“जाँदिनँ भनेको ठाउँमा जानुपर्छ, गर्दिनँ भनेको काम गर्नुपर्छ बाबै !” भनेर बूढापाकाहरूले कुरा गरेको सुनेको थिएँ । आज मेरै जीवनमा ठीक त्यस्तै भयो ।

आठ माइलको बाटोमा ऊसित त्यस्तरी अकस्मात् भेट होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ तर आजको त्यो भेटलाई जम्काभेट भन्नु नै उपयुक्त ठहर्छ । ऊसितको अन्तिम भेट र अहिलेको भेटमा प्रायः दश वर्षको अवधिको व्यवधान आइसकेको थियो । मेरो अन्तरले वाञ्छनीय ठाने झैं जससित भेट गर्नुपर्ला, जसको अनुहारसम्म पनि हेर्नुपर्ला भन्ने त्रासले मैले आफ्नो जन्मको स्थल छोडेथें, आज उसैसित यसरी भेट हुनजानु एउटा संयोग मात्र थियो भन्नलाई धेरै ठाउँ थियो ।

त्यस समय उसको अनुहार पुलुक्क हेरेर घोप्टो मन्टो लाएर म आफ्नो बाटो लागें, त्यस वेला भएको घटना वर्णन त्यति नै हो । तर त्यत्तिकै क्षणिकतामा मेरा आँखाका सामु उसको केही मलिन अनुहारमा केही प्रौढता हो कि परिपक्वता हो । दृश्य आयो मेरो उसलाई र उसको मलाई हेराहेर सँगसँगै जस्तो भयो । यसलाई पनि एउटा संयोगकै संज्ञा नदिई नहुने मेरो अन्तरले ठहरायो ।

तर उसको त्यही एक झलकले नै मेरा निम्ति लुप्तप्रायः मात्र होइन, मृतप्रायः भइसकेको अभिशाप जस्तो वस्तुलाई मेरा सामु ल्याइदियो, जो सम्भवतः मेरा निम्ति दण्डभन्दा ठूलो थियो ।

० ० ० ०

त्यस दिन त्यो घटनापछि मबाट अरू कुनै काम हुन सकेन । पलङमा सुतेर ती तीतामीठा तर अहिले जम्मै तीता भइसकेका घटनाहरूको सम्झनाले मलाई आकर्षण नगरी राख्न सकेन ।

कुनै दिन यस्तो पनि थियो, जब कि ऊ नै मेरो जीवनकी सर्वस्व भएकी थिई । उसैले मलाई जीवनको लक्षण र जिउन सिकाएकी थिई (एउटा अद्वितीय, स्वर्णिम अनि मधुर भविष्यको जीवन) जहाँ दुःख होइन, सुखको मात्र व्याप्ति थियो, जहाँ विमर्श होइन कि हर्षै-हर्षको अजीर्ण थियो, जसमा जिउनुको अर्थ वास्तविक र नैसर्गिक रूपमा जिउनु थियो । जीवनको लक्ष्यमा कला थियो, कलामा सौन्दर्य थियो, सौन्दर्यमा सम्भवतः सत्य पनि निहित थियो ।

वास्तवमा मैले आफूलाई नछली भन्नु नै हो भने भन्नुपर्छ मैले हाँस्नुको महत्व उसैबाट सिकें, जीवन र जीविकाको परिभाषा उसैबाट जानें । जीवनको कुनै लक्ष्य पनि हुन्छ, त्यसको ज्ञान मलाई उसैले दिई । हो यो कुरामा मैले ऊप्रति कृतज्ञता देखाउनै पर्दछ, नदेखाउनु कृतघ्नता हुन जानेछ, चाहे पछि ऊबाट मैले जस्तो व्यवहार पाएको हुँ, चाहे आज दश वर्षदेखि उसलाई म घृणा र उपेक्षा जति नै गर्दै आएको हुँ ।

००००

उसबाट पनि मैले सौगातको रूपमा पाएको उपेक्षा, अवज्ञा, प्रतारणा र परित्याग अनि तिनैसित गाभिएर आएका उसका सम्पूर्ण व्यवहारहरूका सन्दर्भमा आज ऊसितको प्रथम भेटसम्म पनि एउटा विस्मृत प्रायः भइसकेको सपना जस्तो लाग्न लागेको छ – त्यो भेट भएको नै पनि त हो कि भन्नलाई पनि एउटा सन्देह, एउटा शंकाले ठाउँ लिन लागेको छ ।

यसको एउटा अर्को कारण जो मैले सोच्न सकेको छु, त्यो यो पनि हो कि आजभन्दा १८ वर्षअघि त्यो भेट भएको हुनु मात्र होइन कि प्रतिदिन सम्झिरहनु नपरेर बिर्सिइने घटनाहरू जस्तै दिन-प्रतिदिन त्यसको स्मरण गरिरहनु नपर्नु पनि हो । बरु बिर्सिदिनुपर्दछ भन्ने प्रेरणाले मलाई अघि-पछिबाट घेरेर एउटा आवरण जस्तो भएर बसिदिएको भए त्यो बिर्सिदिने जबरजस्तीमा अझ स्मृतिको गहनताले छोपेर लैजाने सम्भावनाहरू ज्यादा हुने थिए ।

ऊसितको लामो नै भन्नुपर्ने जीवनमा मैले सम्झिराख्नुपर्ने घटनाहरू धेरै भएर पनि आज मैले प्रायः जम्मैलाई बिर्सिदिएको छु, आज बलात् सम्झने प्रयास गरेमा एक-दुई वटा महत्त्वपूर्ण घटनाहरू आँखाका सामु आउलान्, एउटा धमिलो धमिलो छाया जस्तो, प्रतिध्वनि जस्तो भएर । तर त्यति भइदिएर पनि आज जम्माजम्मीमा ती दिन आनन्दका थिए भन्ने चाहनालाई म लत्त्याउन सक्तिनँ, यद्यपि अतीतका घटना, व्यतीत दिन र अतीतका स्मृति जतिकै दुःखदायी, कष्टमय, आर्द्र भए तापनि पछि सुखमय, आनन्ददायी नै लाग्दछन्-एउटा अव्यक्त आनन्द नै त्यसमा लुप्त रहेको हुन्छ र त्यही नै मन-मनमा अभिव्यक्त भएर बसिदिन्छ ।

हाम्रो कहिलेकाहीं मात्र भेट गर्ने एउटा निश्चित स्थान थियो, त्यो कहाँ थियो भन्ने प्रश्न अब महत्त्वहीन भइसकेको छ । मैले उसलाई त्यहाँ साँझमा भेट्न डाँकिपठाएको थिएँ । यो घटना विस्तृत रूपमा नभए पनि धेरथोरको सम्झना मलाई छ । मैले तोकेको समयमा ऊ आइन – मैले प्रतीक्षाको समयलाई आवश्यक र वास्तविक रूपमा भन्दा बढ्ता लामो ठानेर काट्नुपरेको थियो । यस्तो काट्दा नकाटिने समयको कटु अनुभव अनुभवीलाई मात्र हुन्छ ।

मलाई थाहा थियो, उसका सम्बन्धीहरू हाम्रो सम्बन्धलाई घृणाका आँखाले हेर्छन् । त्यसको के कारण थियो, त्यो न म जान्न समर्थ भएथें, न ऊ नै । उनीहरू धनी थिए भन्नलाई हामी समाजमा जसलाई धनी भन्ने गर्दछौं, त्यो गणनामा म उनीहरूलाई राख्न सक्तिनथें । म अनपढ थिएँ भन्नलाई पनि मैले स्कूल–कलेजको अनुहार नदेखेको थिइनँ । जात-भात, धर्मको अमेल थियो भन्नलाई कुनै रिक्त स्थान नै थिएन । फेरि किन मन पराउँदैन थिए, म यो भन्न असमर्थ थिएँ- आज पनि जब म ती सब कुराहरूको सिंहावलोकन गर्छु, त्यसको कारणबाट पूर्णतः आफूलाई अनभिज्ञ नै पाउँछु ।

मेरा आफ्नै सम्बन्धीहरूले यो कुरा थाहा पाएका थिए कि थिएनन्, त्यो पनि म पूर्णतः भन्न सक्तिनँ । हुन सक्तछ, थाहा पाएका थिए, हुन सक्छ, पाएका थिएनन् । तर अरू त अरू नै भए, दिदीले केही संकेतसम्म पाएकी थिइन् कि भन्ने मलाई लागेको थियो ।

दिदी दश बजे काममा जान्थिन्, पाँच-छ बज्दा घर फर्कन्थिन् । बिहान उनी काममा जाँदा म ओछ्यानमै हुन्थे, बेलुका फर्कंदा म साथीहरूसित क्लब पुगिसकेको हुन्थें, राति प्रायः दश बजे घर फर्कंदा दिदी ओछ्यानमा पसिसकेकी हुन्थिन् । सारांशमा भन्नु हो भने मेरो र दिदीको साधारणतः भेट नै हुँदैनथ्यो, आइतवार बाहेक ।

तर त्यस दिन त हठात् दिदी तीनै बजे घर आइन् । किन ? मैले सोध्नेसम्म साहस गर्न सकिनँ । दैलैमा जम्काभेट भयो, संयोग यस्तो कि उनले कुन्नि के सम्झेर हठात् नै भनिहालिन्, “तेरो हालचाल मलाई थाहा छ । नहतारिए पनि हुन्छ ।”

मेरा निम्ति त्यही नै यथेष्ट थियो । चूपचाप दायाँ-बायाँ कतै नहेरी, एक वचन नबोली हतारिएर बाहिर निस्कें । मसित त्यस विषयमा उत्तर दिने कुनै कुरा बाँकी रहेको थिएन ।

अनि त्यस दिनको साँझमा मैले निकै लामो प्रतीक्षा गर्नुपर्‍यो । ‘अहिले आउली’,  ‘अब आउली‘ को आशामा समय कति गयो, मैले आफ्नो हातको घडी हेर्नसम्म बिर्सेछु ।

पछि प्रायः नौ बजेतिर एउटा छायालाई आउँदै गरेको देखें । केही नगीच आएपछि मैले देखें, त्यो ऊ रहिनछ । ओभरकोट, प्यान्ट र फेल्टह्याट लगाएको एक जना मानिस रहेछ । तर आवागमनबाट टाढा रहेको त्यो ठाउँमा त्यति राति हठात् त्यो मानिसलाई देखेर तर्साउनेको डरले मेरा रौंहरू ठाडाठाडा हुन लागेका मात्र होइनन् कि म पछि-पछि सर्न लागेको थिएँ ।

तर अकस्मात् नै त्यो व्यक्तिले उसको आवाजमा मलाई मेरै नाउँ काढेर बोलाएको मैले सुन्नु मेरो निम्ति डरका साथसाथै एउटा अचिन्त्य विषय पनि थियो । तर पछि मलाई अनुभव भयो, सम्भवतः उसको आवाजबाट अकस्मात् पाएको सान्त्वनाले मलाई उसको छेउमा जाने साहस दियो, म उसको छेउमा उभिन पुगेछु । अनि त्यस वेला मात्र मलाई ज्ञान भयो, ऊ छद्मवेषमा मलाई भेट्न आएकी थिई । उसले पनि भनी, घरबाट निस्कने कुनै साधन नहुनु नै उसलाई त्यो भेष लिन कर लाग्नुको हेतु थियो । त्यस हास्यको साथसाथै एक प्रकारको अद्वितीय घटनाको सम्झनाले अझ पनि मलाई आनन्दको अनुभव हुन्छ । त्यो हदसम्म

पुगेकी ऊ मबाट सदैवका निम्ति पृथक् हुनु एउटा अद्भुत नै कुरा हो ।

वास्तवमा उसैका मुखबाट मैले सुनेको पनि हुँ, हाम्रो सम्बन्धको चर्चा उसका सम्बन्धीहरूमा भएपछि त्यसलाई सम्भवतः अवैध नै ठानेर उसलाई घरबाहिर निस्कने अनुमति थिएन । बाहिर कतै अनिवार्य कामले जानुपर्ने भएको अवस्थामा उसकै घरमा पाहुना भएर बसेका उसका निकै टाढाका नाताको दाज्यूसित वा आफ्नै आमा-बाबुसित ऊ जान पाउँथी । त्यस्तो अवस्थामा मसित उसको हामीले चाहे जस्तो भेट हुन नसक्नु कुनै असम्भव र अस्वाभाविक कुरा थिएन । कहिलेकाहीं केही क्षणका निम्ति हुने हाम्रो भेटमा हाम्रो आत्माले अन्तरमा अनुभव गरेका मधुर भावनाहरूलाई आदान-प्रदान गर्ने अवसर भने जस्तो पाउँदैनथे र छुट्टिने समयमा एक प्रकारको अभाव, एक किसिमको अतृप्ति सधैं नै अनुभव भइरहन्थ्यो ।

फेरि पनि भेट हुनेछ र ती अभावको पूर्णता र अतृप्तिको तृप्तिका अपेक्षामा आठ वर्षको लामो अवधि केही समयको छोटो रूप बनेर बिते । आशा-आशामा

त्यतिको लामो समय कसरी बिते हुन् भन्ने कुरामा अहिले अतीव आश्चर्य लागे तापनि त्यस समय किञ्चित् जस्तो पनि नभई बितेर जानु एउटा अनौठो जस्तो थियो । त्यसको अनुभव त्यस बेला हुँदै नहुनु झन् कम्ती आश्चर्यको कुरा थिएन ।

० ० ० ०

त्यही आठ वर्षको लामो अवधिको समाप्तिनेर एउटा यस्तो आँधी पनि आएको थियो, जसले मेरो सम्पूर्ण जीवनको एउटा सुललित जस्तो धारालाई मोडिदियो, त्यसका निम्ति म मात्र दोषी छु भन्न आज पनि म अस्वीकार गर्दछु । त्यस समय ममा एक प्रकारको कमजोरी आएको थियो अवश्य, तर त्यो परिस्थितिमा अज्ञात र अनभिज्ञ रूपमा नै मैले जुन साधनलाई स्वीकार गरेथें, आज दश वर्षपछि पनि पूर्णतः औचित्य र न्यायसङ्गत नै सम्झन्छु र दृष्टिकोणबाट विरत म सम्भवतः जीवनभर हुनेछैन ।

उसले नै मलाई हठात् जस्तो बोलाएर भनेकी थिई, “हामीले यसरी अझ कति दिन बिताउने ?”

उसको तात्पर्य स्पष्ट थियो, व्याख्या लुप्त थियो । उसको प्रश्नको उत्तर दाम्पत्य-जीवन थियो । एउटा दृष्टिकोणबाट यो प्रस्ताव अनुचित पनि थिएन । मधुर भावनाको आदान-प्रदान र समय-समयको भेटको पनि एउटा सीमा हुन्छ, एउटा हद हुन्छ, यद्यपि त्यसको कुनै मापदण्ड कहीं हुँदैन । यो अन्तरको व्यापार अन्तरले नै बुझेको जानेको हुन्छ, यसलाई वाह्य दृष्टिकोणबाट हेर्नाले कुनै लाभ हुँदैन । त्यो हदमा पुग्नु लक्ष्यनेर पुग्नु हो – यो कुरा मलाई स्वीकार्य थियो ।

तर यसका साथसाथै जीवन र जीविकोपार्जनका व्यावहारिकतालाई पनि मैले भावुकतामा उडेर बिर्सिदिनु उचित थिएन । त्यो मेरो दूरदर्शिता नै थियो भनेर म आज अभिमान गर्न सक्तछु, तर त्यस वेला त्यस्तो कुनै वस्तुले ममा प्रवेश गर्न सकेको थिएन । दाम्पत्य-जीवनबाट अनभिज्ञ भएर पनि त्यसका कठिनताको म बाह्य रूपमा तृतीय व्यक्ति भएर अनुभव गर्न सक्तथें र गरेको पनि थिएँ भनेर आज पनि म नभनी बस्न सक्तिनँ । वास्तविक कुरा के हो भने कुनै पनि काममा चारै तिरका विचार र तर्कवितर्क नगरी नउफ्रनु मेरा निम्ति स्वभावको एउटा अंग बनिसकेको थियो ।

उसलाई थाहा नभएको होइन, मेरो पढाइ सिद्धिसके पनि जीविकाको कुनै साधन थिएन, त्यसको प्रतियोगितामा अझसम्म म पस्न सकेको थिइनँ । म त्यस बेलासम्म पनि माता-पिताका निम्ति एउटा भार जस्तो भएर बसिरहेथें । न म कुनै व्यापार लागेको थिएँ औ न कतै कुनै नोकरी ।

उसका प्रश्नको उत्तरमा मैले उसलाई अझ केही कालसम्म प्रतीक्षा गर्नुपर्ने जुन कुरा भनेथें, त्यसमा उसको प्रत्युत्तर थियो, ती सब त समयमा आफै भएर जाने कुरा हुन् । कुनै न कुनै दिन एउटा न एउटा जीविकाको साधन प्राप्त गर्ने मीठो आशा ऊ गर्थी । तर त्यस्तो आशामाथि भरोसा गरेर हिंड्ने साहस ममा नभएको मात्र होइन कि मेरो विवेकले नै अङ्गीकार नगरेको कुरा थियो । एउटा अनिश्चित जीवन र कार्यकलापको म कहिल्यै कायल भएको थिइनँ, न यतिका वर्षपछि नै भएको छु ।

उसले आफ्नो कथनका समर्थनमा अनेक तर्क गरी, उदाहरण देखाई, म निरुत्तर पनि भएँ, तर अन्तरले त्यो स्वीकार्य ठानेन । मैले आफैमा असहायताको अनुभव गरें ।

यस घटनाको केही दिनपछि मैले उसलाई दुई तीनपल्ट भेट्ने र उसको अन्तरलाई बुझाउने प्रयास गरें तर उसलाई जतिपल्ट पनि बोलाइपठाएँ, उसले भेट्न आउने आवश्यकतै सम्भवतः गरिन । मैले आफ्ना कुरा लेखी पनि पठाएँ तर उसले न जवाफ दिई, न भेट्ने इच्छा व्यक्त गरी ।

(‘भारतीय नेपाली कथा’बाट)