नेपाली साहित्य परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्लीका पूर्व सदस्य रहेका सीताराम काफ्लेले निबन्धकार, समीक्षक एवम् कवि समेत हुन् । सन् १९८२ तिर सिलगढीबाट प्रकाशित ‘हिमालचुली’ पत्रिकाबाट औपचारिक लेखन यात्रा शुरू गरेका काफ्ले त्रिवेणी पुरस्कार डुवर्स, सकुरा सम्मान, भारतीय नेपाली राष्ट्रिय परिषद् सिक्किम, गोर्खाली सुधारसभा देहरादून, हिन्दी साहित्य सम्मेलन इलाहाबाद, अल इन्डिया रेडियो खर्साङ आदिबाट सम्मानित भइसकेका छन् । कुमुदिनी होम्स उच्चतर माध्यमिक विद्यालय, कालेबुङमा अध्यापकको रूपमा रहेका सीताराम काफ्लेका गोजिका (निबन्ध, १९८४), अस्तित्वका कुराहरू (निबन्ध, १९९२), रचना विमर्श (निबन्ध, १९९४), विचार विकीर्ण (१९९५), विमर्श विमर्श (निबन्ध, २०१२), समयको अवसान (कविता, २०१२), मनस्वी (संस्मरण, २०२४), भारतीय साहित्यका निर्माता एम.एम. गुरुङ र हरिप्रसाद गोर्खा राईको जीवनी, व्यक्तित्व र कृतित्वका अध्ययन गरिएका लगायतका पुस्तकहरू प्रकाशित छन् ।

मनस्वी

सीताराम काफ्लेको मनस्वी संस्मरणात्मक कृति हो । भनिन्छ – जहाँ चाह त्यहाँ राह । जे जस्तो परिस्थिति आउँदै जान्छ, काफ्लेले परिस्थितिसित पौठेजोरी खेल्दै, कतै समस्याका जँघारहरू तर्दै यात्रालाई अगाडि बढाइरहेका छन् । अनेक रोचक घटनाहरूमा बाटाका पात्रसमेत सहयात्रा गर्न पात्र आइपुगेका छन् ।

यसमा गोजिका र यसको गर्भ, फुटे फाइदा अरूलाई, अभिनन्दनदेखि स्मृतिसम्म, पर्यवेक्षण एक : टिस्टा सुनकोशीको गढतिर, यो सम्झिने मन छ म बिर्सूं कसरी, समय अनि सकुरा कृति अवलोकन, मनदेवीको ललाटमा मुनामदन, जसले मह काट्छ, उसले हात चाट्छ मेरो टोपी कैलाशको शिरजस्तो, हस्त नेचाली : व्यक्ति एक व्यक्तित्व अनेक, केही विगत केही वर्तमान : युवराज काफ्ले, किरात कृतित्व दिवसमा विरिमफूलको रमझम, साधक सानुमतीबारे सानै कुरा, किरात र केही नमिलेका रेखाहरू, अकादेमीको सौजन्य : बद्रीनाथको यात्रा, अक्षर अभिलेखमा डा. जीवन नामदुङ, छङ्छङ् बग्ने खहरे खोला, गोर्खाका गौरव : महानन्द पौडेल र सम्झनामा किताबसिंह राई गरी २० वटा संस्मरण रहेका छन् ।

संस्मरण कृतिले अनुभव बाँड्छ । संस्मरण, व्यक्तिगत हुने भएका कारण लेखाइ व्यक्तिगत भावनामा केन्द्रित नै हुन्छ त्यसैले कसैले व्यक्तिगत भन्लान्, कसैले सामूहिक भन्लान्, ती अनुभव र विश्लेषणका विषय हुन् ।

* * * *

भारतीय साहित्यका एम. एम. गुरुङ

एम. एम. गुरुङको जीवनी, व्यक्तित्व र कृतित्व लघु अध्ययन गरिएको कृति हो ।  एम. एम. गुरुङ नेपाली लोकसाहित्यका प्रतिभाशाली लेखक हुन् । उनको जन्म सन् १८२६ मा दार्जिलिङको रङ्गीत चियाबारीमा भएको थियो । लेखन यात्रासँगै उनी सिन्कोना बगानका एक कुशल प्रशासक पनि थिए । स्वात्रन्त्रताको पूर्वदेखि नै लेखन क्षेत्रमा प्रवेश गरेका गुरुङले दशभन्दा अधिक लोक साहित्यमा आधारित कृति दिएका छन् । दियालो स्वर्णपदक सन् १९७२, भानु पुरस्कार पश्चिम बङ्गाल सरकारबाट सन् १९८१, अतिरिक्त बिर्सिएको संस्कृति निबन्धमा उनले सन् १९८२ मा अकादेमी पुरस्कार प्राप्त गरेका थिए । मौलिक लेखनअर्न्तगत विशेषगरि कथा र निबन्ध उनका लेखन विधा रहेका थिए । दुई पटकसम्म साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक रहेका थिए । सन् २००४ मा सिक्किम सम्मान सम्मेलनमा सिक्किम सरकारबाट साहित्यिक मासिक पेन्सनका हकदार पनि बनेका गुरुङको निधन १८ जनवरी २०१४ मा भएको थियो ।

यस कृतिमा एम. एम. गुरुङको जीवनी, व्यक्तित्व र कृतित्व, कथासङ्ग्रह : टिस्टा बग्छ सधैँ जस्तो, कथा सञ्चयन घर संसारमा एम.एम. गुरुङ, बिर्सिएको संस्कृति एक विवेचना, एम. एम. गुरुङका फुटकर रचनाहरू र एम. एम. गुरुङ स्रष्टा र मूल्याङ्कन गरी ७ खण्डमा कृति तयार गरिएको छ ।

* * * *

भारतीय साहित्यका हरिप्रसाद ‘गोर्खा’ राई

हरिप्रसाद ‘गोर्खा’ राईको जीवनी, व्यक्तित्व र कृतित्व लघु अध्ययन गरिएको कृति हो । हरिप्रसाद ‘गोर्खा’ राई नेपाली असमीया र पूर्वोत्तर जनजातीय भाषामा समान रूपले कलम चलाउने बहु आयामिक स्रष्टा हुन् ।

हरिप्रसाद राई अध्येता, निर्भीक सर्जक, अनुवादक र भाषा सङ्ग्रामीसमेत हुन् । पूर्वोत्तर भारतमा नेपाली साहित्यमा शीर्ष मानिने राई मूलत : सामाजिक यथार्थवादी र स्वच्छन्दतावादी कथाकार हुन् । उनले कथा, नाटक र कविता विधामा विशेष योगदान दिएका छन् । उनका चर्चित सिर्जनामा गोर्खाको मोडेल, नागाहु हुकी, क्याम्प उठ्यो आदि रहेका छन् । उनका कृतिहरूमा यहाँ बदनाम हुन्छ (१९७४, कथासङ्ग्रह), बाबरी (१९७४, कवितासङ्ग्रह), मनचरीको बोली (१९७८, कवितासङ्ग्रह), डा.जीवन नामदुंगको सम्पादनमा हरिप्रसाद गोर्खा राईका कथाहरू (१९७४) प्रकाशित छन् ।

यस कृतिमा सर्जकका रूपमा, क्याम्प उठ्यो एक विवेचना, कथासङ्ग्रह यहाँ बदनाम हुन्छ एक दृष्टि, बाबरी सङ्क्षिप्त विवेचना, गीताञ्जली र कविताञ्जली विमर्श, हरिप्रसाद गोर्खा राईका कथाहरू कृति आलोचना, स्रष्टा अनि दृष्टिकोण, प्राप्त सम्मान र पुरस्कारहरूलगायतका शीर्षकमा रहेर कृति तयार पारिएको छ ।

* * * *

समयको अवसान

समयको अवसान कवि सीताराम काफ्लेको कवितासङ्ग्रह हो । यस सङ्ग्रहका कवितामा बाल्यकाल र युवाकालको मर्म र सङ्घर्षका साथै गोर्खा जातिको परिचयको प्रश्न, जातीय पीडा, राजनैतिक मूल्यमान्यता र भरपर्दो नेतृत्वको आशालगायतका भाव रहेका छन् । स्वाधीन भारतमा आन्तरिक उपनिवेशवादको पीडा भोगिरहेको दार्जिलिङ डुवर्समा विगत लामो समयदेखि चलिरहेको आन्दोलन र असन्तुष्टिका अभिव्यक्ति कवि काफ्लेले कवितामा व्यक्त गरेका छन् ।

यस कवितासङ्ग्रहमा चेतनातरङ्ग, अपहरण, निर्वासनगीत, छुट्टिएर गइरहेछ मबाट, कानेगुजीहरू, दार्जीलिङ अचेल, समय, समयको नाटक, सपनाको लास, ऐँठन, हराएँ, अगस्त र हामी, हुकुम, नयाँ वर्षमा शब्द मीमांसा, हामी बुहारी झार, समयको अनुहार, नथाक्ने समय, बिहान, वियोगान्त एनिमेसन, कालेबुङ, अपराध, सम्बोधन, कञ्चनजङ्घा, लाटा कथालगायत ३६ वटा कविता रहेका छन् ।