मूर्तिकार एन्थोनी स्मिथले बनाएको इयान फ्लेमिङको अर्द्धकदको मूर्ति

जेम्स बन्डका स्रष्टा इयान फ्लेमिङको जीवन सुरुदेखि नै एउटा मनोवैज्ञानिक संघर्षले भरिएको थियो। उनी चार दाजुभाइमध्ये दोस्रो थिए ।

जब कुनै परिवारमा एउटै पाठशालामा दुई दाजुभाइ पढ्छन्—तर एउटालाई “सिद्धान्त र सम्मानको मूर्तरूप” र अर्कोलाई “चञ्चल र अनुशासनहीन” भनेर चिनिन्छ—त्यसले अर्कोको पहिचानमा गहिरो असर गर्छ। यस्तै भयो इयान फ्लेमिङका लागि।

उनका दाजु पिटर फ्लेमिङ केवल एउटा दाजु थिएनन्, उनी एक उदाहरणीय पात्र थिए—ईटनमा उत्कृष्ट, अक्सफोर्डमा प्रथम श्रेणी, अनि विश्वयुद्धका वीर योद्धा। त्यत्तिमा मात्रै होइन, उनले विश्वका दूरदराज क्षेत्रहरूमा साहसिक यात्रा गरे, किताब लेखे, र समाजमा प्रतिष्ठा कमाए।

पिटर एउटा आदर्शको पर्याय बनिसकेका थिए। इयान भने त्यस आदर्शसँगै तुलना गरिने मात्र एउटा नाउँ बन्यो। उनी पढाइमा कमजोर थिए, शिक्षकहरूसँग उनको नियमित झगडा हुन्थयो । कहिलेकाहीँ त उनी “कुनै ठोस भविष्यबिनाको” छायाँझैँ देखिन्थे। यस्तो तुलनाले इयानको आत्मविश्वासमा गहिरो असर पार्‍यो।

उनको समाज, विद्यालय, अनि परिवारभित्रै पनि उनका दाइ पिटर जस्तो बन्ने अपेक्षा थियो। तर इयानको स्वभाव फरक थियो— उनी व्यवस्थित नियममा होइन, स्वतन्त्र कल्पनामा रमाउने मान्छे थिए। उनी आफ्नो बाटो आफैँ बनाउन चाहन्थे तर जब त्यो बाटो त्यही घरभित्रको अर्को व्यक्तिले ‘सर्वोत्तम’ हिसाबले हिँडिसकेको हो भने—”तेरो बाटो पनि त्यस्तै हुनुपर्छ” भन्ने दबाब त हुने नै भयो ।

सानैदेखि उनी “पिटरको भाइ” को रुपमा चिनिन्थे । यही पहिचानको अभावले उनीभित्र एउटा मौन विद्रोह जन्मायो—नाफाको नाममा होइन, स्वतः पहिचानको खोजीमा।

तर त्यो खोजी सजिलो थिएन। इयानले आफ्नो किशोरकालमै हारका स्वाद चाखे—स्इयान्डहर्स्टमा असफलता, यौन रोग (गोनोरिया)को कलंक, अनि पढाइमा कम रुचि। उनले जुनसुकै बाटो रोजे पनि, सधैं दाजु पिटरको सफलता त्यो बाटोलाई छेकिरहन्थ्यो।

तर यही छायाँभित्र, उनी जेम्स बोन्डको कल्पनामा रमाउन थाले। त्यो पात्र उनी आफैंजस्तै थियो—थोरै एक्लो, केही रहस्यमय, तर अदम्य आकांक्षा बोकेको।

पिटर एउटा असाधारण प्रतिभाशाली व्यक्ति थिए—ईटनबाट सुरु भई, अक्सफोर्डमा अंग्रेजीमा प्रथम श्रेणीसहित स्नातक पास गरे। त्यसपछि उनले ब्राजिल र एसियामा यात्रा- अनुसन्धान गरे, र दोस्रो विश्वयुद्धमा वीरतापूर्वक सेवा दिए। सन् १९४५ को “राजाको जन्मोत्सव सम्मान” मा उनलाई OBE (Order of the British Empire) प्रदान गरियो।

तर इयान? उनले पनि ईटनमै पढे, तर पढाइमा खासै जम्न सकेनन्। उनी खेलकुदमा त तेज थिए, तर पढाइ? उनलाई पढाइमा रत्ति मन लाग्दैनथ्यो । त्यसपछि उनले स्यान्डहर्स्ट (बेलायती सैन्य प्रशिक्षण प्रतिष्ठान) मा नाम लेखाए, तर गोनोरिया (एक यौन रोग) लागेपछि एक वर्ष पनि पूरा नगरी बाहिरिनुपर्‍यो। यो कलंकले उनलाई अझै गहिरो असन्तोषमा धकेल्यो।

तर… यसै असन्तोष र आत्मसंघर्षको भुमरीभित्र कतै लुकेको थियो भविष्यको साहित्यिक विस्फोट—जेम्स बोन्डको जन्मदाताको बीउ।

जेम्स बन्ड चर्चित गराउने उपन्यास क्यासिनो रोयलको पहिलो संस्करणको आवरण

उनलाई जीवनमा केही गर्नुथियो, तर के गर्ने अझै फेला पार्न सकेका थिएनन् । पढाइपछि उनी विदेश मन्त्रालयमा जागीर खान तयार थिए तर उनी परीक्षामा अनुत्तीर्ण भए । तर त्यो हारलाई पनि इयानले जीवनको प्रयोगशाला बनाइदिए।

यसपछि उनले फ्रेन्च र जर्मन भाषामा दक्षता हासिल गरे अनि रोयटर्स समाचार संस्थामा पत्रकारको रुपमा काम गर्न थाले। यहींबाट सुरु भयो उनको वास्तविक संसारसँगको अन्तरक्रिया—सोभियत जासूसहरू, गुप्त योजनाहरू र शक्तिको आन्तरिक खेलमा विश्लेषणको काम।

पत्रकारका रूपमा उनले चार वर्ष काम गरे । यो चार वर्षको अनुभव केवल लेख्नका लागि कागजको कसरत थिएन—त्यो भविष्यको जेम्स बोन्डको संसार बनाउने तयारी थियो। उनले देखे, संसारको राजनीति कुन कुनामा अडिएको छ, कुन चालपछि खेल फेरिन्छ, अनि कसरी शब्द पनि गोलीसरह घातक बन्न सक्छ!

फ्लेमिङको पत्रकारिता एक किसिमको गुप्तचर अभ्यास नै थियो। उनी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा, राजनीतिक तह र गतिमा, अनि युरोपेली शीतयुद्धको चालहरूमा गहिरो निगरानी राख्थे। जब उनले सन् 1935 मा रूसको राजधानी मस्कोमा अदालतको प्रत्यक्ष रिपोर्टिङ गरे, त्यही रिपोर्टमा पहिलो पटक उनले जासूसी, सूचना, रणनीति र मानवीय कमजोरीका सबै पाटाहरू समेटे।

त्यस बेला उनी पत्रकार थिए, तर उनको मानस–पटलमा उनी जासूस बनिसकेका थिए। र त्यो जासूस, केही वर्षपछि जेम्स बोन्डको रूपमा संसारलाई चिनाउने थियो।

सैन्य अनुभव नहुँदा–नहुँदै पनि इयान फ्लेमिङ ब्रिटिश नेभल इंटेलिजेन्स (जलसेनाको जासूस) मा नियुक्त भए। उनलाई यो अवसर एडमिरल जोन गोडफ्रीले दिएका थिए । उनको उपन्यासको पात्र एम गोडफ्री नै हुन् । गोडफ्रीले यस्तो अवसर किन दिए त ? किनभने इयानमा भाषाको दक्षता थियो, कल्पनाशील सोच र रणनीतिक दृश्य सिर्जना गर्ने अद्भुत कला थियो । उनको दिमाग सधैं असम्भव लाग्ने योजनाहरू बुन्न व्यस्त रहन्थ्यो। त्यसैले उनी हतियार होइन, कल्पना र योजना प्रयोग गर्ने युद्धका सिपाही थिए।

उनीलाई दिइएको काम चाहिँ सामान्य रिपोर्टिङ होइन—जासुसी रणनीति तयार पार्ने विशेष जिम्मेवारी थियो। उनले बनाएका योजनाहरू कहिले विचित्र, कहिले विनाशकारी तर प्रायः जसले शत्रुलाई चकित पार्ने खालका हुन्थे। उदाहरणका रूपमा, फ्लेमिङले एउटा योजना तयार पारेका थिए, जसमा ब्रिटिशहरूले एउटा विमानलाई जानाजान दुर्घटना गराउने थिए । त्यसमा रहेका “अफिसरहरू” (जो वास्तवमा ब्रिटिश एजेन्टहरू हुन्थे) को शव देखाएर जर्मनहरूलाई झुक्याउने योजना थियो। त्यसको अन्तिम उद्देश्य थियो—जर्मन पनडुब्बी (submarine) लाई सतहमै ल्याएर त्यसबाट एनिग्मा नामक उपकरण हत्याउने। त्यो बेलाको जासुसी सञ्चारमा एनिग्मा उपकरणको निकै प्रयोग हुन्थ्यो । यसको कूटभाषा पत्ता लगाउन बेलायतलाई निकै हम्मे परेको थियो ।

इयान फ्लेमिङका अधिकांश योजना सैद्धान्तिक तहमै थिए—अर्थात् ती योजना बनाउने र तयारी गर्ने खालका हुन्थे, तर सबै योजना व्यवहारमा कार्यान्वित भने हुन सकेनन् ।

फ्लेमिङ अपरेशन मिन्समिटजस्ता सफल योजनामा संलग्न थिए । जसमा नक्कली शव प्रयोग गरेर जर्मनहरूलाई सिसिलीको सट्टा ग्रीसमा आक्रमण हुनेछ भन्ने झुटो जानकारी दिइएको थियो र त्यसमा जर्मनहरू फसे । यद्यपि यो योजना पूर्णतः फ्लेमिङको होइन । उनीसँगै अन्यको पनि यसमा योगदान थियो ।

उनका साथीहरू फ्लेमिङ भविष्यमा जासुसी उपन्यास नै लेख्छन् भन्ने थाहा थियो । दोस्रो विश्वयुद्धको अनुभवले उनलाई भरपूर सामग्री दियो। सन् १९५२ मा उनले पहिलो उपन्यास क्यासिनो रोयल लेख्न थाले । यो उपन्यासको पहिलो मस्यौदा एक महिनामा नै तयार भएको थियो ।

‘जेम्स बन्ड’ नाम भने क्यारिबियन क्षेत्रका एक प्रसिद्ध पक्षी विज्ञबाट लिइएको हो — फ्लेमिङका अनुसार यो “सबैभन्दा सरल, नीरस, सामान्य नाम” थियो — एक गुप्तचर पात्रका लागि उपयुक्त।

‘007’ को उत्पत्तिबारे विभिन्न अनुमान गरिन्छन् । बेलायतकी प्रख्यात महारानी एलिजाबेथ प्रथमका खगोलशास्त्री तथा सम्भावित जासुस जोन डी ले आफ्ना पत्रहरूमा 007 लेख्थे । अर्थात् उनको हस्ताक्षर नै ००७ थियो । पहिलो विश्वयुद्धको बेलामा ब्रिटिश गुप्तचरले पत्ता लगाएको जर्मन सन्देश ‘Zimmermann Telegram’ लाई बेलायतीहरूले 0075 कोड दिइएको थियो। ‘00’ को अर्थ, अत्यन्त गोप्य सामग्री हो भन्ने जनाउँथ्यो ।

बन्डको केही व्यक्तिगत विशेषता फ्लेमिङकै रोजाइबाट आएका थिए — गल्फ, जुवा, धूमपान र अण्डा प्रतिको प्रेम। फ्लेमिङका प्रेमसम्बन्धहरू पनि उपन्यासमा बन्डको रूपमा झल्कन्थे।

यद्यपि फ्लेमिङ र बन्ड केही हदसम्म मिल्थे, उनले बन्डको निर्माणमा धेरै वास्तविक गुप्तचरहरूलाई समावेश गरे। उनका दाजु पिटरको प्रभाव त थियो नै, साथै विंग कमाण्डर फरेस्ट “टोमी” यो-थोमस, जो ‘White Rabbit’ नामले परिचित थिए, उनी पनि बन्डको प्रमुख प्रेरणा थिए। उनले फ्रान्समा अनेकौं साहसी कार्य गरेका थिए । जर्मन गेस्टापोबाट यातना भोगेका थिए र बुचेनवाल्ड यातना शिविरबाट भाग्न समेत सफल भएका थिए ।

फ्लेमिङको आफ्नै युद्धकालीन अनुभव रहँदा पनि उनले बन्डको युद्धकालीन पृष्ठभूमिलाई अस्पष्ट राखे — शायद आफ्नो गोप्य मिसनहरू खुल्ने डरले। तर बन्ड पनि रोयल नेभीमा काम गर्थे र पछि एडमिरल्टीमा।

बन्ड काल्पनिक पात्र भए पनि उनका कथा यथार्थ घटनाबाट प्रेरित थियो। ब्रिटिश साम्राज्यको पतन, शीतयुद्धको डर, जातीय पूर्वाग्रहहरू जस्ता कुराहरू बन्डको कथामा परोक्ष रूपमा झल्कन्थे।

फ्लेमिङको असामयिक मृत्यु ५६ वर्षको उमेरमा भयो । अत्यधिक मदिरा र धूमपानका कारण उनले केही समयमै अनेकौं हृदयघात भोगे र सन् १९६४ मा बिते। उनका अन्तिम दुई उपन्यासहरू द म्यान विद द गोल्डेन गन र अक्टोपुसी एन्ड द लिभिङ द डे लाइट्स उनको मृत्युपछि प्रकाशित भएकमा थिए । ती पुस्तकहरू पूर्ण रूपमा सम्पादित नभएकाले केही पाठकलाई खासै मन परेको थिएन ।

तर सन् १९६० को दशकपछि जेम्स बन्ड र इयान फ्लेमिङ दुवै विश्वस्तरका सांस्कृतिक प्रतीक बने। आज पनि जेम्स बन्ड संसारभरि चिनिने पात्र हुन्।

तिनै सर्जकको पहिलो उपन्यास क्यासिनो रोयल प्रकाशित भएको आज ७२ वर्ष पूरा भएको छ । किताबको शक्ति कति हुन्छ भन्ने कुरा, मान्छेले शायद इयान फ्लेमिङलाई बिर्सन सक्लान्, यसको पात्र जेम्स बन्डलाई बिर्सन नसकेबाट थाहा हुन्छ ।