
अहिले नेटफ्लिक्सको ‘एडोलसेन्स’ शृंखला निकै चर्चामा छ । चार घण्टा लामो यो शृंखला जो कोहीले पनि एकै झमटमा हेरिसिध्याउँछ । पहिलो कारण त, यसको प्रस्तुतिले, दोस्रो चाहिँ, त्यसको आतङ्कले ।
यसको कथासार यस्तो छः १३ वर्षको निर्दोष एउटा बालक छ, जेमी । उसले आफ्नै कक्षाकी साथी केटीको हत्या गरेको आरोप लाग्छ । यस हत्या आरोपले उसको परिवारमा कस्तो र कत्रो प्रभाव पार्छ भन्नेबारेमा यो शृंखला बनाइएको छ । यो शृंखला त्यसो त काल्पनिक हो तर यसका सर्जकहरूले यसलाई दैनन्दिन बेलायतमा घटेका घटनाहरूबाट प्रेरणा लिएको बताइरहेका छन् । खासगरी कलिलो उमेरका केटाहरूमा बढ्दो ‘भालेपन’को परिणाम के हुनसक्छ भन्ने सोचले यो बनाइएको सर्जकहरूको भनाइ छ ।
यो शृंखलाका लेखक स्टिफन ग्राहम हुन् । उनले यसमा किशोर जेमीको बुवाको भूमिका पनि निभाएका छन् । उनले यो कथा लेख्दा उनले एउटा सत्यकथालाई आधार बनाएका थिए । त्यो घटना घट्दा उनलाई लागेको थियो, यो एउटा दुर्लभ घटना होला । अब त्यस्तो नदोहोरिएला तर त्यसपछि पनि बेलायती स्कूलमा भालेपनका घटना त्यो पनि किशोरहरूमा, बढ्न थालेको पाए । त्यसपछि स्टिफनलाई लाग्यो, स्कूले बच्चाको यस्तो व्यवहार अझ बढी आक्रामक हुन थाल्यो भने केसम्म हुन सक्छ ? के कसैको हत्या नहोला ? हत्या भयो भने त्यसपछि घरमा साह्रै सोझो देखिने बालकका बाउआमाको जीवनमा कस्तो भुइँचालो जाला ? यस्तै सोचेर उनले कथा बुन्न थालेका थिए ।
पहिलो भागमा नै दर्शकलाई थाहा भइसक्छ, जेमी यो हत्या मामिलामा दोषी छ । प्रहरीले केटीको हत्यामा प्रयोग गरिएको चक्कुको दृश्य फेला पारिसकेको छ । जब प्रहरीले जेमी र उसका साथीहरुको सडक छेउको वेबक्याम पछ्याउँदै जान थाल्यो, साथीहरु छलेर उसले केटीलाई भेटेको भिडियो देखियो । सोही भिडियोमा उसले केटीको हत्या गरेको प्रष्ट हुन्छ ।
जेमीले केटीको हत्या त गर्यो साथमा ऊ दोषी पनि भयो तर मूल प्रश्न त बाँकी नै रहन्छ कि वास्तवमा उसले आफ्नी सहपाठीको हत्या किन गयो ? के कुराले उसलाई हत्याका लागि उक्सायो ? बाँकीका तीन भागमा तिनै प्रश्न उधिन्ने प्रयास ‘एडोलसेन्स’ शृंखलामा गरिएको छ ।
अन्य धेरै जसो परिवारजस्तै जेमीको परिवार पनि प्रेमिल छ । एक छोरा, एक छोरी तथा आमाबुवाको यो परिवार प्रेमिल छ । सम्पूर्ण रुपमा यो परिवारलाई आदर्श नै छ भन्न नसकिए पनि कयौँ कमजोरीका बाबजुद पनि अन्य परिवारको तुलनामा यो परिवार सुखी परिवार नै हो । जेमीको पिता अरुका घर मर्मत गर्छ । ज्यादै दुःख गरेर आफ्ना सन्तानहरु हुर्काइरहेकाले होला, उसलाई आफ्नो छोरो जेमीप्रति बढी नै अपेक्षा छ । छोरो खेलाडी बनोस् भन्ने जेमीको पिताको चाहना छ । तर जेमीले त्यसमा खासै प्रगति गर्न सकेन । त्यसपछि ऊ चित्रकार बन्ने इच्छा राख्न थाल्छ । छोरोलाई कसरी सहयोग गर्ने भन्ने भेउ जेमीको बाबुले पाइरहेको छैन ।
उता जेमीलाई विद्यालयमा हेपिन्छ, कुटपिट गरिन्छ । उसमाथि भएको अत्याचारका कारण ऊ एन्ड्रयु टाटे जस्तो बन्न चाहन्छ । टाटे पछिल्लो समय अनलाइनमा भालेपनको एउटा आदर्श हो । ऊ स्त्री जातिप्रति अनर्गल गाली गर्छ । उसको यो शैली केही युवालाई ज्यादै मनपर्छ । एउटा समूहमा ऊ निकै लोकप्रिय पनि छ । जेमीको आदर्श पनि टाटे हो भन्ने पछि बुझिन्छ ।
यो शृंखलाको तेस्रो भाग सबैभन्दा रोचक छ । त्यस भागमा युवा साइकोलजीस्ट ब्रायोनी आइपुग्छे । ऊ हत्याभित्रको पत्र खोतल्न खोज्छे । जेमीले के कारणले यस्तो ग¥यो होला भन्ने जान्न चाहन्छे । त्यसका लागि उसले प्रमाणका रुपमा ल्याएका केही तस्वीरहरु जेमीलाई देखाउँछे र त्यसको अर्थ सोध्छे ।
सोही अवधिमा ब्रायोनीलाई थाहा हुन्छ, जेमीले केटीलाई प्रेम प्रस्ताव राखेको थियो । जेमी लघुताभाषका कारण यति खुम्चिएको छ कि उसले आफूभन्दा कमजोर युवतीसँग डेटिङ गर्न चाहन्छ । त्यसैले केटीलाई उसले डेटिङको प्रस्ताव राख्छ । उसले केटीलाई किन कमजोर ठान्यो भन्ने कुरा पनि खुल्दै जान्छ । त्यसको कारण के थियो भने केटीले आफूले मन पराएको स्कूलकै एउटा केटोलाई आफू कूल देखिन आफ्नो स्तनको तस्वीर पठाएकी हुन्छे । उसको नांगो तस्वीर केटोले आफूमा मात्र सीमित नराखी अरुलाई पनि देखाउँछ । अनलाइनमा एक पटक गइसकेको तस्वीर चारैतिर डुल्न थाल्छ । स्कूले युवतीहरुबीच आफ्नो स्तनको तस्वीर खिचेर प्रेमीलाई प्रभावित वा आकर्षित तुल्याउने यो सामान्य चलन भइसकेको छ । यस्तो अवस्थामा केटीले पठाएको तस्वीर अनलाइनमा भाइरल बन्न पुग्छ ।
साथीहरुबीच भाइरल भएको तस्वीरमा धेरैले उसलाई ‘फ्ल्याट’ भएकाले अनाकर्षक मान्छन् । यसको अर्थ, केटीको स्तन विकसित भइनसकेको अवस्थामा ऊ अनाकर्षक छे भन्ने अर्थ दिन्थ्यो । जब केटीले मन पराएको युवाले पनि उसलाई नराम्रो भन्छ, यस्तोमा पक्कै केटी दुःखी होली भन्ने जेमीको सोच थियो ।
त्यसैले जेमीले केटीलाई डेटिङको प्रस्ताव राख्छ । एकान्तमा जेमीले राखेको प्रस्तावलाई केटीले भने सार्वजनिक गरिदिन्छे । सार्वजनिक पनि बेइज्जतीपूर्ण तरिकाले गरिदिन्छे । केटीले आफू डेटिङका लागि व्यग्र नरहेको बताउँदै जेमी नामर्द रहेको प्रतिक्रिया इन्स्टाग्राममा दिन्छे ।
यस्तो सार्वजनिक प्रतिक्रिया यति धेरै भाइरल बन्छ कि त्यसबाट जेमी तिल्मिलाउँछ र त्यसको बदला लिने ताकमा पुग्छ । र, एक दिन उसले मौका मिलाएर केटीको हत्या गर्छ ।
यो कथानक खुल्दै जाँदा साइकोलजिस्ट ब्रायोनीलाई समेत जेमीले पटक पटक अत्याउने गरी आफ्नो निर्दोष अनुहारभित्रको अर्को क्रूर पाटो पनि देखाउँछ । त्यतिञ्जेल प्रष्ट भइसक्छ, जेमी क्रूर र महिलाविरोधी मात्र होइन, भविष्यका लागि खतरनाक मान्छे बनिसकेको छ ।
इन्टरनेट बूमपछिका अवस्थामा महिलामाथि गरिने अनेकन् दुव्र्यवहार शारीरिकसँगै इन्टरनेटमा पनि पुगेको छ । साइबर दुव्र्यवहार अहिलेको समयको सबैभन्दा डरलाग्दो पक्ष छ । यो दुव्र्यवहारमा सहज पहुँचका कारण बालबालिकाहरु कति खतरनाक समयमा बाँचिरहेका छन् भन्ने पनि यो शृंखलाले देखाएको छ ।
इन्टरनेटमा अचेल ‘इन्सेल’ कल्चरको बाेलवाला छ । इन्सेल कल्चरबारे थाेरै जानकारी बटुल्नु पनि श्रेयस्कर हुनेछ ।
इन्सेल (Incels) कल्चर भनेको विशेषगरी अनलाइन समुदायमा फैलिएको एक प्रकारको सामाजिक र सांस्कृतिक प्रवृत्ति हो, जहाँ “इनभोलन्टरी सेलिबेट” अर्थात् जबरजस्ती ब्रह्मचारी व्यक्तिहरू समेटिन्छन्। यी व्यक्तिहरूले आफूलाई यौन सम्बन्ध वा प्रेम सम्बन्ध प्राप्त गर्न असमर्थ मान्छन्। इन्सेल कल्चरले सामान्यतया पुरुषहरूलाई समेट्छ, जसले आफ्नो असफलताका लागि महिलाहरूलाई दोष दिन्छन्। उनीहरूमा प्रायः यस्ता कुरामा समानता देखिन्छन्ः
-
आत्मदया र आक्रोश: इन्सेल समुदायका सदस्यहरूले अक्सर आफ्नो जीवनमा यौन र प्रेम सम्बन्धको अभावलाई गम्भीर समस्या ठान्छन् र यसलाई समाजको संरचनात्मक असमानताको परिणाम मान्छन्।
-
महिलाप्रतिको नकारात्मक दृष्टिकोण: धेरैजसो इन्सेलहरूले महिलालाई दोषी ठान्छन्, उनीहरूको आकर्षणको प्राथमिकता (जस्तै, शारीरिक सुन्दरता) पुरुषहरूको असफलताको कारण हो भन्ने विश्वास गर्छन्।
-
अनलाइन प्लेटफर्महरू: इन्सेल कल्चर प्रायः विभिन्न अनलाइन फोरमहरू र सोशल मिडिया प्लेटफर्महरूमा फैलिन्छ, जहाँ सदस्यहरूले आफ्नो विचार आदानप्रदान गर्छन्।
-
हिंसात्मक प्रवृत्ति: केही इन्सेल समूहहरूले हिंसात्मक विचारधारा अपनाउँछन्, जसले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ।
यो संस्कृति विवादास्पद छ र यसले मानसिक स्वास्थ्य, लैंगिक समानता र सामाजिक संरचनाको विषयमा गम्भीर बहस उत्पन्न गरेको छ।
सन् २०२२ मा गार्डियन पत्रिकामा प्रकाशित एउटा रिपोर्टअनुसार ७० प्रतिशतभन्दा बढी स्कूलका शिक्षिकाहरु आफ्ना किशोर छात्रहरुबाट दुर्व्यवहार भोग्ने गरेका छन् । सन् २०२४ मा कस्मोपोलिटन युके म्यागेजिनले छापेको रिपोर्टको शीर्षक थियो, स्कूल इन द एरा अफ एन्ड्रयु टाटे । पछिल्लो समय टाटेजस्ता स्त्रीविद्वेषी व्यक्तिको लोकप्रियतासँगै विद्यालयहरुमा छात्रा तथा शिक्षिकाहरुमाथि दुर्व्यवहार अचाक्ली बढेको छ ।
अस्ट्रेलियाको मनोस युनिभर्सिटीमा प्राध्यापन गरिरहेकी स्टेफनी वेस्कट पहिला स्कुले शिक्षिका थिइन् । त्यहाँ उनले सेक्सिज्म, यौन दुर्व्यवहार, मिसोजनीजस्ता कुरा दैनिक रुपमा कक्षाकोठामा भोग्नु परेको बताउँछिन् । बेलायतमा एन्ड्रयु टेटे बेलायतमा लोकप्रिय भए यता अस्ट्रेलियाका शिक्षिकाहरु समेत त्यस्तै समस्या झेलिरहेको बताउँछिन् ।
यसैलेलाई आधार बनाएर उनले एउटा शोध गरेकी थिइन्, जुन २०२३ मा प्रकिाशत भएको थियो । जसमा, कोभिड १९ को अवधिमा जब केटाकेटीहरु स्कूलको सोटो अनलाइनमा शिक्षा लिन थालेपछि उनीहरुको सारा दिमाग इन्टरनेटमा पोखिन थाल्यो । भनाइको अर्थ, विद्यालयमा हुने विभेद र शोषण अब इन्टरनेटमा गएर गालीका रुपमा परिणत हुन थाल्यो । उनीहरुले व्यक्तिलाई भेटेर गर्ने गालीगलौज र दुर्व्यवहार अब इन्टरनेटका माध्यमबाट गर्न थाले । उनीहरुलाई दुर्व्यवहार गर्न अझ सजिलो भएको शोधको निष्कर्ष थियो ।
पछिल्लो समय महिलामाथिका विभेदका कुरा उठ्नेबित्तिकै किशोरहरुमा संवेदनशीलता बढ्नुको साटो, यस्ता मिथकका कुरा किन सुन्ने वा पढ्ने भनेर सिधै नकार्ने प्रचलन बढेर जान थालेको छ । यो ज्यादै चिन्ताजनक कुरा हो ।
स्कूलमा यस्ता हेपाहा केटाहरुको संख्या दिनदिनै बढ्न थालेको छ । उनीहरुमा केटी साथीहरुप्रति संवेदनशीलता पटक्कै हुन छाडेको छ ।
किशोरकिशोरीहरुले आफ्नो हातमा चाँडै नै मोबाइल हात पार्ने भएकाले र इन्टरनेटको गञ्जागोलमा उनीहरुले यस्तो भुमरीमा चाँडै नै पर्ने भएकाले घरबाहिर उनीहरुमाथि के बितिरहेको छ भन्ने कसैले पनि चाल पाउन सकिरहेको छैन । त्यसैले किशोरकिशोरीहरुको दैनिक जीवन ध्वस्त हुन पुगिरहेको छ । उनीहरु ठूलो बोझ बोकेर हिँडिरहेका हुन सक्छन् ।
यसलाई रोक्ने एउटै मात्र उपाय भनेको, उनीहरुसम्म सामाजिक सञ्जाल र स्मार्ट फोनको सहज पहुँच घटाउनु हो । सकेसम्म रोक्नु राम्रो, नसके पहुँच अवधि घटाउँदै जानु राम्रो हो । यसो गरे किशोरकिशोरीहरुको अबोध र निर्दोषपना जोगिन सक्छ ।
‘एडोलसेन्स’ले हामीलाई यही पाठ सिकाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

