‘…तराईको शीतलहर भोगेको छु । काठमाडौँको मीनपचास पनि भोगेको छु । रुसको चिसोमा बर्सौँ बिताएको छु । हिउँका डोब पछ्याउँदै युरोपमा सेतै भएर हिँडेको छु । तर यति चिसो यसअघि कहिल्यै अनुभव गरेको थिइनँ । यो चिसो, मैले जीवनमा भोगेका साराका सारा चिसोको पिता मात्र होइन, पितामह नै रहेछ । एकछिन त मेरो दिमाग जमे जस्तो भयो । धमनीहरूमा रगतको प्रवाह ठाउँ ठाउँ रोकिए जस्तो भयो । हात-खुट्टा अरठ्ठ पर्छन् कि जस्तो पनि भयो…’ (पृष्ठ २ अक्षत अन्टार्कटिका)।

प्रस्तुत वाक्यांश हिउँको महादेश, संसारको अन्तिम बिन्दुको यात्राको क्रममा जीवा लामिछानेले पोलार प्लन्ज गर्दा उत्पन्न भएका भावनाहरू हुन् । अझ भनौँ चिसोको हजुरबाको देशमा गरिएको ध्रुवीय स्नानको अनुभव हो । समुद्रको गहिराइमा डुबुल्की मारेर फर्किएपछि चिसोले आतङ्कित पारेको क्षणको संवेदना हो । बिरलैले गर्छन् अन्टार्कटिकाको यात्रा ।

यात्रा जीवन हो । यात्रा खोज हो । यात्रा अनुसन्धान हो । यात्रा उमङ्ग हो । उत्साह हो । यात्रा ज्ञान हो । यात्रा चुनौती हो । यात्रा तनाव पनि हो । यात्रा युद्ध पनि हो त्यसैले यात्रामा जित र हार हुन्छ । स्वर्ग र नर्क सँगसँगै भेटिने अचम्मको खेल पनि हो यात्रा । यात्रा मानव जीवनसँग जोडिएर आएको पुरातनसंस्कार हो ।

प्राकृतिक, भौगोलिक, जैविक विविधताको अनुपम उपहार हो हाम्रो पृथ्वी । पृथ्वीको गर्भमा असङ्ख्य रहस्यहरू लुकेका छन् । वैज्ञानिकहरू हिजोदेखि आजसम्म अनुसन्धान र खोजमै आफ्नो ज्ञान र समय समर्पित गर्दै छन् ।

भनिन्छ, ईश्वर पनि लालायीय हुन्छन् मानव रूपमा यस धरामा आउन । मलाई लाग्छ, ईश्वरले पनि गर्न नसकिने असम्भव कार्यहरू मान्छेले गर्नसक्छन् । अद्भुत छ मान्छेको मस्तिष्क । रहस्यमयी छ मान्छेको चेतना । सम्मानयोग्य छ मान्छेको साहस, धैर्य र लगन । त्यसैले ईश्वरले आफ्नो उत्कृष्ट रचना मान्छेको हृदयमा आफैँलाई विराजमान गरेका होलान् ।

नयाँ ज्ञान, विज्ञान र स्थान जान्ने हुट्हुटीले मान्छेलाई जिज्ञासू बनायो । वास्तवमा जिज्ञासाले नै मान्छेलाई महान् बनाएको हो । अरू प्राणीभन्दा उत्कृष्ट बनाएको हो । अरूभन्दा फरक तुल्याएको हो । जिज्ञासाले नै ब्रह्माण्डको रहस्यदेखि तत्त्व ज्ञानसम्मको ढोका खोलिदिएको हो । मान्छे निरन्तर खोजमा छ । यात्रामा छ । यात्राले हामीलाई नयाँ नयाँ ठाउँमा पुर्यायो । नयाँ संसार चिनायो । विज्ञानको उच्चतम समयमा हिँडायो । पृथ्वीमा मात्र होइन वैज्ञानिकहरूले अन्तरिक्षमा पनि नयाँ नयाँ ठाउँ खोज्दै गरेको बर्सौँ भयो ।

कुनै समय यस्तो थियो पृथ्वीमा नयाँ ठाउँ पत्ता लगाउने हेतुले नै मान्छे घुम्थे । जिज्ञासाको विशाल पहाड बोकेर हिँडेका कोलम्बस, भास्को डी गामा, मार्को पोलो आदि सफल भए । कति यात्रीहरू समुद्रको गहिराइमा हराए । कुनै समय यात्रा मनोरञ्नको साधन थिएन । ज्यानको बाजी लगाएर होमिएका थिए नवीन भूमि खोज्न । समुद्रको जोखिमपूर्ण यात्रा गरेर नयाँ ठाउँ पत्ता लगाउने होड नै हुन्थ्यो । यात्राकै परिणाम कैयौँ मुलुक पत्ता लाग्यो । मान्छे कति बहादुर ! कति साहसी ! कति निडर ! दुर्घटनाका कैयौँ घटना र दृश्य देख्दा पनि रोकिँदैनन् यी जातका पैताला । ज्यानभन्दा माथि ज्ञानलाई प्राथमिकता दिने मान्छे साँच्चै विचित्रको छ ।

मान्छेले माटो, पहाड, हिमाल मात्र होइन समुद्र विजय गरेर कस्ता कस्ता ठाउँ पत्ता लगाए । महासागरहरू तरेर अन्टार्कटिकासम्म पुगे । अचम्म लाग्छ मान्छेको जिद्दीपन देख्दा ।

यस्तै कठीन यात्रामध्येको अन्टार्कटिका यात्राको व्याख्यातीत अनुभवहरूको सङ्गालोको आज चर्चाको विषय बनेको छ ।अन्टार्कटिकाको यो साहासिक यात्रा १३ देखि २४ जनवरी २०२४ मा जीवा लामिछानेले गरेका हुन् । मलाई लाग्यो, अन्टार्कटिकाको यात्रा भर्खरै जीवा लामिछानेको मस्तिष्कमा जागृत भएको भने होइन । चितवनको भूमिमा हिउँ र समुद्रभन्दा कोसौँ टाढा बसेर असिनामा रमाउँदै गर्दा भूगोल पढाउने सरको मुखबाट सर्वप्रथम अन्टार्कटिका महादेशसँग परिचित भएका नियात्राकारको पैतालामा विश्वयात्राको छाप लागिसकेको थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ अन्टार्कटिकासँग सम्बन्धित किताब नियात्राकारको दराजमा आधा दर्जनभन्दा बढी जम्मा भइसकेका रहेछन्  । कतै न कतै यो दुर्लभ यात्राको बिजारोपण निकै अगाडि नै भएको आभास भयो मलाई । नियात्राकारले चितवनदेखि काठमाडौँ हुँदै रुस पुगेपछि हिउँसँग मितेरी लगाए । हिउँलाई प्रेम गरे । यात्रासँग साइनो जोडे । विश्वको हिउँ र समुद्र छिचोल्ने कर्मरेखा स्वयंले कोरे ।

अन्टार्कटिका यात्रामा जीवा लामिछानेले आफूले अनुभव गरेका भावनाहरूको अनुगुञ्जन यस कृतिमा मज्जाले भेटिन्छ । सेतो भूमिको सुन्दर र भव्य चित्र हेर्न सकिन्छ । इतिहासदेखि काव्यसम्मको रसपान गर्नसकिन्छ ।

यो नियात्रा कृतिले सुन्दर नाम पाएको छ अक्षत अन्टार्कटिका । फाइन्ट प्रिन्टले बजारमा ल्याएको यो पुस्तक १८३ पृष्ठमा विस्तारित छ । यो महादेशका कैयौँ भागमा अझ पनि मानव पाइला परेको छैन । यो महादेश साँच्चै अक्षत छ र रहनुपर्छ भन्ने पर्यावरणीय सोचलाई शीर्षकले मुखरित गरेको छ ।

यस पुस्तकभित्र यात्राको योजना, तयारी, यात्रामा हिँडेको मार्ग, यात्राका लागि आवश्यक पर्ने महत्त्वपूर्ण जानकारी, सामग्री साथै महासागरको डरलाग्दो यात्रा नियात्राकार सँगसँगै गर्न सकिन्छ । पानीको शक्तिलाई नाप्न सकिन्छ । पानीको पहाड कल्पनामा उतार्न सकिन्छ । पानीको कालो रङदेखि छालबाटोको वर्णनमा हराउन सकिन्छ । सररर क्रुजमा समुद्र हेर्दै इतिहासका पात्रहरूलाई नजिक ल्याएर संवाद गर्न सकिन्छ । सुमुद्रको हावादेखि समुद्रको सङ्गीत सुन्न छ ।अन्टार्कटिका पुग्नु अगाडिको यात्रीको मनोविज्ञानमा हराउन सकिन्छ । अद्भुत यात्राको समयलाई छाम्न सकिन्छ ।

अन्टार्कटिका पुगेपछि नियात्राकारसँगै हिउँ कुल्चिन हतार पनि हुन्छ । त्यहाँको अवर्णनीय भूगोल, त्यहाँको व्याख्यातीत सौन्दर्यमा सुगन्धित हुन करै लाग्छ । त्यहाँको भूस्वरूप शब्दचित्रमा चल्मलाएको मज्जाले चियाउन  सकिन्छ । हिँड्दै जाँदा अन्टार्कटिकाको भूमिमा विभिन्न देशले स्थापना गरेका अनुसन्धानकेन्द्रहरू भेटिन्छ । रोचक जीवजन्तु देख्न सकिन्छ। हिउँको संसारमा पाठक पनि निरन्तर हिँड्न थाल्छ । हिउँका मोटा मोटा गुन्द्री । हिउँका पहाड, नीलो पानीदेखि पानीमा तैरिएका हिउँका ढिका देखिन्छ । ढलक ढलक गरेर हिँडिरहेका पेन्गुइनको ताँती देखिन्छ । अझ समुद्रको बीचबीचमा आइस वर्ग भेट्दा खुशी ह्वात्तै पोखिन्छ । हिउँ फिँजारिएको भूमिमा प्रकाशको स्वरूपको वर्णनमा हराइन्छ । हिउँको महादेशको आकर्षणमा नराम्रोसँग फसिन्छ। पाठक पनि अन्टार्कटिकाको प्रेममा पर्छ पर्छ ।

अन्टार्कटिकामा हराएको मनले कहिले समुद्री डाकुहरूको इतिहास र सङ्घर्ष देख्छ त कहिले जीवा लामिछानेको नितान्त व्यक्तिगत अनुभवहरू पढ्न सक्छ  । समुद्रको विशाल छातीमा घण्टौँ तैरदा उत्पन्न भएको भावनादेखि आधुनिक विज्ञानले आविष्कार गरेको जहाजलाई हेर्दा र पढ्दा रू. ६०० मा साङ्गोपाङ्गो अन्टार्कटिकाको भ्रमण मज्जाले गर्न सक्छ । नियात्रा कृति पढ्नु कति फाइदाको कुरा छ । अझ हामी पाठक कति भाग्यमानी छौँ भने, प्रविधिको युगमा छौँ । जीवा लामिछानेको यात्रालाई सचित्र आफ्नै हातबाट हेर्न पनि सक्छौँ । यो पुस्तक पढ्दा म पनि साँच्चै यात्री बने । हरेक ठाउँ घटनाको प्रसङ्ग आउँदा उत्सुकता जागृत भयो । पाठकको मनलाई अक्षरमा मात्र सीमित राख्नै दिँदैन यो यात्रा अनुभवले । जीवा लामिछाने आफैँ भन्छन्, ‘अहिले यहाँ त्यसबारे जे-जति शब्द लेखेँ, त्यो त मैले गरेको अनुभूतिको शतांश पनि छैन, आफ्नो अनुभूतिलाई लेख्ने प्रयास त गरेकै हुँ । तर शब्दको सामर्थ्यले असीमितता, अनन्तता र अपरिमेयतालाई समग्रमा व्यक्त गर्न असम्भव हुँदो रहेछ … (पृष्ठ १५७ ) ।‘ यस्तो वर्णनातीत अनुभव पढ्दै गएपछि पाठक हतारिन्छ आफ्नै आँखाले ती दृश्यहरूको पान गर्न । मैले पनि बारम्बार अन्टार्कटिकाको भूमिलाई पर्दाबाट चियाएँ । नियात्रा पढ्दै गर्दा नयाँ नयाँ दृश्य कोर्न थाल्छ पाठकको मस्तिष्क अनि त आँखाहरू चाहार्न थाल्छन्  प्रविधिको पर्दामा । बडो आनन्द आयो पुस्तक पढ्दै ती अद्भुत ठाउँहरूलाई हेर्दै गर्दा ।

मीठो भाषाको महकमा पाठक मोहित हुन्छन् । अझ आख्यानको स्वाद आएको छ नियात्रामा । कतै नियात्राकार कवि भएका छन् । कतै सहयोगी । सबैसँग मित्रवत, सहयोगी र मृदु व्यवहार गर्ने नियात्राकार स्वयं हिमाल झैँ लाग्छ ।

नियात्राभित्रका उपशीर्षकहरू पनि फरक किसिमले आएका छन् । ती उपशीर्षकहरू किनै अर्थपूर्ण छन् । प्रस्तुति पनि निकै उम्दा तरिकाको छ । यात्राको तयारी यसरी गरिएको छ कि पुस्तक नै मान्छे भएर संवाद गर्दैछन् नियात्राकारसँग । कलापूर्ण लेखनले नियात्रा निकै रोचक बनेको छ । प्रभावात्मक लेखन शैलीले पाठकलाई अनुसन्धान गर्न विवश गर्छ । पाठकहरूमा कौतुहलता सिर्जना गर्न यो नियात्रा पूर्ण रूपमा सफल भएको छ ।

यदि अन्टार्कटिका यात्राको तयारीदेखि जाने रुटसम्मको सरल व्याख्या र वर्णन मात्र गरेको भए यति सुन्दर, लयात्मक र गतिशील नियात्रा पक्कै हुनेथिएन । पहिलेका नियात्रा कृतिभन्दा अक्षत अन्टार्कटिका अझ बडी कलात्मक बनेको छ। नियात्राकारले आफ्नो शैलीमा नवीनतालाई स्थान दिएका छन् जुन स्वागतयोग्य छ ।

अन्टार्कटिका यात्रामा नियात्राकार अन्टार्कटिका पत्ता लगाउने क्रममा मृत्यु वरण गरेका महान् आत्माहरूलाई साक्षात्कार गर्छन् । भ्रान्तिको कोलाज निर्माण गर्न पुग्छन् । यो उनको महानता हो । ‘जसले इतिहास भुल्छ, उसले भूगोल पनि बिर्सिन्छ’ भन्थे शायद नियात्राकार समुद्र र त्यहाँ ज्यान गुमाएकाहरूको आराधना गर्दैछन् । हामी नदीमा यात्रा गर्दा आफ्नो देशको पैसा (डबल) खसालेर नदीलाई नमन गर्छौँ । मलाई लाग्छ इतिहासमा स्वर्ण अक्षरले नाम लेखिएका नाविकहरू, यात्रीहरू सबैको साझा सम्झनामा नियात्राकार ती जम्मै पात्रहरूलाई स्मरण गर्दै उनीहरूको  साहसलाई नमन गर्छन् ।

पोलार प्लन्जको ( ध्रुवीय स्नान) अनुभव निकै रोचक र साहसिक छ ।हिन्दुहरू चिसो पानीमा डुबुल्की लगाउने प्रचलन लामो समयदेखिको हो । मकर स्नानदेखि कुम्भ स्नानसम्म चिसो पानीमा डुबुल्की लगाएका हामीलाई चिसो पानीमा नुहाउनु अनौठो काम होइन तर अरू धर्ममा पनि चिसो पानीको स्नान महत्वपूर्ण रहेछ । संसारभर चिसो पानीको स्नान कति महत्त्वपूर्ण छ भन्ने कुरा नियात्राकार स्मरण  गर्दै भन्छन् , ‘ रुसमा पनि हिम स्नान गर्दा वर्षभरि जानी नजानी गरिएको पाप पखालिएर मोक्ष प्राप्त गर्न सकिन्छ भनी विश्वास गर्दा रहेछन् … (पृष्ठ ५ )।‘

नियात्राकार वातावरणीय चिन्तनले निकै पिरोलिएका छन् । अन्टार्कटिका प्रवेश गर्नु अगाडि जुन किसिमको सावधानी अपनाइयो त्यो देखेर नियात्राकारको हृदय सगरमाथातिर उक्लिन्छ । तुलना गर्न पुग्छन् राज्यविहीन अन्टार्कटिकाप्रति सचेत आयोजक दलको संवेदनशीलता र विश्वको सर्वोच्च शिखरप्रति गरिएको गैरजिम्मेवारीपूर्ण क्रियाकलाप । बीउबिजन, कागजका टुक्रा, प्लाष्टिकदेखि कपडाको धुलोसम्म भ्याकुम क्लिनरले सफा गरिदिएको घटनाले नियात्राकार चकित हुन्छन्  ।

सहयोगी हृदयलाई हरेक ठाउँमा सहयोग गर्ने अवसर मिल्छ । ४२ घण्टा लामो ड्रेक प्यासेजको यात्रा पूरा गरेपछि सबै यात्रु घरमा सम्पर्क गर्न खोज्छन् तर इन्टरनेट सेवा अवरुद्ध भएकोले सबै तनावमा हुन्छन् । नियात्राकार यहाँ पनि सहयोग गर्न पुग्छन् दुई महिलालाई। साथै मैत्रीसँग पनि आत्मीय व्यवहार गर्न पुग्छन् भने उता पुनितसँग पनि निकै फरासिला हुन्छन् । यात्रामा कतिसम्म उदार र लचिलो हुनुपर्छ भन्ने पाठ विभिन्न पात्रहरूसँगको संवाद र सम्पर्कबाट हरेक ठाउँमा नियात्राकारले सजिलै बताएका छन् ।

गजबको कुरा अन्टार्कटिकाको हुलाकबाट श्रीमतीलाई पत्र पनि लेखेर पठाउँछन् । छोराहरूको वैश्विक चेतनादेखि वातावरणीय चिन्ता कति उच्च छ । अन्टार्कटिकामा महिलाहरूको प्रवेशको इतिहास समेट्न पनि भुलेका छैनन् नियात्राकारले । पेन्गुइनहरू त साँच्चै मानवका लागि असल गुरु नै हुने रहेछन् । किन गुरु मान्ने पेन्गुइनलाई भनेर जान्नको खातिर एकपटक यो कृतिमा वर्णित पेन्गुइनको आनीबानी र व्यवहारको अध्ययन गर्नै पर्छ ।

सिकार र व्यापार पढ्दा हृदय कोक्किन्छ । मान्छे यति उच्च श्रेणीको भएर पनि आफ्नो स्वार्थका लागि सिलको हत्या गर्छ। कति पीडादायी छ इतिहास । मान्छेदेखि त्यति पर आफ्नै संसारमा बसेका जीवजन्तुलाई पनि छोडेनन् विवेकी मान्छेले । केवल आफ्नो पेट भर्नका खातिर ती जीवको हत्या गरेको भए पनि बरु केही थिएन तर पैसाको लागि मान्छे कसरी हिंस्रक बन्छ । यहाँ सिलको सिकार कति सजिलै गरेका छन् । सिलले न मान्छेलाई दुःख नै दिएका छन् । यहाँ हेर्न सकिन्छ मान्छेको राक्षस रूप ।

… पानी जहाजका मालिक क्याप्टेन कुकले दक्षिणको नक्सा राम्रोसँग अध्ययन गरे । उनीहरू यो नयाँ व्यापारका लागि ज्यादै व्यग्र थिए । सन् १७८४ मा एउटा पानीजहाज फकल्यान्ड टापुतर्फ निस्कियो । उनीहरूले त्यहाँ भारी मात्रामा हात्तीसुँडे सिलको सिकार गरे । हात्ती सुडेँ सिलबाट प्रशस्त तेल निकाले । साथै उनीहरूले ठूलो मात्रामा भुत्ले सिल (फर सिल ) का छाला काढे । यी सबै सामग्री लिएर उनीहरू न्युयोर्क पुगे । त्यहाँ छालाको राम्रो सफाइपछि उनीहरूले चिनको क्यान्टोन लगी बेचे (पृष्ठ १२६ )।‘

संसारमा अरू कसैलाई शान्ति चाहिएको छैन, केवल मान्छे शान्त भए सम्पूर्ण संसार शान्त हुनेरहेछ । यो किसिमको व्यापार आजसम्म भएको भए के अन्टार्कटिकामा सिल र पेन्गुइन अझ देख्न पाइन्थ्यो होला ? धन्य यस्तो व्यापारलाई प्रतिबन्ध लगाइयो ।

व्यापार, यात्रा, राजनीति र युद्धका विभिन्न पाटालाई नियात्राकार आफ्नो अनुभवमा समेट्दै हिँडेका छन् । यो कृतिमा साँच्चै ऐतिहासिक आख्यान बनेर आएको छ। आधुनिक यात्रा आरामदायी छ । पर्यटनले ल्याएको परिवर्तन गजब छ । प्रकृतिसँग मावनको प्रेम कति महत्त्वपूर्ण छ भन्ने  सन्देश पनि बोकेको छ । घर, परिवार, ईष्टमित्रप्रतिको आत्मीयता अपरिहार्य भएको खुलासा पनि छ । अन्टार्कटिकामा भएका हिंसाको घटना पनि के कस्ता कारणले सिर्जित भए भन्ने चुरो कुरा पनि बताइएको छ । हिउँमा गरिने मनोरञ्जन कति जोखिमपूर्ण छ त्यो पनि पाइलै पिच्छे देखिन्छ । घरी घरी त मलाई नेशनल जोग्राफी च्यानल हेर्दैछु जस्तो पनि लाग्छ ।

अन्त्यमा, अन्नपूर्णा र स्वादमा जीवन सङ्गिनीलाई स्मरण गरेको देख्दा नियात्राकारको सादगी झल्किन्छ । अझ नेपाल आएर भेट्न जान्छन् सर्वप्रथम अन्टार्कटिका पुग्ने नेपालीलाई । कत्रो श्रद्धा नियात्राकारको प्रथम अन्टार्कटिका यात्रीप्रति । भुवनसिंह विश्वकर्मासँग निकै भिजेर कुराकानी गर्छन् । उनको अनुभवलाई प्राथमिकताका साथ आफ्नो नियात्रा कृतिमा सामेल गेरको देख्दा साँच्चै श्रद्धाले नमन गर्न मन लाग्छ ।  अन्तमा नयाँ पुस्ताको आँखा, विचार र साथ नियात्राकारलाई प्रिय लाग्छ र भन्छन्,

‘प्यारा छोराहरू

मेरो जीवनमा

बाँकी छन् अझै कति गन्तव्य

र बाँकी छन्

अझै कति यात्राहरू

अब यात्रामा जाँदा

जहिले पनि

सापट माग्नेछु

तिमीहरूको दृष्टि र विचार

किनभने

संसारलाई अब

हामी सबैले हेर्नु जरुरी रहेछ

नयाँ आँखाले

नयाँ चेतनाका साथ ( पृष्ठ १७९ )

नियात्राकारको यो विशेषता मलाई विशेष मन पर्यो । किनकि  यहाँ त अरूको विचारलाई सुन्ने अभ्यास नै छैन । यहाँ नयाँ पुस्ताको सुझाव सुन्ने बानी नै छैन । नयाँ पुस्तालाई सुन्ने बुझ्ने चलन नै छैन । वृद्धहरू पनि आफूलाई सदैव युवा नै ठान्छन् । आफ्नो सत्ता छोड्नै चाहँदैनन् । धन्य छन् जीवा लामिछाने जो युवाको विचारलाई प्राथमिकतामा राख्छन् ।