उल्टी हुनु भनेको पेटको गडबडी हो । अपच भयो भने मान्छेले उल्टी गर्छ । तर ऊ मात्र मैले त्यस्तो रोगी देखेँ, जसलाई उल्टी हुनु भनेको अपचसँग कुनै सरोकार थिएन । उसको कोठामा जब केही मानिसहरू भेला हुन थाल्थे, उसको अवस्था बिग्रन थाल्थ्यो र उसलाई यसरी उल्टी हुन थाल्थ्यो कि उसलाई सम्हाल्नै गाह्रो हुन्थ्यो । विविध किसिमको औषधि दिए पनि बिसेक हुँदैनथ्यो ।
अनौठो त के थियो भने जब ऊ कोठामा एक्लै हुन्थ्यो, ऊ सञ्चो हुन्थ्यो । उसलाई कुनै किसिमको उल्टीको छाँटकाँट देखिदैनथ्यो । ऊ एउटा सामान्य मानिसझैँ चुपचाप घण्टौँ बस्न सक्थ्यो ।
अब रोगी भएका कारण उसलाई उसका आफन्त त भेट्न आई नै हाल्थे । एक जनाभन्दा बढी मानिसहरू उसको कोठामा छिर्नासाथ उसलाई उल्टी आउलाजस्तो भएर फनफनी घुमिरहन्थ्यो ।
एउटा चिकित्सक हुनुको नाताले मलाई यस्ता नयाँ नौलो कुरामा निकै रूचि थियो । रोग मात्र होइन, मलाई त रोगीको मनोवैज्ञानिक विषयमा पनि निकै रचि थियो तर त्यो रोगीलाई भने मैले कसैगरी बुझ्न सकिरहेको थिइनँ ।
राम्रा-राम्रा औषधि र घण्टौँसम्म उससँग गरिएका कुराकानीपछि पनि उसको रोगको प्रकृति बुझ्न सकिनँ । यस कारण म आफैँ अल्झोमा परिरहेँ र उसैका बारेमा सोच्न थालेँ । फुर्सद हुनेबित्तिकै उसको फाइल खोल्थेँ तर त्यो फाइलमा पनि के हुन्थ्यो र ? एउटा राम्रै अफिसमा काम गर्थ्यो, आम्दानी पनि राम्रै थियो, यो रोग पनि अचानक नै शुरू भएको थियो । कारण न उसलाई थाहा थियो, न उसकी स्वास्नीलाई ।
त्यो बेला पनि म उसकै फाइल हातमा लिएर घोरिइरहेको थिएँ । त्यसैबेला एउटी नर्स केही लिनका लागि भनेर मेरो कोठामा छिरी । फाइल खुल्लै देखेर उसले केही सम्झी, भनी, ‘तपाईंले त्यसकी स्वास्नीसँग सोधपुछ गर भन्नु भा थ्यो नि ?’
‘अँ, अँ,’ मैले रूचि लिँदै भनेँ, ‘उसले के भनी त ?’
‘तपाईंलाई काम लाग्ला कि भनेर,’ ऊ केही रोकिएर भनी, ‘उसकी स्वास्नीले यो रोग शुरू हुनुभन्दा केही दिन पहिले एउटा झगडाका कारण एक रात पुलिस चौकीमा थुनिनु परेको थियो रे भन्दै सुनाउँदै थिई ।’
‘ए,’ मलाई आश्चर्य लाग्यो, ‘यो बेला उसको कोठामा को छ ?’
‘कोही पनि छैन, एक्लै छ ।’
यो सुन्नेबित्तिकै मैले फाइल बन्द गरेँ र स्टेथेस्कोप उठाएर उसको कोठातिर लागेँ ।
ऊ आधासुतेझैँ अखबार पढिरहेको थियो । मलाई भित्र आउँदै गरेको देखेर उसले अखबारलाई एकातिर राखिदियो र केही माथि सर्यो र सिरानीको अडेस लाग्यो ।
‘के छ खबर ?’ मैले सोधेँ ।
‘गज्जब छु,’ उसले शिष्टतापूर्वक जवाफ दियो ।
मैले छेउको कुर्सी तानेँ र उसको नजिकै बसेँ । केही क्षण मौनताको राज चल्यो ।
‘हिजोआज त अखबारमा लडाईं-झगडाका खबरबाहेक केही पनि हुन छाड्यो,’ मैले भनेँ ।
उसले टाउको हल्लायो, स्वीकृतिमा ।
‘अचेल त चुपचाप बाटोमा हिँड्यो भने पनि झगडा हुन थालेको छ । यस्तो लाग्छ, मानिसको व्यवहारमा केही कटुता बढेर गएको छ,’ उसले रिक्ततापूर्ण नजरले मतिर हेर्दै भन्यो ।
‘यसको कारण शायद हाम्रो सामूहिक विषय पनि एउटा होला,’ मैले उसको आँखामा आँखा जुधाउँदै भनेँ, ‘शायद पूरै वातावरणमा कहीँ केही गडबडी छ कि ?’
उसले उही रिक्ततापूर्ण नजरले मलाई हेरिरह्यो । मैले उसको आँखामा आँखा गाडेर अचानक नै सोधेँ, ‘साँची, गएको साता तपाईंको पनि बेमतलबमा झगडा परेछ हैन ?’
यो डाक्टरलाई यस्तो कुरा पनि कसरी थाहा भएछ भनेर होला, ऊ यस्तो चकित देखियो कि मानौँ उसले बिजुलीको नाङ्गो तार पक्डिएको होस् । उसले नजर झुकायो, अथवा भनौँ नजर लुकाउन खोज्यो । गहिरो मौनता कोठाभरि छरियो ।
त्यसपछि निकै सुस्त आवाजमा भन्यो, जसलाई मैले बडो मुस्किलले सुनेँ, उसले भन्यो, ‘हो, झगडा परेको थियो ।’
‘अनि के भयो त ?’ केही विरामपछि मैले उसलाई फेरि सोधेँ ।
‘खास त केही पनि होइन,’ उसले उही सानो स्वरमा बिस्तारै भन्यो-
‘सडक पूरै जाम थियो । सकडमा भएका गाडीहरू एकअर्कालाई उछिनआछिन गर्दै गुडिरहेका थिए । स्कुल छुट्टी भइसकेकाले मलाई केटाकेटी लिन जान हतार भइसकेको थियो । म पनि एउटा साइड लिएर निस्कने प्रयास गरिरहेको थिएँ । मेरो अगाडि एउटा जिप थियो, त्यसलाई काटेर अगाडि बढ्यो तर जिपवाला बीच सडकमा गाडी छाडेर ओर्लियो ।
उसले मलाई भन्यो, ‘ओई, तँ किन मभन्दा अगाडि जान खोज्या हँ ?’
मैले उसलाई भनेँ, ‘यसमा कुन चैँ नौलो कुरा भयो र ? अरूले पनि त त्यही गरिराछन् ! छेउबाट लैजाँदा के भो त ?’
मेरो कुरा सुनेर त ऊ बडो उत्तेजित भयो । भन्यो, तँलाई था छ, म को हुँ ? मभन्दा अघि जाने तेरो हिम्मत कहाँबाट आयो हँ ?
मलाई उसको कुरा सुनेर उदेक मात्र होइन, रिस नै उठ्यो । त्यसपछि मैले पनि ऊसँग तँ त र म म गर्न थालेँ । यसबाट कुरा गालीगलौजमा पुग्यो । आधा घण्टादेखि ट्राफिक जाम थियो । मेरा केटाकेटीको बिदा भएको एक घण्टा बढी भइसकेको थियो । म यति क्षुब्ध भएको थिएँ कि मनमा आएका सारा कुरा उँडेलिदिएँ ।
यत्तिकैमा ट्राफिक र प्रहरी पनि आए । उसले उनीहरूसँग केही खासखुस कुराकानी गर्यो । त्यसपछि त प्रहरीले मलाई च्याप्प पक्डियो र प्रहरी चौकी जानै पर्ने भन्न थाले । म किन जाने ? तर यति जबरजस्ती गर्न थाले कि म बाध्य भएँ ।’
यसपछि ऊ चुप भयो ।
‘त्यसपछि के भयो त ?’ मैले उत्सुकतावश सोधेँ ।
चुपचाप शून्यमा हेरिरह्यो ऊ । निकैबेर चुप रह्यो । म निकै धैर्यवान् थिएँ, ऊ बोल्ने प्रतिक्षा गरिरहेँ ।
निकैपछि उसले सुस्त आवाजमा भन्यो, ‘चौकीमा उनीहरूले मलाई एउटा बेन्चमा बसाले । एक एक जना आउँथे, मलाई हेर्थे, आँखा तर्थे र दुई-चार गाली बक्थे र भन्थे, ‘ए, त्यो यही हो !’
मैले कयौँ पटक भनेँ पनि, ‘हेर है, म सरकारी कर्मचारी हुँ । मलाई आफ्ना केटाकेटीहरूलाई स्कुलबाट ल्याउनु छ । मलाई छाडिदेओ ।’
त्यसपछि चौकीको मुखियाले थर्कायो, ‘चूप लागेर बस् ।’
‘म किन चुप लागूँ ? मैले के अपराध गरेँ र ? मलाई किन यहाँ ल्याएको ? मलाई घरमा फोन गर्न देओ ।’
“यसपछि त चौकीको मुखिया निकै उत्तेजित भयो र दौडूँलाझैँ गरेर मछेउ आयो, भन्यो, ‘ए, उसो भए तँ आफ्नो अपराध मान्न तयार भइस् है त ?'”
“मलाई झ्वाँक चल्यो, मैले भनेँ, ‘हो, म सरकारी अफिसर पनि हुँ । बुझ्यौ ?'”
‘ए, उसो भए तँ सरकारी अफिसर पनि होस् !’ लगभग मुखबाट थुक निस्कने तरिकाले ऊ रिसाउँदै चिच्यायो, ‘मलाई कानून पढाउने भइस् हैन तँ ?’
“‘यसपछि उसले दिमाग नै झनन्न हुने गरी एक झापड हान्यो । मलाई लाग्यो, मेरो ओठबाट केही नुनिलो चिज चुहियो कि ?'”
“‘अब एक शब्द मात्र पनि बढी बोलिस् भने तँलाई कुट्दाकुट्दा आफैँलाई नचिन्ने बनाइदिन्छु, बुझिस् ?'”
“त्यसपछि उसले काँधमा हातले यसरी दुख्ने गरी दबायो कि छेउको कुर्सीमा कक्रक्क परेर बस्न बाध्य भएँ । साँझ पर्यो । हरेक आउनेहरूको गाली खाँदाखाँदा मेरो दिमाग शून्य भयो । के भइरहेछ भन्ने नै मैले थाहा पाउन छाडेँ । मात्र दिमागमा सडकमा मलाई कुरिरहेका मेरा केटाकेटीको तस्बिर मस्तिष्कमा आउँथ्यो-जान्थ्यो । टाढा कहीँबाट मेरी पत्नीको आवाज सुनेजस्तो लाग्थ्यो, ‘लौ अझैसम्म किन नआएका होलान् ?'”
त्यसपछि एउटा लामो मौनताले अस्पताल भरियो । अर्धअन्धकारको अनुभूति मैले पनि गरेँ ।
“एउटा तिक्त मौनताको तलाउमा म क्षणक्षण डुबिरहेजस्तो महसुस भइरह्यो ।”
“म को हुँ, के गर्दैछु, यहाँ के भइरहेको छ ? मैले केही भेउ पाउन सकिनँ । मेरा कुनै प्रश्नको कुनै जवाफ पाउन सकिनँ ।”
मौनताको एउटा तिक्त अँधेरो तलाउमा क्षणप्रतिक्षण मलाई आफूभित्र तानिरहेको थियो । यस्तो लाग्यो, समय स्थिर भइरहेको छ । क्षण स्थिर भइरहेको छ । अथवा हुनसक्छ, समय यति तीव्र गतिमा भएको छ कि मलाई समय बितेको पत्तै हुन छाडेको छ ।
यो यातना थियो या शायद अरू नै केही । मेरो कुनै अस्तित्व त्यहाँ महसुस गरिरहेको थिइनँ । कुनै महसुस थिएन मलाई, बोध थिएन । कुनै निदान मैले पाएको थिइनँ । मेरा लागि अब केही पनि बाँकी रहेको थिएन… अर्थ थिएन म हुनुको… म त श्वास फेरिरहेको फगत एउटा मासुको डल्लोजस्तो महसुस भइरहेको थियो । यस्तो लाग्यो, त्यहीँ एक शताब्दी बितिसकेको छ ।
अँध्यारो… अँध्यारो र चारैतिर अँध्यारो मात्र मैले देखिरहेको थिएँ । मैले त्यो बेला माथि छततिर आँखा लगाएँ, जहाँ एउटा बल्ब बल्लतल्ल बलिरहेको थियो । त्यही बल्बसँग म झगडा गरिरहेको रहेछु ।
यसो अगाडि हेरेँ, त्यहाँ पुलिसको मुखिया थिएन । मात्र उसको कुर्सी खाली देखियो । सबै जना गइसकेका थिए । बेन्चमा एक म थिएँ र ढोकामा उभिएको एउटा तल्लो तहको प्रहरी थियो । उसको आँखा मतिर नै थियो र यसरी हेरिरहेको थियो मानौँ ऊ एउटा भोको गिद्द होस् र म स्वादिष्ट मांशपिण्ड । उसका आँखा ममाथि नै गढिरह्यो, गढिरह्यो… त्यसपछि ऊ बिस्तारै मकहाँ आयो र भन्यो, ‘कसैलाई खबर गर्नु छ कि यहीँ बस्ने योजना छ ?’
मैले शून्य नजरले उसलाई हेरेँ ।
“उसो भए गोजीमा हात हाल न त !”
मैले तान्त्रिक अन्दाजमा गोजीमा हात हालेँ । उसले झटपट मेरो गोजीबाट पैसाको वालेट झिक्यो र यताउति हेरेर भन्यो, ‘तँ जाने ठाउँ चैँ कहाँ हो ? भन्, चाँडो भन्, तँलाई जान दिउँला !’
“थाहा छैन, मैले उसलाई के जवाफ दिएँ ।”
मेरो कुरा सुनेर उसले टाउको हल्लायो र भन्यो, ‘चिन्ता नगर्, बिहान हुनेबित्तिकै तिनले खबर पाउने छन् ।’
त्यसपछि ऊ चुप लाग्यो ।
‘त्यसपछि के भयो त ?’ मैले उसलाई सोधेँ ।
मलाई के थाहा ? उसले शून्यमा आँखा डुलाउँदै उसले यसरी भन्यो, मानौँ उसले त्यो मलाई भनिरहेकै होइन, अरू नै कसैलाई सुनाइरहेको होस्, ‘खासमा म को हुँ मलाई नै थाहा छैन । म त त्यही रात त्यही चौकीमा मरिसकेको हुँ । म त्यहीँको बेन्चमा बस्दाबस्दै हृदयगति बन्द भएर मरेको हुँ ।’
त्यसपछि अस्पतालमा गहिरो शान्ति छायो ।
ऊ चुपचाप शून्यमा कुनै अज्ञात वस्तुलाई नियालिरहेको थियो… नियालिनै रहेको थियो ।
अचानक उसको श्वास तीव्र गतिमा बढ्यो । म उसतर्फ बढेँ तर लाग्यो, मतिर वा मभित्र केही चिज तीव्र गतिमा छिर्यो र फैलिन थाल्यो । मैले चाँडै नै नर्स बोलाउने बटम दबााएँ । जति ढिला गरी नर्सले ढोका खोली, उल्टी मेरो मुखमा आइसकेको थियो । ऊ विस्मयले हामी दुई जनालाई हेर्न थाली ।
‘मारजिनको दुई वटा इन्जेक्सन चाँडो…,’ मेरो मुखबाट मुस्किलले ती शब्द फुत्किए तर नर्स अबेरसम्म फर्किइन । मलाई लाग्यो, मैले गरेको उल्टी देखेर शायद नर्सलाई पनि सरेको हुनसक्छ… अथवा नर्सको उल्टी देखेर सारा सहर उल्टी गर्न व्यस्त भइरहेको हुनसक्छ…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।