
विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धमा मानवीयताको दिनदिनै हत्या भइरहेको छ । प्यालेस्टाइनी समूह हमासले सन् २०२३ को अक्टोबर ७ मा लगभग १२ सय इजरायलीको ज्यान जाने गरी गरेको हमलाको जवाफमा इजरायलले चलाएको सैन्य कारवाहीमा परी अहिलेसम्म ५० हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ । संघर्षविरामको कुरा चलिरहेको भए पनि प्यालेस्टाइनीहरूमाथि इजरायलको आक्रमण जारी छ ।
यस युद्धले जन्माएको मानवीय त्रासदीले संसारभरिका मानिसलाई विचलित तुल्याएको छ । भारतीय विश्लेषक पंकज मिश्रा पनि त्यसबाट अछुतो रहन सकेनन् । यसै वर्ष उनले ‘द वर्ल्ड आफ्टर गाजा: ए हिस्ट्री’ नामक पुस्तक प्रकाशन गरी गाजामा भइरहेको युद्धको भूराजनीतिक कारण एवं नैतिक परिणामहरूको मिहिन विश्लेषण गरेका छन् । इजरायल र प्यालेस्टाइनको द्वन्द्वका लागि जिम्मेवार ऐतिहासिक र विचारधारात्मक मतभिन्नतालाई सन्दर्भ बनाएर उनले विश्लेषण गरेका हुन् ।

पंकज मिश्रा
आफ्ना पुस्तकहरूमा पश्चिमा साम्राज्यवादको कटु आलोचना र उदारवादीहरूको घिनलाग्दो ढोंगको भण्डाफोर गर्ने गरेका मिश्राले गाजामा भइरहेको युद्धका कारणहरूको पहिचान गरेका छन् । उनका अनुसार, अहिले विश्वमा भइरहेको व्यवस्था परिवर्तन, शक्तिराष्ट्रहरूको स्वार्थ, साम्राज्यवादका जीवित अवशेष तथा अन्तर्राष्ट्रिय कानूनको क्षयीकरण गाजा नरसंहारका रूपमा प्रकट भएको हो ।
गाजा युद्धले पश्चिमी नेतृत्वको कथित नियममा आधारित विश्व व्यवस्थाका विरोधाभासहरूलाई उजागर गरेको मूल तर्क मिश्राले पुस्तकमा गरेका छन् । लोकतन्त्र र मानवअधिकारको आवरणमा पश्चिमले आफूलाई नैतिकताको पहरेदारका रूपमा उभ्याइरहेको भए पनि गैरपश्चिमाहरूलाई मानवको दर्जा दिन उनीहरू हिचकिचाउने गरेको मिश्राको आरोप छ ।
पश्चिमा शक्तिहरू, विशेषगरी अमेरिका र युरोप, ले समग्र दक्षिण (गैरपश्चिम) मा हस्तक्षेप गर्नका लागि मानवअधिकारलाई शस्त्रका रूपमा उपयोग गर्ने गरेका छन् । इराकमा सद्दाम हुसेनले आफ्ना जनतामाथि गरेको अत्याचार वा लिबियामा मुअम्मार गद्दाफीले गरेको दमनको बहानामा ती देशहरूमा आक्रमण गरी तिनलाई पश्चिमले तहसनहस बनाएको उदाहरण निकट इतिहासमा पाइन्छ । ट्विनटावरमा सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तान, इराक, लिबिया लगायतका देशमा हिंसा मच्चाउँदै गर्दा आफू उदारवादको समर्थक नैतिक शक्ति भएको भाष्य प्रस्तुत गरेको थियो । तर इजरायलले प्यालेस्टाइनीहरूको नरसंहार गर्दा त्यही उदारवादी नैतिकता पश्चिमले देखाउन नसकेको मिश्राको भनाइ छ ।
पश्चिमा उदारवादले मानवअधिकारको भाष्यलाई आफ्नो भूराजनीतिक स्वार्थ पूरा गर्ने बहाना बनाएको मिश्राको दाबी छ । यस्तै किसिमको तर्क उनले आफ्नो अघिल्लो पुस्तक ‘फ्रम द रुइन्स अफ एम्पायर’मा पनि गरेका थिए । गाजामा इजरायलले युद्धअपराध गरिरहेको भए पनि पश्चिमले उसलाई घातक हतियारहरू उपलब्ध गराइरहेकाले नैतिकताको दाबी गर्नु असुहाउँदो भएको मिश्राको भनाइमा दम छ ।
यस विद्रूपतालाई शीतयुद्धकालीन भूराजनीतिको अवशेषका रूपमा पनि मिश्राले इंगित गरेका छन् । शीतयुद्धको समयमा सोभियत संघको प्रभावमा कम्युनिस्ट विचारधारा नफैलियोस् भनी अमेरिकाले दक्षिणपन्थी निरंकुश शासकहरूलाई समर्थन गर्ने गरेको थियो भने सोभियत संघलाई साथ दिने मुलुकहरूको आलोचना गर्ने गरेको थियो । अहिले शीतयुद्धको दोस्रो संस्करणमा अमेरिकाले लोकतन्त्र र निरंकुशतन्त्रको विभाजन खडा गरेर पश्चिम एसियामा इजरायल जस्तो लोकतान्त्रिक मुलुकलाई संरक्षण गर्नु आफ्नो कर्तव्य भएको बताउने गरेको छ ।
पुस्तकमा मिश्राले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वलाई युरोपेली साम्राज्यवादको बृहत्तर इतिहासको आलोकमा विश्लेषण गरेका छन् । युरोपेली साम्राज्यवादीहरूले अर्काको देशमा आक्रमण गरी आफ्नो उपनिवेश बसाएको (सेटलर कोलोनियलिजम) इतिहासलाई इजरायलले पनि गाजा र पश्चिम किनारामा दोहो-याइरहेको मिश्राको तर्क छ । हिटलरले गरेको यहुदीहरूको नरसंहारलाई रोक्न नसकेको दोषी भावनाका कारण पश्चिमले इजरायलको अन्धसमर्थन गर्ने गरेको दाबी गर्दै (पुस्तकमा युरोपमा यहुदीहरूप्रतिको ऐतिहासिक दुर्व्यवहारको लामो विवरण पठनीय छ) मिश्राले इजरायलको जातिभेदी (अपार्टथाइड) नीतिप्रति पश्चिमको आँखा चिम्ल्याइको कटु आलोचना गरेका छन् ।

द वर्ल्ड आफ्टर गाजा
गाजामा अन्तर्राष्ट्रिय कानूनको निरन्तर उल्लंघन भइरहेको छ । इजरायली सेनाले प्यालेस्टाइनीहरूलाई टाउकोमा गोली ताकेर मार्ने, अस्पतालमा उपचार गराइरहेका बिरामी र चिकित्सकको हत्या गर्ने, हवाई आक्रमण गरी आवासीय क्षेत्र ध्वस्त पार्ने, नाकाबन्दी लगाएर प्यालेस्टाइनीहरूलाई खाद्यान्न र औषधिबाट वञ्चित गर्ने लगायतका अनेकौं अमानवीय कार्य गर्दै आइरहेको छ । यस्ता किसिमका ज्यादतीहरूलाई रोक्नका लागि बनाइएका अन्तर्राष्ट्रिय कानून बेकामे बनेकोमा मिश्रा आक्रोशित छन् । युक्रेन युद्धका जिम्मेवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उभ्याउनका लागि पैरवी गर्ने पश्चिमाहरू इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चाहिँ रातो कार्पेट ओछ्याएर स्वागत गर्छन् । अझ, इजरायललाई अन्तर्राष्ट्रिय कानूनप्रति जवाफदेही नबनाउनका लागि पश्चिमा शक्तिहरूले निन्दनीय प्रयास गरिरहेका छन् र मिश्राले त्यसको कठोर आलोचना गरेका छन् ।
पश्चिमको आडमा इजरायलले प्यालेस्टाइनीहरूमाथि नरसंहार मच्चाइरहेको भए पनि समग्र दक्षिणका मुलुकहरूले प्यालेस्टाइनीप्रति एक्यबद्धता जाहेर गरिरहेको मिश्रा पुस्तकमा उल्लेख गर्छन् । पश्चिमा प्रभुत्वविरुद्धको बृहत्तर प्रतिरोधका रूपमा उनले यस एक्यबद्धतालाई अर्थ्याएका छन् । गाजा नरसंहारले अमेरिकाको विश्वव्यापी प्रभुत्वको क्षयीकरणलाई थप गति दिने र चीन, रुस, भारत जस्ता गैरपश्चिमी शक्तिहरूलाई बलियो वैकल्पिक ध्रुवका रूपमा उभ्याउने उनी संकेत गर्छन् । बहुध्रुवीयताको सन्दर्भमा समग्र दक्षिणका मुलुकहरूले पश्चिमी संरचनाबाहिर रही अन्तर्राष्ट्रिय साझेदारीलाई पुनर्परिभाषित गरिरहेको मिश्राको विश्लेषण सटीक छ ।
पुस्तकभरि मिश्राको बलियो तर्कक्षमता पाठकले अनुभव गर्छन् । तर कतिपय सन्दर्भमा उनले मिहिनतामा नगई स्थूल मूल्यांकन गरेका हुन् कि जस्तो पनि लाग्छ । उनले गरेको पश्चिमा ढोंगको भण्डाफोर सही छ तर पश्चिमलाई एउटै डालोमा हेर्न मिल्दैन जस्तो लाग्छ किनकि त्यहाँ पनि विरोध र असहमतिका स्वरहरू सुनिन्छन् । पश्चिमा मानवअधिकार अभियन्ता, विद्वान् र कतिपय राजनीतिकर्मीहरूले समेत गाजामा इजरायलको सैन्य कारवाहीको मुखर भएर विरोध गरिरहेका छन् । अधीनस्थ प्यालेस्टाइनी भूभाग सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक फ्रान्चेस्का पी. एल्बनिजी, यहुदी इतिहासकार इलान पाप्पे र नर्मन फिंकेलस्टाइन, स्पेनी राजनीतिकर्मी इयोना बेलारा, अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादी सिद्धान्तकार जोन मियर्शहाइमर लगायतका व्यक्तित्वहरूले पश्चिममै रहेर प्यालेस्टाइनीहरूको पक्षमा आवाज उठाइरहेका छन् ।
त्यसैगरी पुस्तकमा मिश्राले प्यालेस्टाइनी नरसंहारको स्थितिमा ल्याइपु-याउने समस्याको कारण पश्चिमा प्रभुत्व हो भनी पहिचान गरेका त गरेका छन् तर त्यस प्रभुत्वलाई कसरी नष्ट गर्ने भनी समाधानको उपाय खासै सुझाएका छैनन् । अनि प्यालेस्टाइनी समस्याको समाधान के हो त ? इजरायल र प्यालेस्टाइन दुई राज्य बनाउने कि, दुईवटा राष्ट्रियता भएको एउटै राज्य निर्माण गर्ने हो कि, वा दीर्घकालीन रणनीति अन्तर्गत विश्वव्यापी साम्राज्यवादविरोधी क्रान्ति गर्ने हो ? व्यावहारिक राजनीतिक समाधान सुझाउन नसक्नु मिश्राको कमजोरी हो ।
तर मिश्राको पुस्तकले साम्राज्यवादी प्रभुत्वलाई उदारवादी विचारधाराले कसरी आवरण दिइरहेको छ भन्ने विषयमा तर्कपूर्ण तथ्य प्रस्तुत गरी उत्तरसाम्राज्यवादी सिद्धान्तमा महत्त्वपूर्ण योगदान गरेको छ । संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय कानूनले जोखिममा रहेका मानिसको संरक्षण गर्न नसक्नुका साथै पश्चिमाहरूको अपराधलाई रोक्न नसकेको कटुसत्यलाई उजागर गरी उनले अन्तर्राष्ट्रिय सम्बन्धको विमर्शमा नयाँ आयाम थपेका छन् । हुन पनि राष्ट्रसंघ जस्ता निकायलाई क्रान्तिकारी सुधार नगर्ने हो भने तिनको वैधता क्षीण हुँदै जानेछ ।
पश्चिमी पाखण्डका कारण उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाको असफलताको विश्लेषण गर्न पंकज मिश्राको पुस्तक ‘द वर्ल्ड आफ्टर गाजा’ सक्षम छ । मिश्राले ऐतिहासिक पृष्ठभूमिका साथै समग्र दक्षिणको दृष्टिकोणलाई समेत विश्लेषणको साधनका रूपमा उपयोग गरेकाले यस पुस्तकले प्यालेस्टाइन मात्र नभई साम्राज्यवाद र विश्वव्यापी न्यायको विमर्शमा पनि ठोस योगदान गरेको छ ।
पश्चिमा मूलधारे भाष्यको भ्रमजालबाट मुक्त हुन चाहने पाठकहरूका लागि मिश्राको यो पुस्तकको पठन अनिवार्य छ । यसले पाठकलाई वर्तमान विश्वलाई आकार दिइरहेको शक्तिसन्तुलन, हिंसाको राजनीति तथा साम्राज्यवादको जीवित विरासतका विषयमा सत्यको सामना गर्न बाध्य बनाउँछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

