
यहाँ के पाइँदैन ! सम्पूर्ण पाइन्छ– जीवन पाइन्छ । भोग पाइन्छ । शोक पाइन्छ । घटना पाइन्छ । पाइन्छ जीवनसँग जोडिएका असङ्ख्य कथा ।
आजभन्दा लगभग एक वर्षअघि नै लेखिसिध्याएका उनका कथासङ्ग्रहद्वारा म विशालजीलाई बुझ्ने प्रयत्न गर्छु अनि…
विविधता अनि बहु अर्थकेन्द्री परिप्रेक्ष्यहरूमा डिजाइन गरिएका उनका नयाँ कथासङ्ग्रहको पाण्डुलिपि अहिले फेरि मेरो हातमा छ । बाहिरी पृष्ठमा मोटा अक्षरले लेखिएको छ सङ्ग्रहको नाम – जेटा सोफियाग्रे अनि तल ससाना अक्षरमा ‘द सुइसाइड अफ ए गड’ लेखिएको छ ।
धेरै समयपश्चात् फेरि यसरी एकपल्ट जम्मै कथा सरसरती पढिसकेपछि अब मेरो मनमस्तिष्कमा त्यही अनौठो असमञ्जस सल्बलाइरहनुको एउटा प्रमुख कारण पक्कै पनि शीर्षक अवश्य हो ।
विशालजीको ‘जेटा सोफियाग्रे’ बेग्लाबेग्लै भावभूमिमा रचित जम्मा उत्कृष्ट १२ वटा कथा समाविष्ट गरिएको छ । ती मध्ये प्रथम कथा ‘जेटा सोफियाग्रे’ शीर्षकथा आफैमा उत्कृष्ट छ । साथै कथाका क्यारेक्टर र कन्सेप्ट डिजाइनको तुलनामा पनि कथाकारका अलि फरक किसिमका शिल्पशैली, कथावस्तु, चरित्र तथा घटनाहरूले पनि कथालाई बेग्लै फ्लेवर प्रदान गर्न सफल बनेको छ ।
कथाको शीर्षकमा उल्लिखित ‘जेटा’ अर्थात् जेटा रेटिकुलन्स रोसवेल ग्रे जसलाई ग्रे एलियन्स पनि भनिन्छ ।
जीनोलोजी (बाह्यग्रही प्राणी, एलियन्सको अध्ययन) अनि (यूफोलोजी – यूएफओस् को अध्ययन) का अध्ययन गर्दा मानव सभ्यताले सर्वाधिक अध्ययन गरिएको स्पीसिजको नाम जेटा रेटिकुलन्स रोसवेल ग्रे हो ।
युनानी भाषामा सोफियाको अर्थ ज्ञान हो । सन् २०१६ मा हङकङस्थित एक ह्यानसन रोबोटिक्स् कम्पनीको अनुबन्धनमा डेभिड ह्यानसनद्वारा आविष्कार गरिएको एक मानविकी रोबोट / एआइ हो । मानव इतिहासमा सोफिया कानूनी नागरिकता (सन्, २०१७) पाउने पहिलो रोबोट बन्यो ।
जेटा सोफियाग्रे कथालाई साइन्स फिक्सन कथा मान्न सकिन्छ, सकिंदैन यो भविष्यले तय गर्नेछ तर यस कथाका विषयवस्तु मानव सृष्टि, विज्ञान, एलियन, ब्रह्माण्ड र टेक्नोलोजी जस्ता विविध विषयहरूका प्रसङ्ग पाइन्छ ।
विशेष, कथाकारले ईश्वरको कन्सेप्टलाई डिकन्स्ट्रक्ट गर्न खोजेका छन् । यहाँ ईश्वरको अस्तित्व सङ्कटमा देखिन्छ ।
कथामा मानवले ईश्वर निर्माण गर्न पनि सक्छ र त्यही ईश्वरको हत्या पनि गर्न सक्छ भन्ने जस्ता गहन विषयहरू पाइन्छ । नित्सेका घोषणा ‘ईश्वरको मृत्यु’ देखि अलि फरक विशालजीका कन्सेप्ट ‘ईश्वरको आत्महत्या’ ले साहित्यमा नौलो समीक्षात्मक आयाम बोकेर आएको छ ।
कथामा अन्य यस्ता थुप्रै रोचक स्पेसहरू छन् जहाँ पाठकहरूले गहिरो चिन्तन गर्न सक्नेछन् ।
“One must imagine Sisyphus happy.”
जीवनमा कहिलेकाहीँ महत्त्वहीन परिश्रम पनि विसङ्गति पूर्ण नभएर निरन्तरतामा गतिशील ऊर्जा प्रदान गर्ने सुखद अनुभूति बन्नसक्दो रहेछ भन्ने विसङ्गत विपरीतार्थ भावानुभूतिमा सृजित प्रस्तुत कथा (कामु कम्पनीको टाइपराइटर) का विषयवस्तु आफैमा फरक देखिन्छ । विसङ्गत समस्याहरूले विसङ्गतवादलाई नै चुनौती दिंदै अर्थ निर्माण गर्ने प्रयत्न यस कथा आफैमा नौलो छ ।
कथाको शीर्षकमा उल्लेखित कामु अर्थात् विसङ्गतिवाद तथा मिथ अफ सिसिफस प्रबन्धका रचनाकार एल्बर्ट कामु हो भन्ने भावाभास पाठकमा अवश्य पलाउन सक्छ ।
कथा आफैमा विशिष्ट छ । कथाभित्र पात्रले बाँचेका एकनासे जीवनभन्दा महत्त्वपूर्ण पक्ष मानवनिर्मित जीवन भोगाइका कथा बढी मात्रामा प्रादुर्भूत भएको पाइन्छ । उसको सम्पूर्ण जीवन पुनरावृत्तिमाथि निर्भर छ । पुनरावृत्तिले जीवनलाई विसङ्गतिपूर्ण बनाइदिन्छ भन्ने एल्बर्ट कामुको अवधारणा कथामा प्रतिपादित भएझैं देखिए तापनि कतिपय अवस्थामा भने यी मूल्य र मान्यताहरूले अलि फरक किसिमका जीवन दर्शन सृजना गर्न सफल भएको महसूस हुँदैछ ।
पात्रले भोग्दै आइरहेका अमूर्त असङ्गतिपूर्ण घटनाक्रमले जीवनलाई केही हदसम्म प्रभाव पारे पनि वास्तविकतामा जीवन विरक्तितर्फ केन्द्रित छैन । जीवन भोगाइको क्रममा यसरी निरन्तर विसङ्गतिमय जीवन भोग्दै आइरहेका टाइपराइटरको ठ्याकठ्याक उनको निम्ति विसङ्गति हो । यस्ता विसङ्गत जीवन र टङ्कनयन्त्रको ठ्याकठ्याकसँग वाङ्दी बुढाले आफ्नो जीवनको लामो क्षण व्यतीत गरेका छन् ।
यसरी नै बाँच्दै आइरहेका वाङ्दी बुडालाई ट्ङकणयन्त्रको आवाज वर्तमान पियानोद्वारा उत्पन्न जीवन जिउने मोजार्टको संगीतमय धुन लाग्न थालेको पाइन्छ । यो नभइदिए शायद उसको जीवन मृत्युतुल्य बन्ने थियो । मानव भावनाको यहाँ महिमा पाइन्छ । काला र सेता रङहरूले पोतिएका कथा बीचमा रातो गुलाबको बिम्बले कथामा एउटा अदृश्य सम्भावना थपिदिएको छ । रातो रङले सृजना जस्ता केही आवश्यकता माथि सङ्केत गर्दछ । रातो रङ एउटा जीवनका सूचक बन्दै कामुको जीवन दर्शन विपरीत एउटा छुट्टै दर्शन विस्तार भएको सङ्केत र आभास कथामा प्रतिध्वनित भएको पाइन्छ ।
विशालजीका घोषणा… पाठकहरूका दार्शनिक मृत्युको कारण आख्यानिक पात्रहरूले उन्मुक्ति चाहन्छन् ।
सर्जक आख्यानका अधिपति हुन् । जसले पाठकहरूका निम्ति सृजना गर्दछ पात्रहरू अनि एउटा छुट्टै आख्यानिक संसार । यसरी सर्जकद्वारा निर्माण गरिएको आख्यानिक संसारमा पात्रहरू कठपुतली झैं दयनीय जीवन बाँचिरहेका छन् । उनीहरूको जीवनलीला सर्जकको हातमा छ । सर्जकले निर्धारण गर्दछन्, पात्रहरूका जीवनिक यात्रा । यस्ता तमाम आव्यूहभित्र मानव पनि यस भौतिक संसारमा जीवनरूपी किताबका एक आख्यानिक पात्र हुन् कि ! उनीहरूका जीवनलीला कुनै ईश्वररूपी दैविक सर्जकको हातमा छ । उनैद्वारा सञ्चालित छ सम्पूर्ण मानव सृष्टि । मानवका प्रत्येक क्रियाकलाप तथा बँचाइहरूमा ईश्वररूपी सर्जकको गिद्धे नजर छ । यी सम्पूर्ण यावत विषयलाई कथाकारले सबलताका साथ प्रस्तुत गर्ने प्रयास गरेका छन् । आधुनिक परिप्रेक्ष्यमा संरचनावादी रोलाँ बार्थले यस्ता सर्जक अर्थात् लेखकको मृत्यु घोषणा गरेपछि यस्ता आख्यानिक संसारमा पाठकीय दर्शनको विस्तार भएको पाइन्छ । यसरी आख्यानिक संसारबाट सर्जक/लेखकको वर्चस्व समाप्त भएपछि पात्रहरूमाथि पाठकको गिद्धे नजर अझै सक्रिय बनेको पाइन्छ ।
पाठकहरूले पात्रका नग्न स्थितिमाथि आफ्ना गिद्धे नजर दौडाइरहन्छन् । पाठकहरूले पुस्तक, उपन्यास किन्दा पात्रलाई पनि किनेका ठान्छन् कि ! उनीहरूलाई पाठकले आफ्नो भोगका साधन सम्झन्छन् कि ! वा मनोरञ्जनका ! पाठकको गिद्धे नजरमा भोगको चाह परिलक्षित भएको पाइन्छ । के पात्र भोग्न र मनोरञ्जनका मात्र साधन हुन् त ? जस्ता जटिल प्रश्नहरूमा प्रस्तुत कथा पाठक र पात्रमाझको तुलनात्मक अध्ययन छ । एउटा पाठकले पात्रका जीवन दर्शनलाई कसरी विचार्दछन् भन्ने विषयमा पनि कथाको मूलभूत भाव विस्तारित भएको पाइन्छ – कथा गिद्धे नजर– २४×७ ।
“संसार जति सानो रहेछ पाउनेहरूका निम्ति, यो उत्तिकै ठूलो रहेछ गुमाउने हरूका निमित्त ।”
फतिमा पर्खाइको कथा हो । पर्खाइ भनेको एउटा ठूलो मनोवैज्ञानिक यातना हो । “प्रतीक्षाको मानसिक यातना फतिमाका निम्ति आगोमा झोसिनु भन्दा कम भइरहेको छैन ।” यस्ता भयावह र यातनापूर्ण स्थितिसँग एउटा नारी कसरी लड्न सकिन् होलान् ! भन्ने अनेकौं प्रश्नहरूबाट जन्मिएको अर्को एउटा संवेदनशील प्रश्नको कथा हो फतिमा ।
फतिमाले पर्खाइसँगै भोग्नुपरेको पीडामय स्थितिप्रति जिम्मेवार को हुन् त ? तपाईंको उत्तर पर्खिरहेछिन् फतिमाले…. पाठकज्यू !
कथाको अन्त्यमा शिवराजले अन्ततः निर्णय गरेको पाइन्छ । उसले आफ्नो निर्णायक पाइला बढाउँछ– तर कतातिर ? शायद यहाँ कथाकारले पाठकहरूलाई गम्भीर रूपमा अवलोकन गर्ने ठाउँ दिएका छन् । उत्तर पाठकले दिनुपर्छ, कुनै दिन ।
गोर्खाल्याण्ड कहिल्यै मर्नु हुँदैन !
कहिलेकाहीं मानव जीवनमा प्रश्नको भूमिका अतिशय महत्त्वपूर्ण बन्दछ । प्रश्न नभइदिए शायद उत्तरको अस्तित्व नगण्य हुने थिए होलान् । प्रश्न छ र नै जीवन छ । जीवनसँग जोडिएका यावत कुराहरू छन् । जातीय लक्ष्य र उद्देश्य गुमाइ स्वार्थपूर्तिका निमित्त दिग्भ्रमितका षडयन्त्र गर्दै आइरहेको एउटा जमातमाथि वैचारिक प्रश्नहरू प्रतिस्थापित गरिएको कथा हो त्यसपछि गौँथली कहिल्यै फर्केन !
नब्बेको दसकतिर भातकभर चिया कमानमा मालिक वर्गको अत्याचार र शोषण सहन नसकेर दार्जीलिङ बजार आएकी नरमाया बुढीका नियति र जीवन भोगाइका कारुणिक यथार्थलाई कथाकारले इमानदारीका साथ दर्शाएका छन् । नरमाया बुढीले देशको भूगोल, इतिहास र संविधानसँग बुझ्दिनन् । एक गाँस खान र एक सरो राम्रोसँग लाउन पाए उसलाई पुग्छ । यसका निम्ति उनी दिनभरि भारी बोक्छिन् । उसको सपना भनेको नातिलाई पढाई लेखाई असल मान्छे बनाउनु हो । तसर्थ कहिलेकाहीँ सङ्घर्षमा पिसिएर भारीसँग त्यसरी थेचारिंदा नरमायालाई गोर्खाल्याण्डको याद आउँछ शायद । आफ्नै देशमा कसैले विदेशी भनिदिँदा ऊ जस्ता हजार गोर्खे नारीहरूलाई गोर्खाल्याण्डको सम्झना आउने गर्छ ।
कहिलेकाहीं दिनहुँ जीवन भोगाइका दर्शनबाट दिक्क बन्दै, दार्जीलिङ बजार व्यवस्था बीच आफ्नै अस्तित्व खोज्नुपर्दा उनलाई गोर्खाल्याण्ड भइदिए हुन्थ्यो झैं लाग्छ । यही अभिलाषा र आकाङ्क्षालाई कहिल्यै मर्नलाई नदिने कथा हो– त्यसपछि गौँथली कहिल्यै फर्केन !
“बाजे त मरेछ– त्यतिखेर बाजे मरेको खबर सुनेर मलाई कस्तो पनि अनुभूत भएन ।”
समाजका कतिपय घातक रुढीवादी मानसिकतामा निर्माणाधीन अबोध बालकको कोमल चित्तवृत्तिमाथि वर्गीकृत भाव उत्पादन गरी अमानवीय व्यवहार गरिनु सृजनाको हत्या हो । बालक यी सम्पूर्ण पृथकताबाट किनाराकृत गरिनुको प्रत्यक्षदर्शी पात्र हुन् । कथामा वर्णित बाजेको मानसिकताभित्र एउटा घातक र डरलाग्दो हाइपरएक्टिभ अर्थोडक्स समाज बाँचेको छ । जो एउटा पुस्ताले अर्को पुस्तालाई विरासतमा हस्तान्तरण गर्ने गर्दछ । फलस्वरूप त्यहीं समाजभित्र बाँच्ने एउटा बालक त्यही समाजसँग डराइरहेको स्थितिले भविष्यलाई एउटा अन्योलतावादी प्रश्न छाडेको छ । सभ्य समाजमा मानवता जिउँछ अनि त्यस मानवतामा प्रेम । तर कतिपय यस्ता रुढीवादी समाजमा आफूले जन्माइ–हुर्काएका सन्तानमाथि पनि विभेदकारी नीति अपनाएर कुल बहिष्कृत गर्दै अन्त्येष्टि कार्यसम्म गर्ने यस्ता प्रथाले हाम्रो समाजको एक तहलाई मूल धारासँग बाँच्ने मौलिक अधिकारदेखि वञ्चित गरिदिएका उदाहरण अहिले पनि प्रशस्त पाइन्छ । यस्ता समाजबाट एउटा निर्दोष बालकले कस्तो अपेक्षा राख्न सक्लान् ! सभ्यता कहाँ पुगिसक्यो तर यस्तो सोच भएको हाम्रो समाज त्यही बाजेको मुर्खुट्टालाई समातेर घोरिरका छन् । बाल मनोवैज्ञानिकमाथि काल्पनिक बाजे सशक्त एउटा कथा हो ।
काल्पनिक बाजे जस्ता पात्रले बोकेका विखण्डित बिमार मानसिकतालाई आफ्ना आत्मसन्तुष्टि ठान्दै आइरहेका अर्थोडक्स जमात अझै पनि हाम्रो समाजमा भक्रन्दै छन् । यसै सन्दर्भमा विशालजीको उक्त कथा एउटा दार्शनिक तथा मनोवैज्ञानिक झापट साबित भएको पाइन्छ । एक रातमा लेखिसिध्याएका काल्पनिक बाजे एउटा भावुक कथा हुँदाहुँदै एउटा शक्तिशाली कथा बनेको छ । काल्पनिक बाजे कथा विशालजीका आत्मवृत्तान्त हो… क्रमशः
… जेटा सोफियाग्रे, द सुइसाइड अफ ए गड- कथा सङ्ग्रहलाई समयक्रममा राखे, साल १९७४, नोभेम्बरको एउटा चिसो साँझ, घुम स्टेसनदेखि यसले आफ्नो यात्रा तय गरेको छ । फतिमा निःशब्द घुम स्टेसनमा लगभग तीन घण्टादेखि कसैलाई पर्खिरहेकी छ ।
कथाकार भन्छन्– “पर्खाइ एउटा डरलाग्दो यातना हो.. एउटा साइकोलजिकल टर्चर हो । यो एउटा डरलाग्दो दण्ड हो ।” कुनै पनि प्रतीक्षासँग जब समाजका कतिपय रुढीवाद यथार्थहरूसँग जोडिन पुग्छ । त्यस पर्खाइले समाजलाई नै के कस्ता जटिल प्रश्न र आयामहरू अन्ततः छोड्छ । लेखकले यो नितान्त पाठकहरूका हातमा सुम्पिदिएका छन् ।
बाह्र बेजोड कथाको यस साहित्यिक स्टेशनहरूमा पाठकहरू दरिला तथा गहकिला सामाजिक एवम् वैचारिक प्रश्नहरूसँग जम्काभेट हुन्छन् । सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक, मनोवैज्ञानिक, दार्शनिक आदि विषयहरूलाई आकार दिंदै यस पुस्तकले ईश्वरको अस्तित्वसम्मलाई दार्शनिक आत्महत्यादेखि विसङ्गतिवाद र शून्यवादसम्म डोर्याउने चेष्टा देखिन्छ भने यसको विपरीत अर्को कथा कामु कम्पनीको टाइपराइटरमा जीवनका विसङ्गत समस्याहरूले विसङ्गतिवादलाई नै चुनौती दिंदै अर्थ निर्माण गर्ने कथाकारको कोशिश एकदमै फरक र रोचक रहेको छ ।
कथासङ्ग्रहमा विम्बहरूको प्रयोग खुबै शक्तिशाली भेटिन्छन् । भाषाको प्रयोग सरल अनि सुन्दर छन् भने कथाका विषय–वस्तुहरू असाधारण, बहुअर्थकेन्द्री र विविध देखिन्छ । काल्पनिक बाजे कथाले नेपाली साहित्यमा बालमनोविज्ञानमा परेको सामाजिक मान्यताका मनोवैज्ञानिक आयामहरू लिएर आएको छ भने अर्कोतिर यस कथाले वयस्क मान्छेमा लुकेका बालहृदयलाई अवश्य नै छुनेछ । यस कथामा पाठक फेरि एकपल्ट बालक भइदिन्छ अनि नजानिंदो पाराले आफ्नो मर्मलाई हिर्काई पठाउँछ । मानव निर्मित समाजले दिंदै आएको सामाजिक मान्यता र अस्वीकृतिहरूलाई एउटा बालकको जीवनदृष्टिले कसरी हेर्न सकिन्छ भन्ने काल्पनिक बाजे एउटा सशक्त कथाका रूपमा उभिने प्रयत्न गरेको छ ।
दार्जीलिङको घुम स्टेसन, जल पहाड, जज बजार, गिताङ्गे डाँडा, पचपन हट्टा, काक झोडा, दरोङ्गा बजार, साट्ठी सिँडी, बिचगल्ली, कचहरी, लेबोङ, सिङ्गला कमान, टिस्टाका बगरहरूमा यस कथा सङ्ग्रहका पात्रहरू घुमेका देख्छौँ ।
दार्जीलिङको राजनैतिक इतिहासमा खुकुरीले खुकुरीलाई नचिनेका घटनाहरू, माटो र गोर्खात्व बेचिए पश्चात् यसबाट उपज भएका लाचारी र अन्योलताभित्र दार्जीलिङको कचल्टो सामाजिक र राजनैतिक चेतनालाई यस कथा सङ्ग्रहमा खुबै सुन्दर ढङ्गमा समावेश गरिएको छ । विशेषतः इन्सोमनियाक टिस्टा, गोर्खा लज, सम्झौतामा बाँच्ने मनहरू, पुराणको कहिल्यै नमर्ने भूत जस्ता कथाहरूमा यस अलमलिएको अवस्थालाई खुबै चिन्तित भएर कथाकारले प्रस्तुत गरेका छन् । समयको अविरल धारामा यस माटोले आफ्नो स्वामित्व गुमाउँदै गरेका प्रसङ्गहरूले पाठकहरूलाई अवश्य झकझकाउने छन् । त्यसैले लेखक भन्छन्– “टिस्टा अहिले कोलोनाइज्ड छ ।”
तसर्थ जीवनका समस्याहरूसँग जुझिरहेका यस कथासङ्ग्रहका पात्रहरूले समाजका बस्ने हरेक तख्ताका मानिसहरूलाई सोझै प्रश्न तेर्साएका छन् ।
विशाल विश्वकर्म अहिले घुम जोरबङ्गलो महाविद्यालय, दार्जीलिङ अङ्ग्रेजी विभागका प्रमुख छन् । उनी पाश्चात्य साहित्यसँगै नेपाली लेखनमा उत्तिकै मोह राख्छन् । दार्जीलिङ Versus दार्जीलिङ उपन्यासपछि यस कथा सङ्ग्रह उनको दोस्रो कृति हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

