म वीरगन्जमै जन्मेको हुर्किएको मनुवा । नेपालको दक्षिणी सीमामा रहेको हुनाले वीरगन्जलाई सीमान्त नगर भनिन्छ । यस चराचर जगतमा सीमामुक्त के ? को होला ? आकाशको कुरो नगरौँ, त्यो हाम्रो क्षमताबाहिरको तत्त्व हो । हामी हाम्रो उमेरको सीमानाबारे कुरो गरौं । के हामी आफ्नो वृद्धावस्थालाई सीमान्त अवस्था भन्न सक्छौ ? सक्छौ, सक्दैनौ भनेर अनेक तर्क उब्जिन सक्छ । त्यतातिर नगएर पुस्तान्तरणको कुरो गरौं, ल !
समाजशास्त्रीहरूका अनुसार, “पुस्तापिच्छे जीवनशैली, समाज, तकनिक र दृष्टिकोणमा देखिने परिवर्तनलाई पुस्तान्तर परिवर्तन भनिन्छ ।” उनीहरूकै शब्द पैँचो लिने हो भने पुस्तान्तरलाई कुल छ भागमा विभाजित गर्न सकिन्छ: साइलेन्ट जेनरेशन, बेबी बुमर जेनरेशन, जेनरेशन एक्स, जेनरेशन वाई, जेनरेशन जेड र जेनरेशन अल्फा । यहाँ सजिलोका लागि हामीले साइलेन्ट र बेबी बुमर जेनरेशनलाई प्रथम पुस्ता भनेर सम्बोधन गर्दा पनि हुन्छ । जेनरेशन एक्सलाई दोस्रो पुस्ता, जेनरेशन वाईलाई तेस्रो पुस्ता र त्यसपछिकालाई चौथो पुस्ता बुझ्दा हुन्छ ।
भनिराख्नु परेन, विगत एक शताब्दीदेखि विश्व बजारमा आधुनिकीकरणसँगै तकनिकी र सामाजिक परिवर्तनहरू बडो तीव्र गतिका साथ अगाडि बढ्दै गएका छन् । परिणामस्वरूप पहिलो पुस्ताले देखेका बुझेका अथवा भोगेका सामाजिक व्यवस्था, जीवनशैली, तकनिकी सुविधा तेस्रो अथवा चौथो पुस्तामा पुग्दासम्म बजारबाट बेपत्ता हुँदै गएका छन् । त्यसैगरी तेस्रो अथवा चौथो पुस्ताले भोग्न शुरु गरेका सामाजिक व्यवस्था, जीवनशैली र तकनिकी सुविधासम्म पहुँच बनाउन प्रथम पुस्तालाई भ्याई नभ्याई भएको छ ।
समयको गतिसँगै परिवर्तनको छनक पाउन हामीलाई सय वर्षपछाडिको कालखण्डमा पुग्नु पर्दैन, तीस वर्षपछाडि पुग्दा पनि हुन्छ । म आफैँ भएका आफन्तहरूका साथ पत्रमार्फत संवाद गरेर हुर्किएको मनुवा । उति बेला चौक चौकमा पोस्ट बक्स हुन्थे । तपाईँलाई कतै कुनै सन्देश सम्प्रेषित गर्नु छ भने खामबन्दी गर्नु पर्ने गरी सादा कागजमा अथवा डाक कार्यालयबाट जारी गरिएका अन्तर्देशीय अथवा पोस्टकार्डमा आफ्नो सन्देश लेख्नोस्, बाहिरी भागमा नाम, ठेगाना लेख्नोस्, डाक टिकट टाँसेर नजिकको पोस्ट बक्समा लगेर राख्दिनोस् । प्रापकको ठेगाना नेपाली परिधिभित्र छ भने कम्तीमा सात दिन अन्यथा पन्ध्रदेखि एक महिनासम्म लाग्थ्यो । तर इमेल, व्हाट्सअप, विचैट, मैसेन्जर आदि इत्यादिजस्ता संवाद गर्ने तकनिक आएदेखि पत्र लेख्ने चलन इतिहासको विषय भएको छ ।
अचेल समयको गतिबारे कुरो चुलिँदा मेरा आँखाअगाडि मेरा दादाजी अर्थात् हजुरबाको काल्पनिक अनुहार प्रकट हुन्छ । यस भव संसारमा मैले गोडा टेक्दासम्म उनी गोलोक फर्किसकेका थिए । म पाँच बर्से फुच्चे भएको बेला मेरी दादी अर्थात् हजुरआमा भुईँचालो गएको कथा, घरी अनिकाल परेको कथा, घरी सात सालको आन्दोलनताकाका कथा, घरी छरछिमेकका अथवा पौराणिक कालका कथा सुनाउनु हुन्थिन् । हामी भुर्राहरू जति जति कौतूहल प्रकट गर्थ्यौ, उति उति उनी मुखर हुन्थिन् ।
त्यति मात्र होइन, उनी घरेलु उपचारमा पनि उतिकै खप्पिस थिइन् । खोकी हुँदा छातीमा गाईको घिउ दल्ने, चोटपटक लाग्दा बेसारको मलहम लगाउने, पेट दुख्दा ज्वानोको पानी पिउन दिने आदि इत्यादिजस्ता उनीसँग हजारौं घरेलु फर्मुलाहरू थिए । हामी भुर्राहरूलाई कुनै शारीरिक बेथा भयो कि उनकै उपचार विधि हामीलाई काम लाग्थ्यो । कुन बेला मलाई लाग्थ्यो, मेरी दादी संसारकी सबै भन्दा जानिफकार महिला हुन् । अनि उनको भण्डार कोठामा भएका गुलियापिरा खानपिनका सामग्रीमा हामी कर्के दृष्टि टिकाएकै हुन्थ्यौ । मौका मिल्यो, दादीलाई फकाइहाल्थ्यौँ । हाम्रो लागि उनी कुनै बेला असल मित्र भइदिन्थिन् र कुनै बेला शंकटमोचक पनि । बाबुजीको रापतापबाट जोगाउने हिम्मत दादीबाहेक कसैमा थिएन । त्यही भएर होला, कुनै बेला लाग्थ्यो, हामी भुर्राहरूको भलो चिताउने मान्छे उनीबाहेक यस संसार कोही हुनै सक्दैन ।
समय बित्दै गयो, हामी हुर्किँदै गयौँ । अर्थात्, समझदार हुँदै गयौ । समझदार भएदेखि हामीलाई दादीका कथाकहानी, उपचार विधि सबै बकवास लाग्न थाले । यो औषधी खाने, त्यो नखाने, यता बस्ने उता नबस्ने, यो लाउने त्यो नलाउने जस्ता उनका जीवनशैलीसित जोडिएका कुरा हामीलाई वाहियात जिद लाग्न थाले । उनले दिएका खानेकुरा पनि स्वादहीन लाग्न थाले । भौतिक रूपमा उनीनजिक भए पनि भावनात्मक रूपमा नजिक रहन सकेनौँ । उनले केही भन्न खोज्दो बहाना झिकेर उम्किहाल्थ्यौँ । उनले पनि कहिल्यै कुनै गुनासो गरिनन् । जेही विधि राखी राम, तेही विधि रहिये…..यही मन्त्रलाई सायद उनले आत्मसात् गरेकी थिइन् । एक दिन उनी आफ्नो सांसारिक चोलोबाट मुक्त भइन् । र, उनका थुप्रै अकथित कथाकहानी र अनुभवका कुराहरू पनि उनको मरणाधर्मा शरीरसँगै हराए ।
अचेल पो लिभिङ्ग टुगेदर अथवा फ्रिलान्स बैचलरजस्ता अनौठा अभ्यास शुरु भएका छन् । कुनै बेला वैवाहिक बन्धनलाई परापूर्वकालदेखि चल्दै आएको अवश्यम्भावी परम्परा मानिन्थ्यो । त्यति मात्र होइन, छोराछोरीको लागि जोडी खोजेर एडभान्स बुकिङ गराउने काम हामीजस्ता विवाहाकांक्षीहरूलाई सामेल नगर्दै अभिभावकहरू आफ्नो एकल बुताले भ्याउँथे । आफ्ना अभिभावकले रोजिदिएका सम्भावित बेहुला अथवा बेहुलीलाई अस्वीकार गर्नु त कल्पनाबाहिरको कुरो हुन्थ्यो । त्यही अवश्यम्भावी परम्परालाई आत्मसात् गर्दै मेरा दाइ, दिदी र म वैवाहिक बन्धन बाँधियौ । र, चाल नपाउँदै बाआमाको कित्तामा पुग्यौं । र, मेरा मइयाबाबुजी अर्थात् बाआमा पुगे, हजुरआमा र हजुरबाको कित्तामा । तत्पश्चात् शुरु भयो हजुरबाआमा र नातिनातिनाबीच परापूर्वकालदेखि चल्दै आएको संवादको नयाँ संस्करण ।
प्रथम पुस्ता र तेस्रो बीचको सम्बन्धमा मात्र पात्रहरू फेरिएका थिए, अरू थोक त दादीकै जमानाजस्तै थिए । अ, यस पटक प्रथम पुस्ताको रूपमा मेरी मइयालाई सघाउन मेरा बा पनि उपस्थित भएका थिए । अर्थात्, हाम्रा भुर्राहरू श्रोता हुन्थ्यौ र बाआमा कथावाचक । कुराहरू प्रायः कि आत्मवृत्तान्त कि पौराणिक कालखण्ड कि इतिहास केन्द्रित हुन्थे । उति बेलासम्म आफ्ना सन्तानलाई अनुशासनमा राख्न दण्ड दिने ऐन कानूनमा थुप्रै खालका संशोधन भइसकेका थिए । हाम्रो पालोमा जुन दण्डलाई सबैभन्दा मुलायम मानिन्थ्यो, हाम्रा भुर्राहरूको जमानामा पुग्दासम्म त्यो दण्ड सबैभन्दा कठोर मान्न थालिएको थियो ।
मइयाका कथा त ठ्याक्क दादीले सुनाउने गरेकीजस्ता हुन्थे । तर बाबुजीका कथा मेरी दादी अथवा मइयाभन्दा अलि फरक खालका हुन्थे । उनका कथा कि विश्वका ताजा घटना अथवा उनका आफ्नै सङ्घर्षसित जोडिएका कि वीरगञ्जको इतिहाससित जोडिएका हुन्थे । उनका कथाकहानी सुन्ने श्रोताको हुलमा बेलाबखत म स्वयम् पनि सामेल हुन्थे । कुनै ठाउँमा चित्त नबुझ्दा तार्किक पारामा आफ्नो पक्ष राख्थे, नबुझेको कुरो दोहर्याएर सोध्थे । कतिपय पटक मत बाझाबाझ पनि पर्थ्यो । एक कालखण्डपश्चात् दादीदादीजस्तै मेरा बाबुजी पनि पञ्च तत्त्वमा लीन भए । साथमा उनका अकथित अनुभवका कुराहरू पनि । यो चराचरी जगतमा अजम्मरी को नै छ र ?
मइया अहिले ८२ वर्षकी भएकी छिन् । उनलाई एक दिनअगाडिका कुरा कुरा याद रहँदैनन्, तर पचास वर्ष पुराना कुराहरू जसका तस याद छन् । उनको कानसम्म कुनै पनि घटना, दुर्घटना, कार्यक्रम अथवा परिस्थितिबारे थोरै खबर पुग्नु पर्छ । उनी अतीतको दुनियाँमा पुगिहाल्छिन् । र, शुरु हुन्छ उनको एक पुरानै कथा, तर नयाँ कलेवरका साथ । उनी दिनानुदिन शारीरिक रूपमा गल्दै गएकी छिन् । तर आज पनि उनलाई आफ्नो स्वास्थ्यभन्दा हाम्रो स्वास्थ्यको फिक्री बढी रहन्छ । उनी बजारतिर नगए पनि बजारका खबर लिइराख्छिन् । नातागोता र चिनजान भएकाहरूको हालखबर सोधिराख्छिन् । उनका सप्पै नातिनातिना मातापिताको श्रेणिमा पुगिसकेका छन्, र सप्पै जना कुनै न कुनै बहाना बनाएर उनका साथ जिस्किनमस्किन पुगिराख्छन् । म सुधो दर्शक भएर उनीहरूबीच चल्दै गरेको मोहलीला हेरिरहन्छु ।
मेरी मइयाका आँखा अचेल दुर्बल हुँदै गएका छन्, कानले पनि कम सुन्छिन् । गोडाहरू धरमराउन थालेका छन् । अनुहारमा मुजाहरूको हालीमुहाली छ । सप्पै सक्कली दाँत झरेका छन्, थोरै खान्छिन् । अचेल कुराकानी पनि पहिले जति गर्दिनन् । आफ्नो कोठामा चुपचाप भित्ता टोल्हाएर बसिरहन्छिन् । के सोच्नु भएको भनेर सोध्दा फिस्स हाँसेर काम चलाउँछिन् । कुनै समान चाहिएको छ भने पनि अप्ठेरो मानी माग्ने गर्छिन् । शारीरिक बेथा बढेको छ भने सकभर बताउनु नपरोस् भन्ने मानसिकतामा रहन्छिन् । मानौँ उनले आफ्नो इच्छा आकाङ्क्षालाई बलात् मारेकी छिन् । मइयाको अवस्था देख्दा मेरो आध्यात्मिक ज्ञान निमेषमै वाष्प भइदिन्छ ।
चराचर जगतमा कसैलाई पनि अनन्त कालसम्म बस्ने अनुमति छैन । सबै जना टुरिस्ट भिसाकै भरमा यहाँसम्म आएका हुन् । भिसाको म्याद सकिएपछि जताबाट आए, उतै फर्किनु नै पर्छ । सायद ईश्वरले मेरो प्रार्थना सुन्ने छन्, मइयाको टुरिस्ट भिसाको म्याद थप्ने छन् । तर म्याद त हो, ढिलो चाँडो सक्किने नै हो । ढिलो चाँडो मेरो म्याद पनि सक्किने नै छ । कुनै बेला “सारी की सारी दुनियाँ मेरी जेब में” गुनगुनाउँदै हिँड्ने मजस्तो एक नवयुवकलाई यो निर्मम समयले ठेल्दाठेल्दै साठीको उमेरमा पुर्याइसकेकै छ । वृद्धवृद्धाका जुन कुरा कुनै बेला वाहियात लाग्थे, आज त्यही कुरा म स्वयम् गर्न थालेको छु । आफूलाई ऐनामा चिन्न खोज्दा पुरानो गणेश भेट्दिन अचेल । आफ्नो अनुहारमा घरी हजुरआमा, घरी बा र घरी आमाको चाउरी परेको अनुहार भेटिन थालेको छु । एक वाक्यमा भन्ने हो भने म सीमान्त शब्दको तात्त्विक अर्थ बुझ्न थालेको छु ।
उमेरको मामिलामा अचेल एक कुरोमा विश्वस्त हुँदै गएको छु कि अतीत र वर्तमानबीच पनि दश गजा क्षेत्र हुँदो रहेछ । मैले अनुभव गरेको कुरो, आजकल अलि मौका पायो कि मेरो मन अनुमति नमाग्दै अतीत र वर्तमानको त्यस्तै दश गजामा पुगिहाल्दो रहेछ । मेरा दादी, बाबुजी अथवा मइयाको मन त्यो दश गजाको मोहनीबाट मुक्त रहन सकेन भने मेरो मन कसरी मुक्त रहन्थ्यो । समयको यही दश गजालाई साक्षी राखेर आफ्नो पुर्खाका कथा, हाम्रो थालथलोको इतिहास, हामी स्वयम्का भोगाइहरूलाई सीमान्त सम्झनामा लिपिबद्ध गर्ने धृष्टता गरेको छु ।
सीमान्त सम्झना लेख्न तीन वर्ष लाग्यो, जे होस्, भ्याए । थुप्रै मित्रहरू प्रश्न तेर्स्याउँछन्, पाठकले सीमान्त सम्बन्ध किन पढ्ने ?” म फर्काउने गर्छु, “आफ्ना पुर्खाको सङ्घर्ष, त्याग, तपस्या बुझ्नु छ भने, आफ्नो थातथलोको क्रमिक विकाश बुझ्नु छ भने, आफ्नै मुलुकको इतिहास बुझ्नु छ भने, आफ्नै अतीतलाई ऐनामा हेर्नु छ भने र “परिवर्तन यस संसारको अवश्यम्भावी विशेषता हो भन्ने बुद्धको वाणीलाई प्रत्यक्ष अनुभव गर्नु छ भने” सीमान्त सम्बन्धभन्दा सजिलो माध्यम अरू केही हुनै सक्दैन । बाँकी कुरो पाठकीय चार किल्लाभित्र पर्ने भयो । लेखक आफ्नो सीमान्तबाहिर नगएकै बेस ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










