ओहो !
चीसो हिउँद त फुस्कन पो लागिसकेछ – बेफुर्सदमै
खै, हामी दुबै एकसाथ भएर
मनको घाम बाँडेर ताप्न पाएका
— सुख दुःखका कुम्ला फुकाएर
काम केही छैन र पनि
फेरि फुर्सद छैन
– हतार छ
यस्तै न हो, बाँचुन्जेल
— मान्छेको जिन्दगी
आऊ, आज हतारैबाट पनि
केही समय खुस्काएको छु
दुवै एकसाथ भएर कुरा गरौँ
आ–आफ्ना अतित पल्टाएर
केही छैन –
केही समय हाँसौँला – मनको धोको फोएर
केही समय रोऔँला – वेदना आँशूले धोएर
रुनु र हाँस्नुको परिधि भित्रको त हो नि – जिन्दगी
फेरि, केही क्षण, वर्तमानमा पल्टेर
केही अधिकारका कुरा गरौँ
केही कर्तव्यका कुरा गरौँ
“सर्वे भवतु सुखिन”–अँगालेर
र, फेरि केही बचाएर
इच्छा र आकांक्षाका फाइल पल्टाऔँ
र, पेशौँ
–आ–आफ्ना भविष्य
आऊ एक क्षण फुर्सद निकालेर
– खुलस्त कुरा गरौँ
कति नदी, तराई, पहाड, भन्ज्याङका
उतार चढाव पार गर्दै आइपुगेका
आ–आफ्नै सगरमाथामा
तिम्रो र मेरो एउटा संगम
फहराऔँ,
आ–आफ्नै झण्डा–किस्मतका
यात्राकै प्रसंग न हो !
आऊ एक क्षण आन्द्रा फोएर कुरा गरौँ
आखिर जिन्दगी नै यात्रा होइन र ?
अनि, के भो त –
त्यसपछि आ–आफ्नै बाटो तताउँला
आऊ एकक्षण भए पनि
– मनको न्यानो साटेर
– हृदयका पन्नामा छरिएका
एकएक शब्दका कुरा गरौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










