बी. ट्राभन
अनुवादः सरोनर
एक
मेक्सिको गणतन्त्र । ‘प्लेस इन द मिडल अफ द सेन्चुरी प्लान्ट’ अथवा ‘प्लेस इन द नाभेल अफ द मुन’ अर्थात् चाँदनीको नाभिस्थान । जहाँ अहिले न्युयोर्कको व्यापारी श्रीमान इ.एल. विनथ्रोप छुट्टी मनाउन आएको छ । धेरै समय व्यतीत नहुँदै उसलाई के दिव्यज्ञान हासिल हुन्छ भने, आफ्नो गौरवशाली अभियानलाई लिएर सधैं सचेत रोटरी र लायन्स क्लबका सम्माननीयहरू सप्तआश्चर्यको यो जंगला मुलुकमा यद्यपि आइपुगेका छैनन् । त्यसैले ‘कोलम्बस’को सन्तति हुनाको नाताले सम्माननीयहरूको सो भूल सच्याउने अहं जिम्मेवारी उसले आफ्नो थाप्लोमा ग्रहण गरेको छ ।
मौकामा चौकाको खोजीमा श्रीमान् नवीन अधिग्रहणमा अगाडि बढ्दैछ । पक्की मार्ग परित्याग गर्दै घच्चिको कच्ची बाटोमा पदार्पण गर्दै ट्राभल एजेन्टहरूद्वारा विदेशी पर्यटकहरूलाई विशेष किसिमले उल्लेखनीय ठहर र सिफारिस नगरिएका ग्रामीण भूभागहरूमा धुमधामको घुमघाम गर्दैछ । एकदिन हुने हुनामी के भने, स्वयंलाई ऊ ओआक्साका प्रान्तको एउटा सानो आदिवासी थलोमा भेटाउँछ ।
जलनिकासको विकासको प्रकाश नपर्ने, मैन र दियालोको भरमा उज्यालो रात आत्मसात गर्ने बस्तीको धुलाम्मे गोरेटो छिमल्दै तथाकथित ‘ज्याकलितो’ कहलाउने एउटा सानो पामपाते झुपडीमा विराजमान एकजना मानिस उसको नेत्रक्षेत्रमा प्रवेश गर्छन् । ऊ के पनि लोचनभोजन गर्छ भने, गाउँको चौबन्दी किल्लामा जङ्गलको मंगलगान छ ।
जङ्गलबाट सङ्ग्रहित पाटबाट डाली निर्माणकार्यमा मानिस निमग्न देखिन्छन् । सुव्यवस्थित सामग्रीको उपयोगले हरेक डाली बनाइएको मात्रै छैन, उनी र उनका परिवारका सदस्यहरूलाई मात्रै ज्ञान भएको उपयुक्त विधिले विशेष प्रकारका स्थानीय बोटबिरुवाहरू, बोक्राहरू, जराहरू र केही निश्चित कीराहरूमार्फत् ‘इन्द्रेणी’ रंगरोगन पनि गरिएको छ ।
दुई
उनको प्रमुख पेसा डाली बनाउनु भने होइन । उनी एक किसान हुन्, जसको लक्ष्मी दाहिना छैनन् । उनीसँग गरिबी नाउँको सम्पत्ति छ । ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! दया गरी अझ मलाई दुःख दे’ उनी भन्दैनन्, किनकि उनी बालकृष्ण सम हैनन् । उनको जीविकाको मूलबाटो पन्ध्र एकडभन्दा कम खेतको माटो हो तर उत्पादनशील छैन । भगिरथ प्रयत्नले पसिनाको गङ्गा फजुल बगेर गइदिन्छ । घामपानी, बतास साथसाथै लाभदायक अथवा हानिकारक चराचुरुङ्गी र कीराफटयाङ्ग्राको आतंकले पनि अन्नपूर्ण कामना अन्न अपूर्ण भइदिन्छ । जब खेतमा गर्नुपर्ने बालीको कुनै काम बाँकी रहँदैन, उनी डालीको ताली पिट्नु हात अघि सार्दछन् । किनकि, उनलाई आलस्यसँग घृणा छ । काम नगरिरहनु उनी असमर्थ छन् । जेनतेन डाली बिक्री गरेपछि आएको रकमले बालीको सानोतिनो आम्दानीलाई थोरै भए पनि भरथेग जो गर्नुपर्दछ ।
पेसागत रूपले एक सामान्य किसान भए पनि, उनको हृदयमा एउटा सच्चा र कुशल कलाकारले बास गरेको छ भन्ने पुष्टि उनले बनाएका सानासाना डालीहरूले गरिरहेका छन् । सबैभन्दा चित्ताकर्षक आभूषण, पुष्प, पुतली, पक्षी, लोखर्के, हरिण, बाघ र अन्य वन्यजन्तुहरूको रंगीन भेलाको रमाइलो मेलाले प्रत्येक डाली सुशोभित जस्ता देखिन्छन् । यद्यपि, आठौं आश्चर्यचकित पार्ने कुरा के छ भने, वन्यरङ्गको सुमधुर सांगीतिक धुन प्रवाहित गर्ने सो शोभा डालीमाथि चित्राङ्कित गरिएको होइन, त्यो वास्तवमै डालीको नै अङ्ग हो भन्ने महसुस हुन्छ । आफ्नो आत्मालाई कलाकारले आफ्नो हातमा लिएर नानाथरी दर्जनौं रङका पाट र डोरीको सञ्जाल कति कुशलतापूर्वक सञ्चालन गरेका छन् भने, मनहरण गर्ने सो परियोजना डालीका भित्री अङ्ग साथै बाहिरी अङ्गमा छर्लङ्ग देख्नु सकिन्छ । चित्रमार्फत नभएर बुनाइले मात्रै ती कलात्मक परियोजनाहरू सफल भएको छातीठोकुवा गर्नु सकिन्छ । कुनै नमुना अथवा आकृति हेरेर उनी यी डालीहरू बुन्दैनन् । डाली बुन्दाबुन्दै कलाको जादूयी परिकल्पना प्रकाशित हुन्छ । पूरापूर तम्तयार नहुँदासम्म उनीद्वारा संसारमा उपस्थिति जनाउँदै गरेका आकृतिहरू केका हुनेछन् र तिनका सजावट कस्ता हुनेछन्, कसैलाई छेउटुप्पो हुँदैन ।
यी डालीहरूलाई ग्राहक सियोधागो जस्ता सिलाइ सामग्री राख्न, टेबुलहरू अथवा झ्यालका आटहरूको शोभा बढाउन अथवा यत्रतत्रका सानातिना चीजबीज जोगाउन उपयोगमा ल्याउँछन् । महिलाहरू आफ्ना गरगहना, फलफूलहरू, बालबच्चाका ससाना पुतलीहरू राख्ने ठाउँ बनाउँछन् । वास्तवमा, एकसे एक तरिकाले यी डालीहरू घरायसी प्रयोजन र महिलाहरूको कोठाको सेवामा हाजिरी जनाइरहेका हुन्छन् ।
लगभग बीसवटा डाली तयार पारेपछि किसान हाटबजारको बाटो सोझ्याउँछन् । कहिलेकाहीँ हाट लाग्ने अगिल्लो रात उनी बाटो तताउँछन् । किनभने, उनीसँग सवारीको नाममा केवल एउटा खच्चड छ । कहिलेकाहीँ फेरि के भइदिन्छ भने, हाट लाग्ने अगिल्लो दिन खच्चड बिच्किदिन्छ । अनि नचिताएको नतिजा, घरबजार आउजाउमै उनको दिन र रात स्वाहा हुन्छ ।
हाटमा ओगटेको जग्गाको बीस सेन्टाभो तिर्नुपर्छ । बीसदेखि तीस घण्टाको अनवरत मेहनतले एउटा डाली तयार हुन्छ । जुन पाट संकलन र सोको तयारी, रङ्ग सङ्ग्रह र सोको तयारी र पाटको रोगनको समयबाहेक हो । चार सेन्ट हाराहारीमा उनी हरेक डालीलाई पचास सेन्टाभोको मोल तोक्छन् । उनले तोकेको मूल्यमा डाली किन्न कोही पनि मान्दैन । सम्भावित खरीददार किसानलाई वचनको तरबार प्रहार गर्दछन्, ‘एउटा पाजी डालीको लागि पाप लाग्ने मूल्यको फुइँ हाँक्दा तँ मूलासाग लज्जाले पानीपानी हुनुपर्ने !’ उनीहरूको तर्फबाट तर्क हुन्छ, ‘यो के हो ? परालको रद्दीको टोकरी । यस्तो जैरे जङ्गलमा खोजे जति पनि पाइन्छ ।’ कोही फेरि झपार्छ, ‘कति सानो टोकरी ! यो कसरी गतिलो होला ? हामीलाई लुट्नु आएको ? दश सेन्टाभोमा मैले किन्छु भने पनि तँ छुसीले मेरो जयजयकार मनाउनुपर्छ । म आएको छु र मात्रै आज तेरो खप्पर फुटेको छैन । तेरो छातीको रौं, तेरो जेठोदाइलाई बीस सेन्टाभो दिँदैछु । यहाँभन्दा एक पैसा बढी हुन्न । यतिमा दिन्छस् भने बेचिहाल् । नत्र सुइँकुच्चा ठोकिहाल् ।’
अन्ततोगत्वा, डालीको मूल्य पच्चीस सेन्टाभोसम्ममा जान्छ । तर पनि ग्राहकले आफ्नो मुखमा बुजो लगाएको छैन, ‘अब कसको के लाग्छ ? मसँग खुद्राको नाममा अहिले बीस सेन्टाभो मात्रै छ । अभागीले हग्नु बस्यो चिप्ले ढुङ्गामाथि । बीस पेसो साट्न सक्ने भए पच्चीस सेन्टाभोमै लैजान्छु ।’ निश्चितरूपमा, किसानसँग बीस पेसो साट्ने सामर्थ्य छैन । फलस्वरूप, उनी आफ्नो डाली बीस सेन्टाभोमै दिनु बाध्य हुन्छन् ।
किसानलाई बाह्य विश्वको बारेमा अलिकति ज्ञान हुन्थ्यो अथवा उनीजस्तै विश्वभरका कलाकारहरूलाई हरेक दिन हरेक घण्टा उनलाई जस्तै गरिने शोषणको सम्बन्धमा धेरथोर अत्तोपत्तो हुन्थ्यो भने उनी गर्व गर्ने थिए । किनकि, त्यतिबेला उनले के थाहा पाउँथे भने, कलाकारहरूको सानो सेनाको उनी एक अंश हुन् । जुन सैनिक दस्ता पृथ्वीको नुन हो । जसले संस्कृतिको बरखी बार्दैन, सहर सभ्यतालाई मार्दैन र सौन्दर्यको शक्तिलाई अलिनो पार्दैन ।
उनले हाट ल्याएजति डालीहरू बेच्न प्रायः असम्भव हुन्छ । कारण, दुनियाँका अन्य ठाउँहरूमा जस्तै यहाँका मानिसहरू लेन्सका सहायताले हेरे पनि कुनै कलात्मक भिन्नता नजर नआउने लाखौं सङ्ख्याका चीजहरूलाई प्राथमिकतामा राख्छन् ।
यद्यपि, यी शिल्पकारले आफ्नो जीवनमा कैयौं सयौं सर्वोत्कृष्ट डालीहरू बनाएका छन् । जुन एउटाजस्तो अर्को छैन ।
स्वाभाविक रूपमा, हाटमा नबिकेका डालीहरूलाई उनी पुनः घरको बाटो देखाउनु चाहँदैनन् । यो स्थितिमा उनी घरघर चहार्छन् । घरघर चहार्दा कोही उनलाई ‘भिखारी’ शब्दको झटारो हान्छन्, कोही ‘चोर’ भनेर स्वर मच्चाउँछन् ।
अनेकौं तुच्छ वचनवाणले लामो बाटो तय गरेपछि यदाकदा उनलाई कुनै महिलाले डाक्छिन् । एउटा डाली उठाउँछिन् । दस सेन्टाभोमा लिने कुरा झिक्छिन् । निकैबेरको मोलमोलाइपछि भाउ पन्ध्रमा पुग्छ । कहिलेकाहीँ बीससम्मको आँकडा छुन्छ । तर सत्य के हो भने, प्रायःजसो अवस्थामा दस सेन्टाभोभन्दा बढीको मूल्य कहिल्यै उनको हात लाग्दैन । कलाको चमत्कार दस सेन्टाभोमा हत्याएपछि महिला ग्राहक लापरवाहपूर्वक डालीलाई समीपैको टेबुलमा फ्याँक्दै कहन्छिन्, ‘यो रद्दीको टोकरीको मलाई आवश्यकता छ र ! परमेश्वरको एक सच्चा भक्तिनी भएको नाताले मैले बर्बाद गरेको पैसालाई तैंले क्राइस्टको नाममा दान ठाने हुन्छ । दूर गाउँदेखि जङ्गली बाटो नाप्दै आएको एक नम्बरको पाखेलाई भोकै मर्नु दिनु पनि त भएन ।’ बोल्दाबोल्दै उनी अतीतको कुनै गोरेटोमा सकुशल अवतरण गर्छिन्, ‘ओहो ! तेरो घर त्यहाँ पो है ? उसोभए, अर्को आइतबार यतातिर तेरो खाप्चो देखाइस् भने मलाई दुईवटा जति टर्की हाँस ल्याइदिइस् है ? तर ती मोटाघाटा र चिल्लापिरा हुनुपर्दछ, नत्र म तिनीहरूलाई हात पनि लगाउनेछैनँ । तैंले भनेको मूल्य नै मलाई छेराउने भए फेरि ल्याइराख्नुपर्दैन, बुझिस् ?’
तीन
आफ्नो छाप्रोमा डाली निर्माणकार्यमा निमग्न किसानले श्रीमानको उपस्थितिलाई बेवास्ता गरिदिएका छन् ।
‘त्यो सानो डालीको मोल कति हो, साथी ?’ केही बोल्ने निहुँले श्रीमान प्रश्नको चङ्गा उडाउँछ ।
‘पचास सेन्टाभो, हजुर । बरिलै, चार रील,’ किसान विनम्रतापूर्वक जवाफ दिन्छन् ।
‘अँ, त्यसो भने कम्मर कसेँ,’ श्रीमान एउटा रेलमार्ग किनेको भावभङ्गिमा पेश गर्दै धोद्रो आवाज निकाल्छ । आफूले किनेको डाली जाँच गर्दै थप गफ दिन्छ, ‘यो सानो सुन्दर डाली म कसैलाई कोसेली दिनेछु । जसको साटो निश्चयै मलाई चुम्बन मिल्नेछ । यो डाली भने केमा उपयोग गर्लिन् ? त्यो अहिल्यै म अनुमान लगाउनु सक्तिनँ ।’
तीन वा चार पेसोको मूल्य सुन्ने अपेक्षा श्रीमानको हो । तर किसानको मूल्यभन्दा छ गुणा अधिकतम रकमको अनुमान उसले गरेको रहेछ । एक सय सेन्टाभो बराबर एक पेसो हुन्छ । किसानको सानासाना डालीमा ऊ बडेमानको व्यापारिक सम्भावना अटाएको देख्छ । विलम्ब नगरी ऊ ती सम्भावनाहरू खनिखोस्रिनु थाल्छ । ‘एकछिनलाई मानौं, हितैको दौंतरी ! मैले दशवटा किनेमा प्रति डाली मूल्य कति भन्छौ ?’ केही क्षण मनमनै हिसाब गरिसकेपछि किसानको जवाफी कारबाही छ, ‘पैंतालीस सेन्टाभो ।’
‘अब मानौं, अहिलेका अहिल्यै तिमीबाट मैले यी सयौं रद्दीका टोकरीहरू किन्नु चाहेमा प्रति टोकरी कति खर्च व्यहोर्नुपर्ने हुन्छ ?’
अहिलेसम्म किसानले आफ्नो सामुन्ने उभिरहेको परदेशीलाई हेर्दा पनि हेरेका छैनन् । ऊसँगको वार्तालापले उनको कामको गतिलाई कत्ति प्रभावित गरेको छैन । आफ्नो पुरानो व्यवहारमा रत्ति परिवर्तन नल्याई थोरै उत्साहित लवजमा श्रीमान समक्ष किसान सविनय विनम्र निवेदन यो गर्दछन्, ‘चालीस ।’
श्रीमान किसानको मोलमा सोह्रवटा डाली किन्छ ।
चार
तीन सप्ताह मेक्सिकोमा गुज्रान गरेपछि श्रीमान के कुरामा विश्वस्त हुन्छ भने, ऊ यो देश पचाएर शेष भएको छ । यो देशका बासिन्दाहरू र उनीहरूको जीवनचरित्रको बारेमा सबै कुरा जानेको र अब जान्नुपर्ने केही पनि शेष नरहेको भन्ने उसलाई लागेको छ । उसलाई आफ्नो ज्ञानको अहंकार छ तर उसलाई आफ्नो अहंकारको ज्ञान छैन । त्यसैले आफ्नो पुरानो नूयोर्गमा ऊ फर्किन्छ र पुनः आफ्नो सभ्य मुलुकमा श्वास फेर्नु पाउँदा ऊ गदगद हुन्छ, जुन कुरा ऊ आफैंले आफैंलाई भट्याउँछ ।
एकदिन अर्नी खान ऊ निस्किएको हुन्छ । एउटा पसलको झ्यालबाहिरबाट सजिसजाउ मिठाइ देख्छ । मेक्सिकोको आदिवासी गाउँदेखि किनेर ल्याएका डालीहरूको उसलाई स्मरण हुन्छ । ऊ हत्तपत्त घर पुग्छ । जम्मै डालीहरू लिएर सहरको एक प्रतिष्ठित मिठाइ पसलतिर आफ्ना पाइला बढाउँछ ।
मिठाइ पसलेसमक्ष ऊ सत्योद्घाटन गर्छ, ‘म तपाईंलाई दुनियाँकै सबैभन्दा कलात्मक र मौलिक डालीहरू उपलब्ध गराउनु सक्छु । सर्वाधिक मूल्यका उपहारका रूपमा बिक्रीवितरण हुने महँगा मिठाइ राख्न यी साना सुन्दर डालीहरू उपयोगी हुनेछन् ।’
साहु डालीहरू परीक्षण गर्छ । आफ्नो व्यवसायको कुनै एक पक्षमा अद्भुत किसिमले उपयोगी हुने निचोडमा पुग्छ । कला र पाक्कलाको दोभानमा मौलिकता, सुन्दरता र सुस्वादको त्रिवेणी मेला योभन्दा अघि कहिल्यै लागेको छैन । आफ्नो जीवनमै पहिलोपटक यति सुन्दर र मौलिक डालीहरूको साक्षात दर्शन साहुलाई भएको छ । आफ्नो अपार उत्साहलाई प्रकट भने ऊ गरिहाल्दैन ।
आफ्नो कुम झट्कार्दै ऊ भन्छ, ‘यो मलाई आवश्यक माल नै होइन । जाँच भने गर्न सकिएला । त्यो पनि फेरि दामले निर्धारण गर्नेछ । हाम्रो व्यापारको दुनियाँमा भित्री मालभन्दा त्यसको बाहिरी खोस्टाको महत्ता बढ्ता हुँदैन । भित्री मालको तुलनामा खोल महँगो हुनुहुँदैन ।’
‘तपाईं कति दिनसक्ने ?’ श्रीमानको प्रश्न तेर्सिन्छ ।
‘हामी दुवैलाई पायक पर्ने गरी, तपाईं पनि म पनि नमर्ने गरी । लाटोबुङ्गोको तालमा भन्नु कहाँ सकिन्छ ?’
‘यी डालीको उद्गमथान थाहा हुने र यहाँसम्म आपूर्ति गर्नसक्ने एकमात्र धुरन्धर व्यक्ति म नै हुँ । जसले सबैभन्दा बढी बोली लगाउँछ, म उसैलाई डाली बेच्नेछु । एकपटक मेरो स्थानमा उभिएर सोचिदिनुहुनेछ र मैले भनेको भाउबमोजिम नै खरीद गरिदिनुहुनेछ भन्ने मलाई विश्वास छ ।’
साहु स्वनिर्णय अर्को दिन सुनाउने ओठेपत्र जारी गर्छ ।
पाँच
भोलिपल्टको भेटमा श्रीमानसँग प्रकट भएको साहुको अभिमत छ, ‘असली कला एकपटक हेर्दैमा चिनिन्छ । यी डालीहरू कलाका शानदार नमुना हुन् । तर हामी कलाका ग्राहक परेनौं । हाम्रो दोकानको फ्रान्सेली गुँडबदाम पोको पार्नबाहेक यी डालीहरूलाई हामीले दिनसक्ने अर्को कुनै इज्जत छैन । कुनै पनि कलाको वस्तुलाई उपलब्ध हुने मूल्य हामी निश्चयै दिनु असमर्थ छौं । हाम्रो सत्यानाश होस्, हामीलाई यी डाली फगत खोस्टा हुन् । मनमोहक भएपनि खोस्टा आखिर खोस्टा नै हुन्छ । अब जिब्रो नचपाएर भनौं, श्रीमान ! प्रति डाली एक डलर र एक चौथाइ पैसाको राम्रो प्रस्ताव हाम्रो छ, त्योभन्दा एक सेन्ट बढी नगरौं ।’
श्रीमान यस्तो देहभाषा बोल्छ, मानौं उसको टाउकोमा कसैले हथौडा बजारेको छ ।
उसको चित्त नबुझेको अनुमानअनुसार साहु आफ्नो दामी रकमी बोली उच्च गर्छ, ‘डेढ डलर, हुन्छ ?’
‘अहँ ! हुँदैन । पौने दुई डलरमा शुभयात्रा गर्नुस् न ।’ निधारका पसिनादाना रुमालको ठेगानामा पुर्याउँदै लामो निश्वास छोड्दै श्रीमान भन्छ ।
‘तपाईंकै सदर भो । न्यूयोर्कको बन्दरगाहमा केही पर्दैन । भन्सारखर्च हाम्रो । ढुवानीखर्च तपाईंको,’ श्रीमानले खुट्टा उठाउनु लागेको हुन्छ, ‘एउटा शर्त यद्यपि जिउँदै छ,’ साहुस्वर गुञ्जन्छ, ‘एकदुई सय डालीले हामीलाई पुग्दैन । त्यतिले हाम्रो कष्ट र विज्ञापनको खर्चसम्म उठ्दैन । दश हजार घटी नल्याउनुहोला । सहस्रदश दर्जन अझ सुमधुर सुनिन्छ होला । एक दर्जन भिन्नभिन्न ढाँचाका होऊन् । यो असम्भव छैन, हैन ?’
‘कुनै चिन्ता नलिनुस् । एक दर्जन किन, पाँच दर्जन भिन्नभिन्न शैलीका ल्याउन सक्छु ।’
‘अक्टोबरसम्ममा दश हजार डाली आपूर्ति हुनेमा शंका छैन ?’
‘नि:सन्देह,’ श्रीमानको अधरपत्र खुल्छ । ऊ करारपत्रमा हस्ताक्षर धस्काउँछ ।
छ
श्रीमान पुनः मेक्सिकोमा गोडाफाट गर्नु आइपुगेको छ । ऊ कति सुसम्पन्न हुनेवाला छ भनेर व्यावसायिक हिसाब हल गर्न उसले बायाँ हातमा एउटा नोटबुक र दायाँ हातमा एउटा सिसाकलम समातेको छ ।
‘हरे ! सियो खोइ सियो ? ए हैन, सिसाकलमले कता कुलेलम ठोकेछ ? अहिले यहीँ थियो । मेरो सुद्धी, औंलाहरूकै चेपेमा त बग्दै रहेछ । दश हजारको माग भनेपछि पन्ध्र हजार चार सय चालीस डलरको शुभलाभ । टोकरीवाज बूढोको खल्तीमा पन्ध्र हजार पर्ने भनेपछि, मेक्सिको गणतन्त्र त्यति पिछडिएको हैन, यसले अझै सिल्टीमुर खाएको छैन ।’
किसान आफ्नो ‘ज्याकलितो’मै भेटिन्छन् । मानौं, श्रीमान न्युयोर्क प्रस्थान गरिसकेपछि पनि उनी आफ्नो ठाउँबाट उठेर कतै गएकै छैनन् ।
भन्छन्, ‘सूर्यनारायणको उज्यालो मुहार हेर्दै काम भ्याउनुछ । चाँडै सूर्यनारायणले सन्ध्याको घुम्टो खोल्ने बेला हुन हुनलागेको छ ।’
श्रीमान आफैंमा फतफताउँछ, ‘मेरो कुरा सुन्नुपर्छ, यो ऐरेगैरे नत्थुखैरे जङ्गलीको खुट्टा भुइँमा हुनेछैन ।’ ऊ उच्च स्वरमा सुनाउँछ, ‘के तिमी मेरा निम्ति एक हजारवटा डाली बनाउनु सक्छौं ?’
‘ए बरै ! सोह्रवटा बनाउन सक्छु भने एक हजारवटा सक्तिनँ होला ?’
‘के तिमी पाँच हजारवटा पनि बनाउन सक्छौं ?’
‘एक हजारवटा सक्नेले पाँच हजारवटा नसक्ला ?’
‘यदि मैले तिमीलाई दश हजारवटा बनाउन भनें भने ? त्यतिबेला प्रति डाली दाम कति हुन्छ ? दश हजारवटा बनाउन त सक्छौ नि, होइन ?’
‘जति भनेपनि बनाउन सक्छु । यो कामको त म विज्ञ नै हुँ नि । यो राज्यमै मैले जस्तो गतिलो डाली बनाउने मबाहेक अर्को छैन ।’
‘सखौला ! दश हजार डाली कति समयमा तयार गर्न सकौला ?’
उनको धिमा बोली फुट्छ, ‘त्यतिका धेरै बनाउन त एक जुगै लाग्ला । पाट र डोरी प्रयोग गर्नुअघि सुकाउनुपर्छ । कोमलता, लचिलोपन र प्राकृतिक आभा नष्ट नहोस् भनेर सुकाउँदा एक विशेष तरिकाले भारवहन गर्नुपर्छ । सुख्खा भए पनि आफूलाई ताजा देखाऊन् । प्राकृतिक गुणहरू नगुमाऊन् । नत्रभने, पराल जस्तै प्राणहीन र मृत सुन्दरीको शरीरझैं देखिनेछन् । सुख्खापन छाइरहँदा रङको जोहो गर्न बोटबिरुवा, जरा, बोक्राहरू र कीराहरू बटुल्न जङ्गल धाउनुपर्छ । जुग जाने पिरती लाएसरि हुन्छ । चन्द्रमाको कला ठीक हुन्छ, हुँदैन, साइत जुराउनुपर्छ । कुसाइत परेमा बोटबिरुवाले सर्वोत्तम रङ दिँदैनन् । बोटहरूमा कीराहरू समात्नु पनि साइत हेराउनुपर्छ । कुसाइत परेमा रङहरूको समृद्धि तिनीहरूबाट सम्भव नहुनाले हाइ आउँछ ठूलो, हात पर्छ धुलो । हजुरले भनेजति डाली बनाउने सामर्थ्य म राख्छु । यदि हजुर चाहनुहुन्छ भने म तीन दर्जन पनि बनाउनु सक्छु । मलाई मात्र समय दिनुहोस् ।’
‘तीन दर्जन ? तीन दर्जन ?’ श्रीमान चिच्याउँछ । तनावग्रस्त हुँदै दुवै हातहरू फट्कार्छ । ‘तीन दर्जन !’ दोहराउँछ । यो कुरा ऊ एउटा कानले सुनेर अर्को कानले उडाउनु चाहन्छ । उसलाई के लागेको छ भने, अमानवीय गाली सुन्दै घरघर चहार्दै आठदश डाली बेच्ने किसान घरको आँगनबाटै दश हजार डाली बिक्री हुने सन्देश सुनेर दशहात माथि बुरुक्क उफ्रनेछ ।
किसानमा लालसाको फल पाउने उद्देश्यले श्रीमान पुनः मूल्यको प्रश्न उठाउँछ, ‘सयवटा किनेमा प्रति डाली चालीस सेन्टाभो तिर्नुपर्ने हुन्छ, होइन ?’ ऊ गहिरो निश्वास छोड्छ, ‘यदि त्योभन्दा पनि दश गुणा अधिक एक हजारवटा डाली बनाउन भन्छु भने, प्रति डाली भाउ कति पर्नेछ ?’
किसानको दिमागमा अलमल झलमल हुन्छ । पहिलोपटक आफ्नो काम टक्क रोकेर उनी सोचमग्न हुन्छन् । केही सीप नलागेपछि अन्तमा बताउँछन्, ‘ओहो ! यो त मैले गन्नै नसक्ने भइगयो । भोलि फेरि मेरो आँगनमा पाउकष्ट गर्नुहुन्छ भने म बताउनु सकुँला ।’
सात
भोलिपल्ट ‘शुभप्रभात’ अभिवादन गर्ने कत्ति पनि कष्ट नगरी श्रीमान सीधा मुद्दामा हाम्फाल्छ, ‘दश हजार डालीको दाम सोच्यौ त ?’
‘चाइन्जो ! अपत्यारिलो लाग्ला, एक पैसा तपाईंसँग घटबढ नहुने हिसाब निकाल्दा आजको रात एक झिमिक नगरी छर्लङ्गै काटेको छु । एक हजारमा तीन पेसो, पाँच हजारमा नौ पेसो र यदि दस हजारवटा हो भने प्रति डाली पन्ध्र पेसोभन्दा एक पैसा तल झर्नु सकिँदैन ।’ आफ्नो हिसाबी बमगोला वर्षाएलगत्तै किसान काममा लागिहाल्छन् ।
श्रीमान सोच्छ, विदेशी भाषाको मामिलामा उति साह्रो विज्ञ नहुनाले हिसाब बिग्रेको छ ।
‘दश हजारमा प्रति डाली पन्ध्र पेसो पर्ने कुरा जानकारी गराएका हौ ?’
‘सोह्रै आना सही । मेरो हिसाबमा बीसको उन्नाइस पनि भएको छैन,’ किसानको नम्र र भद्र स्वर पोखिन्छ ।
‘हे सज्जन ! यो तिमी के भन्दैछौ ? म तिम्रो हितैषी हुँ ।’
‘श्रीमान ! हजुरका हरेक शब्दमा मलाई विश्वास छ ।’
‘एक सयमा प्रति डाली चालीस सेन्टाभो भनेका होइनौ ?’
‘ढाँटेको कुरा मरीकाटे मिल्दैन । मैले भनेकै हो । मसँग सयवटा हुन्थे भने प्रति डाली म चालीसमै दिनेथिएँ । तर मसँग त्यतिका डालीहरू नै छैनन् ।’
श्रीमानको होश उड्ला जस्तो हुन्छ, ‘मैले बुझ्दै नबुझेको खुरापाती कुरा के भने, तपाईंले दश हजार डालीलाई सय डालीकै मूल्यमा कसरी बेच्नु सक्नुहुन्छ ? वस्तुको सङ्ख्या बढ्दै जाँदा बिक्रीमा छुटदर पनि बढ्दै जानुपर्ने । तर तपाईंको डालीको सङ्ख्या बढ्दै जाँदा छुटदर कम र बिक्रीदर उच्चतम भइरहेको छ ।’
‘यो बुझ्नु टाउको दुखाउनुपर्दैन । एक हजारवटा बनाउँदा मैले एक सयवटा बनाउँदा भन्दा सय गुणा बेसी मेहनत गर्नुपर्ने हुन्छ । दश हजारवटा बनाउँदा मेरो हालत झन् के होला ? म दश हजारवटा डाली एक सय वर्षमा पनि बनाएर सक्नेछैनँ । एक हजारवटालाई सय भन्दा बढ्ता पाटको आवश्यकता पर्दछ र सोही मात्रामा बोटबिरुवा, बोक्रा, जरा इत्यादि पनि चाहिन्छ । हजुरले सोचेजस्तो कहाँ सहज छ ! अदुवा खाई सभा बस्यो, मुला खाई वन पस्यो अनि जङ्गलमा जे हात पर्छ, मनलाग्दी सब उठायो । एउटा साँच्चिकैको बैजनी नीलो जरो खोज्नुमै मेरो चारदेखि पाँचदिन खर्च हुन्छ । पाट र डोरीको खोजीमा खर्चनुपर्ने समय र श्रमको कुनै लेखाजोखा छैन । हजुरले अह्राएबमोजिम त्यतिका धेरै डालीहरूको निर्माणकार्यमा म जुटें भने मेरो बारीको मकै र सिमी र मेरा बाख्राहरूको हेरचाह कसले गरिदिने ? मलाई कहिलेकाहीँ खरायोको मासु खानु उधुम मन लाग्छ, आइतबार आइतबार को मेरो लागि खरायो लखेट्न गइदिने ? मकै नै नभए केको रोटा टोक्नु, गेडागुडी नै नउब्जाए केको तरकारी चपाउनु ?’
‘तर तिमीले डालीका लागि त्यत्रो रकम मबाट प्राप्त गर्ने भएपछि संसारभरका मकै र गेडागुडीको स्वाद चाख्नु सक्छौ ।’
‘त्यो हजुरको कृपा हो ! तर हजुरलाई के स्मरणीय होस् भने, मलाई आफ्नै हातले उमारेको मकैमा मात्रै आस्था छ । अरूले के अन्न उब्जाउँछन्, के उब्जाउँदैनन् ? मेरो चाखको विषय होइन । अर्काले फलाएको बालीले गरेको ‘अन्नपूर्णको भोज’मा मलाई स्वाद आउँदैन ।’
‘तिम्रो काममा हात बढाउने तिम्रा आफन्तहरू गाउँमा कोही छैनन् ?’ श्रीमान आशावादी हुन्छ ।
‘जिउँदाको जन्ती मर्दाको मलामी । यो सम्पूर्ण गाउँ नै मेरो आफन्त हो ।’
‘तिमी मेरो लागि डाली निर्माणकार्यमा व्यस्त भएको बखत उनीहरूले तिम्रो खेतीपाती र तिम्रा बाख्राहरूको हेरचाह गरिदेलान् नि ? डालीलाई चाहिने सामग्री तयारीमा सघाउलान् नि ? पाट र रङ संकलन गर्ने काममा पनि हात बढाउलान् नि ?’
‘मेरो काममा हात हाले भने उनीहरूको खेतीपाती र गाईवस्तुको हेरचाह फेरि कसले गरिदिने ? मेरो डालीतिर लागे भने खेतीपाती गतिलो होला ? हामीले खेतीपाती गर्न छौड्यौं भन्ने कुरा व्यापारीहरूलाई पत्तो चलेपछि किन्नै नसक्नेगरी मकै र सिमीको दाम पनि अक्कासिनेछ र हामी सबै भोकभोकै मर्नेछौं । अनि सबथोकको बजारभाउ बढिरहँदा कसरी चालीस सेन्टाभोमै म डाली बुनिरहनु सकुँला ? एउटा डाली बेचेर कमाएको पैसाले एक ढिक्का नुन र एउटा हरियो खुर्सानी आउँदैन । हजुरको घैंटामा घाम लागेको हुनुपर्छ, पन्ध्र पेसोभन्दा सस्तो दरमा म किन डाली बनाउनु सक्तिनँ भनेर ।’
श्रीमानलाई कहाली लागेर आउँछ । ऊ आफ्नो सपनाको पन्ध्र हजार डलर कहाँ यति सजिलै उम्किनु दिनसक्छ ? उसको प्रस्ताव किसानको जीवनकै कति ठूलो अवसर हो र सो सुअवसरले उनलाई कति सुसम्पन्न गराउनेछ भनेर ऊ दुई घण्टासम्म किसानलाई सम्झाइबुझाइ गर्ने कामलाई पुनः निरन्तरता दिन्छ ।
‘महाजन,’ श्रीमानको कथन छ, ‘ढोकाभित्र पस्न आँटेकी धनलक्ष्मीलाई किन घोक्रेठ्याक लगाउँछौ ?’
आफ्नो नोटबुकमा एकपछि अर्को पातो उघार्छ । हरेकलाई अङ्क तथा आँकडाले भरपूर गराउँदै किसानका एक कान दुई कान भर्न के भन्न आफ्नो जिब्रोको प्रदर्शन गर्छ भने, किसान जिल्लाकै धनाढ्य व्यक्ति हुनेछन् ।
उत्साहका एक शब्द पनि किसान चुहाउँदैनन् । त्यसको सट्टा, श्रीमानले नोटबुकमा कोरेका गणितीय चिह्नहरू तथा हिसाबकिताबतिर पो उनको ध्यानाकर्षण भइरहेको छ । जुन आजका मितिसम्म उनले कहिल्यै नदेखेको सबैभन्दा ठूलो अचम्मको कर्म अर्थात् आश्चर्यकर्म हो ।
श्रीमानको भनाइ छ, ‘तिमी ठाउँका ठाउँ मालामाल हुँदैछौ । चार हजार पेसोको हकदार हुनेछौ । तिमी मेरो हितैषी मित्र पनि भएको नाताले लाभांश पनि दिने भएँ । समग्रमा, पाँच हजार पेसो बनाइदिने भएँ, टकाटक चाँदीका सिक्कामा ।’
चार हजार पेसोको बारेमा किसानले कहिल्यै सोचेकासम्म छैनन् । त्यति विघ्न पैसाको उनलाई चाह पनि छैन । बरू ‘काला अक्षर भैंसी बराबर’ उनी द्रुतगतिमा गणितीय आँकडा लेख्ने श्रीमानको क्षमता देखेर पो आकर्षित छन् ।
‘के छ विचार ? सम्झौता भएको भन्ठानौं ? हो भने, ‘अग्रिम रकम’ ग्रहण गरिहाल्नुहोस् ।’
‘मैले पहिले भनेझैं प्रति डाली मूल्य पन्ध्र पेसो नै हुनुपर्छ नि फेरि ।’
‘हे परमेश्वर !’ श्रीमान किसानप्रति हैरानीको स्वर फ्याँक्छ, ‘तिमी अहिलेसम्म आफ्नो मूल्यदेखि टसको मस छैनौ ।’
‘अर्को विकल्प अगाडि सार्नु सक्ने अवस्था छँदैछैन । एउटा अर्को कुरा छ, जुन अहिलेसम्म हजुरलाई थाहै छैन । यी डालीहरूलाई मैले आफ्नो मौलिक पहिचान दिनुपर्ने हुन्छ । मेरो आत्मिक प्रीत र मेरी वनदेवीको गीत डालीका अङ्गअङ्गमा गुञ्जनुपर्दछ । हजुरले भनेजस्तो असङ्ख्य डालीहरू बनाउने हो भने, म केवल सङ्ख्याहरू गुनगुनाउनु थाल्नेछु र डालीहरूलाई चटक्कै माया मार्नेछु । न रहे बाँस न बजे बाँसुरी । न मेरो आत्मिक प्रीत बस्ला डालीहरूमा, न मेरो गीत अट्ला । एउटा डालीले अर्कोलाई हेर्दा आफूभन्दा भिन्न पाउनेछैन । आफ्नो असङ्ख्य नक्कलहरूदेखि यिनीहरूलाई नै वाक्क लाग्नेछ र बिस्तारै मेरो कानकीरा खान थाल्नेछन् । प्रत्येक डालीमा एउटा नौलो प्रीतगीत अटाएको हुनुपर्दछ । जुन म हरेक मिरमिरे उषामा उठ्दा सुनिरहेको हुन्छु । जब सूर्यनारायण झुल्कन्छन्, पन्छीहरू आकाशे जमीनमा उडान भर्दै कर्णप्रिय गीत सुनाउन थाल्छन् । रङ्गीविरङ्गी पुतलीहरू आएर मेरा डालीहरूमा फूलमा जस्तै बस्दछन् । पुतलीहरू मेरा डालीहरूजस्ता छन् । तिनीहरू आफ्नो आत्मदर्शन गर्न मेरा डालीहरूकहाँ धाउँछन् । जबजब तिनीहरू आउँछन्, मलाई अर्को डालीको हकदार बनाउँछन् । हजुर ! मलाई क्षमा गरिदिनुहोला । हजुरसँग भलाकुसारी गरेर मैले पहिले नै धेरै समयको सत्यानाश गरिसकेको छु । यद्यपि, हजुरजस्ता दश दुनियाँका लब्धप्रतिष्ठितका घतलाग्दा, मनखतलाग्दा विचारहरू सुन्नु पाउनु मैले आफ्नो अहोभाग्य सम्झेको छु । मलाई अब एक्लै छाडिदिनुहुन विनम्र अनुरोध गर्दछु । भोलि छाडी पर्सि हाट लाग्ने दिन हो । जहाँ आफ्ना डालीहरू लिएर म फेरि जानुपर्छ । हजुरको आगमनले म गदगद भएको छु । हजुरलाई शुभयात्रा !’
परिणामस्वरूप, मेक्सिकोको एक आदिवासी गाउँको एकजना किसान कलाकारको आत्माको स्वप्निल धन, हृदयको स्पन्दन अर्थात वनदेवीकहाँ पाइएका तर बिक्रीको फिक्रीले आजसम्म पुँजीवादमा नगाइएका इन्द्रेणी कविता किसानका बहुरङ्गी डालीप्रति आफूद्वारा हुनु गइरहेको एउटा भयंकर व्यापारिक अपराध कच्याककुचुक परेका, जीवन च्यात्तिएका, खाली, धुजाधुजा, लथालिङ्ग, सडेगलेका ‘फोहोर मलाई’वाला पापबाट अमेरिकाका रद्दीका टोकरीहरू बचेका छन् ।
(‘द नाइट भिजिटर एण्ड अदर स्टोरीज’ (सन् १९९३) मा सङ्ग्रहित ‘एसेम्ब्ली लाइन’)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।