‘कुनै पुस्तक खोजेर पढ्न मन लाग्छ । कुनै पुस्तक किनेर पढ्न मन पर्छ । कुनै पुस्तक किनेर पनि पढ्न मन पर्दैन । कुनै सित्तैमा दिए पनि पढ्न मन पर्दैन । कुनै एकपल्ट पढेर पुग्दैन । कुनै उपहार पाएका पुस्तक केही समयपछि पढ्न मन लाग्छ । तर एउटा कुरा चाहिं पक्कै साँचो हो पुस्तक संकलन गरेर राख्न चाहिं जुनै पुस्तक पनि मन पर्छ, किनकि म पुस्तकलाई माया गर्छु ।’
शरद प्रधानका यी अनुभव पढेपछि मलाई लाग्यो वास्तवमा सयका सय प्रतिशत यी कुरामा म सहमत छु । उहाँका यी भनाइले मलाई किताबका विविधता, त्यसपछिको आकर्षण, विकर्षण, सस्तो मूल्य, चर्को मूल्यका साथै बजारिया समीक्षात्मक टिप्पणीको एकपछि अर्को प्रकाशन यी आदिले पार्ने प्रभावप्रति ध्यान गयो ।
साथै काठमाडौँका न्यूरोड, भोटाइटी, बागबजारका गल्लीहरूमा ‘सेकेन्ड ह्यान्ड’ किताब बिक्री पसलहरूमा नयाँ किताब सस्तोमा पाइन्छ कि भन्ने खोजी गर्दाको अनुभव पनि सम्झनामा आयो । यी सम्झनाहरू सँगसँगै भारतको नयाँ दिल्लीस्थित दरियागञ्जको किताब संसारमा दिनभरि किताब खोजेको सम्झनाहरू पनि एक साथ झलझली आइरह्यो ।
दरियागञ्जको नाम उच्चारण गर्दा नै मनमा कुनै पुरानो पुस्तक र पुराना कागजका धूमिल पाना, काव्यका पङ्क्तिहरू, इतिहासका सुस्केराहरू यी सबै त्यहीँ कतै भौंतारिरहेका छन् । हुन पनि, यो ठाउँ इतिहासको सन्दुक हो, जहाँ हिजोका दुर्लभ किताबहरू, पत्रपत्रिका, जर्जर ग्रन्थ र युगबोधका हस्तलिखित कागजातहरू जोगिएर बसेका छन् ।
पुरानो पुस्तकमण्डीको यही दरियागञ्जमा हराएका अक्षरहरू, नभेटिएका किताबहरू, नदेखिएका हजारौं किताबका चाङ यहीँ भेटिन्छन् ।
त्यो आइतबारको दिन थियो– जब म दरियागञ्जको फूटपाथ बजारमा पुगेँ । आइतबार मात्र यहाँ पुराना किताबको संसार खुल्छ, एउटा अस्थायी पुस्तकमण्डी, जहाँ शब्दहरू किनबेच हुन्छन्, जहाँ धूलोले भरिएका चुरोटे औंलाहरूले रवीन्द्रनाथको गीताञ्जलीको कुनै जर्जर प्रति पल्टाइरहेका हुन्छन् ।
त्यहाँ किताबहरू थुप्रै थिए– गनेर सम्भव थिएन । हेरेर, घुमेर, छानेर र किनेर साध्य थिएन । त्यहाँ थोत्रा, नयाँजस्ता देखिने पुराना, पत्रिकाजस्ता हलुका, ग्रन्थजस्ता गम्भीर । कुनै स्टलमा थिचाथिच गरेर राखिएका थुप्राहरू देखिन्थे । कुनै ठाउँमा तिनीहरू बाकसभित्र निदाइरहेका थिए । कुनै स्टलका किताबहरू कडा आँधीले झस्काएर मिल्काइएका जस्ता देखिन्थे । कुनै किताबहरू बडो मेहनतले मिलाएर सजाइएका हुन्थे । त्यहाँ खोज्न सक्नेले दुर्लभ किताब पाउने रहेछ । भर्खरै प्रकाशित किताबदेखि शताब्दी पुराना किताबसमेत त्यहाँ उपलब्ध हुने रहेछ । तिनको गन्ध माटो र समयसँग मिसिएको हुन्थ्यो ।
‘सर, कौन सी किताब चाहिए ?’ एक पुस्तक विक्रेताले मलाई सोधे ।
मैले खोजिरहेको किताब कुनै विशेष नामको थिएन । मलाई त्यस्ता किताबहरू मन पर्छन्, जसले आफूलाई खोज्न दिन्छन्– पानाहरू पल्टाउन लगाउँछन् । किताब पढेपछि कुनै नयाँ गन्तव्यतिर पाइला चाल्न हतार हुन्छ । हरेक हरफमा कत्ति हो कत्ति रोचक मीठो सुगन्ध मिसाएर मलाई आफूभित्र समाहित गर्छन् ।
‘पुराना यात्रा संस्मरण मिलेगा ?’ मैले सोधेँ ।
ऊ मुस्कुरायो, एउटा काठको बाकस खोलेर एउटा किताब निकाले– ‘ए वागबोन्ड जर्नी अराउन्ड द वर्ल्ड’ ।
साँच्चै वास्तवमा कतिपय कुराहरू याद हुँदैन ख्याल गरिंदैन । यसरी ख्याल नगरिएको कुराको प्रभाव पनि निकै गहिरो हुने कुरा मैले माथिका अभिव्यक्तिबाट महसूस गरें । वास्तवमा साहित्य पढ्ने पाठकहरू कति छन् र साहित्यकर्मी लेखकहरू कति छन् ? तुलनात्मक हिसाबले गणितीय तथ्याङ्क निकाल्न हम्मेहम्मे नै होला । तथापि जो सच्चा पुस्तकप्रेमी र पाठक छ उसले जसरी पनि आफूलाई मन पर्ने किताब खोजेर पढिछाड्छ ।
तथापि मेरो अनुभवमा पठन संस्कृतिको विकास नभईकन लेखनको प्रभावकारी फैलाई हुन गाह्रै होला । किनभने हिजो आज जो लेख्छन् त्यति धेरै पढ्छन् जस्तो लाग्दैन । जो पढ्छन् उनीहरू लेख्छन् भन्ने मलाई लाग्दैन । हामी पुस्तक प्रेमीहरू कतिसम्म पुस्तकप्रति लोभ प्रकट गर्छौं भने कुनै नयाँ पुस्तक प्रकाशित भएको खबर सुन्नु हुँदैन, कुनै नयाँ किताब देख्नु हुँदैन । तिनलाई आफ्नो संकलनमा राख्न पाए हुन्थ्यो भन्ने सकसक लागिहाल्छ ।
हामी जसरी होस् त्यो किताब आफ्नो साथमा लिन पाए, सित्तैमा नपाए छुट मूल्यमा, त्यति पनि नभए परल मूल्यमै भए पनि किनेर त्यसलाई आफ्नो पुस्तक संसारको अल्मारीमा सजाउन पाउँदा मीठो सपनामा मस्तले निदाउँछौं ।
यो कुरा सत्य हो ! पाठक, लेखक, प्रकाशन सङ्कलन या आदि विषयमा चिन्ता पनि छ । किनभने जो किताब सङ्कलन गर्छन् ती संकलनका लागि मात्रै गर्छन् । त्यसभित्रको अनुभूतिहरूमा गहिरिएर डुबुल्की मार्न चाहँदैनन् । कतिपय किताबहरू यस्ता हुन्छन् जसलाई पढ्नुभन्दा आफ्नो संकलनमा सजाउनुमा गर्वानुभूति महसूस हुन्छ । कतिपय किताबहरू पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
अपितु खोजी मार्दा पनि त्यस्ता किताबहरू पाउन सकिँदैन । ती किताबहरू दुर्लभ भइसकेका हुन्छन् । बजारको हल्लामा आएका वा समीक्षात्मक टिप्पणीहरू विज्ञापनहरूमा आएका किताबहरूको खोजी गरेर घरमा ल्याउँदा एक दुई पाना पल्टाउँदैमा ती किताबप्रतिको पाठकीय आकर्षण मरेर जान्छ । कुन कारणले हो ती किताबप्रति समीक्षकको त्यति गहिरो समीक्षात्मक टिप्पणी हुन गयो थाहा छैन ।
किताबहरूको मोह भनेको एक प्रकारको अम्मल पनि हो । कुनै किताबहरू एक पटक पढेपछि साँच्चै बारम्बार पढिरहँदा पनि पढेर धित मर्दैन । जति चोटि पढे पनि त्यसबाट नवीन भाव, नयाँ स्वाद, नयाँ दृष्टिकोण, नौलो विचारका अनुभूतिहरू आइरहन्छन् । ती किताबप्रतिको आकर्षण कहिले पनि पुरानो हुँदैन सधैँ नयाँ लाग्छ । यस्ता किताबहरूको खोजी हुन्छ । यस्ता किताबहरूको माग धेरै हुन्छ । यस्ता किताबप्रति पाठम प्रेम गहिरो हुन्छ ।
कुनै किताबहरू निकै मूल्यमा किनेर ल्याउँदा जति मनमा आनन्दानुभूति हुन्छ तर पढ्न थालेपछि त्यसबाट रत्तिभर पनि नयाँपनको कुनै आभास एक लाइनबाट दुई लाइनसम्म पढ्न पनि धैर्य हुन सक्दैन । त्यस्ता किताबहरूको प्रकाशन र लेखकको परिश्रम अर्थहीन लाग्छ । केवल पाठकहरूलाई शोषण मात्रै हो जस्तो । कसैले दिएको उपहारका किताबहरू पनि त्यस्तै हुन् । जुन किताबहरूको छपाइ, डिजाइन साथसज्जा आदि–इत्यादि अत्यन्त मेहनत गरी खर्चिलो किसिमले गरिएको हुन्छ । तर त्यसभित्रको विचारधारा कमजोर हुन्छ । परन्तु केही किताबहरू सित्तैमा पाइएका हुन् वा किनिएका वा सप्रेमोपहार उपलब्ध भएका ती निकै गहकिला र खोजिएका किताबको सूचीमा अग्रपंक्तिमा पर्छन् ।
फलतः त्यस्ता किताबहरू छिनभरको अभिनयका लागि सिँगारिएका वस्तु मात्र हुन सक्छन् । तिनले पाठकलाई दीर्घकालीन प्रभाव पार्न सक्दैन । पाठकको किताब हातमा पुगिसकेपछि त्यसले पाठकीय मन जित्नुसँगै त्यो किताब पढेर पाठकले आफ्नो जीवनलाई अलिकति मात्र भए पनि सकारात्मक ऊर्जाले रमाउन सक्नुपर्छ । नयाँ जीवन दृष्टिको भाव जागृत गराउन सक्नुपर्छ । अन्यथा त्यो किताब किन्नु, पढ्नु अर्थहीन हुन्छ ।
पुस्तकालय वा घरको पुस्तकको दराजमा सजाउनु मात्रै किताब प्रकाशनको उपलब्धि होइन, हुन सक्दैन । सानै किताब होस् तर त्यसले दिने सन्देश र पार्ने प्रभाव केही न केही ऊर्जावान् हुनैपर्छ । अन्यथा त्यो किताबको किताब हुनुको अर्थ पनि हुँदैन त्यस्ता किताब, किताब संसारमा कागको बथानमा बकुला जस्तै हुन्छ ।
सरसर्ती हेर्दा हिजोको तुलनामा आजका पुस्तामा किताब पढ्ने बानी नै छैन । आफ्नै कोर्सका किताबहरू पनि आजका विद्यार्थीहरूले मुश्किलले पढ्लान् । तर ३०–४० को दशक यस्तो थियो जुनबेला पाठ्यपुस्तकको गम्भीर अध्ययन त भइहाल्यो, त्यस अतिरिक्त नेपाली, अंग्रेजी, हिन्दी आदि भाषाका साहित्यिक किताबप्रतिको मोह पनि कम थिएन । जुनबेला किताब पाउनु र पढ्नुले ठूलो मान्छे ठानिने मान्यतासमेत थियो । गाउँघरतिर जसको घरमा रेडियो हुन्छ किताबहरू हुन्छ त्यो घर र त्यस घरका मानिस निकै शिक्षित, बौद्धिक वा भनौं धनीमानी र विद्वत वर्गमा गनिन्थे ।
हुन पनि हो, किताब ज्ञानको भण्डार हो अनुभूतिको संसार हो । विचार, भावना, अभिव्यक्ति र समग्र संसारलाई नजिकैबाट छिनभरमै चिनाउने माध्यम समेत किताब हो । जसको अध्ययनले व्यक्तिको बौद्धिक क्षमतालाई फराकिलो बनाउनुका साथसाथै ज्ञानी, ध्यानी, विवेकी र एक प्रकारले शिक्षित व्यक्तिको रूपमा स्थापित गराउन मद्दत गर्थ्यो । तर आजको पुस्तामा यस किसिमको प्रवृत्ति पाइँदैन ।
आफूलाई मन पर्ने किताब खोजीखोजी किनेर पढ्ने बानी आजका पुस्तामा नहुनु किताबप्रेमीका लागि अफसोसको कुरा हो । लेखकका लागि चिन्ताको विषय हो भने प्रकाशनका निम्ति पनि दुःखको कुरा हो । त्यसमाथि ‘एआई’ प्रविधिको फड्कोले किताब अध्ययनको मोह स्वतः कमजोर हुँदैछ । जेहोस् मलाई लाग्छ– पढ्नेहरू पढिरहेका छन्, लेख्नेहरू लेखिरहेका छन् । खोजी गर्दै किताब किन्नेहरू पनि छन् । निराश हुन छाडौं । आशा जगाऔं ।
‘कुनै पुस्तक खोजेर पढ्न मन लाग्छ । कुनै पुस्तक किनेर पढ्न मन पर्छ । कुनै पुस्तक किनेर पनि पढ्न मन पर्दैन ।’ हो, साँच्चै शरद प्रधानज्यू यहाँले भने जस्तै कुनै पुस्तक खोजेर पनि पाइँदैन, पाइने किताब पढेर धित मर्दैन । कुनै किताब, किताबको मर्म र धर्ममा रहेको हुँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 










