मलाई लेखक म्याक्स प्याक्सटन मन पर्छन् ।
उनले लामो समयदेखि डिक्लटिङबारे लेखिरहेका छन् । उनको पहिलो किताब थियो, द सेक्रेट लाइभ्स अफ होर्डर्स । अर्थात्, सामान थुपार्नेहरूको गुप्त जीवन !
यो किताब निस्केको ११ वर्षछि सन् २०२२ मा उनले अर्को किताब निकालेका थिए, कीप द मेमोरिज्, लस द स्टफ । अघिल्लो किताबकै निरन्तरताजस्तो, सामान थुपार्नेहरूलाई शिक्षा छ यहाँ । सामान थुपार्ने होइन, बरू स्मृति सँगाल्ने !
यी दुवै किताबमा उनले सर्वसाधारणले थुपार्ने सामान, तिनले ती व्यक्तिका बारेमा बताउने कथाका बारेमा विस्तारमा लेखेका छन् ।
यी दुई किताब ज्यूँदा मानिसहरूलाई तिनले थुपारिरहेका सामग्री, तिनले उनीहरूको व्यक्तित्वमा पारेको प्रभाव लगायतका कुरा पढिसकेपछि अब तेस्रो कुरा आउँछ । त्यो के भने, जब कुनै व्यक्ति डिक्लटिङ नगरी सामान थुपारिरहेको अवस्थामा मर्यो भने अथवा डिक्लटिङको अवस्थामा ज्यादै थोरै सामग्रीका बीच ऊ मर्यो, मारियो वा हरायो भने उसलाई चिन्दै नचिनेका मान्छेले पनि ती सामग्रीहरूमार्फत् कसरी चिन्न सक्छन् !
यसको जवाफ दिन्छ, कोरियाली शृङ्खला ‘मुभ टु हेवेन’ले !
मैले नेटफ्लिक्समा पछिल्लो समय हेरेको फरक विषयको यो एउटा सुन्दर शृङ्खला हो ।
मृत्युपछि मृतकको घर वा कोठा सफा गर्ने एउटा कम्पनी चलाइरहेको एउटा व्यक्ति र उसको सुस्त मनस्थितिको छोरोका बारेमा बनाइएको यो शृंखलाको प्रत्येक भागमा नयाँ नयाँ घटना आउँछन् । जसमा, मृत्यु भएका व्यक्तिको घर वा कोठा सफा गर्छन् र ती व्यक्तिको पृष्ठभूमि कस्तो थियो, के गर्थे, उनीहरूको रूचि केमा थियो, के कारणले उनीहरूको मृत्यु भयो लगायतको मनोहर कथा यो शृंखलाले प्रस्तुत गर्छ ।
हामीले जे काम गर्छौं, वा हामीले गरिरहेका छैनौँ, त्यसले पनि हाम्राबारेमा बताइरहेको हुन्छ ।
त्यसो त यो वास्तविक जीवनको धेरै नजिक रहेर बनाइएको छ । त्यसका बाबजुद पनि केही नाटकीयता छन् । ती नाटकीयता बढ्ता महसूस भने हुँदैन । हामीलाई भावनात्मक उतार चढावमा लागि पात्रहरू आउँछन् र जान्छन् ।
कोरियाली फिल्ममेकरहरूले भावनाको पिङमा दर्शकलाई मज्जाले मच्चाउन दिन्छन् । त्यसैले तिनका सिर्जनाहरू संसारभर लोकप्रिय छन् । यो निकै कमले हेरेको तर हेर्नुपर्ने सूचीमा राख्नुपर्ने शृंखला हो ।
एक हिसाबले मलाई मृत्यु मन पर्छ । यो शृंखलाले मृत्युका आयामबारे बताएका हुनाले मलाई मन परेको हुनसक्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










