान्छेबीच !” म पनि हाँसिदिएँ खुलेरै ।

हाम्रो भाषा नबुझे पनि सद्भावमा आत्मीयता देखाउँदै हाँसिरहेथे ती चिनियाँ केटाहरू पनि ।

मोटरसाइकल चलाउन लागेको मान्छेको माटोको मूर्ति पनि उस्तै आकर्षक लाग्थ्यो । भोटे ड्रेसमा सजिएको थियो त्यो मूर्ति । त्यसको खोकिलाको भेडाको पाठो देख्दा निरीह पशुप्रतिको माया उर्लेर आउँथ्यो बर्खे भेलझैँ ।

प्रेमालिङ्गनमा बाँधिएका जोडीको काठेमूर्ति सामुन्ने पुगेँ म । तिनीहरूको प्रेमभावमा द्रवित भए पनि अनुत्तरित जिज्ञासाहरूमा पुत्पुताइरहेँ । छेउमा उभिएका चिनियाँहरूलाई सोधुँ– उनीहरू अङ्ग्रेजी राम्ररी बुझ्दैनन् । म चिनियाँ बुझ्न सक्दिनँ फिटिक्कै । प्रेमिल जोडीका हातगोडा सुन्निएका र आँैलाका नङहरू फुटेका छन् । प्रेम समर्पणले हो वा प्राणविहीन भएर हो, अनुहार पनि रातो, विकृत र चेप्टिएको छ । काखमा लिएकी निष्प्राण प्यारीको छातीमा निदाएरै मृत्युवरण गरेको हो त प्रेमीले ? मन चकमन्न, उदास र शून्य भएर आयो । म अर्कै भित्तातिर फर्केँ ।

जसोतसो चेपबाट हेरिरहेको मान्छेको आँखा र नाक मात्रको आकृति कुँदिएको काष्ठकला पनि बेजोड थियो । झट्ट हेर्दा, पसारिएको काठ मात्र देखिने र गौर गरेर हेर्दा जीवनको टड्कारो उपस्थिति देखिने त्यो कलाले पनि जीवनबोध गराएझैँ लाग्थ्यो । कुनै विपद्मा परेको मान्छेले सहयोगको याचना गरिरहेको त होइन ! मनमा छिरेको चिसोले सर्वाङ्ग चिसिएझैँ भयो ।

लखेट्दै नजिकै आइपुगेको शत्रुको वास्ता नगरी दूर क्षितिजतिर हेरिरहेको घोडचढी योद्धाको पेन्टिङनेर अडिएँ म । योद्धाको आँखाले ताकेका थिए सुन्दर हिमाल र वेगवान चराहरू । उसको पैतालामा छोइएको थियो सुनौलो मरुभूमि । उसको कान्तिमय अनुहारमा लेस थिएन शत्रुको सम्भावित प्रहारको भय । उसको विजयी पाइलाको सामुन्नेको खुला संसारले बनाएथ्यो मोहित ।

म्युजियमको माथिल्लो तलामा त्यति भीड देखिएन मान्छेहरूको । सजाएर राखिएका थिए– अनेक रङ र आकारका चिनियाँ लिपि र अक्षरहरू । रातो बोर्डमा नछोऊ भन्ने सङ्केत देखाउँदै थिए म्युजियमका महिला कर्मचारीहरू । अक्षरको हृदय त भाषा नै रहेछ । भाषा थाहा भए अक्षर नचिन्दा पनि काम चल्थ्यो । भाषा र अक्षर दुबै नचिनेपछि त सङ्केत नबुझ्ने लाटोझैँ हुनुपर्दो रहेछ ।

कतै आरुका फूल । कतै नर्कटका झाडी । कतै भयानक युद्ध । कतै ध्यान र तपस्या । पारिवारिक स्नेह र प्रेम छ धेरै कलाकृतिहरूमा । प्राचीन युगदेखि आधुनिक विज्ञान प्रविधिको युगसम्मको चिनियाँ विकासक्रम उनिएर सजिएका जीवन्त कलाकृतिहरू छन् म्युजियमका भित्ताहरूमा ।

चिनियाँ सभ्यता, संस्कृति, इतिहासभित्र उनिएको मूल्यमान्यतालाई उँचो स्थान दिएको रहेछ चाइना आर्ट म्युजियमले । चिनियाँहरूका सङ्घर्ष, मेहनत र इमान्दारिताका उज्याला कथाहरू पनि छरिएका रहेछन् म्युजियममा ।

भरे होटल भियनाको डाइनिङ टेबुलमा खुशीका अनेक लहर बिच्छ्यायौँ हामीले । डिनरपछि कोठातिर लाग्ने तयारी गरिरहँदा जोनीको मधुर स्वर गुञ्जियो– ह्यापी बर्थडे टु यु श्रद्धा । लक्ष्मी, सुदीना, जोउ र सनीले घेरिएकी श्रद्धालाई हामीले पनि दियौँ जन्मदिनको अनेक शुभकामना । सँगसँगै शुभेच्छाका ताली बजे । उमङ्गको उज्यालो झुल्कियो । उल्लासको तरङ्ग फैलियो । पासपोर्टको वर्थडे हेरेर जन्मोत्सव मनाउने चिनियाँ शैली पनि गज्जबै लाग्यो ।

सांघाइको आकासबाट पनि बिस्तारै हराउँदै गइरहेथ्यो टाइफुनको वेग र त्रास ।