कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो एघारौँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिए पनि नयाँ पुस्ताका असाध्यै राम्रा कविताहरू पनि यो अभियानमा समावेश गरिने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत छ, यसपटकका स्मार्ट पोयम्सहरू :
१. समुद्रलाई आँसु चाहिँदैन
(अरुणा वैद्य)
समुद्र घाम ताप्न— डिलमा बसेको छ !
घाम तापिरहँदा ऊ कथा भन्दैन
कथाका थिमहरू बाकसमा बन्द गरेँ भन्छ,
जुन बेला पनि खोल्दिनँ
सस्तो हुन्छ कथा— जोसुकैलाई सुनाउन्नँ भन्छ !
कथा आफ्नै हो, आफैलाई बाँध्छु भन्छ
ऊ आफ्नै गहिराइमा आफ्नो विगत खोतल्न चाहन्छ
भविष्य नियाल्न चाहन्छ
समुद्र आफ्नो स्वरूप पानीमा नाप्न खोज्दै छ,
उसको परिचयले किन उसैलाई चिनेन ?
त्यो छाम्न खोज्दै छ पानीमा— चक्कर—चक्कर ।
अब ऊ रुँदैन ! अब ऊ बोल्दैन !
अब ऊ गल्दैन !
समुद्र हो उसको नाम— नुनिलो दह !
त्यसैले, समुद्रलाई आँसु चाहिँदैन ।
२. अनुरोध सर्ग
(मोमिला)
जब उज्यालोमा एउटा गुलाफ
हाँगाबाट झरिदिन्छ,
म अँध्यारोमा अर्को गुलाफ
फुल्न अनुरोध गर्छु ।
अक्सर, उज्यालोका हारहरू
मनको धागोमा उनिएपछि
म अँध्यारोमा जीतको माला
गाँस्न अनुरोध गर्छु ।
र आफन्तहरूको पराई भीडमा
आफ्नोपन हराएपछि
एकान्तमा आफैलाई
खोज्न अनुरोध गर्छु ।
३. म रोएको रात
(सरिता तिवारी)
म रोएको रात
फगत ममात्रै हुन्छु
मेरो आँसुको साक्षी ।
टाढा
जङ्गलमा
स्यालहरू प्रलाप गरिरहन्छन्
बाटोमा
कुकुरहरू एकोहोरो भुकिरहन्छन्
र भित्तामा
टक्टक् हिँडिरहन्छ समय ।
म रोएको रात
फगत ममात्रै हुन्छु
मेरो आँसुको साक्षी ।
४. बुधनी
(निभा शाह)
अचेल ! अचेल !
जङ्गलबाट सहर पसेका
महलमा बसेका
लाल ख्वामितहरू भनिरहेछन्—
बुधनी, तिमी बुद्ध जन्माऊ !
बुधनी रानी हो र
बुद्ध जन्माउँछे ?
बुधनी दास हो, दास !
दासहरु स्पार्टाकस जन्माउँछन्
स्पार्टाकसहरू जन्माइरहन्छन् ।
५. उडान
(विमला तुम्खेवा)
त्यो चराको
स्वतन्त्र उडान जस्तो
जिन्दगी बाँच्न चाहन्छु
र,
लेख्न चाहन्छु कविता
स्वतन्त्रताको ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।