विनोद कुमार शुक्ल प्रख्यात भारतीय लेखक, कवि र उपन्यासकार हुन् । उनको पहिलो कविता सङ्ग्रह लगभग जयहिंद १९७१ मा प्रकाशित भएको थियो । उनलाई हालै २०२४ का लागि ५९ औं ज्ञानपीठ पुरस्कार प्रदान गरियो। यो भारतीय साहित्यमा एउटा महत्त्वपूर्ण सम्मानका रूपमा चिनिन्छ ।

उनको प्रख्यात भनाइ छः मलाई धेरै लेख्नु थियो, निकै कम लेख्न सकेँ ।

म तिनलाई भेट्न उनीहरू छेउ जानेछु

जो मेरो घरमा कहिल्यै आउने छैनन्
म तिनलाई भेट्न
उनीहरूकहाँ जानेछु

उर्लिएको नदी मेरो घर कहिल्यै आउने छैन
नदीजस्ता मानिसहरूसँग भेट्न
नदी किनार जानेछु
केही तैरिनेछु र केही डुब्नेछु

पहाड, टाकुरा, चट्टानहरू, तलाउ
असंख्य रूखहरू र खेत
कहिल्यै मेरो घर आउने छैनन्
खेत खलियानजस्ता मानिसहरूसँग भेट्न
गाउँ गाउँ, जंगल‑गल्ली जानेछु

जो निरन्तर काममा छन्
म फुर्सतमा मात्र होइन
उनीहरूसँग एउटा जरूरी काम परेझैँ
भेटिरहने छु
यसलाई मेरो एक्लो अन्तिम इच्छाजस्तै
सबैभन्दा पहिलो इच्छाका रूपमा गर्नेछु ।

अपरिचितहरू

जो र जे अपरिचित छन्
ती पनि मेरा आत्मिय छन्
मेरा जो जति आत्मिय छन्
तिनलाई म चिन्दिनँ पनि

कयौँ मानिसहरू
पहाडहरू, जंगलहरू, रूख, वनस्पतिहरूलाई
पुतली, पक्षीहरू, जीवजन्तु
समुद्र र नक्षत्रहरूलाई
म जान्दिनँ धर्तीलाई पनि
मलाई त रत्ति थाहा छैन
कसलाई र कतिलाई चिन्दछु

सबै आत्मिय छन्
मानिसहरूलाई चिने पुग्छ
म मानिसलाई चिन्दछु ।

हताशामा एक व्यक्ति बसेको थियो

हताशामा एक व्यक्ति बसेको थियो
म व्यक्तिलाई चिन्दिनँ थिएँ
हताशालाई चिन्थेँ
त्यसैले म त्यस व्यक्ति छेउ गएँ
मैले हात दिएँ
मेरो हात पक्डिएर ऊ उभियो
ऊ मलाई चिन्दैनथ्यो
मेरो हात दिनुलाई जान्दथ्यो
हामी दुवै सँगै हिँड्यौँ
दुवै जना एकअर्कालाई चिन्दैनथ्यौँ
सँगै हिँड्नुलाई जान्दथ्यौँ ।