लक्ष्मण सिटौला

पुल तरेर पारी पुगेपछि अकस्मात पानी पर्यो । यो पानीलाई यतिबेला नै किन पर्न परेको होला ? गर्मी थियो । त्यसैले पर्यो । पर्नु उसको धर्म हो । भिज्नु हाम्रो बाध्यता । छाता थिएन । छाता नहुनु हाम्रो कमजोरी । तर हिँड्दा आकाशमा हेरेकै हो । खाली थियो आकाश । थिएन कतै उडन्ते भुवा । म भिजेँ । उनी भिजिन् । बाटो भिज्यो । घाँसहरू भिजे । बाटो चिप्लो भयो । जस्तो रुँदा आँखाको कोष भिज्छ लपक्कै । आँखा रुँदा गालाको भीर भिजे जस्तै भिजिरह्यो त्यो पहाड । ओत लाग्ने स्थान थिएन । म पछि छु । उनी अघि छिन् । पहाडी बाटो । रातो माटो । एउटा रुख आयो । बाक्लो हाँगाबिगा भएको । एक झर पानी ओत्ने । उनको लुगा निथ्रुक्क भिजेको थियो । कपालबाट पानी तर्किरहेको । जीउमा लुगा टाँसिदा अर्कै राम्री । एउटा अर्कै सुन्दरता । कस्तो गुलाफी मुहार । पानी पर्दा भिजेर उठेको त्यस्को इन्द्रेणी । सर्वाङ्ग भिजेकी । उन्को निदार । अर्ध चन्द्रमाकारको । उनको सर्वाङ्गतामा एउटा माद थियो ।

कस्तो बैशाखी आँखा । पानीले भिज्दा अलिकति उठेको उनको वक्षस्थल अर्कै झन्झनाहट । अर्कै इन्द्रेणी । अर्कै उभार । भिजिरहन मन लाग्यो । पानी बौलाहा हो । म पनि बौलाहा हँु । यो सारा सारा उत्ताउलो उभार उत्ताउलो जगत । यसरी पहिलो चोटि भिज्दै छु म प्रकृतिसँग । अलिकति बाटो लम्बिदिए हुन्थ्यो । अलिकति समय लम्बिदिए हुन्थ्यो । सारा कम्पन । यो खुसीको चपल दहमा पौडिन मन लाग्यो । धोइएको शरीरबाट प्राकृतिक अत्तर मगमगाइ रहेको छ । छुन मन लाग्यो । बोलाउन मन लाग्यो । पानीको सरसराहटले म बोलेको उनी सुन्दिनन् । कानैमा गएर तातो श्वास फ्याक्तै भनेँ –

“ओत लागौन है ! ”

मलाई छलेर उनलाई छुने त्यो बतास । अहँ मलाई मन परेन ।

 

उनी रोकिइन् । मलाई हेरिन् र मुस्कुराइन । रूख नजिकै पुग्यौं । पानी झन् बढ्न थाल्यो । बादल उडिरहेको आकाश । कुहिरोले छोपेको पहाड । अलिकति पर पनि केही देखिन्न । चकमन्न् छ । एकान्त छ । यो निकटता पनि किन यति मीठो ! सिरसिर बतास छ्ल्केको छ उनको कपालबाट । उनी चिसो अनुभुत गरिरहेकी थिइन । त्यो कालो केशरासी हावाले उडाएर बिगारिदियोस् भन्ने चाहन्थे म । अहिले त पानीले भिज्यो । पानीको छिटाले भिजाएको त्यो दिव्य मुहारमा मेरो खुसीको मखमली छल्केको छ । हावाको बेगसँगै दर्किरहेको छ । छड्के पानीको धारले रेटेको छ उनको छिनेको कम्मरलाई । सलक्क परेको रूखको फेद । त्यही फेदको फेरोलाई च्याप्प समातेर उभिरहेका हामी दुई । निरन्तर हावाको झोक्काले छोइरह्यो उनलाई । पातलो हावा तर चिसो । पानीको कण मिसिएको । जहाँ छुन्थ्यो हावाले म त्यतै हेरिरहन्थे । मलाई हावाको छुवाइ देखेर ईष्र्या लाग्न थाल्यो ।

मलाई छलेर उनलाई छुने त्यो बतास । अहँ मलाई मन परेन । तर बेला बेलामा त्यो प्रवेगले सलक्क अगाडि आएको कपाललाई पछाडि धकेलिदिन्थ्यो । खोइ किन पो हो मलाई यो दृश्यले निकै रोमाञ्च बनाउँथ्यो । निधारबाट ओठ हुँदै चिउडोबाट तप्किरहेको पानी हेर्दै छु । कस्तो आनन्दको त्यो मुहार । त्यसमाथि पनि मलाई हेरेर मुस्काएको त्यो कम्पित आँखा ।

गाजलको धार बगेर तप्केको पानी । अन्जुलीमा थापे । सगैँ छौ । छोइएको छौ । पानीको पातलो धर्सा बगिरहेको छ हाम्रो छुवाइ बीचबाट । इन्द्रेणी पर्यो । पारी शिव मन्दिर छेउमा । आउने जाने कोही छैन । बाटो एक्लै छ । यो बिराट पृथ्वीमा हामी एक्लै एक्लै । आहा ! हामी । यो हामी भित्रको एकै किरण । एकै उज्यालो !!

अगाडि देखिएको पुल एक्लै छ । सँगै सँगै उभिएका रूखहरू साक्षी छन् । हामीले छोएको यो रूखलाई अरू रूखहरूले हेरिरहे जस्तो लाग्यो । एउटा पुरुष मनको अगाडि उभिएको स्त्री स्वरुप ! अलिकति लज्जा । अलिकति संकोच । अलिकति डर । अलिकति सन्देह । अलिकति माया । अलिकति काउकुती सबै सबै मिसिएको । पानी झन झन बर्सिदिए हुन्थ्यो भनेर सोचेँ । भुइँ कुहिरो अझै बाक्लो गरेर लागिदिए हुन्थ्यो भनेर सोचेँ । समय अझै लम्बिदिए हुन्थ्यो भनेर सोचेँ । मनभित्र सोचाइको नदी उर्लिन थाल्यो । यो एकान्त कति प्यारो । यो घनघोर बर्षा कति मीठो । उनको यो सामिप्यता कति मीठो । त्यो छल्केर चिसो बोक्तै डुलिरहेको हावा कति प्यारो । प्यारो मान्छेसँग उभिँदा सँगै उभिएको त्यो पहाड अझै कति मायालु ।

पानी थामिएन । नथामियोस पनि । भुइँ कुहिरो हटेन नहटोस यो पनि । हामीलाई कसैले नदेखुन । हामी कसैलाई नभेटु । यो समय किन यति धेरै प्रीतिकर लागेको । पानीले गाएको गीत किन यती प्रीतिकर । निथ्रुक्क छिन उनी । लाली पखालिएको पानी चुहिनु अनौठो त के होर । गाजल पखालिएको पानी आँखा भएर बगिदिनु त के हो र ! तर ती सबै दृश्यले अकिन्चन आक्रमण गरिरह्यो मलाई । आँखा पखालिएको पानी । आखाको नानी छोएर बगेको बतास । त्यही रोकिदिउकी जस्तो लाग्यो । नजिकै छौ । यति नजिक कि हामीले फेरेको श्वास पनि सुन्छौ एक अर्काको । धड्कन धेरै बडेको सुने उनको । सँगै छौ हामी । सपक्कै टासिएर पानी छल्दै उभिएको रूखको फेदमा ।

वरिपरि उठेर हेरिरहेका घाँसका मुनाहरू पनि आफैँ लजाए । त्यो नीलो गुलाफी बैँस जगमगायो ।

 

आनंद के यही हो ? उत्फुल्लता के यही हो ? यो के हो ? अलिकति माद लागे जस्तो । धेरै त मायाको नशा लागेजस्तो । मुहारको दिप्ती यति बलिरह्यो कि वरिपरि नै बले जस्तो । नजरबाट बिस्तारै उठेर आयो एउटा अनमोल उभार । त्यो चकमन्नतामा एक्कासि बोलेछु–

“मैले मागेको दिन्छ्यौ“ ?

प्रश्न नसकिदै मौन स्वीकृति आयो । म खुसी भएँ । सायद यति धेरै खुसी पहिलो चोटि हुँदैछु । मुटुको धड्कन बढ्यो । श्वास फुलेर आयो मानौ प्रभातको कलिलो घामले फूललाई छोइरहेछ । ओठ छोएर बगिरह्यो त्यतिनै बेला एउटा कलिलो हावा । अलिकति मिसिएको थियो सुगन्धित मायाको अत्तर । महकायो सारा परिदृश्य । भुइँ कुहिरो डम्म लागेको थियो । रूखको हाँगाबाट तप्केको पानी हामी दुबैको ओठमा परिरहेको थियो । एकछिन त केही सुनिएन । शून्य जस्तो । कहीँ कतै केही देखिएन । भुइँ कुहिरोले सघायो हाम्रो शरीरलाई छोप्न । वरिपरि उठेर हेरिरहेका घाँसका मुनाहरू पनि आफैँ लजाए । त्यो नीलो गुलाफी बैँस जगमगायो ।

एकान्त पनि यति प्रियकर लागेको यो पहिलो चोटि हो । उनको आँखाको भृकुटीबाट एउटा उज्यालो छायां मैतिर बिस्फारित भयो । रूखबाट एक जोडी चरी पारी भुरुरु उडेर गए । भुइँ कुहिरो बिस्तारै हट्न थाल्यो । पारी शिवालय मन्दिर अलिकति देखिन थाल्यो । पानी थामियो । पारी मन्दिरमा बजेको घन्टको प्रध्वनीले एउटा अर्कै प्रमोदिता लहराउन थाल्यो कानमा ।

असरल्ल परेको कपाल मिलाउदै कम्पित स्वरले बोल्छिन् उनी –

“ पानी त थामियो नि अब जाने होइन ?”

उनको केहीबेर अघिको बोली र अहिलेको बोलीमा फरक छ । पहिलेको बोली प्यास मिसिएको बोली । अहिलेको बोली तृप्तीको बोली । अहिलेको आवाज मधुरता मिसिएको आवाज । अहिलेको कम्पन माया मिसिएको कम्पन । पहिलेको ध्वनी चाह मिसिएको ध्वनी । अहिलेको ध्वनि प्राप्तिको ध्वनि । गुलाफ भिजे जस्तै त्यो मुहारको दिब्य दर्शन पाउँदा आज कति खुसी भएँ । कस्तो यो तृप्तीको झन्कार ! सरदको तारबाट बजिरहेको सुखद आलाप जस्तै । शरीर भरी भरी भरिएको आन्नद बिसाएर शान्त निर्मल आकाश जस्तै स्वच्छ सानन्द भएँ । अघिअघिको तातो सबै सबै निख्रिएर एउटा प्रशान्त उज्यालो तर्फ लम्कियौँ । भुइँ कुहिरो हट्यो बल्ल देखिए घरहरू । पृथ्वीबाट न्यानो बाफ माथि माथि नीलो आकाशतर्फ उठिरहेको थियो ।