कस्तो अफसोच ! जीवनको परिचय पाएको दिन नै अन्धकारबाट आरम्भ ।आज पनि स्मृतिका ती पानाहरू पल्टाएर हेर्दा मैले धेरै पटक आँशु बहाएकी छु ।कयौँ चोटि त जीवनको अर्थ नबुझेरै पनि बहाएकी छु । लौकिक जीवनको अनित्यता र जीवनको क्षणभङ्गुरताको बोध गर्न नसकेको बेलामा नै मैले बाबाको अन्तिम बिदाई गर्नु परेको थियो । सायद बोध गर्न सकेको भए मृत्यु मेरा निम्ति समाप्ति नभएर निरन्तरता हो भन्ने लाग्न सक्थ्यो । बाल्यकालका धेरै कुरा त त्यसै बिर्सिएर पनि जान्छन् तर केही चाहिँ एकदम स्पष्ट भएर स्मृतिमा सिमेन्टझैँ जमेर बस्दा रहेछन् । यसो त मानवजीवनमा प्रायः यस्ता अँध्यारा पक्षहरू आउने गर्छन् जुन भोक्तालाई मात्र थाहा हुन्छ ।

म सानो छँदा बाबाले महायात्रा प्रस्थान गर्नुभयो । बाबाको धमिलो आकृतिसमेत मेरा आँखामा टाँसिन पाएको थिएन । भर्खर भर्खर बाबालाई चिन्न र पितृस्नेहमा रमाउन थालेकी थिएँ । तैपनि मृत्युको अर्थ नबुझेको त्यो अबोध पलले जति बनाउनु पर्ने हो त्यति संवेदनशील भने बनाउन सकेन त्यतिबेला । जीवनमा यस्ता क्षणहरू आउँदा रहेछन् जसले मनलाई स्तब्ध बनाउँदो रहेछ ,मानूँ थामिँदो रहेछ ।

यो नाशवान् शरीरभित्रको कुन ठाउँमा प्राणतत्व रहेको हुन्छ र त्यसले मान्छेलाई सजिव तुल्याउँछ ? फेरी त्यो कुन अवयव हुँदै बाहिर निस्कन्छ र शरीर पार्थीव बन्छ ? यो कुरा पनि आधुनिक विज्ञानले भेटेको छैन । शरीर नित्य र आत्मा अनित्य छ भनिरहँदा केही ढुक्कको महसुस भने हुन्छ नै अन्यथा मानिस झन मृत्युदेखि कति कहालिँदो हो । सायद यस पृथ्वीमा मान्छे नै सबभन्दा कमजोर प्राणी हो । ऊ मृत्युसँग सध्रैँ भयभित भइराख्छ । यद्यपि मानिसलाई थाहा छ कि जन्मसँगै आएको मृत्युलाई उसले कुनै पनि क्षणमा नस्वीकारी उपाय नै छैन ।

शान्ति शर्मा

त्यो समय २०३९सालको साउनको महिना थियो । आकाश बादलले डम्म ढाकेर भारी वर्षात होलाजस्तो देखिन्थ्यो । मानिसहरू सबै आआफ्नै काममा व्यस्त थिए । प्रकृति रुग्ण बनेकी थिइन । समय आफैँमा अलि नरमाइलोजस्तो लागिरहेको त्यसमाथि पनि घरमा रूवाबासी चलिरहेको थियो ।सबैको अनुहार पालैपालो हेरेँ कसैका आँखा ओभाना थिएनन् । सबै मौन देखिए पनि शोकको पोखरीमा डुब्दै उत्रदै गरेझैँ लाग्यो ।

मान्छेले देह त्याग गर्दा पनि घरमा निकै चहलपहल पो हुँदोरहेछ तर त्यो एकदम मौन एकदम शून्य । घरमा धेरै मानिसको चहलपहल हुँदा मेरो केटाकेटी मन त्यसैत्यसै फुरुङ्ग पर्यो , लाग्यो घरमा ठूलै कार्यक्रम हुँदै छ । घरमा कोही नयाँ मान्छे देख्नेवित्तिकै खुरुरु भित्र पसेर नयाँ कपडा लगाउने मेरो केटाकेटीपन भएकोले यस पटक पनि आमाले भर्खरै ल्याइदिनुभएको नयाँ जामा लगाएर फर्याकफुरुक गर्दै बाहिर निस्केँ सबैले आफूलाई हेरिदिएहुन्थ्यो जस्तो लागे पनि कसैको आँखा ममाथि परेनन् तैपनि एक किसिमको उमङ्ग भने मभित्र सजिव थियो । के थाहा भयो र मलाई त्यतिका मान्छेको चासो मतिर नभई बाबातिर नै छ र उनीहरू आएका त बाबाको अन्तिम बिदाई गर्न पो हो भनेर ।

यो काल भन्ने कुरा पनि अचम्मै , न त यसले कसैको आर्तनाद सुन्दो रहेछ न त एकछिन रोकिँदो रहेछ । कताबाट आयो , कसरी बाबाको त्यो प्राण खैँचेर लियो कसैलाई पत्तो भएन । थाहा हुँदो हो त मेरो घरमा ओइरिएका त्यतिका मान्छेले घोचो लिएर लखट्थे होलान् अथवा बाबालाई कतै थुनेर राख्दा हुन त्यसले नदेख्ने गरेर ।

सोचेँ , कतै आमा रुँदै गर्दा फुस्स सास गयो भने हाम्रो के हविगत होला ?

आश्चर्य लाग्दो छ यो मानवजीवन् । कसैले मर्ने अभीष्ट हुँदा पनि मर्न नपाउने ,बाँचूभन्दा पनि बाँच्न नपाउने । इच्छामृत्यु हुने भए ती दोबाटोमा अलपत्र अवस्थामा भौतिक शरीर घिसारेर बाँचेकाहरूको कति मर्ने इच्छा हुँदो हो । एउटा अदृश्यशक्तिमा अडेको छ यो संसार । आफ्नो उमेर आफैँले जीउन पनि नपाउने कस्तो अपराध ! बाबाको प्राण मूलभूत ब्रह्मसत्तामा लीन हुन पुगेछ जसरी पानीका लहरहरू नदीमै विलय हुन्छन् । उहाँले मृत्युरुपी बन्धनबाट छुटकारा पाइसक्नु भएकोले पार्थिव शरीर आँगनको छेउमा रहेको तुलसीको मठ नजिकै सुताइएको थियो । आमाका आँखाबाट आँशुका खहरेहरू बगिरहेका थिए तर बाबा मस्तसँग सुतेजस्तै आनन्दमा । आमा निदाएको बाबालाई घच्घच्याउँदै उठाउन खोजेजस्तै कस्तो असाधारण दृश्य ! म छक्क परेँ ,मानिसहरू राम्रोसँग बोलेका थिएनन् । बेलाबेलामा आएको आवाज मैले बुझिनँ र थोरै बुझेर कुनै अर्थ नै निकाल्न सकिनँ ।

बाबाले अघिल्लो साँझमा नै अन्तिम सास फेर्नु भएको रहेछ रातमा शब उठाउन नमिलेर आँगनमै राखिएको थियो । त्यसै रात म कौसीबाट खसेछु तर भगवानको कृपाले केही भएन । म उठ्दा बाबाको प्राणपखेरु उडीसकेको रहेछ । “ मेरो राजा मलाई एक्लै छाडेर नजानुस मेरो प्राण ” भन्दै बिहानीपख आमाले बाबाको छातीमा आफ्नो टाउको मडार्दै कोहोलो हाल्नुभएको वाक्य मेरो स्मृतिमा अझै ताजै छ । मनमनै लाग्यो बाबाले आमालाई छाडेर कहाँ जान लाग्नुभएको छ र आमा यसो भन्दै हुनुहुन्छ ? उहाँ त बेस्सरी थाकेजस्तै गरी आराम गरिरहनुभएको छ । फेरि बाबा नहुँदैमा आमा कसरी एक्लै हामी छोराछोरी छैनोँ र ? तर यतिबेला बुझ्दै छु म आमा साँच्चै एक्लै हुनुहुँदो रहेछ । सबैका आँखा रसाएका देखेर म पनि रोएँ । बाबा बितेको दुःखले भन्दा पनि सबै रोएकाले म रोएँ ,त्यो भन्दा पनि बढी आमा रोएको असह्य भएर रोएँ म तर हाम्रो मुख हेरेर आफूलाई सम्हाल्नुस् आमा भन्न सक्ने बुद्धी पनि भएन ममा त्यतिखेर । त्यसो भन्न जानेको भए पनि आमा कति थामिनुहुन्थ्यो होला ! म रोएको देखेर नरोएकाहरू पनि रोए । त्यो ठूलो रुवाबासीको माझमा मैले गरेको घुँक्कघुँक्क त कता हरायो ,कता हरायो । म भक्कानिन थालेँ । सबै मानिस रमिते बन्दा रहेछन् त्यतिबेला ।

मरेपछि त मान्छेको शरीर कति दरो पो हुँदो रहेछ अनि भारी पनि । तीन/चार जनाले उचालेर बाँसको भर्याङजस्तै देखिने वस्तुमाथि बाबालाई राखेपछि मेरो मन थामिनै सकेन । दाजुले आफ्ना कोमल काँधमा सकिनसकि राख्नुभयो । कठै ! त्यो आँख्लैआँख्ला परेको बाँसले कति घोच्यो होला ? बाबालाई असाध्यै नरम विस्तारा चाहिन्थ्यो भनेर आमाले भन्नुभएको कुरा सम्झन्छु म । उता आमा उस्तै रुँदारुँदै अर्धचेत अवस्थामा । सोचेँ , कतै आमा रुँदै गर्दा फुस्स सास गयो भने हाम्रो के हविगत होला ? यो कल्पनातित कुराले मेरो मन छटपटियो विपत्तिको समयमा अनर्थ मात्र लाउँदो रहेछ यो मनले पनि ।

बाबाको मृत्युको सजाय त आमाले पो पाउनु हुँदोरहेछ । एकै छिनमा हातभरिका चुरा झर्यामझुरुम्म पारेर फुटाएछन् अनि सिउँदोको सिन्दूर पखालेर सेतो कपडामा आमालाई विरुप पारेर ल्याए । बाबा बितेको घटनाले भन्दा पनि आमाको रुपै बिग्रिने गरी गराइएको त्यो पहिरनले मलाई मर्माहत बनायो । म यतिबेला गहिरिएर सोच्ने गर्छु आमाको नैसर्गिक अधिकार किन खोसियो त्यतिबेला ? राता कपडा र चुरा त आमाले बाबासँग बिहे गर्नुभन्दा पनि पहिलेदेखि लगाउनु भएको होला नि ! बाबाले दिनुभएको त केबल सिउँदोको सिन्दूर र गलाको पोते मात्र न हो । त्यति नै खोसे हुने नि । हो , आज मलाई यिनै कुराहरूले भित्रैदेखि कोपरिरहन्छ । म भित्रभित्रै पिरोलिन्छु । एउटी नारीलाई पति गुमाउनु कत्रो ठूलो नाश रहेछ जीवनमा । कत्रो भीषण हानी हो त्यो । कत्रो चोट ।

म तिमीहरूलाई कहिल्यै दुःख दिने छैन यो मेरो वाचा भयो ।” त्यस दिनदेखि त मलाई अब हाम्रो सर्वस्व भनेको नै दाजु हुनुहुन्छ भन्ने लाग्यो ।

केही बेरपछि बाबालाई लिएर गएका मानिसहरू फर्कन थाले । सबैलाई एक/एक गर्दै नियाल्दै गएँ । उफ् दाजु पनि उस्तै विरुप बनेर आउनुभयो । कपाल सबै खुइल्याएर मुडुलो टाउकोमा सेतो फेटा ,सेतै धोती , खाली खुट्टा अनि हातमा चरेसको अम्खोरा । दाजुलाई देखेर मेरो आङ सिरिङ्ग भयो तर बोल्न सक्ने हिम्मत भएन । बाबा बितेपछि दाजुले हामीलाई सम्झाउँदै भन्नुभएको थियो,“तिमीहरूको बाबा भने पनि दाइ भने पनि म नै हुँ । म तिमीहरूलाई कहिल्यै दुःख दिने छैन यो मेरो वाचा भयो ।” त्यस दिनदेखि त मलाई अब हाम्रो सर्वस्व भनेको नै दाजु हुनुहुन्छ भन्ने लाग्यो । त्यसपछि एउटा हलुको निश्वास मेरो मुखबाट निस्क्यो ।

बाबालाई गुमाएको दिन नै मेरो जीवनको सबैभन्दा दुःखद ऐतिहासिक दिन बन्न पुग्यो । जुन दिनमा मैेले मलाई यस धर्तीमा अवतरण गराउने दुई ईश्वरमध्ये एकलाई गुमाएकी थिएँ । जसको वास्तविक रुप यस्तै थियो भनेर सम्झने शक्ति ममा रहेन । भन्छन् , जीवन अज्ञानमा भोगिँदै जान्छ । भोगका क्षण बित्दै गएपछि तिनका सम्झनामा भोगको ज्ञान हुँदै जान्छ । अनुभव अज्ञानमा पनि प्राप्त हुँदो रहेछ ा बाबाछोरीको सम्बन्धको भावालोकमा एउटा घटनालाई भोग्यो मेरो जीवनले पनि । बाबाको मृत्यु त्यस्तै एउटा घटना थियो । हुन त बाबाको के दोष थियो र मेरो दुर्भाग्यका लागि । आखिर उहाँ त जानु नै थियो । उहाँले मलाई जन्म दिनुभयो तर कर्म गर्नका लागि मैले दर्बिलो पाइला नटेक्दै छाडेर जानुभयो । नियतिले मलाई टुहुरी बनायो । बाबाको स्नेह राम्रोसँग भोग्नै पाइनँ । पितृस्नेह जागृत हुन नपाउँदै सुषुप्तमै बिलाएर गयो । मेरो बाल्यकालको भावनामय जगतमा घटेको सत्य घटना हो यो जसलाई आज यति समयपछि स्मृतिको दुरबिनबाट नियालिरहेकी छु ।

मान्छेभित्र परमात्माको अंश हुन्छ भनेर विद्वानहरूले जति प्रवचन दिए पनि ती सबै विस्मृतिमा हुन्छन् क्यारे नत्र किन मान्छे मृत्यु निश्चित छ , नाङ्गै जन्मिने नाङ्गै मर्ने हो भनेर । वास्तवमा हामीले जेलाई आफ्नो मान्दै आइरहेका छौँ ती अत्यन्त तात्कालिक वा क्षणिक रहेछन् भन्ने कुरा मैले बाबाको मृत्युबाट नै बुझेँ । नत्र आमाले आफ्नो मानेर सर्वस्व सुम्पिएको मान्छे किन आमाकै लागि बन्न सक्नुभएन सधैँभर ?त्यतिबेलाको बाबाको मृत्युको स्मृतिले आज पनि मलाई उसरी नै कोपरिरहेको छ ।

आत्माका तुलनामा भौतिक शरीर क्षणभङ्गुर छ । यो सपना स्वरुप छ ।

गीतामा भनिएको छ,—यो व्यष्टि आत्मा कहिल्यै नफुट्ने ,नडड्ने ,नभिज्ने र नसुक्ने खालको छ । यो आत्मा सँधै रहिरहन्छ ,सर्वव्यापक छ त्यसैले सूक्ष्म आत्मा अविकारी भए पनि यो भगवान्को वा परमात्माको बराबरी कहिल्यै हुन सक्दैन ।शरीर आत्माको परिधान वा लुगाजस्तो हो । आत्माका तुलनामा भौतिक शरीर क्षणभङ्गुर छ । यो सपना स्वरुप छ । यसरी आत्मा अजर अमर छ भनिरहँदा म कल्पन्छु —मेरो बाबाको आत्मा कुन ठाउँमा कसरी अवस्थित होला अनि कति अतृप्त चाहनाहरूमा भड्किरहेको होला । हुन त म आत्मा अमर छ भन्ने कुरामा पनि त्यति अर्थ देख्दिनँ किनकी अमर नै भए पनि त्यो आत्माले के गर्न सक्यो त ? त्यसले आमाका पीडा कति शमन गर्न सक्यो ? के आधार बन्यो आमाको एक्लो जीवनका लागि ?बरु आमा हरेक पूण्यतिथिमा एक झोला सामान बोकेर नारायणी नदिको किनारमा जानुहुन्छ र विश्वास गर्नु हुन्छ बाबाको नाममा पिण्ड चढाउनुमा । बाबाको परिचयका लागि आमाबाहेक अर्को आधिकारिक माध्यम देख्दिनँ म । आमा नै बाबाको आधार बन्नुभयो र बनिरहनु भएको छ ।

जीवनका केही महत्वपूर्ण क्षणहरूमा मैले बाबा गुमाउनु परेकोमा गम्भीर अभाव अनुभूत गरेकी छु पहिलो पटक प्रवेशिका उत्तीर्ण भएको खुसी आमासँगै बाबालाई बाँड्न नपाउँदा पिरोलिएँ म भित्रभित्रै । आफूसँगैका साथीहरू बाबाको हात समातेर बजार डुलेको देख्दा आँखा त्यसै रसाएर आउँथे । त्यसपछि जीवनकै सुखद ऐतिहासिक पल सिउँदो रङ्गिएको क्षणमा मैले बाबाको अभाव महशुुस गरेँ । यसरी नै जिन्दगीका आरोह अवरोहहरू पार गर्दै जाँदा धेरै पटक बाबाको अभावमा आँसु बहाएकी छु । सबैभन्दा बढि त आमाको एक्लो जीवनमा बाबाको अभाव महसूस गरेँ मैले । आमाले अद्वैतविदूषीको सम्मान पाउनुभएको छ तर त्यो खुसी बाँडेर दिनको लागि बाबा हुनुहुन्न साथमा । आमा विधवा बन्नुभएको उमेरमा आफू पुग्नै लाग्दा आफ्ना उत्साह उमङ्गसँगै आमाका चुँडिएका रहरहरूको कल्पना गर्छु म, आफ्नै मन छिनेजस्तै हुन्छ । चालिस वर्षको उमेरमा आमाले भोग्नु परेको वैधव्यजीवन संसारकै उत्कृष्ट ग्रन्थ बनेको छ मेरो लागि जसका पानाहरू पटकपटक पल्टाएर पढ्ने गर्छु म ।