जनकपुरमा नयाँ रेल आएपछि रेल हेर्नेको निकै भीड लाग्यो । नेपालमा पहिलोपटक पो रेल भित्रिएको हो कि भने जस्तोगरी यसको चर्चा पनि निकै चुलियो । नेपाल सरकारले भारतसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेको हो । एकपटकमा तेह्र सय यात्रु बोक्ने क्षमताको पाँचवटा डिब्बा भएको रेलको अर्को सेट पनि भारतबाट तयार भएर आउने क्रममा छ ।

जनकपुरमा वि.सं. १९९४ सालदेखि रेल चल्न थालेको हो । यद्यपि जनकपुरमा रेल सञ्चालनमा आएको दश वर्ष अगाडि नै वीरगञ्जमा रेल चल्न थालिसकेको थियो । भारतको रक्सौलदेखि नेपालको वीरगञ्ज हुँदै अमलेखगञ्जसम्मको २७ किलोमिटरको दूरीमा यो रेल चल्थ्यो । वि.सं. १९८४ देखि चल्न थालेको त्यो रेल सुरूमा नेपालका जङ्गलबाट भारततिर काठपात ओसार्ने प्रयोजनले स्थापना भएको थियो । यसलाई ‘वीरगञ्ज रेल’ भनिन्थ्यो । त्रिभुवन राजपथको निर्माण भएपछि यो रेलको अस्तित्व नै समाप्त हुनपुग्यो । ‘सडक मार्ग’को प्रभावमा ‘रेल मार्ग’ टिक्न सकेन । २०२७ सालमा त बन्द नै हुनपुग्यो ।

उपन्यासकार ध.च.गोतामे (धनुषचन्द्र गौतम) ले लेख्नुभएको ‘घामका पाइलाहरू’ उपन्यासमा वीरगञ्ज रेलका थुप्रै प्रसङ्गहरू भेटिन्छन् । उपन्यासका कतिपय पात्रहरू नै त्यो रेलसँग सम्बन्धित छन् । ‘घामका पाइलाहरू’ २०३५ सालमा मदन पुरस्कार प्राप्त कृति हो । धनुषचन्द्र सम्बन्धी एउटा संस्मरणमा धनुषचन्द्रका भाइ साहित्यकार ध्रुवचन्द्र गौतमले “‘वीरगञ्ज रेल’ अब वीरगञ्जमा होइन; केवल ‘घामका पाइलाहरू’मा भेटिन्छ !” भन्नुभएको छ ।

प्रतीक घिमिरे

वीरगञ्जमा रेल चल्न थालेको दश वर्ष पछि वि.सं. १९९४ मा तत्कालीन ब्रिटिस इण्डिया सरकारले भारतको जयनगर देखि जनकपुर (धनुषा) हुँदै महोत्तरीको बिजलपुरासम्म अर्को रेल विस्तार गर्यो । धनुषा जिल्लाको सिमानाबाट भारतको जयनगर शहर तीन किलोमिटर पर पर्छ । भारतमा (जयनगर) पर्ने तीन किलोमिटर भूमि भने ब्रिटिश इण्डिया कालमा तत्कालीन दरभङ्गाका राजासँग नेपालले रेल सञ्चालन गर्न भनेर लिजमा लिएको हो । यो रेल पनि सुरुमा नेपालको जङ्गलबाट भारततिर काठ, जडिबुटी लैजाने प्रयोजनका साथ मालगाडीका रूपमा नै सञ्चालन गरिएको हो । पछि भने त्यसले यात्रुसमेत ओसार्न थाल्यो ।

त्रियासी वर्ष अघिदेखि सुचालु जनकपुरको रेल सजोतसो चलिरहेकै थियो । अनेक आरोह, अवरोह झेल्दै अनेक उतारचढावबीच जीर्ण रूपमा भएपनि सञ्चालन भैरहेकोमा २०६१ सालमा भने स्तरोन्नति गरी नयाँ रूपले सञ्चालन गर्ने भन्दै त्यसलाई पूर्ण रूपले बन्द गरिएको थियो । त्यो वेला मुलुककै एकमात्र रेल सेवा जयनगर–जनकपुर रेल पहिले ‘जनकपुर रेल्वे’ कम्पनीले चलाउँथ्यो । यातायात संस्थानले पनि कुनै वेला चलायो । नेपाल सरकारले रेल सेवा सञ्चालन गर्ने जिम्मा अहिले सरकारी स्वामित्वमा रहेको ‘नेपाल रेल्वे कम्पनी’लाई दिएको छ ।

यो रेल सुरुमा कोइलाबाट चल्थ्यो । त्यसपछि २०५१ सालमा स्टिम इन्जिन आयो । अहिले भने ‘डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिटी’को रेल चलाउन लागिएको छ । यो भनेको डिजेलबाट बिजुली निकालेर चलाउने प्रविधि हो ।

अहिले भारत सरकारको आर्थिक–प्राविधिक सहयोगमा जयनगर–जनकपुर हुँदै पहिले चलिरहेको महोत्तरीको बिजलपुराभन्दा १८ किलोमिटर पर बर्दीवाससम्म रेललाई विस्तार गर्न लागिएको छ ।

पहिले भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्मको ५१ किलोमिटर दूरीमा न्यारो गेजको (छोटी लाइन) रेल चल्थ्यो । २०५८ सालमा बिघी नदीमा आएको बाढीले रेल तर्ने पुल नै बगाइदिएपछि बिजलपुरा (महोत्तरी) तर्फको सेवा त्यतिबेलादेखि पूर्ण रूपमा बन्द हुनपुग्यो । जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरमा भने सेवा चालू नै थियो । २०६१ सालदेखि भने पहिलेको न्यारो गेजको सम्पूर्ण रेल्वे ट्रयाकलाई ब्रोड गेजमा विस्तारगरी सञ्चाल गर्ने भनेर सम्पूर्ण रेलसेवा सञ्चालन नै बन्द गरियो । अहिले भारत सरकारको आर्थिक–प्राविधिक सहयोगमा जयनगर–जनकपुर हुँदै पहिले चलिरहेको महोत्तरीको बिजलपुराभन्दा १८ किलोमिटर पर बर्दीवाससम्म रेललाई विस्तार गर्न लागिएको छ । मुआब्जा विवादका कारण बर्दीवासतर्फको काम भने सम्पन्न भइसकेका छैन । जनकपुरको कुर्थादेखि बिजलपुरा खण्डमा भने निर्माण कार्य चलिरहेको छ ।

वि.सं.२०११ सालमा नेपालले भारतसँग भीमनगरमा कोशी नदीमा ब्यारेज निर्माण गर्ने सम्झौता गर्यो । बाँध निर्माणका लागि धरान लगायतका उत्तरी क्षेत्रबाट ४७ किलोमिटरको दूरीमा ढुङ्गा र काठका मुढाहरू ओसार्न त्यस क्षेत्रमा पनि एउटा रेल चलाइएको थियो । भीमनगरदेखि चक्रघट्टी–घोपा र चक्रघट्टी–चतरासम्म त्यो रेल चल्थ्यो । साहित्यकार डा. तुलसी भट्टराईका अनुसार ढुङ्गा बोक्ने भएर होला त्यसलाई ‘ढुङ्गे रेल’ भनिन्थ्यो रे ! भीमनगर आउँदा मानिसहरू मालगाडी रेलमा ढुङ्गा मुढा लोड गरिएको थुप्रामाथि बसेर आउँथे रे ! फर्किदा चाहिँ रित्तै हुन्थ्यो रे त्यो रेल । सिरहा, सप्तरीसम्म पुग्ने मानिस त्यही ‘ढुङ्गे रेल’ बाट धरान, इटहरी विराटनगरसम्म आवत जावत गर्थे रे ! नेपाली लेखकहरूले आफ्ना नियात्रा संग्रहमा विदेशमा चढेका रेलका थुप्रै प्रसंगहरू समेटेको भए पनि नेपाली ‘रेल’लाई सन्दर्भमा राखेर कृतिहरू तयार गरेको त्यति भेटिँदैन । ‘ढुङ्गे रेल’को प्रसङ्ग भएको डा.भट्टराईको एउटा संस्मरणात्मक लेख ‘रचना’को आगामी अंकमा प्रकाशन हुँदैछ ।

अहिले राजधानी काठमाडौंभित्र पनि भारत र चीनबाट रेल आउने चर्चा छ । दक्षिणतिर भारतको रक्सौलबाट र उत्तरतिर चीनको केरुङबाट काठमाडौंमा रेल भित्र्याउने योजनामा सरकारको चासो बढेको छ । राजधानीभित्रै मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन हुँदैछन् । पूर्व–पश्चिम रेल चलाउन पनि सर्वेहरू भइरहेका छन् । काठमाडौंभित्रै यसरी रेल गुडाउने योजनाका खाकाहरू बनिरहँदा राणाकालमै राजधानीमा रेल गुड्ने गथ्र्यो भन्ने कुरा अहिलेको पुस्तालाई अपत्यारिलो लाग्न सक्छ । सुन्दा किंवदन्ती अथवा अफवाह पो हो कि ! भने जस्तो लागे पनि त्यो रेलबारे थाहा पाउने पुराना पुस्ताका केही जानकारहरू अझै पनि होलान् काठमाडौंमा । मैले पनि मेरो हजुरबुवाको मुखबाट काठमाडौंमा रेल गुड्ने गरेको कुरा सुनेको थिएँ ।

काठमाडौंको मातातीर्थ हुँदै टेकुसम्मको करिब ९–१० किलोमिटरको दूरीमा त्यो रेल चल्थ्यो रे ! तर यात्रु प्रयोजनका लागि नभएर सामान बोक्ने मालगाडीका रूपमा प्रयोग हुन्थ्यो रे त्यो रेल ! यसरी नेपालका विभिन्न स्थानमा गुड्ने गरेका रेलका सबै कथा सुन्दा ती सबै रेल सुरुमा कुनै न कुनै रूपले मालसामान बोक्ने मालगाडीका रूपमै सञ्चालन भएका रहेछन् भन्ने थाहा हुन्छ ।

रोप वेबाट ल्याएर मातातीर्थमा झारिएका मालसामानहरू पुनः रेलमा लोड गरेर टेकुको भन्सार कार्यालयसम्म पुर्याइन्थ्यो र त्यहाँबाट भन्सार छुटाइन्थ्यो ।

वि.सं.१९७८ मा मकवानपुरको धोर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म रोप वे निर्माण सुरु भयो । १९८३ देखि त्यसले मालसामान ढुवानी गर्न थाल्यो । केटोकेटीमा हेटौंडातिरबाट काठमाडौं आउँदा जाँदा पछिसम्म पनि हामीले गाडीका झ्यालबाट तारमा रोप पे चलिरहेको देख्थ्यौं । त्यसका थुप्रै अवशेषहरू अहिले पनि त्यो क्षेत्रका ठाउँ ठाउँमा देख्न सकिन्छ । त्यही रोप वेमार्फत् काठमाडौंमा भारतबाट ल्याइएका मालासमानहरू भित्र्याइन्थे । काठमाडौंका निमित्त रक्सौलतिरबाट ल्याइएका मालसामानहरू वीरगञ्ज हुँदै धोर्सिङसम्म ल्याएर त्यहाँबाट रोप वेमा लोड गरेर काठमाडौंको मातातीर्थमा ल्याएर झारिन्थे । मातातीर्थमा झारिएका सामानहरूको भन्सार जाँचपास भने टेकुमा हुन्थ्यो । टेकुमा भन्सार कार्यालय थियो । रोप वेबाट ल्याएर मातातीर्थमा झारिएका मालसामानहरू पुनः रेलमा लोड गरेर टेकुको भन्सार कार्यालयसम्म पुर्याइन्थ्यो र त्यहाँबाट भन्सार छुटाइन्थ्यो । यसरी त्यो रेल रोप वेबाट ल्याएर मातातीर्थमा झारिएका सामानहरूको टेकु भन्सारमा ल्याएर जाँचपास गराउने प्रयोजनका लागि सञ्चालन गरिएको रहेछ भन्ने बुझिन्छ ।

मातातीर्थदेखि टेकुसम्मको रेल गुड्ने क्षेत्रमा रेलका लिकहरू पछिसम्म देख्नेहरू अहिले पनि धेरै छन् । बल्खू, वैेष्णवीदेवीको राणाकालीन फलामे पुल त्यही रेल हिंडने पुल भएको कुरा अधिवक्ता मित्र विनोद कार्की बताउनुहुन्छ । अहिलेको कुलेश्वर आवास क्षेत्र नजीकै रेल गुड्ने लिक भएकोले त्यस स्थानको नाम नै पछि ‘लिक मार्ग’ हुन पुगेको कुरा स्थानीय क्षेत्रका जानकार, स्थानीय वासिन्दा मेरा काका वासुदेव गौतम बताउनुहुन्छ । साहित्यकार सीताराम उप्रेती पनि सत्र वर्ष ‘लिकमार्ग’ मा बस्नुभएको रहेछ । टेकु क्षेत्रमा मैले पनि रेलको लिक देखेको हुँ ।

जनकपुरमा अहिले नयाँ रेल आएपछि पुरानो रेल चढ्दाका बाल्यकालीन केही स्मरणहरू स्मृतिपटमा ताजा हुँदैछन् । हामी स्कूल पढ्दा काठमाडौंमा वार्षिक परीक्षा मङसिर अन्तिमतिर हुन्थ्यो । परीक्षा सकिएपछि पुस र माघ दुई महीना स्कूल बन्द भएर फागुनदेखि मात्र नयाँ पढाई सुरु हुन्थ्यो । त्यतिबेलाको हिउँदमा काठमाडौंमा जाडोको अनुभव निकै हुन्थ्यो । दुई महीना स्कूल छुट्टी हुन्थ्यो । यो छुट्टीलाई मीनपचासको छुट्टी पनि भनिन्थ्यो ।
स्कूलको वार्षिक परीक्षा सकिएपछि हामी हाम्रो महोत्तरीस्थित खेतीमा गएर स्कूल नखुलुञ्जेल पुस र माघ पूरै दुई महीना ढुक्कैले बस्थ्यौं । परीक्षा सकिएपछि हजुरबुवाले दाइ र मलाई जनकपुर लगिहाल्नुहुन्थ्यो । परीक्षाको चिन्ता भन्दा पनि हामीलाई परीक्षा सकिएपछि हजुबुवासँग जनकपुर कहिले जान पाइएला भन्ने आत्तुरीले बढी सताउँथ्यो ।

जनकपुरमा हाम्रो घर भानुचोक भन्ने स्थानमा छ । हाम्रो घर भएको ठाउँबाट जनकपुरको रेल स्टेशन पूर्वपट्टि पर्छ । हिंडेरै जाँदा पनि ८–१० मिनेटमा पुगिन्छ स्टेशन । ‘बाउन्न कुटी बहत्तर कुण्डको शहर’ भनेर प्रसिद्धी पाएको जनकपुर क्षेत्रमा थुप्रै मठ–मन्दिर र पोखरीहरू छन् । जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, शंकट मोचन, राजदेवी मन्दिर, विवाह मण्डप, गङ्गा सागर, धनुष सागर जस्ता प्रमुख दर्शनीय स्थलहरूको भ्रमण साँझ बिहान गरेर एक दुई दिनमा सकिइहाल्थ्यो । राम मन्दिर र जानकी मन्दिरमा गएर सीता माता र भगवान रामको दर्शन गर्नु भने अनिवार्य जस्तै थियो । अन्य मठ मन्दिर भने आफ्नो रहरले भन्दा पनि कहिले हजुरबुवाको करले उहाँसँग र कहिले काठमाडौं अथवा अन्यत्रबाट आउने आफन्तका आग्रहमा गइन्थ्यो । बरु हामी केटाकेटीलाई तीर्थ स्थलले भन्दा पनि सिनेमा हलले बढी प्रभाव पार्थे । सिनेमा हल पछिको गन्तव्य चाहिं त्यही रेल स्टेशन हुने गथ्र्यो । घरबाट नजीकै भएकोले हामी जनकपुर बसाईका क्रममा घण्टौं स्टेशनतिर गएर समय कटाउँथ्यौं ।

त्यतिबेला धनुषाको जनकपुरबाट पूर्व जयनगरसम्म र जनकपुरबाट पश्चिम महोत्तरीको बिजलपुरा सम्म गरि दुई रुटमा रेल चल्थे । हाम्रो गन्तव्य भने जनकपुरदेखि पश्चिम दुई स्टेशन परको लोहारपट्टी भन्ने स्टेशनसम्मको हुन्थ्यो । लोहारपट्टी स्टेशनमा आर्लेर गाउँ जान पैदलै हिंड्नुपथ्र्यों ।

कहिलेकाहीँ हजुरबुवा पनि यात्रामा सँगै हुनुहुँदा भने लोहारपट्टी स्टेशनमा गाउँबाट गडी (गोरुगाडा) झिकाइन्थ्यो । अरुबेला भने हिंड्नुको विकल्प हुँदैनथ्यो । जनकपुरबाट हाम्रो अग्लेश्वरा गाउँ २० किलोमिटर पश्चिममा पर्छ । अग्लेश्वरालाई हाल औरही नगरपालिका भित्र समेटिएको छ । औरही कथाकार मनु ब्राजाकीको गाउँ पनि हो । त्यस क्षेत्र आसपासका स्थानीयहरूका लागि त्यो रेल मात्र जनकपुर जाने एकमात्र भरपर्दो विकल्प थियो त्यतिबेला ।

कलिहेकाहीँ त बिहान त्यही सिटी सुनेरै हाम्रो निद्रा खुल्थ्यो । केटाकेटीले घडी बाँध्ने चलन थिएन; मोबाइल फोन के हो भन्ने कुराको त अत्तोपत्तो केही थिएन त्यतिबेला ।

बिहान ८ बजे र बेलुका ३ बजे दिनको दुईपटक त्यताको गाडी छुट्थ्यो । पछि पछि भने बिजलपुरातिर जाने रेल दिनको एक पटक बेलुका तीन बजे मात्र छुट्न थालेको थियो । जयनगरतर्फ जाने रेल भने दिनको तीनपटक सम्म चलेको चाल पाउँछु । बिहान ६ बजे, दिउँसो १२ बजे र बेलुका ३ बजे । रेल छुट्न लाग्दा रेलले सीटी फुक्थ्यो । रेल स्टेशन घर नजीकै भएको हुँदा सीटीको आवाज घरसम्मै सुनिन्थ्यो । बेला बेला छुट्न लागेको रेलले सिटी फुक्दा हामीलाई कति बजेछ भनेर समय अड्कल गर्न पनि सजिलो हुन्थ्यो । कलिहेकाहीँ त बिहान त्यही सिटी सुनेरै हाम्रो निद्रा खुल्थ्यो । केटाकेटीले घडी बाँध्ने चलन थिएन; मोबाइल फोन के हो भन्ने कुराको त अत्तोपत्तो केही थिएन त्यतिबेला ।

यातायातको एकमात्र विकल्प त्यही रेल भएकाले रेलमार्ग आसपासका स्थानीयहरूलाई जनकपुर आउजाउ गर्न ठूलो भरथेग यो रेलले गरेको थियो । विद्यार्थी, सरकारी जागिरे, सरकारी कार्यालयमा काम पर्ने सर्वसाधारणहरूको दैनिक आउजाउ गर्ने साधन भनेको या त साइकल थियो अथवा यही रेल । अहिलेको जस्तो सडक सञ्जाल सबैतिर विस्तार भै नसकेकाले यातायातका अन्य साधनहरू फाट्टफुट्ट मात्र चल्थे त्यस क्षेत्रमा ।

स्थानीयहरू जयनगरतिर चल्ने रुटको रेललाई ‘पूर्व जाने रेल’ र बिजलपुरातिर जाने रुटको रेललाई ‘पश्चिमतिर जाने रेल’ भन्थे । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल कुदाउने प्रसंगमा कतै वहस चल्दा ‘पूर्व–पश्चिम रेल’ त हामीले बाल्यकालमै चढिसकेका थियौं भनेर ठट्टा–मजाक पनि हुन्छ कहिलेकाहीँ हाम्रो ।

पूर्व र पश्चिमतर्फको रेल छुट्ने समय उस्तै उस्तै हुँदा कहिलेकहीं सोझा सीधा नयाँ यात्रीहरू झुक्किएर पश्चिम जानुपर्ने पूर्वको रेलमा र पूर्व जाने पश्चिमको रेलमा पनि चढ्न पुग्थे । उरण्ठ्याउला केटाहरूका उल्टा सल्लाहलाई विश्वास गर्नपुग्दा पनि त्यस्तो अवस्था आइलाग्थ्यो कहिलेकाहीँ । एउटा रेलमा चढ्नुपर्नेमा झुक्किएर अर्को रेलमा चढ्दा यात्रुहरू अत्तालिन्थे । त्यस्तो अवस्थामा कहिलेकाहीँ रेलको चेन खिचेर पनि रेललाई रोकिदिनुपर्ने हुन्थ्यो । सामान्य अवस्थामा त्यसरी रेल रोक्दा भने सजाय हुन्थ्यो ।

रेलको गति त्यति धेरै नहुने हुनाले बलिया बाङ्गाहरू त सजिलै चढ्ने ओर्लने पनि गर्थे । हामी पनि गुडीरहेको रेलबाट कहिलेकाहीँ चढ्दै ओर्लदै गथ्र्यौं । तर यस्तो गर्नु निकै खतरा मोल्नु हुन्थ्यो । दुर्घटनाका सम्भावना हुँदाहुँदै पनि हामी गुडीरहेको रेलबाट ओर्लेर चढ्ने आँट गथ्र्यौं । अभिभावकहरूका साथमा रेल चढ्दा भने हामी त्यस्तो गर्ने आँट गर्न सक्तैनथ्यौं । रेलबाट झर्दै र ओर्लदै गर्दाको खतरा बीचको आनन्दभन्दा त्यस्तो प्रयास गर्दा अभिभावकहरूले गर्ने गालीमा झनै बढी खतराको घण्टी बजेको अनुभूति हुन्थ्यो । बेलाबेलामा एक्लै रेलबाट जनकपुर र गाउँ ओहोरदोहोर गर्ने अनुमति नपाइन पनि सक्थ्यो उहाँहरूसँगको यात्रामा त्यसो गर्दा । त्यसरी अनुमति पाइएन भने जनकपुर आएर नयाँ नयाँ सिनेमा हेर्ने अवसरबाट पनि वञ्चित हुनुपथ्र्यो । त्यसैले वहाँहरूसँग यात्रा गर्दा भने हामी त्यस्तो खतरा मोल्न चाहँदैनथ्यौं ।

हामीले कोइलाबाट चल्ने इन्जिन प्रयोग भएकै रेल बढी चढ्र्यौं । कोइलाबाट चल्ने इन्जिनको एउटा खराबी के थियो भने रेल गुड्दा उडेको धुवाँले कोइलाका केही कण पनि उडाएर ल्याएका हुन्थे । त्यो कण लुगामा परेपछि लुगा काला हुन्थे । कपाल र मुखमा पनि कोइला पर्थे । घर पुगेर नुहाउनु पथ्र्यो र लुगा धुनुपथ्र्यो । कहिलेकाहीं आगो सहितका ससाना कणहरू पनि धुवाँसँगै आउँथे । त्यसले लुगा पनि डढाइदिन्थ्यो । लुगामा ससाना प्वाल परेका हुन्थे ।

बेलाबेलामा गर्नुपर्ने आवश्यक मरम्मत सम्भारको अभावमा दुरुस्त रहन नसकेको त्यो रेल जीर्ण र रुग्ण अवस्थामा पनि सञ्चालित हुँदै थियो । रेल छुटेर टुङ्गोमा नपुगुञ्जेल कतै बिग्रेर थन्किने पो हो कि भन्ने चिन्ताले यात्रुहरूलाई भने सताइरहन्थ्यो । किनभने गन्तव्यमा पुग्न रेलले ढिलो ग¥यो भने घर पुग्दा धेरै रात पर्ने र टाढाका यात्रुहरूलाई त वास नै बस्नुपर्ने अवस्था पनि आइपथ्र्यो । अहिलेका जस्तो जताततै होटल–लजको व्यवस्था थिएन त्यतिबेला । रेल लेट भएर वास नै बस्नुपर्ने भयो भने गोठ–खलिहानमा रात बिताउनुपर्ने पनि हुन्थ्यो कहिलेकाहीँ ।

रेल कहिले बाटोमा पार्टपुर्जा बिग्रेर रोकिन्थ्यो । कहिले डिब्बाले आफू गुड्ने लिक नै छाडिदिन्थ्यो । यस्तो अवस्थाबीच पनि एकाध सामान्य घटना बाहेक गम्भीर किसिमका दुर्घटना भने हामी चढ्दा कहिल्यै भएनन् । एकपटकको घटना सम्झन्छु । रेलको डिब्बाका सीट भरिएर हामी रेलको छतमाथि चढेर यात्रा गरिरहेका थियौं । भीडभाड नभएको बेला भने छतमा चढेर यात्रा गर्न पाइँदैनथ्यो । तर रेलमा प्रायः भीडभाड भइ नै रहने हुनाले छतमा चढ्न सक्नेहरू छतमै चढ्थे ।

हामी पनि डरले थर्थराउँदै के गर्ने कसो गर्ने भनेर अत्तालियौं । त्यत्तिकैमा रेल केही कोल्टे परेर टक्क अडियो ।

एक दिन हामी लोहारपट्टी स्टेशनबाट जनकपुरतिर आउँदै थियौं । बीचमा खुट्टा पिपराडी भन्ने गाउँ पर्छ । त्यो गाउँको बीचबाटै रेल पार हुन्छ । खुट्टा पिपराडी गाउँ आइपुगेपछि अचानक रेलको डिब्बा दायाबायाँ ढलपल ढलपल गर्दै हल्लन थाल्यो । हाम्रो सातोपुत्लो उडयो । सञ्जोगले त्यस ठाउँमा रेल पुग्दा लिकका नजीकैजस्तो परालका कुन्युहरू लस्करै लगाइएका थिए । केही यात्रु अत्तालिंदै त्यही कुन्युमा हाम फाले । गुडीरहेको रेलबाट परालको कुन्युमा फाल हाल्दा केही भने कुन्यु भेट्न नसकेर जमीनमा पछारिन पनि पुगे । हामी पनि डरले थर्थराउँदै के गर्ने कसो गर्ने भनेर अत्तालियौं । त्यत्तिकैमा रेल केही कोल्टे परेर टक्क अडियो । हाम्राे प्राण जोगाइदिएकोमा त्यो दिन हामीले ईश्वरलाई निकै सम्झियौ । ‘भगवान भरोसे’ रेलको छतमा चढेर यात्रा गर्दा वास्तवमा हामीलाई त्यो दिन भगवानले नै बचाए भन्ने लागेको थियो । काठमाडौंबाट जनकपुर पुग्नासाथ जानकी माता र भगवान रामको दर्शन गर्न कहिल्यै छुटाइँदैनथ्यों । सीतारामकै प्रतापबाट आज हामी बाँच्यौं भन्ने हामीलाई लाग्यो । रेलबाट फाल हाल्ने अन्य यात्रीहरूमा पनि सामान्य चोटपटक मात्र देखियो; गम्भीर घाइते कोही पनि भएनन् । त्यहाँबाट त्यो दिन हामी हिंडेर जनकपुर पुगेका थियौं ।

रेलमा फस्र्ट क्लास, सकेण्ड क्लास र थर्ड क्लास गरेर तीन वटा क्लासका डिब्बा (बोगी) हुन्थे । । फस्र्ट क्लासको टिकट काटेपछि गद्दा (फोम)ले मोरिएका सीटमा बस्न पाइन्थ्यो । यसको अर्को विशेषता भनेको यो डिब्बामा भीड धेरै हुँदैनथ्यो । सीट भन्दा बढी मान्छे बस्न पाउँदैनथे । टिकट शुल्क अरु क्लासको भन्दा केही महँगो हुने हुँदा यात्रुहरू यो क्लासको टिकट काट्न त्यति मन पराउँदैनथे । केही कुलीन घरानाका र उच्च पदस्थ नेता, मन्त्री, सरकारी कर्मचारीहरूका रोजाइमा भने फस्र्ट क्लासको डिब्बा पथ्र्यो । भीड अत्यधिक भएर अन्य क्लासको टिकट नपाउँदा भने उभिन नसक्ने रोगी, असक्त र वृद्धवृद्धाहरू पनि यो क्लासमा चढ्न बाध्य हुन्थे ।

त्यसपछि सेकेण्ड क्लासको डिब्बा हुन्थ्यो । यहाँका सीट भने काठका बेञ्च जस्ता हुन्थे । यो डिब्बामा भने अत्यधिक भीड हुन्थ्यो । कलिहेकाहीं त सीट पाउन पनि हम्मे हम्मे पथ्र्यो । उभिएरै यात्रा गर्नेहरू पनि धेरै हुन्थे । रेल चढ्दा ठेलमठेल गरेर चढ्नुपथ्र्यो । आफ्नो समूहको कोही बलियो भए भीडभाडमा ठेलठाल गरेरै रेलको डिब्बाभित्र चढिन्थ्यो र अन्य आफन्तका लागि सीट ओगटिन्थ्यो । सीट ओगट्न झोला अथवा रुमाल आदिको प्रयोग गरिन्थ्यो । कतिपयले भित्र नपसी बाहिर झ्यालबाटै रुमाल, झोला राखेर पनि सीट ओगट्थे । त्यस्तो अवस्थामा भने पहिले सीट कसले ओगट्यो भन्ने विवादमा झगडा पनि पथ्र्यो कहिलेकाहीं । त्यो झगडाले कहिलेकाहीँ त उग्र रूप नै पनि लिन्थ्यो । सीट ओगट्ने विषयमा एक पटक दुई समूहबीच झगडा हुँदा ठूलै हताहत भएको थियो । झगडा छुटाउन प्रहरी फोर्स नै बोलाउनु परेको थियो त्यतिबेला । त्यो बेला भने रेल दुई तीन घण्टा ढिलो छुटेको थियो ।

त्यही ‘टिकट खिड्की’बाट टिकट काट्ने कर्मचारीलाई आफू पुग्ने स्टेशनको नाम र क्लास भनेपछि कर्मचारीले क्लास अनुसारको पैसा कटाएर टिकट दिन्थे ।

ठूला चाडपर्वहरू परेका बेला रेलमा निकै भीड लाग्थ्यो । त्यस्तो अवस्थामा भने रेल कम्पनीले मालसामान ढुवानी गर्ने मालगाडीको डब्बालाई पनि अन्य डिब्बासँग जोडेर प्रयोमा ल्याउँथ्यो । त्यस डिब्बालाई थर्ड क्लास भनिन्थ्यो । थर्ड क्लासको टिकट सबैभन्दा सस्तो हुन्थ्यो । मालसामान बोक्ने मालगाडीको डिब्बा भएकोले त्यसको दुवै भागतिर ढोका मात्र हुन्थ्यो; सीट, झ्याल केहीपनि हुँदैनथ्यो । टाउको छोप्ने छाना त हुन्थ्यो तर कतिसम्म जीर्ण हुन्थ्यो भने कहिलेकाहिँ पानी प¥यो भने कुनै कुनै डिब्बामा छाना चुहिएर जीउ सबै भिज्थे । यात्रीहरू पराल अथवा आफ्ना झोला, रुमाल बिच्छ्याएर बसेका हुन्थे; अथवा उठेरै पनि यात्रा गर्नुपथ्र्र्र्यो । सेकण्ड क्लासको डिब्बा अन्य डिब्बा भन्दा केही बढी हुने हुनाले यात्रीहरू सेकेण्ड क्लासकै डिब्बामा चढ्न मन पराउँथे । यो क्लासमा चढ्र्दा सीट नपाएपनि उभिएर बस्न सजिलो हुन्थ्यो । पछि पछि त मर्मत सम्भारको अभावमा डिब्बाहरू बिग्रदै र थन्कदै जान थालेपछि सेकेण्ड क्लासका डिब्बाहरू मात्र पनि चल्न थालेका थिए ।

रेलको अन्तिम स्टेशन बिजलपुरासम्मको पूरा भाडा दर कति थियो; त्यहाँसम्मको हाम्रो गन्तव्य नभएकोले अहिले त्यसबारे त्यति थाहा छैन । यद्यपि स्टेशन पिच्छेको भाडा दर टिकट काट्ने काउण्टर अगाडिको भित्तामा लेखिएका हुन्थे । टिकट काट्ने काउण्टरको प्वाललाई ‘टिकट खिड्की’ भनिन्थ्यो । त्यही ‘टिकट खिड्की’बाट टिकट काट्ने कर्मचारीलाई आफू पुग्ने स्टेशनको नाम र क्लास भनेपछि कर्मचारीले क्लास अनुसारको पैसा कटाएर टिकट दिन्थे । मैले थाहा पाउँदा सम्म जनकपुरदेखि लोहारपट्टीसम्मको सेकेण्ड क्लासको भाडा दुई रुपियाँ थियो । त्यसमा पनि बालबालिकाले हाफ टिकटमा यात्रा गर्न पाउँथे । पछि पछि भाडा बढ्दै गई १० रुपियाँ सम्म तिरेको सम्झन्छु ।

हामी गाउँबाट जनकपुर आउन हत्तपत्त पाउँदैनथ्यौं । जनकपुरको घरमा हजुरबुवा–हजुरआमा बस्ने हुनाले बिना काम ओहरदोहोर गर्यो भने हजुरबुवाको गाली खानुपथ्र्यो । कहिलेकाहीँ त कुटाई पनि भेटिन्थ्यो । केही न केही कारण देखाउनु पर्दथ्यो जनकपुर आउनलाई । तर बुवा काठमाडौंबाट गाउँ पुग्नुभएको बेला भने हप्तादिन जस्तोमा हामीलाई जनकपुर जाने बहाना मिल्थ्यो । बुवाको पुस्तक–पत्रपत्रिका पढ्ने बानी भएकोले पुस्तक–पत्रिकाहरू किन्न बेलाबेला जनकपुर पठाउनुहुन्थ्यो हामीलाई । उहाँको पत्रिका पढ्ने बानीका कारण हामी भने जनकपुर आएर नयाँ नयाँ सिनेमा हर्न पाउँथ्यौं । हामी दाजुभाइहरू, गाउँले साथीहरू पनि कहिलेकाहीँ सँगै जनकपुर आएर सिनेमा हेरेर गाउँ फर्कन्थ्यौं ।
त्यतिबेला जनकपुुरमा दुईवटा मात्र सिनेमा हल थिए । हनुमान टाकिज र नीलम टाकिज । दुईवटै हलमा नयाँ नयाँ सिनेमा हप्तादिन जस्तोमा फेरिइरहन्थे । काठमाडौंमा पुराना बासी भैसकेका सिनेमाहरू नै महीनौसम्म नबदलिएर चलिरहेको देखेका हामी जनकपुरमा भने हप्तैपिच्छेजस्तो फेरिने नयाँ नयाँ सिनेमाको स्वाद चाख्न पाउँदा निकै रमाउँथ्यौं । काठमाडौं फर्केर साथीहरूमाझ ती नयाँ सिनेमाका कथाहरू भन्दाको आनन्द र उनीहरूले धैर्यतापूर्वक सुन्दाको त्यो पल स्मरण गर्दा मात्र पनि आनन्दको बहार छाउँछ मनमा ।

गाउँबाट जनकपुर आउँदा खर्च सीमित हुन्थ्यो । किनमेल गर्न भनिएका सरसामान, खाजा, नास्तामा खर्च भएपछि खासै पैसा बच्दैनथ्योे । कहिलेकाहीँ आफूले मन पराएका कलाकारको चर्चित सिनेमा हेर्न जयनगरसम्म पनि पुगिन्थ्यो । जयनगरसम्म पुगेर सिनेमा हेरेर फर्कन केही पैसा बढी चाहिने हुनाले हामीहरू दाउनी गरेर थन्काइएको दुईचार किलो धान बेलाबेलामा सुटुक्क लगेर बेच्थ्यौं र केही पैसा जम्मा पाथ्र्यौ । कहिलेकाहीँ रेलको टिकट नकाटीकनै यात्रा गरेर पनि यस्ता पैसा बचाउँथ्यौं ।

रेलको डिब्बा अगाडि पछाडि दायँबायाँ चारवटा ढोका हुन्थे । टिकट नकाटेको बेला ती चारै ढोकामा हाम्रा चनाखा नजर रहिरहन्थे । टिकट चेक गर्न भनेर डिब्बाको ढोकाबाट टीटी छिथ्र्यो । ऊ जुन ढोकाबाट छिथ्र्यो त्यसको ठीक विपरीतको ढोकाबाट हामी उसलाई छक्याउँदै अर्को ढोकाबाट लुसुक्क अर्को डिब्बामा पुग्थ्यौं । रेल टुङ्गोमा नपुगुञ्जेल यो क्रम चलिरहन्थ्यो । यसरी पनि कहिलेकाहीँ हामी बिना टिकट रेलको यात्रा गरेर सि नेमा हेर्ने पैसा बचाउँथ्यौं । तर सँधैभरि यस्तो सहज अवस्था आउँदैनथ्यो । कहिलेकाहीँ त फसिन्थ्यो पनि ।

एक जना रामु दाइ थिए । उनी जनकपुरमा हाम्रै घरमा बसेर पढ्थे । अनेक हावादारी कुरागरेर हँसाइरहन्थे । तिनीसँग डुल्न घुम्न रमाइलो लाग्थ्यो । एकदिन उनी कुनै कामले जनकपुरबाट गाउँ आएका थिए । उनीसँगै भोलिपल्ट हामी पनि जनकपुर जान भनेर लोहारपट्टी स्टेशनतिर लाग्यौं । बिजलपुरातिरबाट रेल छुटेको सन्देश स्टेशनलाई प्राप्त भएपछि टिकट खिड्की खुल्यो । हामीले टिकट काट्ने सुरसार गर्यौं । रामु दाइले हिजै मात्र आफू जनकपुरबाट आउँदा त्यो रेलमा टीटी नै नभएकोले आज टिकट काटिरहनु पर्दैन; टिकट जाँच्ने टीटी आउँदैन; नकाटौं भने । टिकटको पैसा नपरेपछि बचेको पैसाले सिनेमा, खाजामा मजाले अतिरिक्त खर्च गर्न पाइने भयो भन्ने सम्झी हामीले खुशीसाथ उनको सल्लाह मान्यौं र टिकट नकाटी रेल चढ्यौ । कताकता मनमा डर भने लागिरहेको थियो ।

उसलाई हामीले चिन्न सकेनौं । गेटको सबैभन्दा अगाडि तिनै दाइ थिए । उनैलाई टिटिले पहिले समात्यो र टिकट देखाउन भन्यो ।

रामु दाइको कुरा मिल्यो । जनकपुर स्टेशन आइपुग्दासम्म पनि टीटी टिकट जाँच्न आएन । तर रेलबाट ओर्लिएपछि भने हाम्रो दशा सुरु भयो । स्टेशन बाहिर निस्कने गेटको ठीक अगाडि टीटी टिकट चेक गर्न बसेको रहेछ । रेलभित्र त टीटी टिकट चेक गर्न आउँदा कालो ड्रेस लगाउने हुनाले उसलाई सजिलै चिन्थ्यौं । तर त्यो गेटमा भने टिटि बिना वर्दी बसेको रहेछ । उसलाई हामीले चिन्न सकेनौं । गेटको सबैभन्दा अगाडि तिनै दाइ थिए । उनैलाई टिटिले पहिले समात्यो र टिकट देखाउन भन्यो । रामु दाइलाई केरकार गर्नासाथ हामी दाजुभाइको सातोपुत्लो गयो । के गर्ने कसो गर्ने भन्ने भयो र हामी त्यहाँबाट कोही मान्छेलाई खोजेको जस्तो बहाना गरि रेल भएतिरै लुसुक्क फर्कियौ । स्टेशन एरिया भन्दा निकै पर पुग्यौं । त्यहाँ बारिएका काँडाका तार पन्छाउँदै स्टेशन बाहिर निस्केर स्टेशनको मूल गेट बाहिर आएर तिनलाई कुरेर बस्यौं ।

रामु दाइ धेरै समयसम्म बाहिर निस्केनन् । हामी आत्तियौं । के गर्ने कसो गर्ने भन्ने भयो । भयातुर मुद्रामा विवब बनी गेटतिर हेर्दै टोलाइरहेका थियौं; त्यसैबेला रामु दाइलाई गेटबाट बाहिर आइरहेको देख्यौं । उनलाई देखेर हामी खुशी भयौं । रामु दाइ भने उदास देखिन्थे । हामीले टीटीले के गरेर छोड्यो भनेर सोध्यौं । टीटीले तिनलाई हामी तीनैजनाको समेत खापेर पहिलो स्टप बिजलपुरादेखिको हामी तीनैजनाको पूरा भाडा तिराएछ र उठबस पनि गराएर छोडिदिएछ । तिनीसँग हामी पनि सँगै भएको कुरा पहिल्यैदेखि विचार गरिरहेको रहेछ टीटीेले ।

रामु दाइको कुरा सुनेर हामी मरिमरि हाँस्यौं । हामीलाई तिनको माया पनि लाग्यो । हाम्रो समेत तिनले भाडा तिरेका थिए । त्यसैले हाम्रो भाडा बराबरको पैसा भने तिनलाई फिर्ता दियौं । त्यत्रो पूराका पूरा भाडा तिर्नुपर्दा हामीसँग त्यो दिन भने सिनेमा हेर्ने पैसा पनि बचेन । पछि गाउँ फर्कन पनि हजुबुवासँग भाडा मागेर आउनुपरेको थियो ।

यसरी आफूले बाल्यकालदेखि चढ्दै आई स्मृतिको कुनामा अनेकौं प्रसंगहरू सजाएर राखेको; लामो समयदेखि बन्द रहेको जनकपुरको रेल अहिले स्तरोन्नति गरि नयाँ रूपले सञ्चालन हुन लागेको छ । यसमा नेपाली र विशेषगरी जनकपुर क्षेत्रका वासिन्दाहरूमा थप उत्साह र चासो देखिएको छ; जुन स्वाभााविक पनि हो । जनकपुरमा नयाँ रेल आएसँगै एकपटक फेरि नयाँ रेलमा ‘पूर्व पश्चिम’को यात्रा गरेर नयाँ अनुभव सँगालेर पुराना स्मृतिलाई थप तरोताजा गराउन मन लागेको छ । कहिले सुरु होला जनकपुरको रेल ! चढ्ने होइन त जनकपुरको ‘पूर्व पश्चिम रेल ?’