२०४८ मा सांसद जित्दा र २०७७ मा मदन पुरस्कार पाउँदा कुनले बढी खुसी दियो ?

सांसद हुने बेला पनि म बित्पातै खुसी भएको होइन । मेरो लामो राजनीतिक संलग्नता थिएन । भुइँबाट एकैचोटि टिपिएर लगिएको थियो । उमेरले ठिटोमिटो थिएँ । उत्सव मनाउने पनि हजारौँ थिए । आत्मीयता पनि थियो । मैले ‘महारानी’ समाजलाई दिन लेखेको हुँ, पुरस्कार पाउन होइन । भर्चुअल बधाईहरु पाइरहेको छु । यसमा पनि बेखुसी छैन ।

मदन पुरस्कार पाएपछि तपाईंलाई केही फरक परेकै छैन त ?

लामो समयदेखि लेख्दै आए पनि मभित्रको लेखकले कहीँ पनि परिचय नपाउने स्थिति थियो । नामले चिन्ने, लेखले नचिन्ने । ‘महारानी’ ले मेरो लेखनलाई चिनाइदियो । मेरो परिश्रमलाई पनि चिनाइदियो ।

तपाईंले आफूलाई किन साहित्यकार नमानेको ?

कोसिसले लेखकसम्म बनाउला, साहित्यकार बनाउँदैन । मेरो अन्तर्मनले के भन्छ भने ‘तँ साहित्यकार होइनस्’ । मेरो कलमले मनभित्रको सम्पूर्ण कुरा अभिव्यक्त गर्न सकेको छैन । त्यसैले म आफूलाई साहित्यकार होइन नै भन्छु ।

यसपालि अल्छीले नै मदन पुरस्कार पाएको हो त ?

म अलिअलि लेख्छु । अल्छी नै छु । मान्छे पनि औसतै हुँ । पुरस्कार पाउनु एउटा कुरा हो, उत्तम ठहरिनु बेग्लै कुरा । ‘महारानी’ सीमित प्रतिस्पर्धीभित्रको एउटा कृति हो । यो नेपाली साहित्यकै उत्तम कृति हो भन्ने दाबी म गर्दिनँ । त्यो मदन पुरस्कार गुठीको मूल्यांकन हो ।

………….

यस पटक पनि  ऐतिहासिक उपन्यासले नै मदन पुरस्कार पायो । तर, राजधानीबाहिर लो-प्रोफाइलमा बस्ने अनि मूलधार र कथित सिन्डिकेटले नचिन्ने लेखक पुरस्कृत भए । गुमनाम लेखकले मदन पुरस्कार पाउनु साहित्य संसारका लागि साँच्चै ‘सरप्राइज’ हो ।

चन्द्रप्रकाश बानियाँ

७० वर्षको बुढ्यौलीमा मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँसँग केही थान चाखलाग्दा सवालजवाफ भए । कति भद्र ! कति शालीन ! कति विनम्र !

उनी विशिष्ट विद्वान् हुन् तर अति सामान्य लाग्छन् । अन्तर्वार्तापिच्छे ‘म लेखक होइन’, ‘लेख्न जान्दिनँ’ आदि इत्यादि भनिरहन्छन् । उनले यसो भनिरहनुमा पनि विनयशीलताकै मात्रा प्रबल छ । उनलाई लाग्दो हो, मैले अलि जाँगर चलाएको भए यो भन्दा राम्रो लेख्न सक्थेँ वा यो भन्दा धेरै लेख्न सक्थेँ ।

उनी अल्छी किन होइनन् भने उनका तीन पुस्तक प्रकाशोन्मुख छन् । धर्म संस्कृति, परम्परा दर्शनमा आधारित आलोचनात्मक ४० थान निबन्धको संग्रह ‘भौज्याहा’ शिखा बुक्सले भरेभोलि ल्याउँदै छ । भोज्या भाउजू विवाहसम्बन्धी सामाजिक मान्यता हो । नेपाली समाजमा प्रायः विप्लवी स्वभावका व्यक्तिलाई भङ्ज्याहा भन्ने चलन छ । उनी आफूलाई त्यसो भन्दा पनि गुनासो गर्दैनन् । यसैगरी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालादेखि आफ्ना छरछिमेकीसम्मको मृत्युमाथि लेखिएको शोक निबन्ध संग्रह पनि तयार छ ।

म्याग्दीको पुला, भीरमुनिको बूढा घरमा जन्मिएका यी चन्द्रप्रकाशका पुर्खा थिए, जेठा बूढा पदवी पाएका रतन बानियाँ । पर्वत राज्य निर्माणमा योगदान गरेका उनको घडेरीलाई अहिले पनि ‘बूढाघर’ भन्छन् । चन्द्रप्रकाशको सग्लो परिचय त्यही ‘बूढाघरे कान्छो’ हो । उनी दुई दिदी र पाँच भाइमध्येका कनिष्ठ हुन् ।

उनको वंश लहरो हेर्दा बाजेका बाजे डिट्ठा, बाजेका बा अमाली डिट्ठा, बाजे जिम्माल मुखिया, बा हस्तदल जिम्माल भएका देखिन्छन् । उनका ठूलदाइ लालबहादुर बानियाँ जिल्ला उपसभापति र धौलागिरीका अञ्चल जाँचबुझ अध्यक्षसम्म भए ।

विद्यामन्दिर मावि बागलुङबाट एसएलसी गरेलगत्तै विभिन्न विद्यालयमा पढाउन थालेका चन्द्रप्रकाशले म्याग्देली समाजमा ‘गुरु’ को सम्मान पनि पाएका छन् । उनले लोकसेवा पनि नदिएका होइनन् । लिखितमा नाम निकाले पनि पञ्चायतविरोधीको आरोपमा अन्तर्वार्तामा सामेलै गराइएन ।

राजकुमार बानियाँ

२०३६ को शिक्षक आन्दोलनमा लागेबापत उनको जागिर खोसुवा भयो । उसो त अंग्रेजी शिक्षक चन्द्रप्रकाश राजनीतिमा प्रत्यक्ष रुचि राख्ने व्यक्ति थिएनन् । स्कुल जीवनमा दब्बु खालकै विद्यार्थी थिए । शिक्षक आन्दोलनमा पनि अग्रपंक्तिमा थिएनन् । तर, प्रशासनले उनैलाई आँखी बनायो । सार्वजनिक अपराधको मुद्दामा वर्षाैँ तारेख बोकायो ।

झन्डै आठ वर्ष गाउँघरमै एक हल गोरु र भैँसी पालेर बसे । वल्तिरपल्तिरका केटाकेटीलाई ट्युसन पनि पढाइदिन्थे स्वयंसेवीका रुपमा । उनका काका कर्णबहादुर र उनै थिए गाउँमा पहिलो छिमलमा स्नातक । आफूभन्दा पाँच वर्ष कान्छा काका कर्णका पनि उनी गुरू हुन् ।

जागिर खोसुवापछि उनी सामाजिक कार्यकर्ताका रुपमा पत्तै नपाई राजनीतिसँग जोडिएछन् । एक दिन नेकपा मालेको म्याग्दीको सचिव रहेका लमजुङे भूमिगत नेताले सेल्टरमा बोलाए । चन्द्रप्रकाशले मधेस झरेर बस्ने योजना सुनाए । उनले भनेछन्, ‘मधेस झर्यो भने तपाईंकाे सामाजिक हैसियत शून्यबाट सुरु हुन्छ । त्यसैले नजानूस् ।’ ती कमरेडको योजना चन्द्रप्रकाशलाई चुनाव उठाउने नै रहेछ ।

बहुदलीय व्यवस्था आगमनपछि उनको जागिर पुनर्बहाली भयो । साबिक मंगल मावि बाबियाचौरमा पढाउन जाँदा एकखाले हीनताबोधजस्तो भइरहेका बेला तत्कालीन मालेले योग्यता नपुगेका उनलाई पार्टी सदस्यता मात्रै दिएन, आम चुनाव लड्ने प्रस्ताव गर्यो । त्यही झोकमा पेन्सन पाक्न दुई वर्ष बाँकी रहेको स्थायी जागिर छाडिदिए । पेन्सन पनि पाकेन, उपदान पनि लिएनन् ।

उनको घर थियो, म्याग्दी-१ मा । पार्टीले टिकट दियो, म्याग्दी-२ मा । तैपनि चुनाव लड्ने आधार भैदियो, जागिर खोसुवापछिको त्यही सामाजिक जीवन । ‘मैले नबुझीकन पार्टी सदस्यता लिएछु । पद्मरत्न तुलाधरले जस्तै सूर्य चिह्न मात्र लिन मिल्ने थाहा भएको भए म पार्टीमा जान्नथेँ । मलाई पार्टीले संगठन भएको र जित्ने ठाउँमा टिकट दिएको पनि थिएन ।’

जीवनमा कहिल्यै राजनीतिको बांगोटिंगो नहिँडेका चन्द्रप्रकाशले केही सय मतान्तरले जिते । त्यो पनि आफ्नो पाकेटको एक मोहर पनि खर्च नगरी । उनी कतैबाट हेर्दा पनि एमालेको सांसद लाग्थेनन् । उनी पार्टीका विषय बाहिरका विषय पनि उठाइदिन्थे । कांग्रेस, संयुक्त जनमोर्चाका सांसदले पनि उत्तिकै मन पराउँथे ।

यस वर्षकाे मदन पुरस्कार प्राप्त कृति

साढे दुई वर्षपछि त संसद् विघटन भइहाल्यो । पार्टीले चुनाव लड्न भने पनि उनी तयार भएनन् । छोराछोरी पढिसकेपछि राजनीतिमा लागौँला भनेर स्वैच्छिक बिदा लिए । उनले पार्टी सदस्यता नवीकरण नै गरेनन् । उनी भन्छन्, ‘साँच्चै भन्ने हो भने म जे भनेर पार्टीमा लागेको थिएँ, त्यो पार्टी त मैले भेट्टाउनै नसक्ने गरी धेरै टाढा पुगिसकेको रहेछ ।’

एमाले विभाजनपछि एकैचोटि नेकपा (माले) को जिल्ला सचिव बनाइए चन्द्रप्रकाश । त्यो पनि रहरले होइन, करले । उनलाई चाहिँ माले एमालेबाट माओवादीमा फड्काे हाल्दा टेक्ने ठाउँ मात्र भएजस्तो लाग्न थाल्यो । त्यो पनि केही महिनामै छाडे ।

राजनीति कहाँ सकिँदो रहेछ र ! माओवादीमा लागेका उनका विद्यार्थीले सम्पर्क गर्न थाले । माओवादीको आरोपमा उनी पटकपटक समातिए, नजरबन्द भए । प्रहरीले घर खानतलासी गरी जफत गरेका उनका दुई सामाजिक उपन्यास र ‘गीताको नयाँ भाष्य’ पनि २०५९ को बेनी आक्रमणमा डढेछन् । ती पाण्डुलिपि उनलाई आफ्नै सन्तानजत्तिकै प्रिय थिए ।

उनकै बाग्लुङे साथीका छोरा थिए, म्याग्दीका प्रमुख जिल्ला अधिकारी । उनले सुझाए, ‘अंकल बेनीमा नबस्नुस् । सेनाको दृष्टि राम्रो छैन ।’ उनलाई लाग्यो, मानिसका लागि सबैभन्दा प्रिय आफ्नै ज्यान हो । ज्यान जोगाउने क्षुद्र स्वार्थले लाज नमानीकन म्याग्दीबाट कुलेलम ठोकेको ग्लानि छ उनमा । यसरी जिल्ला निकाला भएका चन्द्रप्रकाश १२ वर्ष काठमाडौंतिर बरालिए ।

संयोग के भने, बानियाँ बन्धुको इतिहास लेखन र उत्थानमा लागेका बेला उनले पंक्तिकारलाई पनि खोजेका रहेछन् । ‘बानियाँ दर्पण’ को दसौँ अंकमा उनले एउटा उपशीर्षक दिएर मेरा बारेमा पनि लेखेका रहेछन् । उनले कतैबाट पनि मेरो सम्बन्ध सम्पर्कको सूत्र फेला पारेनछन् । मेरो अस्तित्व जासुसी कथाको पात्रजस्तो रहस्यको विषय बन्यो रे उनका लागि । ज्योति (बानियाँ) ले राजकुमार बानियाँसँग भेटाइदिएछन् तर त्यो म थिइनँ । उनले लेखेका छन्, ‘आफूले धुइँपत्ताल खोज्दासमेत फेला पार्न नसकेको बन्धुसँग आकस्मिक भेट हुने संयोगको उल्लास, कुतूहल र हर्षोन्माद एकैछिनको भलाकुसारीपछि सिथिल भयो । ज्योति भाइले काठमाडौंको मानव महासागरबाट ढुँडलेर निकालेको ‘राजकुमार’ मैले खोजेको राजकुमार रहेनछन् । ‘ढुंगा खोज्दा देउता मिल्छ’ भनेजस्तो ढुंगा खोज्दा बन्धुरूपी पवित्र शालिग्राम त हात लागेको थियो तर मैले खोजेको ढुंगो त्यो थिएन ।’

उमेरमा वेद, उपनिषद् भारतबाट झिकाएर पनि पढे । उनको अम्मलै पढ्ने हो । दाजु भनिरहन्थे, ‘तेरो भाषा राम्रो छ । लेख् न ।’ तर उनी सुनेको नसुन्यै गर्थे ।

चन्द्रप्रकाशमा साहित्यिक अंकुरण बाल्यकालदेखि भएको रहेछ । स्कुले जीवनमा उनी सवाई-झ्याउरे लेख्थे । प्रायः कविता प्रतियोगिता चन्द्रप्रकाश नै प्रथम हुँदा सबैभन्दा अप्ठ्यारो पर्थ्यो उनकै ठूल्दाजु हेडमास्टर लालबहादुरलाई । सधैँ आफ्नै भाइलाई मात्र पुरस्कार दिन्छ भन्ने अवगाल आउला भन्ने कत्रो चिन्ता ! उनले चन्द्रप्रकाशलाई अप्रतियोगीमा राखिदिन थाले । यसरी पुरस्कारको हकदाबी खोसिँदा उनको प्रतिभा कुण्ठित हुँदै गयो सायद ।

उनी साथीसंगाती बनाउने मान्छे होइनन्, लेखनका साथी र लाइन दुवै जुरेन । हुन त अहिले पनि उनलाई नपढी निद्रै लाग्दैन । कम्तीमा कसैको चिठी मात्र भए पनि दोहोर्याएर पढ्छन् । उमेरमा वेद, उपनिषद् भारतबाट झिकाएर पनि पढे । उनको अम्मलै पढ्ने हो । दाजु भनिरहन्थे, ‘तेरो भाषा राम्रो छ । लेख् न ।’ तर उनी सुनेको नसुन्यै गर्थे ।

धेरै पछि भवितव्यले उनी ‘धौलागिरी’ साप्ताहिकका स्तम्भकार बने । काठमाडौँ आएपछि ‘जनआस्था’ मा लेख्न थालेका के थिए, उनका मित्र शुभशंकर कँडेलले उनलाई ‘जनधारणा’ साप्ताहिकतिर ताने । केही समयपछि शुभशंकर निस्किए । उनी त्यहीँ निरन्तर त्यही ठेगानामा लेखिरहेका छन् । २०६० देखि लगातार १७ वर्ष साप्ताहिक रुपमा लेखिरहेका छन् । उनी भन्छन्, ‘म अल्छी छु । नीमकान्त पाण्डे (सम्पादक) ले आज मंगलबार हो है दाइ भनेर फोन गर्छन् । अनि मात्र मेरो कलम चल्छ । उनको फोन नआए सायद लेख्दिनँ ।’

यहाँनेर भनिहालुँ, चन्द्रप्रकाशको कलम कुनै राजनीतिक विश्लेषकभन्दा कम धारिलो छैन । तर्क र विद्वताको पराकाष्ठा नै हुन्छ । निकै खँदिला लेख लेख्छन् । आफ्नो लेख ठेगाना परिवर्तन गर्नुपर्ने मनोभाव उनलाई कहिल्यै आएन पनि ।

असमयमै राजनीतिक विश्राम लिएकाले मन दुखाएका बन्धुहरु विमलकुमार, नरबहादुर, तेजप्रकाश बानियाँलगायतको सरसल्लाहमा प्रचण्डलाई भेटीवरी माओवादी टीको पनि लगाए उनले । चारपाँच दिनपछि एक दिन प्रचण्डले उनलाई बधाई दिए रे ! उनले भने रे, ‘मैले त तपाईंलाई पो बधाई दिनुपर्छ, कम्तीमा एउटा कार्यकर्ता बढेको छ ।’ तर उनले पार्टी सदस्यता नै लिएनन् । त्यसपछि त काठमाडौँ छोडिहाले ।

राजनीतिमा उनलाई खोज्नेको कमी छैन । बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दा पनि उनलाई नै खोजे । उनले शुभकामना मात्र दिए । उनले खस र आर्यको क्लस्टर छुट्टाउनुपर्ने तर्क गर्दै आएका छन् । राज्यबाट खस उपेक्षित भएकाले छुट्टै प्रदेश चाहिने उनको तर्क बाबुरामले पनि दोहोर्याइरहेका छन् ।

शिव खतिवडाले सप्रेम लेखेका थिए- ‘महारानी ! तिमीलाई छिट्टै भेट्न मन छ ।’ साँच्चै ‘महारानी’ भेट्न मात्र होइन, पढ्न पनि लायक छ ।

चन्द्रप्रकाशले बन्धु नरबहादुर बानियाँको उत्प्रेरणामा दुई पुस्तक लेखे, ‘खस जाति र कुलपूजा’, ‘मृत्यु संस्कार मन्थन’ । मृत्यु संस्कारमा सुधारका लागि उनलाई राजनीतिज्ञ राजेश्वर देवकोटाले पनि घचघच्याएका थिए । शास्त्रीय र वैज्ञानिक अध्ययनकै आधारमा उनले मृत्यु संस्कारमा सुधारको मत राखेका छन् ।

मदन पुरस्कार घोषणापछि एक पाठक शिव खतिवडाले सप्रेम लेखेका थिए- ‘महारानी ! तिमीलाई छिट्टै भेट्न मन छ ।’ साँच्चै ‘महारानी’ भेट्न मात्र होइन, पढ्न पनि लायक छ ।

तत्कालीन बाइसी राज्यको इतिहास लेखन भएका छन् । तर चौबिसी राज्यको सेनवंशी पाल्पाबाहेक अरुको लेखन खासै भएको छैन । यसै कारण चन्द्रप्रकाश पर्वत राज्यको इतिहास, रीतिरिवाज, चालचलन, संस्कृति र शास्त्रीय मान्यताको किताब कुनै इतिहास-मर्मज्ञले लेखिदियोस् भन्ने चाहन्थे । तर, धेरै वर्ष पर्खंदा पनि कसैले नलेखेपछि उनलाई लाग्यो, ‘अब मैले नलेखे अरु कसैले लेख्दैन ।’

‘महारानी’ को पृष्ठभूमिमा छ, ‘ऐतिहासिक पर्वत राज्य’ (२०६५) । इतिहासका पुस्तक प्रायः वंशावलीजस्ता हुन्छन् । फलानो राजा, ढिस्कानो राज्य । यस्तै यस्तै । उनले पर्वत राज्यको इतिहासलाई घटनाप्रधान बनाएका छन् । राजाहरु त्यसमा गौण छन् ।

उसो त उनी इतिहासका विद्यार्थी होइनन् । त्यसैले इतिहासका प्राध्यापक डाक्टर काका कर्णबहादुर बानियाँलाई घरमै बोलाएर प्रशिक्षण पनि लिए । गुरुमन्त्र पाए- सत्यतथ्य, प्रमाण पुगेको कुरा मात्र इतिहास हुन्छ । पर्वत राज्यका सम्बन्धमा थुप्रै लोककथन, किंवदन्ती थिए । डेढ दशकको खोज अनुसन्धानपछि पर्वत राज्यका ताम्रपत्र, बकसपत्र, दानपत्र, करमाथिका इस्तिहार लगायत दुई दर्जन लिखतमा टेकेर उनले आख्यानात्मक शैलीमा इतिहास लेखे भने प्रमाण नपुगेका लोककथनलाई जिउँदो राख्ने माध्यम बनाए, साहित्य ।

कालीगण्डकी र म्याग्दी नदीको संगममा रहेको बेनी बजारको पश्चिम खण्ड कुरिलाखर्कमा रहेको महारानी स्थानको तीन शताब्दी पुरानो इतिहासको उत्खनन हो, ‘महारानी’ । धौलागिरी क्षेत्रमा गलेश्वर शिवालयपछि प्रसिद्धि र मनितो पाएको स्थान । पिता हस्तदलको मुखबाट सुनेको कथा कौतुकमय थियो । तर, उनको बागी चेतनाले सोध्यो, को थिइन् महारानी ? कुनै राजासित वैवाहिक सम्बन्ध नजोडिएकी नारी कसरी महारानी भइन् ? कसरी देवी भगवती भइन् ?

आख्यान लेखकीय कल्पनाको उपज भए पनि उनले कथा, पात्र र घटनावलि इतिहासबाटै लिएका छन् । खस पर्वते भाषाको पनि राम्रै जोगाड गरेका छन् । ‘महारानी’ मा सबभन्दा रोमाञ्चक मोड छ, गर्भको जेठो कि जन्मको जेठोलाई राजउत्तराधिकारी बनाउने ?

अन्ततः मलेबमले आफ्ना लागि डोला झिकाइएकी प्रिय विश्वप्रभा भद्रीबमलाई सुम्पिए, राज्यको विभाजन रोक्न उदात्त भावनाकी राजकुमारी विश्वप्रभा पनि त्यसमा राजी भइन् ।

महाराज घनश्यामका दुई रानी थिए, जेठी रानी गुलवदनले सात महिनामै मेलबमलाई जन्म दिइन् भने कान्छी रानी जयन्तीले नौ महिनामा भद्रीबमलाई । जन्मका जेठा मलेबमलाई युवराज बनाइएपछि भद्रीबमले भाइअंश दाबी गरे । अन्ततः मलेबमका आफ्ना लागि डोला झिकाइएकी विश्वप्रभा भद्रीबमलाई सुम्पियाे , राज्यको विभाजन रोक्न उदात्त भावनाकी राजकुमारी विश्वप्रभा पनि त्यसमा राजी भइन् ।

दरबारिया षड्यन्त्रमा परी भद्रीबम मारिएपछि उनले महारानीको दर्जा पाइन् । संन्यास लिएकी राजकुमारी पर्वत राज्य जोगाउन आफ्नो प्रेमलाई बलिदान गरेबापत राज्यका बासिन्दाले देवीका रुपमा पुजिइन् भन्ने आख्यानको जिकिर छ ।

विसं १७७० देखि १७७४ सम्मको कथा रहेको यो उपन्यास न पूर्ण इतिहास हो, न त कविकल्पना मात्रै । खास भन्ने हो भने चन्द्रप्रकाशले पर्वत राज्य विस्तारमा बानियाँ वंशले बगाएको रगत र पसिनाको गाथा पनि ‘महारानी’ मार्फत नै गाएका छन् । खासगरी जेठाबूढा रतन बानियाँका वंशज भारदार सुमन्तलाई प्रमुख पात्रका रुपमा उभ्याएर आफ्ना पूर्वजको इतिहासप्रति धेर थाेर न्याय गर्न खोजेका छन् ।

पर्वत राज्यको राजधानी बेनी बजारको चल्तीको लोकोक्तिलाई पनि साहित्यमा प्रवेश दिएका छन्, ‘आठ हजारका राजा, बाह्र हजारका बानियाँ ।’ पर्वत राज्यमा राजनीतिक र सामाजिक प्रभावका दृष्टिले राज्यमा बानियाँहरुको बलियो उपस्थिति थियो भन्ने आख्यानको जिकिर छ ।

राजनीति र कूटनीतिको ज्ञानबिना यसो गर्न चानचुने लेखकलाई गाह्रै पर्छ । इतिहासका पोथ्राहरु केलाएर यत्तिको भाषिक मिठास र लालित्य दिन सक्नु सामान्य होइन ।

उनले म्याग्दीकै ऐतिहासिक सन्दर्भमा अर्को ऐतिहासिक उपन्यास लेख्दै छन्, ‘राजापानी’ । नेपालको इतिहासमा प्रथम सहिद मानिन्छन्, लखन थापा मगर । म्याग्दीमा छुट्टै राज्य गठन गरेका तुले रुहानी (पुर्जा) पहिलो सहिद हुन् भन्ने जिकिर त्यसमा रहनेछ । जम्मा दुईतीन महिनामात्र राज्य गरेका तुले नेपाल सरकार पक्षबाट मारिएको ज्ञानमणि नेपाललगायत इतिहासकारले उल्लेख गरेका छन् । यसमा पनि किवंदन्ती जोडिएको छ, गाउँको पुछारमा रहेको कुवा राजापानी । त्यहाँको पानी खाए बहुलाइन्छ भनेर कसैले पिउँदैनन् ।

हिजोआज चन्द्रप्रकाश पोखरा सिमलचौरमा पत्नी र छोरी प्रमिलासँग बस्छन् । छोरा प्रवीण पोखरामै चिकित्सक छन् । तैपनि उनी पोखरामा गुफाबासको अनुभव गर्छन् । कसैसित चिनजान र सरसंगत छैन । तन पोखरामा छ, मन म्याग्दीमै । कतिसम्म भने मदन पुरस्कारको उत्कृष्ट सूचीमा उनीसँगै रहेका कवि तीर्थ श्रेष्ठसँग पनि उनको चिनजान छैन ।

नेपाली साहित्य, स्वयं मदन पुरस्कार प्राप्त कतिपय कृतिले उनलाई सन्तुष्ट पार्न सकेका छैनन् । थुप्रै किताब पढ्दापढ्दै नमीठो ठेस लाग्छ ।

उनले चिनेका र उनलाई चिनेका म्याग्दीको ठूलो समाज काठमाडौँमै छ । एकफेर सांसद भए पनि उनी काठमाडौँमा टिक्न सकेनन् । दिन बिताउन गाह्रो भएपछि उनी फेसबुकमै शास्त्रार्थ गर्न खोज्छन् । कहिलेकाहीँ उफान पनि ल्याइदिन्छन् । तर, त्यहाँ भेटिन्छन् मुढेबलका मालिकमात्रै ।

जगजाहेर छ, चन्द्रप्रकाश नेपाली इतिहास, राजनीति र साहित्यका निर्मम आलोचक हुन् । नेपाली साहित्य, स्वयं मदन पुरस्कार प्राप्त कतिपय कृतिले उनलाई सन्तुष्ट पार्न सकेका छैनन् । थुप्रै किताब पढ्दापढ्दै नमीठो ठेस लाग्छ । उनी भन्छन्, ‘विषयवस्तुमा गहिराइ छैन । लेखनमा इमानदारी छैन । भाषामै पनि तारानाथ शर्मा र खगेन्द्र संग्रौलाले दिएको आयाम पाइँदैन । नेपाल र भारतको सिनेमामा जुन अन्तर छ, साहित्यमा पनि त्यही छ ।’

कतिपय व्यक्ति प्रश्न उठ्छ कि भनेर डराउँछन् । उनीचाहिँ तथ्य खोजेर सत्य प्रमाणित गर्नतिर लाग्छन् । उनी भन्छन्, ‘नातिले नचिन्ने भयो भनेर पोखरा आएँ । काठमाडौँ बस्दा असाध्यै बिरामी भइरहन्थेँ, यहाँ आएपछि ठ्याम्मै बिसेक भयो ।’

यहाँनेर भन्नैपर्ने हुन्छ, सांसद भएपछि नै उनको स्मृति क्रमशः कमजोर हुन थाल्यो । सदैव कक्षा प्रथम हुने मेधावी चन्द्रप्रकाशले अनुहार र नाम बिर्सन थाले । हिँडडुल गर्न गाह्राे हुन थाल्याे । बाटो काट्दा, उकालो चढ्दा, बोल्दा रिङ्टा लाग्न थाल्यो । त्यतिबेला उनी तलब पाउँथे, ५२ सय, एमआरआईको पर्यो १० हजार । उनलाई त ब्रेन ट्युमर भइसकेको रहेछ ।

भरखर विदेशमा पढेर आएका डा. उपेन्द्र देवकोटाले ब्लुक्रसमा बोलाएर एक घन्टा हेरे र सोधे, ‘तपाईंको सम्पत्ति कति छ ? छोराछोरी कति छन् र कहाँ छन् ?’ उनले इमानदारीपूर्वक बताए, ‘छोराछोरी सानै छन् । मैले केही पनि कमाएको छैन ।’

डा. उपेन्द्रले सुझाए, ‘त्यसो भए कमसेकम तपाईंले आफ्नो शरीर छोराछोरीको पढाइ नसकुन्जेल जोगाउनुपर्छ । त्यतिबेलासम्म कुनै व्यवसाय नगर्नुस्, सामाजिक र राजनीतिक या कुनै टेन्सन हुने काम नगर्नुस् । सकेसम्म एम्बुलेन्स उपलब्ध हुने ठाउँमा बस्नुस् । कतै टाढा नजानोस् ।’

धेरै वर्षपछि कम्मरको नसा च्यापिएर तिनै डाक्टरकहाँ गए । डाक्टरले चिनिहाले र भने, ‘ठीकै हुनुहुँदो रहेछ त !’

लौ अब भयो ! उनी फर्कने ठाउँ त्यही थियो, बेनी । त्यहाँ त मोटरबाटै पुगेको थिएन । भरखर राजनीतिक करिअर सुरु गरेका थिए । केन्द्रदेखि जिल्लासम्म पहुँच थियो । त्यही पनि छाड्नुपर्ने भयो । उनी निष्क्रिय भए राजनीतिमा । एक रात बाँच्यो भने नौ लाख तारा देख्ने मान्यता पछ्याए सायद ।

डा. उपेन्द्रकै सल्लाहमा उनले शल्यक्रिया गराएनन् । धेरै वर्षपछि कम्मरको नसा च्यापिएर तिनै डाक्टरकहाँ गए । डाक्टरले चिनिहाले र भने, ‘ठीकै हुनुहुँदो रहेछ त !’ उनले गुनासो गरे रे, ‘तपाईंले भने अनुसार बेनीमा थपक्क बसेको छु । तपाईंका कारण ऊर्जावान् उमेरमा निष्क्रिय बसेँ । तपाईंले मेरो जिन्दगीको क्षतिपूर्ति दिनुपर्छ ।’

डाक्टर तर्किए, ‘मेरो कुरा फलो गरेकाले तपाईं बाँच्नुभएको पनि त हुन सक्छ नि ।’

उनको परिवारलाई ‘अल्पकालेको खलक’ भन्थे म्याग्दीमा । थुप्रै अग्रजले ७० को खड्गो काट्नै पाएनन् । उनलाई लाग्छ, यो नाफाको जिन्दगी हो । त्यसैले उनमा कुण्ठा र पश्चात्ताप छैन । उनी भन्छन्, ‘रोगका हिसाबले ४० वर्षमा जस्तो थियो, त्यस्तै छ मेरो हालत । राजनीति गाली खाने ठाउँ हो । हदै भए मन्त्री हुन्थेँ होला । मन्त्री भएर मात्र पनि के हुन्थ्यो र ! सबैजसो नेता मन्त्री भएकै छन् ।’