
फलाकेर तान्त्रिकका झैं मन्त्रहरू
ओ मञ्जुश्री
भन
यो चिसो खाल्डोमा
कति कुण्डलीका पोष्टमार्टम गर्यौ ?
कंक्रिटका बोटहरूमुनि
कति युवाहरूका टाउका दफन गर्यौ ?
खोलेर सडकका ‘म्यानहोल’ का ढक्कन
कति बच्चाहरू खसायौ ?
बनाएर चक्रपथको गोलाकार सुर्के डोरी
तानेर पासो
कति प्रेमिल जोडीहरू सुली चढायौ ?
ओ मञ्जुश्री
भन
गल्ली गल्लीका ढुङ्गाहरूमा
कति आस्थाका ओखर फुटायौ ?
चोक चोकका गुरुज्यूहरूमा
चढाएर रातो मोसो र फूलका झुप्पाहरू
कति हृदयहरू बन्धक राख्यौ ?
आज सिगरेटको धुवाँभन्दा बढी विषाक्त छ नदी
बिगबिगी छ प्लास्टिकको जुलुस
पहाडभन्दा गह्रुङ्गो छ प्रदूषण
भोको पेट जलाएको छ जहरले
अस्तित्व गुमाएको छ शहरले
मानिस डुबाएको छ शराबले
प्रेम शून्य छ
प्रकृति र विकासको टकराबले
यसले हामीलाई कहिल्यै खुशी बनाउने छैन
हामीले सुनेका छौँ
मृत्युभन्दा पर केही छैन
ओ मञ्जुश्री
भन
फलाकेर तान्त्रिकका झैं मन्त्रहरू
मृत्युभन्दा पर केही छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

