
ज्ञानी अहिले आठ वर्षकी भई ।
अहिले ऊ तनमन दिएर, खूब सोच्तै, खूब विचार गर्दै काँचको पुतली सिँगार्न लागेकी छ । बेलायती पुतलीमा कहाँ टीका हुन्छ र ! उसले टीका लगाइदिई । अहा, कति खुल्यो ! हँसिलो अनुहार झकमक्क भयो ! अगि उसकी बज्यैले एक टुक्रा रेशमको कपडा दिएकी थिइन्, त्यसैलाई फरिया बनाएर ऊ खूब समाल्दै बेर्न लागिरहेकी छ र भन्दै जान्छे- “तँलाई बिहे गरिदिन्छु नानी-बाबाको दुह्लासित । हुन्छ भन् न है, अनि माइज्यू रोए म पनि रुन्छु, तँलाई दाइजो दिन्छु ।”
ज्ञानीको दाजु धन, त्यस्तै आठ-नौ वर्षको होला, आयो कोठाभित्र पस्यो र भन्यो, “ए ज्ञानी, जा त माथिबाट साँचो लिएर आ ।”
ज्ञानी केही वास्ता नगरी पुतलीलाई भनिरहेकी थिई, “तँलाई सुनका गहना नभए जगमगको गहना बनाइदिउँला ।”
धनले रिसाउँदै भन्यो, “जा भन्या मान्दिनस् ?”
ज्ञानीले फर्केर भनी, “के ?”
धनले स्यानो स्वरमा, यताउति पल्याकपुलुक हेरेर भन्यो, “जा न साँचो लिएर आ, एक थोक कुरा गर्नुपर्यो ।”
“के एक थोक ? जान्नँ ।”
धनले ज्ञानीको कानमा खासखुस गर्दै बिस्तारै भन्यो, “जा न हेर् भाइ, साँचो लिएर आ अनि….।”
ज्ञानीले प्रश्नसूचक नेत्रले हेरी । धनले फेरि भन्यो, “के अब चार पैसा अनि तँलाई पनि…।”
“आमाले थाहा पाउनुभयो भने ?”
“थाहा पाउनुहुन्न, जा न जा ।”
“नाइँ बा, म त जान्न ।”
“हुन्छ त हुन्छ,” फेरि कठोर स्वरमा धनले भन्यो, “जान्नस् ?, जा, नत्र ।” “जान्न, अहो कस्तो हाइसन्चो । मलाई साँचो लिएर आ रे हूँ ।”
“हेर्, म पुतली फोडिदिन्छु, लुगाफाटो सबै बालिदिन्छु ।”
ज्ञानीले केही नबोली अनुहारलाई हुप्प पारेर पुतलीलाई फरिया लाइसिध्याएर तल राखी र एउटा स्यानो काठको बाकसबाट अर्को कपडा झिकी ।
धनले रिसाएर कड्केर भन्यो, “फुँडी, राँडी, बोक्सी ।”
ज्ञानीले एक फेरा जलेको क्रोधभरि दृष्टिले धनलाई हेरी । “के हेरेकी ? जा न ।”
“अर्कालाई किन बोक्सी भन्नुपर्यो ?”
“हुन्छ, भन्दिनँ जा,” धनले नम्र भएर भन्यो ।
ज्ञानीले उठ्ने नामै लिइन । ऊ कपडा तह लगाइरहेकी थिई । धनले केहीबेर प्रतीक्षा गर्यो र फेरि कराएर भन्यो, “जा भन्या…”
“जान्नँ रे, अर्कालाई हेर, म आमालाई भनिदिन्छु ।”
धनले हाँस्तै भन्यो, “अहो ! को डराउँछ क्यारे कुन्नि ! भन्देन, ‘होइन’ भन्छु ।”
“नडराए के त ! जान्नँ ।”
धनले अनुहारलाई गम्भीर बनाएर भन्यो, “भइहाल्यो त म मागेर लिउँला बज्यैसित । तँ बाबु टोक्नेसित के कुरा गर्नु ।”
ज्ञानीले आँखा पर्लक्क पल्टाएर धनलाई क्रोध तथा पीडामिश्रित भावले हेरी र भनी, “के रे !”
“तँ बाबु टोक्नेसित के कुरा गर्नु ।”
ज्ञानीले अझ त्यो भावले हेरिरही !
“के हेरेकी ? तँ रिसाएर को डराउँछ र- हा हा हा !”
ज्ञानीले अलि ठुस्केर भनी, “नडराए के त उसलाई चोर्नलाई साँचो ल्याइन भनेर !”
“साँचो ल्याइन भनेर के त, उँ हु हु हु ।”
“जे पायो उही भन्न पाइन्छ र ?”
“के त तँ बाबु टोक्ने होइनस् ?”
ज्ञानीले चिच्च्याएर कराई, “आमा ! हेर, आमालाई भनिदिउँला ।”
“सबैले बाबु टोक्ने भन्छन् के त !”
ज्ञानीले चूप लागी गम्भीर मुद्रा धारण गरी । अनुहारलाई फुलाएर ‘भिउँट’ बनाई !
धनले हाँस्तै भन्यो, “तेरो पुतली संसारभरमा सबैभन्दा रद्दी । उहुँ नराम्रो ! रतनचाको कस्तो छ ।”
“नराम्रो भए मेरै नराम्रो । कसलाई के वास्ता ।”
“बाबु टोक्नेको पुतली पनि राम्रो हुन्छ ?”
“को ? ”
“उ, कुन्नि को । आमासँग सोध् न ।”
“आमा !”
“हाSS डराएँ !” बिन्ती गरेर, “मुसाका दुलाभित्र पस्नुपर्यो ।”
ज्ञानीले एक चोटि आहत दृष्टिले धनलाई हेरी र मुन्टो निहुराएर चूप लागी । “के त तँ जन्मेको रातमा बा मर्नुभएको होइन ? आमाले भन्नु… त्यस बेलासम्म ज्ञानीको अनुहार विदीर्ण भइसकेको थियो । दुवैपट्टि गाला च्यातियो र मुखबाट रुवाइ फुट्यो- हवाँ ह्वाँ !
धन उठेर भाग्न खोज्यो । ज्ञानीले त्यही काँचको पुतली उठाएर हिर्काई, धनलाई लागेन र भित्तामा लागी पुतली चूर्ण भयो । धन बचेर भाग्यो कराउँदै- “हा हा हा हा ।” ज्ञानी झन् खुट्टा बजारी रुन लागी ।
अगिल्तिर एउटा स्यानो ऐना थियो, त्यसलाई फाली, त्यो पनि चूर्ण भयो । ऐना फुटेको आवाज आमाको कानमा पर्यो । आमा दौडँदै तल आउँछिन् र देख्छिन्- ऐना चकनाचूर ! उनले रीसले आँखा देखिनन् र ज्ञानीको जगल्टा समातेर पछारिन्, दुई-तीन थप्पड कसिन् पनि ।
ज्ञानी कहाली- कहाली रुन लागी । त्यो रुवाइ ज्ञानीको बाह्य होइन, अन्तरबाट उठेको आर्तनाद थियो ! आमा हिंडिन् र भन्दै गइन्- “बड ऐना फोड्दी रहिछ । किन्नुपर्यो भने पो ! सत्यानाशी छोरीले त, जन्मनासाथ बाबु मारी, अरू के ?”
आमाको मुखबाट पनि फेरि यस्तै वचन सुनी ज्ञानी एकछिनसम्म स्तब्ध भई र उसको रुवाइ एकाएक टक्क रोकियो, तर क्षणभरैमा अन्तरभित्र पीडाको ठूलो उद्वेलन भयो र अटेसमटेस गरेर फुटेर बाहिर निस्कन खोज्यो । ज्ञानी लडीबुडी खेलेर रुन लागी । त्यस बखत बज्यै तल हामफाल्दै ओर्लिन् र एकछिनसम्म टक्क रोकिएर करुणाभरि आँखाले ज्ञानीको छाँट हेरिरहिन् । अनि छिटो गरेर उठाउन खोज्दै भन्न लागिन्- “हेर, कसले बाबालाई ? भो भो उठ् बा, उठ् ।”
बज्यैको त्यो सहानुभूतिसूचक स्वर तथा कुरा सुनेर ज्ञानी झन् घोप्टो परेर रुन लागी । बज्यैले ज्ञानीलाई भनिन्, “भो बा भो, उठ् नरो, कसले तँलाई ?”
ज्ञानी उठ्न चाहन्नथी । मानो लडीबुडी खेलेर आफूमाथिको दोषारोपण आफ्नो अशुद्ध जन्मलाई मेटाउन चाहन्थी, बज्यैले हात समातेर उठाइन्- सारा आङभरी लागेको धूलो झारिदिइन् । फरियाले आँसु, नाकभरी आएको सिँगान पुछिदिइन् ।
त्यस बेलासम्म पनि ज्ञानीको रुवाइ बन्द भएको थिएन । सुँकसुँक नै गरिरहेकी थिई र आँखामा ढिका-ढिका आँसु टल्कँदै जम्मा भएर झर्दै थिए । बज्यैले उसलाई काखमा राखिन् र भनिन्, “ऐना फोड्नु हुन्छ त ? आजकाल कति लिन्छ !”
ज्ञानीले बज्यैको वक्षमा मुख लुकाई। बज्यैले फेरि भनिन्, “अबदेखि त्यसो नगर् है बा ?… ए जा ! तैले त पुतली पनि फोडिदिइस् ? किन फोडेकी ?”
ज्ञानी केही नबोलेर त्यसै तिनको वक्षमा मुख लुकाएर बसिरही । बज्यैले फेरि भनिन्, “भो अबदेखि नगर् रानी, ज्ञानी हगि, नरो भो !”
ज्ञानी जबरजस्तीसित रुवाइ बन्द गर्न खोजिरहेकी थिई । एकछिनपछि मुख उठाएर बज्यैलाई भनी, “किन बाबु टोक्ने भन्नुपर्यो त ?”
“भनेर के भयो त, भन्न दे न ।”
ज्ञानीलाई चित्त बुझेन । एकातिर केहीबेरसम्म ताकिरही र भनी, “बज्यै !” “हँ, बा हँ !”
क्षणभरसम्म दुवै चूप भए । ज्ञानीले फेरि भनी, “बज्यै ! धनले आमाको बाकसबाट पैसा चोर्छ रे !”
“चोर्यो भने त्यसलाई पख् न गर्ने था छ ।”
यति भनेर बज्यैले ज्ञानीलाई उठाएर म्वाइँ खाइन् र आफ्नो चाउरी परेको गाला ज्ञानीको हुप्प परेको गालामा जोडेर भनिन्, “तेरो नाम पनि ज्ञानी, तँ पनि ज्ञानी, तँलाई कसले बाबु टोक्ने भन्यो ? पख् न धनलाई ।”
ज्ञानीले बज्यैको गालाबाट आफ्नो गाला हटाएर बज्यैको स्नेहपूर्ण दृष्टिमा दीन र विनीत दृष्टिले हेरी । त्यो आँखा मानौं भनिरहेको थियो, ‘मलाई थाहा छैन, मलाई केही थाहा छैन ।’
बज्यैको दृष्टि मानौँ भनिरहेको थियो, ‘एक्लो छोरो काखैमा मर्यो । तिमीहरू ठूला होलाऊ भनेर त म बाँचिरहेकी छु ।’
बज्यैले भनिन्, “पख् न, म धनलाई बाँधिदिन्छु, थुनिराख्छु । बड अर्काकी ज्ञानीलाई जे पायो उही भन्दो रहेछ । त्यसलाई भात पनि खान दिन्नँ । आमाले तँलाई कुटी ! पख्, आमालाई पख् ।”
बज्यैले एकछिनपछि भन्न शुरू गरिन्, “बा भएको भए तँलाई राम्रो पुतली, राम्रा-राम्रा लुगा ल्याइदिनुहुन्थ्यो ।”
ज्ञानीले पुलुक्क रहस्यमय दृष्टिले बज्यैलाई हेरी । बज्यैले भनिन्, “पापा, खानेकुरा धेरै… ।”
ज्ञानीले चिन्तित भएर सोच्तै भनी, “बज्यै, मलाई पनि ?”
“के त, तँलाई त हो नि, अरू कसलाई ? धनलाई ? उहुँ ।” एउटा रहस्य खुल्यो र अर्को रहस्य बाँधियो । केही बुझ्न चाहे ज्ञानीले बज्यैलाई हेरिरही ।
धन मुखलाई गम्भीर बनाएर फुत्कन लागेको हाँसो रोकेर बिस्तारै आयो । बज्यैले हातलाई लम्काएर हल्लाउँदै भनिन्, “पख्, ‘पख् फेरि भन्छस् ? तँलाई बाँधिराख्छु !”
अब धन केही नबोली मुख बिगार्दै ज्ञानीलाई गिज्याउन लाग्यो । ज्ञानीले बज्यैको मुख हेरेर भनी, “हेर्नोस् !”
बज्यैले दाह्रा किटेर भनिन्, “अझ !”
धनले कड्केर भन्यो, “के त, के त ? किन त ज्ञानी पाएको साँझमा बा जानुभयो ! ज्ञानीले नै बालाई टोकेकी, नत्र बा किन मर्नुभयो त, सबैले … ।”
ज्ञानीले बज्यैको मुख विवश भएर याचना गरेझैं गरी हेरी । बज्यैले हात हल्लाउँदै भनिन्, “होइन होइन ब्यारे, तँलाई कुट्नुपर्यो ! बा त कालले मरेको ।”
धनले भन्यो- “अँ होला । मलाई थाहा छैन र ?”
बज्यैले ज्ञानीलाई भूइँमा राखिन् र उठेर हाँसोको हेराइले हेरेर भनिन्, “कुट्नुपर्यो अझ ?”
धन खिलखिलाउँदै भाग्यो, “ज्ञानीले बा…।”
आज ज्ञानी चूप छ, उस्तो बोल्दा पनि बोल्दिन, हाँस्ता पनि हाँस्तिन । आँखामा विषाद छ । अनुहारमा गम्भीरता । ज्ञानीले फुटेको पुतलीलाई एकछिनसम्म हेरेर झ्यालबाट फालिदिई । कपडाका टुक्राहरूलाई काचकुच पारेर त्यही स्यानो काठको बाकसमा कोचिदिई । बाहिरका साथीहरूको, ‘एकैढाल छगु’ (ढुङ्गा फालेर खेल्ने खेल) मा पनि अनासक्त भावले औंला दाँतले टोकेर, नाक कोट्याएर हेरी नै रही । मानौं उसलाई यसभन्दा धेरै माथिको विशेष चिन्तना छ ।
साँझ पर्यो । अनि अँध्यारो भयो । भात पाक्यो । आज त अघिदेखि नै ज्ञानी माथि भान्छामा गएर आमालाई मद्दत दिनमा संलग्न भई । पहिलेजस्तो कहाँ हो र, ऊ त अब साँच्चिकै ज्ञानी । आमा र बज्यै अचम्म भएर ज्ञानीको मुख ताक्तथे । अनि किन हो कुन्नि करुण मुस्कान छाड्दथे । ज्ञानी कहिले नसकी नसकी कूचो लगाउँदथी, कहिले लोटामा पानी भर्दथी ।
भात खाने बेला भयो । केही नबोली, केही झगडा नगरी ज्ञानीले भात खाई । धनलाई तरकारी बढ्ता उसलाई कम, तैपनि चूप लागी । धनलाई आफ्नो मन परेको पिर्का, गिलासमा उसले केही हस्तक्षेप गरिन ।
आमा र बज्यैले एकस्वरले भने, “आज त ज्ञानी साँच्चिकै ज्ञानी भइछ ।”
ज्ञानीको अन्तरमा के भएर हो, व्यथाको छाल रोकिनुभन्दा उम्लन खोज्थ्यो ! झटपट रुवाइ बन्द गरेर उसले भनी, “आमा ! आमाले पानी लिनुभयो ?” अनि आफै लाज मानेर रुन रुन लागी ।
कामधन्धा सिद्धयो ! अब सुत्ने बेला भयो । सारा टोल, सारा घरमा शान्ति छायो । बाहिर कहिलेकाहीँ कुकुरहरू एकस्वरसित भुक्तथे । बिरालो छानामा ‘ङार ङार’ गर्दथ्यो । पल्लो कोठामा बज्यै सुतेको ‘घुर्र घुर्र’ आवाज आइरहेको थियो । धन पहिलेदेखि नै सुतिसकेको छ । अहिले ज्ञानीको पेटमा हात राखेको छ । ज्ञानीको आँखामा निद्रा थिएन, छटपटी भइरहेको थियो । त्यही आँखा झिम्म गर्दै खोल्दै, झिम्म गर्दै खोल्दै ज्ञानी मानौँ केही कुरा हेर्न चाहन्छे । मानौं कुनै समस्याको समाधान गर्न चाहन्छे- कहिले टोलाएर हेर्छे, त्यो हातबाट चिप्लिरहेछ । ऊ भागिरहेछ ! बाको तस्वीरमा भएको स्नेहभरि अनुहार अस्पष्ट, कहिले सुस्पष्ट कल्पनाबाट ऊ मानौँ हृदयङ्गम गर्न चाहन्छे ।
आमा कुहिनाले तकियामा टेकेर हत्केलामा गाला अड्याएर ओछ्यानमा कोल्टो परेर बसेकी छन् । उनी टोलाएर विषादपूर्ण आँखाले ताकिरहिछिन् । अनुहारमा व्यथा परिपुष्टित भइरहेछ । उनी कुनै सजीव स्मृतिमा, कल्पनामा डुबेकी छन् । अब-अब कहाँ पाउनु ? गए ! खसे-खसे ! उनी पनि सँगै-सँगै जान चाहन्छिन्- टाँसिदै, टाँसिदै । धेरै टाढा, कहाँ-कहाँ, सँगैसँगै । जहाँ भए पनि अहिले उनलाई कसैले छाड्दैनन् ! कसैले धन-ज्ञानीका ती साना-साना हात निर्बोध आत्माले साह्रै छुटाउन नसकिने गरी तानिराखेका छन्, ती कसै गरे पनि फुस्कन सक्तैनन् ।
आमाले भनिन्, “ज्ञानी ! निद्रा आएन ? सुत् न, अबेर भयो ।”
ज्ञानीले आँखा चिम्लेर निदाएको बहाना गरी- “उँ उँ ।” अझ पनि ज्ञानीलाई निद्रा आएन । अहँ आएन ।
आमाले फेरि भनिन्, “सुत् निदा न ।” केहीबेर सारा वातावरण निस्तब्ध भयो, अनि ज्ञानीले बोलाई- “आमा !”
आमा चूप ।
ज्ञानीले फेरि भनी, “आमा ! म जन्मेर बा मर्नुभएको ?”
आमाले ज्ञानीको मुख एकटकसित हेरी भनिन्, “होइन, कसले भन्यो ?” “किन त म जन्मेको राती बा मर्नुभयो !”
हृदयभित्रको व्यथाको गम्भीर समुद्र उर्लन लाग्यो । आँखाको आँसुलाई बल्लतल्ल रोकेर आमाले भनिन्, “कसले भन्यो ? बाको दिन पुग्यो, अनि जानुभयो ।”
ज्ञानीलाई तैपनि शान्ति भएन । निद्रा आउनै चाहँदैनथ्यो । केहीबेरपछि शान्त स्वरमा त्यागीले भनेझैं ज्ञानीले भनी, “आमा, म मरें भने बा फेरि आउनुहुन्छ ?”
आमाले चकित भएर उसको अनुहारलाई एकटकसित हेरिन्- कुनै विकार छैन ! अगिजस्तै गम्भीर ! ज्ञानीको अनुहार भन्न खोजिरहेको थियो- म यहाँ, बा उहाँ म यहाँ किन ?
ज्ञानीको मसिनो स्वर सन्नाटालाई चिर्दै उठ्यो- “आमा !”
(‘अट्ठाइस कथा’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

