
मेटामोर्फोसिस (Metamorphosis) एक महान साहित्यकार फ्रेन्च काफ्काद्वारा लिखित विश्वप्रसिद्ध लघु-उपन्यास हो । काफ्का जीवित रहुन्जेलसम्म त्यति प्रसिद्ध भएनन्, तर मृत्युपछि भने उनको व्यापक प्रसिद्धि बढेको थियो । काफ्का १३ जुलाई १८८३ मा प्रागको एक व्यवसायी परिवारमा जन्मिएका थिए । काफ्काको पितासँग सम्बन्ध धेरै जटिल प्रकारको थियो र पिताले उनलाई कहिल्यै समर्थन गरेनन् । यो कुरा उनका रचनामा पनि पाइन्छ । सन् १९०१ मा काफ्का कानूनको अध्ययनमा जोडिए; यससँगै उनले आफ्नो लेखन कार्य पनि शुर गरे । सन् १९०६ मा जर्मन विश्वविद्यालयबाट उनले आफ्नो डिग्री पूरा गरे । काफ्काले आफ्नो सम्पूर्ण जीवनमा परिवार, साथीहरू तथा आफ्ना पितालाई धेरै पत्रहरू लेखे । यी पत्रहरूको माध्यमबाट पितासँग उनको सम्बन्ध राम्रो थिएन भन्ने बुझिन्छ । उनले धेरै स्त्रीहरूलाई भेटे तर कहिल्यै विवाह गरेनन् । सामान्यतः के मानिन्छ भने काफ्का आफ्नो सम्पूर्ण जीवनमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ र अन्य विभिन्न बिरामीबाट ग्रस्त रहेका थिए । यी बिमारीबाट छुटकारा पाउनका लागि उनले धेरै प्रयास गरे, तर सफल हुन सकेनन् । अन्ततः उनको टाइफाइड बिग्रियो र उनी प्राग फर्किए । त्यसपछि उचारको लागि डक्टरकोमा गए । तर उपचार असफल भएपछि ३ जुन १९२४ मा उनको मृत्यु भयो ।
काफ्काको रचनाशैलीलाई ‘काफ्केस्क’ भनिन्छ । यसमा संसारको एक विचित्र, अनिश्चित र डरलाग्दो घटना एवम् स्थानको बारेमा चित्रित गरिएको हुन्छ । उनका कृतिमा प्रायः मुख्य पात्रले निरर्थक, जटिल र निर्दयी अवस्थासँग संघर्ष गरिरहेको हुन्छ । काफ्काका अधिकांश साहित्य उनको आफ्नो जीवनकालमा प्रकाशित भएनन् । उनले साथी म्याक्स ब्रोडलाई आफ्ना सबै अप्रकाशित कृतिहरू जलाइदिनु भनेका थिए । तर ब्रोडले यसो गरेनन् । यही कारणले गर्दा आज उनका महान कृतिहरू पढ्न पाइएको छ ।
कायापलट अर्थात् मेटामोर्फोसिस सन् १९१५ मा प्रकाशित भएको काफ्काको धेरै प्रसिद्ध लघु-उपन्यास हो । यो पुस्तकभित्र उनले धेरै महत्त्वपूर्ण सन्देश दिने प्रयास गरेका छन् । यसमा जीवनको पृथकता र बेतुकेपनको बारेमा कुरा गरिएको छ । यसमा जीवनको अस्तित्ववादी पीडा, व्यक्तिको सामाजिक स्थिति र परिवार तथा समाजमा उसको स्थानलाई लिएर गहन प्रतीकात्मकता देखाउन खोजिएको छ । यसको मुख्य पात्र ग्रेगर साम्सा हो । एकदिन विहान उठ्दा उसले आफूलाई विशाल कीरामा बदलिएको पाउँछ । ग्रेटे साम्सा उसकी बहिनी हुन् । उनले ग्रेगरको सम्पूर्ण हेरविचार गर्छिन्, तर ऊ कीरामा परिणत भएपछि विस्तारै उसलाई घृणा गर्न लाग्छिन् । त्यसपछि यसमा ग्रेगरका माता-पिता र उसले काम गर्ने ठाउँको मालिक पनि पात्रको रूपमा देखिन्छन् । उसका मातापिताले ऊ कीरामा रूपान्तरण भएपछि उसालई बोझको रूपमा लिन्छन् । अन्तमा ग्रेगर उपेक्षा, अवहेलना र एक्लोपनको कारणले मर्दछ । उसको मृत्युपछि उसको परिवारले राहत मसहुस गर्छ ।
यो लघु-उपन्यासमा विकराल सामाजिक व्यवस्था, व्यक्तित्वको पतन, अस्तित्ववाद, पृथकतावाद, आत्मत्याग र अस्वीकृति जस्ता प्रमुख विषयहरूलाई बडो रोचक ढंगले प्रस्तुत गरिएको छ । ग्रेगर कीरामा बदलिने कुरा प्रतीकात्मक सन्देश हो । उसले अरुका आवश्यकताहरूलाई मात्र पूरा गर्दागर्दै आफैलाई गुमाउँदछ । यो उपन्यासको गहिराईमा म को हुँ ? मेरो जीवन किन छ ? भन्ने जस्ता प्रश्न लुकेका छन् । यहाँ ग्रेगर आफ्नै परिवार र समाजबाट अलगावको स्थितिमा रहेको देखाइएको छ । ग्रेगरको सम्पूर्ण जीवन पूर्ण रूपले अरूको लागि समर्पित थियो, तर कसैलाई मद्दत गर्न असमर्थ भएको अवस्थामा भने उसलाई अस्वीकार गरियो । यहाँ कीरालाई प्रतीकात्मक रूपमा समाजले व्यक्तिलाई केवल उसको उपयोगिताको आधारमा मात्र मूल्याङ्कन गर्दछ भन्ने आधारमा प्रस्तुत गरिएको छ । यहाँ कोठालाई समाजबाट पृथक एक मानसिक केन्द्रको रूपमा प्रस्तुत गरिएको छ । यसमा परिवारको प्रेमबाट घृणातर्फ संक्रमण र स्वार्थी भावनालाई पनि देखाउन खोजिएको छ । यसको भाषा र शैली सरल छ, तर धेरै मनोवैज्ञानिक छ । हरेक दृश्यमा मनोवैज्ञानिक तनाव र गहिराई पाइन्छ । यो उपन्यासलाई काफ्काको व्यक्तिगत जीवनसँग जोडेर पनि हेर्ने गरिएको पाइन्छ ।
‘मेटामोर्फोसिस’ लाई आज पनि अस्तित्ववादी साहित्यमा एक महान कृतिको रूपमा लिइन्छ । यो उपन्यास धेरै नाटक, चलचित्र र आधुनिक साहित्यको प्रेरणाको स्रोतसमेत बनेको देखिन्छ । यो केवल एउटा मानिस कीरामा बदलिने कथा नभएर त्यो गहिरो मानसिक र सामाजिक पीडाको अभिव्यक्ति पनि हो, जसमा आधुनिक मानव फसेको छ । यसले मानिसलाई केवल उनीहरूको उपयोगिताको आधारमा मात्र महत्त्व दिन सकिन्छ भन्ने प्रश्नमाथि सोच्न बाध्य बनाउँछ ।
उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा
एक विहान ग्रेगर साम्सा आफ्नो डरलाग्दो सपनाबाट जागृत हुँदा उसले आफूलाई ओच्छ्यानमा एउटा विशाल कीराको रूपमा बदलिएको पाउँछ । ऊ आफ्नो कडा खबटा भएको पिठ्यूको बलमा पल्टिएको थियो । आफ्नो टाउको थोरै माथि उठाउँदा उसले बराबर भागमा विभाजित भएको आफ्नो खैरो रङ्गको पेट देख्यो । ओड्ने च्यादरले उसको शरीरलाई मुश्किलले मात्र ढाक्न सकेको थियो र जुनसुकै बेला खस्न सक्थ्यो । उसले आफ्ना खुट्टा शरीरको तुलनामा धेरै साना र झिना भएको देख्यो । तिनीहरू नहल्लाइकन चलिरहेका थिए । ग्रेगर सोचमा पर्दछ – यो मलाई के भयो ? कतै यो सपना त होइन ? उसको कोठामा बिल्कुल सन्नाटा थियो । टेबलमा केही परिचित कपडाका टुक्रा थिए ।
ग्रेगर एक ‘सेल्समेन’ थियो । ऊ घुमेर सामान बेच्ने गर्दथ्यो । परिवारको पालन-पोषणको सम्पूर्ण जिम्मेवारी उसैमाथि थियो । उसकी एक बहिनी ग्रेटे पनि थिइन् । ऊ आफ्नो परिवारलाई उत्कृष्ट जीवन प्रदान गर्नको लागि निरन्तर खटिरहन्थ्यो । उसले आफूलाई मेशिनमा परिणत गरेको थियो । पागल जसरी दौडदै स्टेशन जानु, रेल पक्रिनु, मालिकको हप्की खप्नु जस्ता कार्य नै उसको पन्ध्र वर्षदेखिका दिनाचर्या थिए । आफ्नो जीवन सहज नहुनुको बावजुद पनि उसले आफ्ना मातापिता र बहिनीलाई अपार्टमेन्टमा सुखी जीवन प्रदान गरिरहेकोमा सन्तुष्ट थियो । तर अचानक ऊ कीरामा परिणत भएपछि उसलाई धेरै चिन्तानले सताउन थाल्छ – जागिर जान्छ, त्यसपछि परिवारको स्थिति के होला ?
मेचमाथि एउटा तस्बीर टासिएको थियो, जसलाई उसले हालै एउटा म्यागजिनबाट काटेर एक सुन्दर फ्रेममा लगाइको थियो । यो एउटा स्त्रीको तस्विर थियो । यसपछि ग्रेगरको दृष्टि झ्याल बाहिर गर्मीले भरिएको मौसमतिर गयो । धातुले बनेको झ्यालमा टकराउने थोपाहरूको आवाज सजिलैसँग सुन्न सकिन्थ्यो । उसले केही समय अझै सुत्ने र यो खराब सपनालाई भुल्ने कुरा सोच्यो । तर यसो गर्नमा ऊ पूर्ण रूपले असफल रह्यो । किनकि उसको दायाँतिर सुत्ने बानी थियो र अब ऊ कोल्टे फेर्न नै सक्दैनथ्यो । दायाँतिर कोल्टे फेर्ने प्रयास गर्दा लडेर ऊ पहिलेकै अवस्थामा आउँछ । धेरै पटक उसले कोल्टे फेर्ने प्रयास गर्यो, तर सफल भएन । अब उसले आफ्ना आँखा बन्द गर्यो । उसले आफ्ना हल्लिरहेका खुट्टा देख्न सकेन । उसले दुखाई नहुन्जेलसम्म प्रयास जारी राख्यो । उसले कहिल्यै यस्तो दुखाइको महसुस गरेको थिएन ।
यसपछि ऊ आफैसँग गन्थन गर्न लाग्छ – मैले कस्तो जागिर रोजे ? रातदिन यात्रा नै यात्रा । आफ्नो घरमा बसेर व्यावसाय गर्नुको तुलनामा यसरी घुमेर व्यावसाय गर्नु कति धेरै कठिन हुन्छ । यसको अतिरिक्त यात्रामा जोडिएका धेरै समस्याहरू थिए । समयमै रेल पक्रिने चिन्ता, समयमा खाना खान नपाउनु, हरेक समय फरक-फरक मानिसहरूसँग भेट गर्नु, तर कोही एकजनासँग पनि साथित्व हुन नसक्नु जस्ता धेरै समस्याहरू थिए । उसले सबै कुरा खराब छ भन्ने कुरा सोचिरहेको थियो । यहीबेला उसलाई पेटमा हल्का चिलाएको महसुस भयो । उसले विस्तारै आफ्नो पिठ्यूलाई ओच्छ्यानमा अड्याएर टाउको उठाएर चिलाएको ठाउँ हेर्ने प्रयास गर्यो । यसपछि चिलाएको ठाउँमा धेरै सेता साना-साना संकेत देख्यो । उसलाई यसको बारेमा केही थाहा थिएन । एउटा खुट्टाले त्यो ठाउँलाई छुने कोशिस गर्दा उसको सम्पूर्ण शरीमा संवेदना आउन लाग्यो । छिट्टै उसले आफ्नो खुट्टा पुनः त्यही अवस्थामा राख्यो ।
अब ऊ गम्भीर सोचमा डुब्छ; छिट्टै सुतेर उठ्ने कुराले कुनै पनि मानिसलाई विचित्र वा पागल बनाइदिन्छ । जोकसैले जुनसुकै अवस्थामा पनि आफ्नो निद्रा पूरा गर्नैपर्छ । अरु ‘सेल्समेन’ मोजमस्ती गर्छन् । म विहानको समय सम्झौताको कपि लिन गेस्टहाउस जाँदा उनीहरु सबैले खाजा खाइरहेको देखिन्छ । मैले आफ्नो मालिकसँग यस्तो गर्ने कोशिस गर्दा तुरुन्त उसले मलाई बाहिर लखेटिदिन्छ । यदि मलाई आफ्नो मातापिता र परिवारको परवाह हुँदैनथ्यो भने बोसलाई सबै कुरा भन्थे, जुन मैले उसको बारेमा सोचेको थिएँ । म के महसुस गर्छु भन्ने कुरा बोसले थाहापाउनु पर्छ; म यही चाहन्छु । मेरो कुरा सुनेर ऊ डेस्कमाथि उफ्रिन्छ । यसरी नै ग्रेगर आफ्नो कल्पनामा हराइरहेको थियो र आफ्नो कामको बारेमा नै सोच्दै गइरहेको थियो ।
यसपछि उसलाई अचानक ओच्छ्यानबाट उठ्नुपर्ने कुरा स्मरण हुन्छ; ५ बजे उसको रेल छुट्नेछ । उसले टेवलको दराजमा राखेको अलार्म घडीतिर हेर्यो र मनमनै भन्यो – साँढे छ बजिसकेछ, तर सात बज्न लागेको थियो । ओच्छ्यानमा सुतेर नै उसले अलार्मलाई ठीक चार बजेको लागि सेट गरेको थियो; ऊ प्रायः यस्तै गर्दथ्यो । त्यसपछि ऊ सोच्छ, जुन अलार्मको आवाजबाट सम्पूर्ण घर नै हल्लिन्थ्यो, तर त्यसबाट आफ्नो निद्रा किन खुलेन ?
ग्रेगरको शरीर बदलिए पनि उसको चिन्ता व्यावहारिक र दैनिक चीजहरूमा केन्द्रित छ । ऊ अझै पनि आर्थिक र आफ्नो परिवारको उत्तरदायित्वको बारेमा सोचिरहेको हुन्छ । ग्रेगर सोच्छ – यदि अहिले रेल पक्रिनुपर्यो भने पागल जसरी दौडिनुपर्छ । कपडाका नमूना पनि ठीक ढंगले प्याक गरिएको छैन र उसले आरामदायी पनि महसुस गरिरहेको छैन । यदि केहीगरी उसले सात बजेको रेल पक्रियो भने पनि मालिकको रिसको सामना त गर्नैपर्नेछ । किनकि उसको हाजिरी लगाउने श्रमिकले धेरै पहिले नै उसको बारेमा गुनासो गरिसेकेको हुनेछन् । हाजिरी लगाउने श्रमिक मालिकको पक्का चम्चा हो ।
यसपछि ग्रेगर सोच्छ, यदि उसलाई आफू बिरामी भएको जानकारी दिएको खण्डमा के हुन्छ होला ? तर अचानक ऊभित्र के विचार आउँदछ भने यो त धेरै शर्मनाक र शंकास्पद हुन्छ । किनकि विगत पन्ध्र वर्षको सेवामा ग्रेगरले एकपटक पनि बिरामीको बहाना बनाएको थिएन । शायद उसको मालिक बिमा कम्पनीबाट डक्टरसँगै उसको घरमा हेर्न आउन पनि सक्छ । त्यसपछि उसले भन्नेछ – ग्रेगर कति आलसी छ । उसले मातापिताको अनादर पनि गर्न सक्छ । यसको अतिरिक्त उसले डक्टरको कुरा मानेर उसलाई कुनै प्रकारको भुक्तानी पनि दिंदैन । त्यसै पनि कम्पनीको डक्टर कुनै पनि ‘सेल्समेन’ कहिल्यै बिरामी हुँदैनन्, बरू सबै बिरामी हुने बहाना बनाउँछन् भन्ने मान्यता राख्छ ।
ओच्छ्यान छोड्ने बारेमा कुनै निर्णय लिनुको सट्टा ग्रेगर छिटो-छिटो यस्तै धेरै कुरा सोचिरहेको थियो । घडीमा पौने सात बजिरहेको थियो । त्यसपछि उसले आफ्नो सिरानीतिरको ढोका खट्खटाएको सुन्यो । कसैले बोलाएको थियो – ग्रेगर । यो उसकी आमाको आवाज थियो । उनी भनिरहेकी थिइन् – सात बजिसक्यो, तिमीले काममा जानुपर्दैन ? ग्रेगरले यसको उत्तर दिँदा आफ्नै आवाज सुनेर अचम्मित भयो । यो धेरै कमजोर आवाज थियो । यो उसको प्राकृतिक र उसको पहिलेको जस्तो आवाज थिएन । उसको आवाजसँगै एउटा अचम्मको आवाज पनि आइरहेको थियो । उसको मुखबाट निक्लिएको हरेक शब्दपछि एक अनियन्त्रित गुन्जन सुनिन्थ्यो, जसलाई सुन्नेले ग्रेगरले आखिरमा के भन्न चहन्छ भन्ने बुझ्नै सक्दैनथ्यो ।
ग्रेगर वर्णन गर्न चाहन्थ्यो र सबै कुरा बुझाउन चाहन्थ्यो । तर त्यस प्रकारको अवस्थामा धन्यवाद आमा, उठ्दै छु, सम्म भन्न सक्यो । ग्रेगरको आवाजमा आएको परिवर्तनमा काठको ढोकातिर उभिएकी आमाको कुनै ध्यान नै गएन र उनी उसको उत्तरबाट नै सन्तुष्ट भएर अगाडि बढिन् । तर परिवारका बाँकी सदस्यलाई ग्रेगर आज घरमै छ भन्ने कुरा थाहा भइसकेको थियो । यसको उनीहरूले कुनै अपेक्षा गरेका थिएनन् । त्यसपछि उसको पिता आउँछ र भन्छ – ग्रेगर के भयो ? केही समयपछि उसले पुनः ठूलो आवाजले बोलाउँछ – ग्रेगर ! ग्रेगर !! अर्कोतिरबाट उसकी बहिनीले हल्का ढंगले ढोका खट्खटाइन्, ग्रेगर तिमी ठीक त छौं ? के तिमीलाई कुनै चीजको आवश्यकता छ ? ग्रेगरले धेरै होशियारीपूर्वक आफ्नो आवाजमा ध्यान दिंदै उत्तर दियो – म तयार भएँ । उसको पिता ब्रेकफास्टको टेबलमा फर्कियो । उसकी बहिनीले विस्तारै भनिन् – ग्रेगर कृपया ढोका खोल ।
ग्रेगरको ढोका खोल्ने कुनै उद्देश्य नै थिएन, बरु उसले यात्रामा रहँदा राम्रोसँग कोठाको ढोका बन्द गरेर सुत्ने बानी बसेकोमा आफैलाई धन्यवाद दियो । सबभन्दा पहिलो काम ऊ कुनै आवाजबिना, कुनै हल्लाखल्लाबिना ओच्छ्यानबाट उठेर तयार हुन र ब्रेकफास्ट गर्न चाहन्थ्यो । त्यसपछि मात्र ऊ अगाडि केही सोच्थ्यो । ऊ ओच्छ्यानमा पल्टिएर कुनै सही निष्कर्षमा पुग्न सक्दैन भन्ने कुरा राम्रोसँग थाहा थियो । उसलाई पहिले पनि ओच्छ्यानमा प्रायः हल्का दुखाई भएको कुरा स्मरण भयो । यस्तो शायद गलत तरीकाले सुत्दा हुन्थ्यो होला । तर उभिने वित्तिकै यो दुखाई अन्त हुन्थ्यो । यद्यपि ऊ आजको दुखाई कसरी विस्तारै-विस्तारै अन्त हुन्छ भन्ने कुरा थाहा पाउन उत्साहित थियो । उसलाई आफ्नो आवाजमा कुनै परिवर्तन आयो भन्ने कुरामा कुनै पनि आश्चर्य भएको छैन । उसले सोच्यो – शायद चीसो लागेको कारणले यस्तो भएको हुनसक्छ ।
ब्ल्याङ्केटलाई एकातिर फ्याँक्नु धेरै सहज थियो, आफूलाई थोरै हल्लाउने वित्तिकै त्यो एकातिर सर्यो । तर अब ग्रेगरको शरीर धेरै चौडा भएको थियो, जसको कारणले ब्ल्याङ्केटलाई सार्न पनि त्यति सजिलो थिएन । आफ्ना हात र पाखुराको प्रयोगबाट उसले सजिलैसँग सीधा उभ्याउन सक्थ्यो । तर अब ऊसँग धेरै साना-साना खुट्टा थिए, जुन लगातार अलग-अलग दिशामा हल्लिरहेका थिए र उसले तिनीहरूलाई नियन्त्रण गर्न पनि सकिरहेको थिएन । यदि कुनै तरीकाले तिनीहरूमध्ये एउटा खुट्टालाई मोड्ने कोशिस गरेको खण्डमा बाँकी खुट्टा स्वतन्त्र भएर यताउता हल्लिन लाग्थे र तीव्र रूपमा दुख्न शुरु हुन्थ्यो । ओच्छ्यानमा पल्टिएर यस्तो गर्नु संभव थिएन । त्यसपछि ग्रेगरले सोच्यो, मैले अब कोशिस बन्द गर्नुपर्छ । सबभन्दा पहिले ऊ आफ्नो शरीरको तल्लो भागलाई ओच्छ्यानबाट तल झार्न चाहन्थ्यो । तर उसले आफ्नो शरीरको तल्लो भागलाई देखेपछि उसलाई विश्वास नै भएन; उसले यसप्रकारको शरीर कहिल्यै देखेको थिएन । उसले विस्तारै-विस्तारै कोशिस गर्ने काम जारी राख्यो र अन्तमा कुनै पागल जसरी सम्पूर्ण शक्ति लगाएर आफ्नो शरीरलाई एक धक्का दियो । दुर्भाग्यवश उसले गलत दिशालाई चुनेको थियो र खाटको खुट्टामा जोडले ठोक्कियो । ओच्छ्यानको किनारामा ठोक्किएपछि उसलाई धेरै दुखाई हुनलाग्यो । त्यहीबेला उसले उसको आफ्नो तल्लो भाग शायद सबभन्दा बढी कमजोर छ भन्ने बुझ्यो ।
धेरै बेरसम्म ग्रेगरले आफूलाई ओच्छ्यानमा यसरी नै घुमाइरह्यो र उठ्ने प्रयास गरिरह्यो, तर हरेक पटक ऊ असफल भइरहेको थियो । ओच्छ्यानमा आफ्नो पहिलेको अवस्थामा आउनको लागि पनि उसले धेरै मेहनत गर्नुपरिरहेको थियो । यद्यपि ऊ सोच्थ्यो, कुनै पनि मूल्यमा उसले यो ओच्छ्यानलाई छोड्नु नै पर्नेछ, नत्र उसले केही काम गर्न सक्नेछैन । घडीको अलार्म पुनः बज्न थालेपछि उसले आफैलाई भन्यो – सात बजिसक्यो, तर पनि यति धेरै कुहिरो छ ? केही बेरसम्म ऊ त्यत्तिकै चुपचाप पल्टिरह्यो, जस्तो कि उसले यो भयंकर अवस्थाबाट बाहिर निक्लिन र आफ्नो प्राकृतिक अवस्थामा आउनको लागि चारैतिर सन्नाटा छाउने कुराको प्रतीक्षा गरिरहेको होस् । तर उसले फेरि आफैलाई भन्यो – चाहे जेसुकै होस्, सवा सात बज्नुभन्दा पहिले मैले जसरी नै ओच्छ्यान छोड्नुपर्छ ।
ग्रेगरलाई लाग्यो – यदि कोही उसको लागि सहयोग गर्न आएको खण्डमा सबै कुरा कति सहज हुन्थ्यो ? उसलाई ओच्छ्यानबाट निकाल्नको लागि दुई शक्तिशाली व्यक्ति नै पर्याप्त हुनेछन् । त्यहीबेला कसैले ढोकाको घण्टी बजायो । उसले स्वयंलाई भन्यो – अवश्य कोही अफिसबाट आएको हुनुपर्छ । र, ऊ शान्त भयो । तर पनि उसका साना-साना खुट्टा हल्लिरहेका थिए । एक पलको लागि सबै कुरा शान्त थियो, उसले ढोका खोलिरहेको छैन । ग्रेगरले घरमा काम गर्ने नोकर्नीका कदमहरूको चाल सुन्न सक्थ्यो । आउनेको आवाज सुन्ने वित्तिकै ग्रेगरले ऊ अरु कोही नभएर कम्पनीको म्यानेजर हो भन्ने कुरा थाहा पायो । यस्तो कम्पनीमा किन काम गर्नु, जहाँ थोरै गल्ती हुने वित्तिकै श्रमिकमाथि शंका गरिन्छ । ग्रेगरको मनमा यस्ता धेरै प्रश्नहरू उत्पन्न भइरहेका थिए । तर कुनै निर्णय लिन नसक्नुको कारणले उसले स्वयंलाई ओच्छ्यानबाट उठाउनको लागि जोडले झट्का दियो । यो कुनै तीव्र आवाज थिएन, केवल एक ताली जस्तै थियो । कार्पेटमा बजारिएको कारणले आवाज केही धीमा भएको थियो । यसको अतिरिक्त उसको पिठ्यू केही कडा थियो । जसको कारणले आजाव दवेर रह्यो र कसैको ध्यानमा त्यसमा परेन ।
ओच्छ्यानबाट लडेको बेला उसले आफ्नो टाउकोलाई ठीक ढंगले सम्हाल्न सकेको थिए । त्यसकारण उसको टाउकामा हल्का चोट पनि लाग्यो । उसले कुनै तरीकाले टाउको घुमायो र कार्पेटमा रगडिदियो । त्यसपछि त्यहाँ केही खसेको आवाज आयो । बायाँतिरको कोठामा म्यानेजर थियो । ग्रेगर सोच्न लाग्यो – आज आफूलाई जे भएको छ, कुनै बेलामा म्यानेजरलाई पनि यस्तै हुन्छ ? यस्तो बिल्कुल संभव छैन । त्यसपछि नजिकैको कोठाबाट म्यानेजरको जुत्ताको आवाज सुनियो । दायाँतिरको कोठाबाट ग्रेगरकी बहिनी विस्तारै बोली – म्यानेजर आउनुभएको छ । मलाई थाहा छ – ग्रेगरले धेरै विस्तारै भन्यो । शायद उसकी बहिनीले त्यो सुन्न नसकेकी पनि हुन सक्छिन् । यसपछि उसको पिताले बायाँतिरको कोठाबाट बोलायो – ग्रेगर ! म्यानेजर आउनुभएको छ र तिमी आज बिहानको रेलमा किन गएनौं भन्ने कुरा जान्न चाहनुहुन्छ । उहाँ तिमीसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहनुहुन्छ । त्यसकारण तुरुन्त ढोका खोल । चिन्ता नगर उहाँले तिम्रो कोठामा फैलिएको फोहोरलाई ध्यान दिनुहुन्न ।
यही बीचमा म्यानेजरले साथीत्वपूर्ण तरीकाले भन्यो – शुभ प्रभात ग्रेगर ! उसकी आमाले म्यानेजरलाई बीचमा रोक्दै भनिन् – उसको अवस्था ठीक छैन । जबकि उसको पिताले ढोकामा नै कुरा गरिरह्यो । तपाईं मलाई विश्वास गर्नुहोस्, उसको अवस्था ठीक छैन । यसो हो भने उसले रेल किन छोड्यो ? ऊ त सधैं व्यावसायको बारेमा नै सोचिरहन्छ । कहिलेकाहीँ त म नै उससँग रिसाउँछु, किनकि साँझ पनि ऊ बाहिर जाँदैन । ऊ विगत एक हप्तादेखि शहरमै छ, तर हरेक साँझ घरमै हुन्छ । ऊ हामीसँग भान्सामा बस्छ र चुपचाप पत्रिका र रेलवे समयतालिका नै पढिरहन्छ । खाली समयमा ऊ साना काठका टुक्रा काटिरहन्छ । यही नै उसको समय बिताउने तरीका हो ।
ग्रेगरका परिवार म्यानेजरसँग यस्तै-यस्तै कुरा गरिरहेका थिए । उनीहरू भन्दछन् – तपाईं ग्रेगरसँग भेट गर्न घरमै आएकोमा हामी धेरै खुशी छौं । यद्यपि धेरै पटक हामी पनि ग्रेगरको ढोका खोलाउन सक्दैनौं । ऊ धेरै जिद्दि छ । ग्रेगरले यो सबै बुझेर विस्तारै भन्यो, म आइरहेको छु । ऊ उनीहरूको कुराकानीलाई राम्रोसँग सुन्न चाहन्थ्यो । यही बीचमा म्यानेजरले भन्यो, मेडम म तपाईंसँग बाङ्गोटिङ्गो कुरा गर्दिनँ । मलाई आशा छ कि ऊ गम्भीर रूपमा बिरामी छैन । हामी व्यावसायी हौं । दुर्भाग्यवस कोही बिरामी हुँदा हामीले व्यावसायको कारणले तुरुन्तै स्वस्थ हुनुपर्छ ।
ग्रेगरको पिताले धेरै अशान्त भएर ढोका खट्खटाउदै भन्यो, के अब म्यानेजर तिमीसँग भेट गर्न कोठामा आउन सक्नुहुन्छ ? ग्रेगर भन्छ – होइन, होइन, अहिले होइन । उसको बायाँतिरको कोठामा सन्नाटा छायो, जबकि दायाँतिरको कोठाबाट उसकी बहिनी रोएको आवाज आयो । एउटा धेरै ठूलो कीरा बनिसकेको ग्रेगर बहिनी किन रोइरहेकी छिन् भन्ने सोच्छ; कतै म अहिलेसम्म ओच्छ्यानबाट नउठेको कारणले वा म्यानेजरलाई मैले आफ्नो कोठामा आउन नदिइरहेको कारणले हो वा मेरो जागिर जाने खतराको कारणले पो हो कि ? यदि यस्तो भयो भने मेरो मालिकले आफ्नो पुरानको कुरालाई लिएर फेरि मेरा मातापिताको बदनाम गर्नेछ ।
ग्रेगरको मनमा धेरै कुराहरू खेलिरहेका थिए । आफ्नो परिवारलाई छोड्ने उसको कुनै उद्देश्य थिएन । अहिले ऊ कार्पेटमा पल्टिएको थियो । उसको अवस्था थाहा पाउने कुनै पनि मानिसले यस्तो अवस्थामा म्यानेजरलाई कोठामा आउन दिने अनुमति दिने अपेक्षा गर्न सक्दैनथ्यो । यो सामान्य बदमाशी थियो, जसको लागि पछि बहाना बनाएर उसले माफ माग्न सक्थ्यो । ग्रेगरलाई उससँग कुराकानी गरेर वा रोईकराई गरेर हैरान बनाउनुको सट्टा एक्लै छोड्नु राम्रो हुन्छ भन्ने लागिरहेको थियो । तर परिवारका अन्य मानिसलाई उसको अवस्थाको बारेमा कुनै जानकारी थिएन ।
यसपछि म्यानेजरले ठूलो स्वरमा भन्यो, ग्रेगर कुरा के हो ? तिमीले आफूलाई कोठामा किन बन्द गरेका छौं ? तिमीले आफ्ना मातापितासँगै कम्पनीलाई पनि धेरै समस्यामा पार्यौं । म तुरुन्त यसमा तिम्रो स्पष्टीकरण चाहन्छु । तिम्रो यो व्यहारलाई लिएर म वास्तवमै धेरै चकित छु । म तिमीलाई एक उत्तरदायी व्यक्ति ठान्थेँ । तर आज तिमीले धेरै विचित्र व्यवहार गरिरहेका छौं । पहिले मैले तिम्रो पृष्ठभूमिको सबै कुरा तिमीसँग एकान्तमा भनुँला भन्ने सोचेको थिएँ । तर यसरी तिमीले मेरो समय बर्बाद गरिरहेका छौं । यसकारण तिम्रा मातापितासँग कुनै कुरा लुकाउनुपर्छ भन्ने मलाई लाग्दैन । विगत केही समयदेखि तिम्रो कार्यसम्पादन पनि त्यति सन्तोषजनक छैन ।
ग्रेगर बोलिरहेको हुन्छ, तर उसको आवाज कसैले सुन्दैन । यसपछि कुनै तरीकाले ग्रेगर सीधा हुन्छ र मुखले साँचो च्यापेर जसोतसो ढोका खोलेर बाहिर आउँछ । त्यसपछि म्यानेजरलाई भेटेर ढिलो भएकोमा माफी माग्छ । ग्रेगरलाई यस्तो रूपमा देखेर सबै आश्चर्यचकित हुन्छन् । म्यानेजर त्यहाँबाट भाग्छ । त्यसपछि उसले पुनः ढोका बन्द गरिदिन्छ । ऊ धेरै थाकेको थियो, त्यसकारण ऊ पुनः सुत्छ ।
ग्रेगर बिउँझिंदा उसकी बहिनीले टेबलमा रोटी र दूध राखेको पाउँछ । तर दूध पिउँदा उसलाई त्यसको स्वाद धेरै नमीठो लाग्छ । उसले त्यसलाई त्यत्तिकै छोडिदिन्छ र सोफामुनि सुत्छ । अर्को विहान उसकी बहिनी गेटमा आउँछिन् र ग्रेगरले खानेकुरा नखाएको देख्छिन् । उनले त्यसलाई लैजान्छिन् र यसको सट्टा सडेको खाना त्यहाँ राखिदिन्छिन् । ग्रेगरलाई त्यो स्वादिष्ट लाग्छ । यसपछि उसकी बहिनीले उसको लागि हरेक दिन खाना दिन्छिन् र उसको कोठा सफा गर्छिन् ।
ग्रेगर सोफामुनि नै लुकिरहन्थ्यो, किनकि उसकी बहिनी वा कसैले उसलाई देखेर नडराऊन् भन्ने ठान्थ्यो । ऊ राति पर्खाल निकट गएर आफ्ना परिवारहरूको कुरा सुन्थ्यो । परिवारका मानिस प्रायः घरको आर्थिक स्थितिको बारेमा कुरा गर्थे र चिन्ता गर्थे । अब त ग्रेगरले पनि केही कमाउन सक्दैनथ्यो । उसकी आमा ऊसँग भेट गर्न चाहन्थिन्, तर उसको पिता र बहिनीले भेट्न दिंदैनथे । उनीहरूलाई ग्रेगरको अवस्था देखेर उनी डराउँछिन् भन्ने लाग्थ्यो । विस्तारै-विस्तारै ग्रेगर समय बिताउनको लागि पर्खाल र सिलिङमा चढ्न लाग्छ । उसले यस्तो गरेको देखेर उसकी बहिनीले त्यहाँबाट केही फर्निचर हटाउने कुरा सोचिन् ।
भोलिपल्ट उसकी बहिनीले आमासँगै मिलेर फर्निचर हटाउन लागिन् । त्यहीबेला उसकी आमाले पर्खालबाट एउटा फोटो पनि हटाउन लागिन् । त्यसपछि उनले ग्रेगरको प्रिय फोटो देख्छिन् । ग्रेगर त्यसमा चढेर बसेको हुन्छ । उसकी आमाले यो दृश्य देखेपछि बेहोस हुन्छिन् । बहिनीले उसलाई त्यहाँबाट जान भनेपछि ऊ निक्लिएर भान्साकोठामा गयो । ग्रेगरको पिता घर फर्कियो । त्यसपछि ग्रेगरले आफ्नी आमालाई चोट पुर्याएको ठानेर उसले स्याउले हिर्काउन थाल्यो । यसले गर्दा ग्रेगर उल्टो भयो । त्यसपछि जसोतसो ऊ आफ्नोमा कोठामा पुग्यो, तर त्यहाँसम्म पुगुन्जेलसम्म उसलाई धेरै चोट लागिसकेको थियो । ग्रेगरका परिवारले अब कोठाको ढोका खुला राख्न शुरु गरे, ताकि उनीहरूले उसलाई देख्न सकून् ।
ग्रेगरले आफू कीरा बनेपछि परिवार अझ बढी गरीब भइरहेको पायो । उसकी बहिनी ग्रेटे पनि अब उसलाई घृणा गर्न लागेकी थिइन् । यसपछि सरसफाईको लागि एउटी अर्कै स्त्रीलाई राखियो । यसपछि ग्रेगरका परिवारले त्यहाँ तीन जना भाडामा बस्नेलाई राखे । अनावश्यक फर्निचरलाई ग्रेगरको कोठामा राखियो । यसबाट ग्रेगरलाई धेरै कष्ट हुनलाग्यो । अब उसलाई ग्रेटेले ल्याएको खाना पनि मन परिरहेको थिएन । यसपछि उसले खाना खान बिल्कुल बन्द गरिदियो ।
एक दिन तीनै जना भाडामा बस्नेहरू बैठक कोठामा बसेर ग्रेगरको परिवारसँग केही कुराकानी गरिरहेका थिए । ग्रेटेले उनीहरूको लागि भायोलिन बजाइरहेकी थिइन् । त्यहीबेला ग्रेगर पनि भायोलिन सुन्न आफ्नो कोठाबाट निक्लिएर त्यहाँ आयो । उसलाई देखेर तीनै जना भाडामा बस्ने डरले आतंकित भएर भागे । उनीहरूले त्यहाँको अवस्था धेरै खराब छ भनेर घर खाली गरिदिने कुरा गरे । त्यसपछि ग्रेटेले आफ्नो परिवारसँग भन्छिन्, अब उनीहरूले ग्रेगरबाट छुटकारा पाउनै पर्छ । ग्रेगरका पिता भन्दछन्, उसले आफैले बुझेर यहाँबाट निक्लिए राम्रो हुन्थ्यो । ग्रेगरले यो सबै कुरा सुन्छ र आफ्नो कोठामा जान्छ । यसपछि ग्रेगर केही खानपिन गर्दैन र त्यही मर्दछ ।
ग्रेगर मरिसकेको देखेर उसका परिवारका सदस्य धेरै राहत महसुस गर्दछन् । यसपछि सफा गर्ने स्त्रीले उसको मृत शरीलाई कतै फ्याँकेर आउँछिन् । यसपछि उनीहरूले भाडामा बस्ने व्यक्ति र सफा गर्ने स्त्रीलाई निकालिदिन्छन् । अब ग्रेगरको परिवारले आफ्नो आर्थिक अवस्थाको विश्लेषण गर्छन् । ग्रेगर मरेपछि उनीहरूको धेरै खर्च बचेको थियो । त्यसपछि उनीहरू एक यात्रामा जान्छन् । विस्तारै ग्रेटे सुन्दर र स्वस्थ हुन्छिन् । त्यसपछि परिवारले उनको विवाह गर्ने कुरा गर्छन् । यसरी उपन्यासको अन्त्य हुन्छ ।
यो उपन्यासमा के सन्देश दिइएको देखिन्छ भने जबसम्म हामी परिवार वा कसैको लागि काममा आउँछौं, तबसम्म हाम्रो सामाजिक र पारिवारिक मूल्य हुन्छ । कुनै कामको नरहने वित्तिकै परिवार र समाजले कुनै मतलब राख्दैन ; सबै टाढा हुँदै जान्छन् । हामीले पहिले जतिसुकै राम्रो काम गरेको भए पनि सबैले बेवास्ता गरिदिन्छन् । ग्रेगोर निर्वास्थी थियो; आफ्नो परिवारको लागि धेरै त्याग गरेको थियो । ऊ आफ्नो परिवारको भरणपोषणको लागि र परिवारको ऋण भुक्तान गर्नको लागि नै काम गरिरहेको थियो । आफ्ना परिवारको लागि उसले आफ्नो जीवनलाई नै बलिदान गरिदियो । पछि ग्रेगोरको कायापलटले उसको सबै कुरा सकियो । ग्रेगरको शरीरले उसलाई मानवताबाट अलग गरिदियो । अन्ततः ग्रेगोर कुनै कामको नरहेपछि उसको आफ्नै पिताले पनि उसलाई छोराको व्यवहार गरेन र ग्रेगोरबाट सबै परिवारले छुटकारा पाउन चाहे । यसबाट हाम्रो पहिचान शरीरसँग छ वा विचारसँग ? के समाज वा परिवारले उपयोगी व्यक्तिलाई मात्र स्वीकार गर्दछ ? भन्ने जस्ता गम्भीर प्रश्नहरू उत्पन्न हुन्छन् । यो उपन्यासले व्यक्तित्वको सामाजिक अलगाव, पारिवारिक स्वार्थ, अस्तित्वको निरर्थकता र त्यसको उपयोगितामा तय गरिएका मूल्यमान्यतामाथि गहन प्रश्न उठाउँछ ।
सन्दर्भ स्रोत
1. https://www.planetebook.com/free-ebooks/the-metamorphosis.pdf
2. मेटामोर्फोसिस (Metamorphosis) – Hindi (Hindi Edition) किंडल संस्करण, Sanage Publishing House.
3. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

भोल्तेअरको विश्वप्रसिद्ध, दार्शनिक र व्यङ्ग्यात्मक उपन्यास ‘क्यान्डिड’
