आज शनिबारको दिन, साहित्यपोस्टमा फिल्म या कलामाथि चर्चा गर्नुपर्ने दिन हो । तर अचानक यहाँ उपन्यास रेइजिङ भ्वाइसका बारेमा कुरा उठान किन गरिँदैछ ?

त्यसका लागि पाठकहरूलाई केही धैर्य गर्न आग्रह गरिन्छ ।

अहिले बजारमा रेइजिङ भ्वाइस उपन्यासमाथि बनेको नेटफ्लिक्सको शृंखलाको निकै चर्चा छ । यो एउटा स्पेनी टीन ड्रामा हो । यो शृंखला गएको ३१ मेमा नेटफ्लिक्समा प्रिमियर भएको थियो । यसले यौन दुर्व्यवहार र अन्यायविरूद्ध बोल्न युवा महिलालाई संघर्ष गर्न प्रेरित गर्छ ।

यसको कथा छोटकरीमा बताइहालूँ, एउटी १७ वर्षीया विद्यार्थी आल्मा छे । ऊ स्वतन्त्र विचारकी छे । भर्खरै जवानी फुटेको छ । त्यसको प्रभावले ऊ न त साथीहरूको कुरा सुन्छे, न त परिवारकै । ऊ लुकीलुकी आफ्नो मजाका लागि धूमपान गर्छे, डिस्को जान्छे । साथीहरूसँग रमाइलो गर्छे ।

उस्को नियन्त्रणबाहिर पुगिसकेको व्यवहारप्रति उसका बाबुआमा चिन्तित छन् । उनीहरूको प्रायः झगडा भइरहन्छ । ऊ आफ्ना बाउआमासँग कुनै काम नपरी बोल्दिन । कामको अर्थ, पैसा चाहिएको बेला मात्र ऊ बोल्छे । पैसा माग्छे र मस्त पैसा उडाउँछे । यस्तो व्यवहारबाट उसका बुवाआमा निकै चिन्तित छन् । जब छोराछोरीहरू बाबुआमासँग राम्रोसँग संवाद गर्दैनन्, आफूलाई बुझाउन सक्दैनन् त्यो बेला परिवारमा सँगै भएर पनि कति दूरीमा हुन्छन् उनीहरू भन्ने यसले देखाएको छ । छोरीका कारण बाबुआमाका अनिदा रात, चिन्ता र अनेकन् आशंकाका बीच कसरी उकुसमुकुस हुन पुग्छन् भन्ने पनि कथा यसमा देखाइएको छ।

छोरीको स्वच्छन्द व्यवहारका कारण एक दिन अचानक ऊ बलात्कृत हुन्छे । छोरीमाथिको वज्रपात बाबुआमाले बुझ्न सक्दैनन् र उसमाथि अझ बढी मानसिक र शारीरिक यातना दिन्छन् ।

लेखक मिगुएल साएज करेल

भित्रभित्रै घुटघुटिएर मर्नुभन्दा आफ्नो मुख खोल्नु उचित ठान्छे र आफूमाथिको बलात्कार घटना प्रहरीलाई रिपोर्ट गर्ने साहस गर्छे । ऊ पढ्ने स्कूलमा “सावधान! यहाँ एक बलात्कारी लुकेको छ” भन्ने ब्यानर टाँस्छे र यसले उसको जीवनमा उथलपुथल ल्याउँछ । यस कदमले उसको सम्बन्ध, प्रतिष्ठा र भविष्यमै गहिरो प्रभाव पार्छ।

आल्माको साहसले उनका साथीहरू ग्रेटा र नटालियालाई पनि आफ्नो विद्यालयभित्रको विषाक्तता र दुर्व्यवहारको सामना गर्न प्रेरित गर्छ। यो कथा न्यायको लागि लड्ने साहस, एकता र गलत कुराको विरुद्ध आवाज उठाउने शक्तिलाई उजागर गर्छ।

श्रृंखलाले यौन हिंसा र पीडितहरूले सामना गर्ने सामाजिक आलोचनाको कठोर यथार्थलाई उजागर गरेको छ । यसले दुर्व्यवहारको बारेमा मौनता तोड्नुको महत्त्वलाई जोड दिन्छ । न्यायका लागि आवाज उठाउन सामाजिक सञ्जालको भूमिकालाई पनि देखाउँछ।

उपन्यासले उठाएको विषय, यसले बुझाउन खोजेको भावनात्मक गहिराइ र सामाजिक सन्देशका लागि प्रशंसा गरिएको छ। उपन्यासमाथि बनेको शृंखलामा भने केही समीक्षकहरूले कथाको सामान्यीकरणमाथि आलोचना गरेका छन्।

श्रृंखलाले मिगुएल साएज करेलको उपन्यास Ni Una Más (रेइजिङ भ्वाइस) लाई निकै नजिकबाट पछ्याउँछ। उपन्यास वास्तविक घटनामा आधारित नभए पनि धेरै महिलाहरूले सामना गर्ने सामान्य अनुभवलाई उपन्यासले प्रतिबिम्बित गरेको छ ।