आज माघे सक्रान्तीको दिन । बाहुन–क्षेत्रीबाहेक अरु जातको लागि निकै नै ठूलो चहाड । प्रकृतिले पनि रमाइलो मानेजस्तो छ । सामुन्नेको हिमालदेखि ओलाङ गाउँको माथि लेकँ ढाँडेको लेकसम्म पनि सेतै हिउँ टल्केको छ । तीन चार दिन हिमारी हालेथ्यो । दिनरात अँध्यारो भएथ्यो । यसैले चाड बिग्रने डर थियो । तर हिजो बेलुकादेखि अलिअलि उघ्रेको थियो । आज त स्वच्छ निर्मल आकाश । हिमालमा सूर्यकिरण पर्दा धूर्वाको मुस्लोजस्तो बादल आकाशतर्फ गएको कति सुन्दर । तीन चार दिनको हिमारीले कठयाङ्ग्रेका गाई बस्तु घामको झुल्केको फुकाइएका छन् । घरघरका पिँडीमा आँगनमा बालक र बृद्ध घाम ताप्ने तरखरमा छन् । काम गर्न सक्ने जस्ता पनि यतिका दिनपछि देखिएको घामको मुख हेर्न चुकेका छैनन् । हली र रोपार लागेकाहरूले आफू बसेका साहूका घरबाट खिचडी र फुर्यैलाको भाग आश गरेका छन् । तर आफ्नो जातअनुसार सिकार खाने र कान तातो पार्ने पानी पिउने काममा मस्त छन् । रंतेल कान्छोजस्तो नाइके, मक्राती बूढाजस्तो थकाली भएका छापस्वाँरा गाउँमा आजको दिन विशेष चहल पहल नै हुने भयो । रंतेल कान्छाको घरमुनिको ठूलो गरामा भकारी ओछ्याएर शिकारको भाग लगाउन थालिसकेका छन् गाउँका ठिटाहरू । नजिक आगो बालेर बक्खु रंतेल कान्छो र कक्राती बूढा “ यो भाग थोरै भो, त्यै भाग जोख, ऊ छेवैको भागमा मासु कम बोसो बढी भो ” भन्दै छन् । आ–आफ्ना भाग लिन आएका लोग्ने मानिस स्वास्नी मान्छेको संख्या चालिस पचासमा कम छैन । साथमा रमाउँद्यै आएका नाङ्गाभुतुङ्गा केटाकेटीले गर्दा त सानोतिनो हाटबजारै जस्तो भएको छ । केप्नू, सानीगाउँ, खरीबोट , भञ्याङ्सम्मका पनि आफ्ना जात मिल्दा दोस्ती दौँतरीलाई रंतेल कान्छाले जो पुग्ने भाग नदिई रित्तै हात फर्काउने चलन छैन । बरु जो सकेको कानताते पार्ने पानी “ खै कैले पुग्छ मनमनितो गर्न, मनमात्र भएर नहुँदो रहेछ धन पनि चाहिने रहेछ” भन्दै दुई चार जना भलाद्मीको अगाडि राख्दै छ । एक दुई घुट्को खाँदै शिकारको भागमा पनि छड्के आँखा लगाउँदै सबै जान्नेसुन्ने जस्ता रंतेल कान्छासँग कुरा गर्दैछन् । दुई रुपियाँसम्मका मासुका भाग पनि ठूला ठूला देखेर भज्याङी खिन्ते रंतेलले भन्यो “ हैन कान्छादाइ यसचोटि त त फर्सीभन्दा नि सस्तो पारैचौ जस्तो छ नि, फेरि मोटो नि औधी नै रच । हेर बोसाका फल्सा । हैन उडन्ता कुरा तँ घले अन्तरेको ढाडै सेक्यौ रे भन्छन् । तैपनि कति पर्यो सुन्न हुन्छ भने सुनौँ न ।”

मामा पर्ने भज्याङी बयलकोटी जेठोसँग दुःख सुखका कुरामा रंतेल कान्छाले खिन्ते रंतेलको कुरा सुनेको नसुनै गर्यो । तल्लय भएजस्तो अनुहार लगायो आफ्नै कुरामा आफ्नै कुरामा । तर बयलकोटी जेठालाई नराम्रो लागेछ क्यार खिन्ते रंतेलतर्फ फर्केर भन्यो “हैन ठाउँ कुठाउँ जे पायो त्यही गफ गर्ने । भात्तजाले सस्तोमा ल्याएर पो भञ्जाङदेखि लखार्दै आइस् तँ मोरो यहाँ । जान त मोरो तेल लगाएर घले अन्तरेको ढाड सोझ्याउन । लैजा त मासु ? रंतेल बूढालाई बोलाएर म खुवाउँला म बरु । तेरा सन्तान स्वास्नीलाई ख्वान कटेरामाथिको फर्सी ।”

खिन्ते रंतेलले कालोनीलो मुख लगायो, सोच्दै नसोचेको हप्काइले गफ ठट्टा गर्न खोजेको त उल्टो पो परेछ । बाबुजस्तो बयलकोटी जेठाले हप्कायो । असाध्यौ सुधो भनी कहालाएको बयलकोटी जेठाले । खिन्ते सन्न भयो । किच्च गर्यो । अरु बोल्न सकेन । लोभिँदा आँखा कर्के पारेर मासुका भागतिर हेर्यो । अनि मायालाग्दो मुख लाएर हेर्यो, रंतेल कान्छाको मुखमा ।

रंतेल कान्छाले सब बुझ्यो । वातावरणको गाभीर्य । अनि हाँस्तै भन्यो “छिः है के गाली गर्नुभाको मामा, यो साहिँलालाई । त्यै नि चाडबाडको दिन । गफ ठट्टा गरेको पो यसले । सस्तो पार्यो दाजुले शिकार भनेर खुसी पोख्या पो । तँलाई सुन्न मन लाग्यो साइँला कसरी सस्तो पर्यो भन्ने लौ सुन् ।”

“ परार बर्खामा अकिालले खेत रोप्न नपाका बखताँ लौसीबोटे दगुर्ने घिम्रले घले अन्तरेकाँट त्यही माघे स्रकान्तीमा तिर्ने भाका गरी कोदो लग्या रच । बैशाखसम्म नि तिर्न नसकेपछि घले अन्तरेले पोहोर जेठ लाग्दै यो भैसी ल्याएछ, लाग्दै कात्किाँ ब्याउँच भनेर भैँसी ब्याउन त परै जावोस् यो कात्तिक मङ्सिरमा नि बालीसम्म नि गएनच । ब्याउँच भनेर पोस्या भैँसी मात्तिएर अर्नाजस्तो भएछ । एकदिन अन्तरीलाई नै हानेच । गुरुङको एकोहोरो रिस न हो, उसैदिन कटुवामा दिन खोजेथे । तर घरकी माउले नमानेर राखिचन् । उता आफूले लिएको सरसापट तिर्नुपर्ने अड्को पनि पर्या रच । चोटे मान्छे अन्तरे । खरीबोटे पोख्रेल जेठाले बीसौटा रुपियाँमा निकै राम्रोसँग भनेछन् । त्यही दिन म अन्तरेकाँ पुगेचु । मुसमुसे गन्ध बुझौँ । कतिमा दिन्छन् होला । चाड आयो भनेर गाको यसो कुरा गर्दा त पचासोटा रुपियाँ हाता हाती अरु उधारो भए सोर बीसमा दिन्चु भने ।

मैले नि एकसय हाता हाती दिन्चु मोल बार बीसे दस भो भन्दिहालेँ अन्तरी त हुन्न हुन्न भन्दै थिइन् । यसैले चोट परेको गुरुङ दिहाले । यसैले लुटै पर्यो साह्लिा सस्तोको त के कुरो ।

“ तपैँका बुद्धिले ल्याको । एक एक सय रुपियाँ हाताहाती दिनु भन्या सानो हो नि । हामीले खोज्दा एक एक पैसा पाउँदैनौ ।
कसरी जोहमेस गरेर हाताहाती एकसय गन्नुभो होला हरि हरि ! अनि भाग कति रुपियाँको लाउन आट्नुभयो नि । यस्तौ तीस चालिस नखाए कस्ता खानी भन्जयाङी बयलकोटी ज्येठाले रंतेल कान्छाको प्रशंसा गर्दै भन्यो ।

“ आ ! इमान भएपछि जसले नि पत्याउँदो रच । ओलाङी पुड्के तामाङको छोरो ज्येठोले लाहुरबाट आरच । गएर भन्यो । सक्रान्ति मान्न मलाई नि पर्याच । बैशाख लाग्दो सक्रान्तिमा हाम्रा बाबुलाई सापटी नै दिनू । सस्तो पार । बीस रुपियाँको मलाई नै पठाइदिनू भने । खाँचो टरिहाल्यो । भाग पनि धेरै लाछैन । पन्ध्रवटा रुपियाँको बढी लगाचु त्यो नि आफैँले खाने हैन । तिनै पञ्चाइसका सदसे भन्नेलाई मुख बुझो लाउन । आफू बाख्रो काट्चन, भैँसी नि काट्चन् । हाम्ले काट्यो, फेरि मुखबुजो नलाई सुख छैन ।”