कोही एक सिपाहीका दुइटी स्त्री थिए । साँहिली भन्ने चाहिं स्त्रीको सानु छोरो पनि थियो । सिपाही परदेश गएका थिए ।

एकदिन भान्सामा पस्ने बेलामा घरमा पानीको गाग्रो रित्तिएको हुनाले र दिदी (सौता) को मान पनि राख्नुपर्ने हुँदा गाग्री च्यापी साहिंली पँधेरातिर लागिन् र पँधेरा सुरम्य स्थानमा थियो, त्यहाँ पुगी गाग्रो थापी यताउति हेर्न थालिन् । ओह्रालो लागी अस्ताचलका शिखरतिर दौडन लागेका सूर्यदेवको मलिन किरणले प्रकृतिको सुन्दर चित्रपटमा एक ललित लालिमा उत्पन्न गराई ‘बिदाई याचना’ प्रदर्शन गरेको साहिंलीले देखिन् र तिनका मनमा भावको चञ्चल तरङ्ग उर्लन लाग्यो । एकाएक पृथ्वी पनि छटपटाउन थालिन् ।

आतुर भई गाग्रोको पानी छछल्काउँदै, धर्मराउँदै, हतार हतारसित साहिंली घर फर्किन् ।

हाय ! विकराल हाल, घर पाताल !! एकातिर दिदी (सौता) को शिर मात्र बाहिर घाँटीदेखि तलको समग्र भाग माटो मुनि । अर्कोतिर जीउ जम्मै दलिनले किचिएको एउटा हात मात्र हल्लाई टिठलाग्दो स्वरले “आमा आमा” भनी कराइरहेको सानु छोराको करुण दृश्यले साहिंलीका मुटुमा भक्कानु उठायो । तर तिन्को बुद्धिले उचित समयमा कर्तव्य गर्न चुकेन । पानीको गाग्रो त्यही फाली पहिले सौतालाई झिकिन् ।

हुन ता सौताको कष्टदेखि सौताहरू खुशी हुने साधारण बुद्धिका स्त्रीहरूको चलन छ, तर ती बुद्धिमती साहिंलीले सौतालाई नै पहिले झिकी लोकापवादबाट आफूलाई बँचाइन् । सौतालाई पहिले नझिकेको भए गह्रुँगो दलिनलाई तिनी एक्लैले उठाउन सक्ने थिइनन् । त्यसबेला त्यहाँ तिनीलाई सहायता गर्न अरू कोही पनि थिएनन् । साँझको पाँच बजेको थियो, छिमेकीका लोग्नेमान्छेहरू पनि खेत गएका वा पर्म तिर्न अथवा ज्याला गर्न गएका फर्की आइपुगेका थिएनन् ।

कर्तव्य भने पहिले बालखको रक्षा गर्नु नै थियो तापनि सोझोको सहाय परमेश्वर हुनाले त्यस्तो मौका पर्न गयो । लोकापवादबाट रक्षा पाई फटाहाहरूको मुख पनि टाली तिन्ले । पहिले सौताको उद्दार गरिन् र तुरुन्तै उनको सहायता लिई दलिन जुरुक्क उचाली छोरालाई पनि बचाइन् तिन्ले । पहिले छोरालाई झिक्न गएको भए दलिन उचाल्न असमर्थ भई सौता र छोरो दुवैजनाको प्राण वियोग हुने सम्भावना थियो ।

तिन्ले उचित समयमा उचित कार्य गर्नाले परस्परको सौतेनी द्रोहरूपी डोरी चुडिई स्नेहसूत्रमा ती दुवै गाँसिएका थिए । यसै कारणले शारदाका सम्पादक महोदयले तिनीहरूलाई ‘स्त्रीरत्न’को पदवीले भूषित गराउनु भएको हो ।

भगवान् ! ‘स्त्रीरत्न’को पदवी प्राप्त गर्ने सुभकामनाले नेपालीय ललनाहरू सदा सर्वदा सत्कार्य सम्पादन गर्ने सद्बुद्धि सिर्जना गरी देशको सौभाग्य बढाऊन् ।

(पहिलो नेपाली नारी कथाकारको रूपमा परिचित कुमारी तुषारमल्लिकाको यो कथा अनुसन्धानकर्ता शिव रेग्मीको खोजमूलक लेखबाट प्राप्त भएको हो । )