अनि कि, जनताले त हिलो खेले खेले, राजलाई पनि पो उतारे त हिलैमा । अनि गाए गीत — ‘हली र बाउसे रोपारी मिली असारै घन्काम्ला, हिलाको टीको बीउको फूल लाएर नाचम्ला…’

कोही कोहीले ‘असारै मासको दबदबे हिलो छिः मलाई घिन लाग्यो’ भनेर पनि गाए, तर त्यसमा मेरो एउटा प्रश्न छ । असारे हिलो ‘घिनलाग्दो’ हुनै सक्दैन भन्ने मेरो हठ छ । कृषिप्रधान देशमा यो बेमेल हो । भनेँ लु, परेको बेहोर्छु । बरु, असारे हिलोमा म त्यसपछिका सबै महीनाका लागि अन्नको जोहो भेट्छु । एउटा मातृवत् प्रत्याभूति पो भोट्छु ।

म भने बरु यस्तो गीत पो गाउँछु, एक्लै—

हिलो खेली धान रोपेको ऐले जस्तो लाग्छ

आँखामा गाजलुले ढाक्छ

त्यत्तिकै रुन मन लाग्छ… 

किन होला रुन मन लागेको ? आँखामा गाजलुले ढाकेरै त होइन होला । गाजल लाएकैले रोएको त कोही देखिएन जुनीमा । आमाले आँखैभरि ढप्प गाजल लाइदेका शिशु पनि खेलिरहेका देख्छु । अँ, हिलो खेली धान रोपेको अतीतको मोह वा विरह — जे भने पनि, त्यसले रुवाएको भने अवश्य हो । हिलोमा, त्यसमा रोपिने धानको सम्झनामा, मुटुछेड कुनै रहस्य त छ त । रुवाउँछ । ठट्टो कुरो होइन रहेछ क्यारे हिलोसँगको पिरती ।

अँ, कुरा राजाको थियो, गफैगफमा ठिमी पो पुगेछु ।

हिलोसँग मान्छेको सम्बन्ध करीब करीब बिच्छेद भएपछि मान्छे ‘राजा’ हुने हो । ‘ए, हिलो लाग्ला है’ भन्न थालेपछि राजाभाव आउने हो जमिनी मान्छेमा । नत्र, हामी हिलैमा फुलेका कमल त हौँ । अथवा, भुलेत्रै हौँला, तर फुलेका हिलैमा हौँ ।

राजालाई हलो जोताउने त राजर्षि जनककै पालादेखि । तर पनि, कुरो सुहाउँछ कथामा, मिथकमा । जमीनमा खासै सुहाएको कसैले सुनाएन, देखेन । आसारकै पन्ध्र पारेर हिलोमा राजालाई उतार्ने मेसो चैँ कहिले शुरु भयो, थाहा छैन । कपिलवस्तुभित्र पर्ने तिलौराकोटमा, त्यहाँका राजा शुद्धोधनले सुनको हलो जोतेर यसै दिन धान राप्ने चलन चलाए भन्नेसम्म चैँ सुनेकै हो ।

भर्खरै जन्मेका बच्चालाई न्वारनका दिन घाम देखाउने, र भुइँ टेकाउने भन्दै गोबर टेकाउने चलन पुरानै हो । अचेल, महानगरका खोइ कति तलामाथिका कोठामा काँअड ल्याउनु गोबर र टेकाउनु बालखलाई ?

एक अर्थमा, जीवनमा घरबाहिरको संसारसँगको पहिलो स्पर्शमै गोबर टेक्नु, हिलो टेक्नु, प्रतीकात्मक कुरा हो ।

तर हिलो खेल्दैमा सकिँदैन कुरोकन्थो । कुरोकन्थो कस्तो भन्दाखेरिलाई, हिलो र जिउको स्पर्श — यस कुरामा के सम्मोहन छ ? त्यो उधिन्नु जरुरी छ ।

त्यही रहस्य — शरीर र पानी, बर्सात्, धूलो, दुबो, घाँस, पराल, रुख, ढुङ्गा, बालुवा, हिउँले ढाकेका पहरा… आदिसँगको स्पर्शमा पनि छ उही सम्मोहन । उही आनन्द । रोमञ्चकता । काउकुती ।

कमेरोले नुहाउनू, जिउको लुतो जान्छ भने जान्नेले । नुहाइयो ।

रातो माटोले, भेटेसम्म हात्तीका पाइलाको माटोले, तुलसीको मठको माटोले, अमलाको फेदको माटोले र अन्तिममा गोबरले नुहाउने र शुद्ध हुने चलन तीजको पञ्चमी नुहाउने महिलाले आजसम्म जीवित राखेका छन् । छैनन् भने तिनले परम्परा छोडे । माटोको दर्शन बुझेनन् । ‘अन्धविश्वास’ भन्दिए, बडारिदिए । अरूले भने होलान्— अब काँअड ल्याम्नु हात्तीले टेकेको माटो ? हात्ती न सात्ती, लखठ्याप–ठ्याप !

हातगोडा धेरै दुख्यो भने माटोमुनि गाड्नू केहीबेर । चट हुन्छ भने । गरेको देखियो ।

उता अर्कातिर पञ्चकर्म भने । पोइसो तिर्दै, गराउँदै ।

फेरि कुन चैँ डाङ्ग्रे बाबाले आफूलाई पूरै माटोमा गाडेर, टाउको मात्रै बाहिर निकालेर तप गरेका अरे । हरे प्रभु, नारायण ।

अचेल युट्युबमा छ्यापछ्याप्ती देखापर्ने स्वयं खाद्यविद्हरू भन्दारहेछन्— माटोकै भाँडामा पकाऊ, माटैका भाँडामा खाऊ । तिनको विज्ञान थाहा छैन, तर मानव सभ्यताको उद्भवकालमा माटोको भूमिका के थियो, यी कुराले पनि सङ्कते चैँ गर्दछ ।

अब यो कुरा एकछिन छोडेर होली खेलेको कुरा अरम् एकछिन् । शुरु शुरुमा रङकै होली खेलिम् । पैसा सकिँदै गएपछि पानीको खेलिम् । अनि हिलोको । साथीभाइलाई आहालमा गाडेको पनि सत्य हो । तर अहँ, कसैले यस कुरामा मुद्दा हालेन । सब खुश । नयाँ लुगा फेरि धुनु पर्दा पनि धारे हात लाइएन कसैलाई ।

केही त छ हामीभित्र… जसले हिलो खेल्दा, माटो खेलाउँदा मज्जा दिइरहेको छ । हिलो दल्दा, हिलोमा दलिँदा, हिलोमा लडीबुडी गर्दा, हिलो छ्याप्दा, छ्यापिमाग्दा मज्जा दिइरहेको छ । बालखलाई भर्खर खनेको आलुबारीमा लगेर छोड्दनू त… दिनभरि डेटिङ गएर आउँदा पनि खेलिरहेको हुन्छ ।

हिलो दल्नु… हिलोमा दल्लिनु… यसमा मजा छ, वास्तवमा । यो मजा आदिम मजा हुनुपर्छ ।

आँखाकै कुरा गरौँ न एकछिन् । पटपटी फुटेको, खडेरीले सुकाएको, डडेलोले खाएको जर्जर जमीन हेर्नु — यसमा के आनन्द छ ? असारको दबदबे हिलो हेरौँ, ब्याड हेरौँ, रोप्न ठिक्क पारेका गरा हेरौँ न । हिलाम्य धरती सिर्जनाको प्रतीक हो । हिलोको गन्ध — सृष्टिको गन्ध हो । जीवन्तताको गन्ध हो । हाम्रो निजी गन्ध हो ।

शरीर र प्रकृतिको स्पर्शको सुख – म ठान्छु, यो ज्यादै पुरानो कुरा हो । समयसँगसँगै हामीले यसका नयाँ नयाँ स्वरूप निकाल्यौँ । निकालेनौँ त ?

हाम्रो शरीरको र नाङ्गो प्रकृतिको स्पर्शका विविध माध्यम । सूची बनाऔँ है त ।

हिलो खेल्नु ।

पौडी खेल्नु ।

सनबाथ ।

रुख चढ्नु र रुखबाट घिस्रिँदै झर्नु ।

भिगी भिगी रुत में तुम हम हम तुम…चलने हैं’ भन्दै झरीमा कुद्नु र नभिजेको जिउ भिजाउनु । केटाकेटीलाई पो आउँछ त नारान, उदेक लाग्दो तिहार, झरी पर्दा । ए बाबा, कुदेका कति हुन् । लुगा फेर्दिंदा फेर्दिंदा हत्तु ।

भर्खर काटेको खेतका नर्कटमा खाली गोडा कुद्नु ।

दाइँ बर दो, मेहेका टुप्पीमा कोइली बस्यो..’ दाइँको परालमाथि लडीबुडी गर्नु, र गाली खानु । आहौँ, दाइँ आउँदा ठूला मान्छेलाई अनेक थोकको ध्याउन्न । कताका गोरु, कताका अखने । हामी केटाकेटीलाई दशैँ । कसका घर कहिले दाइँ, हामीलाई कण्ठ । हातगोडा चहर्याए थोरै नौनी घिउ चोर्नी, लाउनी । फेरि भोलिपल्ट हातगोडा सखाप पार्न तयार । हैट, जिन्दगी ।

दुबोमाथि लडीबुडी गर्नु ।

पिङ खेल्नु र हावासँगको स्पर्श पिउनु । चचहुई, चचहुई…

बन्जी जम्पिङ ।

र्याफ्टिङ ।

अलि ठूलो आकारमा सोच्दा — हिमाल आरोहण ।

चैनका दिन त केटाकेटी हुँदा थिए हाम्रा । गाउँको चिप्लेटी ढुङ्गो फेमस । कति फटाइयो फटाइयो हाफ–पाइन्ट ।

कवि दाइ रमेश श्रृष्ठले पोखरा आइज भाइ भनेर निम्ता दिनुभएको छ । अनि थप आकर्षण थप्नुभएको छ— मौरीले टाकाउँछु क्या, मौरीले । रोग सखाप । बरु बुहारीलाई पनि लिएर आइज भाइ ।

गइहालेको छुइनँ । तर जान्छु ।

अरू त अरू, लेखक–कविले त अलखै पो जगाएका छन् त, प्रकृतिसँगको नाङ्गो घर्षणको । पीतामह हिवटमेनकै कुरा अरम् न एकबाजी । ‘सोङ्स आफ माइसेल्फ’ मा कतै लेखेको सम्झन्छु — म आफैँलाई धूलोमै समर्पित गर्दिन्छु, ताकि मैले माया गर्ने तृणबाट म पुनः उठ्न सकूँ । मलाई फेरि पाउन चाहन्छौ भने आफ्ना जुत्तामुनिको माटोमा खोज्नू ।’ ओभिडको आख्यानात्मक काव्य ‘मेटामोर्फोसिस’ को एउटा पात्र पिग्मेलियनले आइभोरीको मूर्ति बनाउँछ, र बनाउँदा बनाउँदै यसरी सम्मोहित हुन्छ कि भनौँ…. अब भन्नै परेन ।

मेरी ओलिभरको एउटा कविताको अंश निकै रमितलाग्दो छ —

लाग्छ, पृथ्वीले मलाई सम्झियो

मलाई अति प्रेमले स्वयंमा लीन गरायो

आफ्नो कालो पोसाक मिलाउँदै

त्यसभित्रका काई बीजदाना मिलाउँदै (कविताः जङ्गलको शय्यामा)

धेरैले मनपराएका प्रेमकवि पाब्लो नेरुदालाई पनि सम्झौँ न । ‘तिमी प्रतिदिन खेल’ शीर्षकको एउटा कवितामा उनी लेख्छन् — तिमीसँग त्यही काम गर्न चाहन्छु, जुन वसन्तले चेरीका रुखसँग गर्दछ

नेपाली कविहरू पनि कम निस्केनन् है । कवि पुष्कर लोहनी लेख्छन्—

घामको मधुर सुमसुमाहटमा

लुटपुटिन्छे, जिस्किन्छे, चल्छे

उसको प्यार कोमल स्पर्शमा लट्ठिन्छे

अनि लडीबुडी गर्दागर्दै

कठ्याङ्ग्रिएको जोबनलाई तताउँछे

आफ्नो सब कुरा बिर्सिन्छे (रापिलो घाम)

 

ललिजन रावललाई पनि सम्झेँ यसरी—

एकपटक पाइतालाले चुम जङ्गललाई

खोला नदीनालाहरूको चिसो पानीलाई स्पर्श गर

सम्झ जङ्गलभित्र समाहित भएका

ती महान् आत्माहरूलाई…(जङ्गल)

 

माटोसँग अँगालो मार्नु, सिर्जनशील सोच र नवीन विचारलाई निम्तो दिनु पनि हो । यही भाव खोजौँ न कवि जसरात किराँतीका शब्दमाः

माटोसित अँगालो मारेर सुतिरहेको बखत

मैले त्यहाँ मुठी बटारेर संकल्प पनि गरेँ

लाटाहालाई बोली दिन्छु

बहिराहालाई शब्द दिन्छु

अन्धाहालाई आँखा दिन्छु… (मेरो जन्म)

सृष्टिको सौन्दर्यलाई छाम्ने र अनुभूत गर्ने हो भने स्पर्श पहिलो शर्त हो । बाँकी त तर्क हुन्, मस्तिष्क विलास हुन् । कवि फणिन्द्र नेपालको ‘सृष्टिसौन्दर्य’ का यी हरफमा स्पर्शले सिर्जनाको बाटो कसरी खोल्छ, हेरौँ—

अनभ्यस्त हातहरूले आरक्त घाम समाउँदै डाँडाका हरिया चउरमा

त्यहीँबाट कलिला रश्मि उघाउन लागेका निर्विषाद निश्छल शिशुहरू

प्रतीक्षामा आगतको

अनागतलाई लत्याउँदै खेलका क्रममा

शुभ्रतासहित शुभयात्राबाट फर्केका इन्द्रेनीका मङ्गल घडाहरूको पवित्र जलले

नव निर्माणका निम्ति सृष्टिसौन्दर्यलाई अभिषेक गर्छन्

प्रकृतिसँगको करीबी स्पर्शमा यौनको अंश कसरी घोलेर पोखे कविहरूले, जीवन थिङका यी हफरमा देख्न सकिन्छ—

अभागका रित्ता सपनाहरू

आकाशगङ्गाजस्तै तिर्मिराएका

वैकल्पिक झुसिल्कीराहरू

अवरोहपूर्ण अवरोधहरू

भोग गर्छु, पुर्खा भएर भोग गर्छु

बालुवाका प्यासा ओठहरू

समूहसम्भोगले थकाएका कोठाका बिहानहरूमा

मिरमिरे घामका प्रयासी हातहरू… ( बेतलहम शहरको हिप्पोपोटामस)

यस्तै यस्तै भाव कवि हेम हमालले पनि पोखे—

हिमनदीमा

रमाइलो मान्दै चिप्लेटी खेलिरहन्छु

जतिपल्ट घिस्रेर तलसम्म पुग्छु

उतिपल्ट हिमालको टाकुरामा पुगिसक्छु

सधैँ सेतो घोडा चढेर

पहाड उक्लिरहेको हुन्छु (सपना)

यति भएपछि थोरै आख्यानलाई पनि चुस्स छोएरै जाऔँ होला । इमाइल जोलाको ‘दा साइल’मा पनि छ पात्र र धरतीबीचको रागात्मक सम्बन्ध ।  भर्खरै नोबेल पुरस्कार जितेकी हाङकाङका ‘द भेजिटेरियन’ मा पात्र र प्रकृति, विशेष गरी रुखविरुवाबीचको सम्बन्धले यौनजन्य अकार्षणको झस्को दिन्छ ।  लेस्ली मार्मोन सिल्कोको उपन्यास ‘सेरेमनी’ । तेमा (यो दङतिरको भाषा) एक पात्र छ, तायो । घाइते भएको छ युद्धमा, दूरदेशमा । केही गरे निको भए पो ! उसलाई निको हुन आफ्नै माटोमा फर्कनु पर्यो, त्यही आएर लडीबुडी खेल्नु पर्यो । कामुक जस्तो पनि लाग्ने, आध्यात्मिक जस्तो पनि लाग्ने । मिसाउँदा, प्राकृतिक लाग्ने । पर्ल एस. बर्कको ‘द गुड अर्थ’ र जेमी कोर्निगेको ‘द सोइल’ लाई पनि छोडूँ जस्तो लागेन । अरू चैँ आफैँ थपौँ है ।

सुनेको— एकजना डाक्टर थिए रे । घर चैँ गाउँमा, जागिर शहरमा । बेलाबेला घर पुग्दा केटाकेटीलाई समाउँदै घाँस राख्ने माचतिर, कतिलाई कान्लामुनि, कतिलाई कता फाल्दिने अरे । श्रीमती चैँ मजेत्राको छेउ समाउँदै हैन के गरेको यो भन्दै कराउने अरे । अनि डाक्टरले भन्ने अरे— ‘यति नगरी यी दह्रिँदैनन् । लड्नुपर्छ, गुड्नुपर्छ ।’

दिमाग नलाई बुझिँदैन । लाए पनि बुझिँदैन कहिलेकाहीँ मान्छेको नाङ्गो शरीर र प्रकृतिसँगको घर्षण । अथवा

अनि कि, मोजा लाएर त गोडा सेकाइएन नि, आगोमा, हिटरमा । कि सेकाइयो? अपवाद भयो पनि होला ।

यो शरीर र प्रकृतिको स्पर्शको महात्म्य कहिनसक्नुको रहेछ । नयाँ नाम दिएछन् उता — ‘इकोइरोटिसिज्म’ । इको भन्नाले पर्यावरण, इरोटिसिज्म भन्नाले यौनानुभूति । यस्तो पो बुझेँ ।

सानोसानो कुरोलाई पनि यौनसँगै जोड्ने बानी पश्चिमाहरूको । अलि बिगारेको फ्रायडले । यता त्यसरी सोचिहाल्नु हुँदैन ।

के चैँ सोच्ने आधार छ भने, प्रकृतिसँगको सिधा स्पर्श मान्छेको आदिम जीवनशैलीको पाटो हो । ‘एटाभिज्म’ भनौँ — बीचमा छुटेको बानी वा स्वभाव कालान्तरपछि फुत्त प्रकटित हुनु ।

यो पुरानो बानीको पुनरावृत्ति हुन सक्छ भनेर सोच्ने आधार मलाई रोबर्ट बी. रिले भन्ने एकजना विद्वानले दिए । उनी भन्छन्, मान्छेले भित्ता भएका घर बनाउनु र त्यसभित्र बस्नु पनि, उहिलेको, जङ्गली जनावरको आक्रमणबाट बच्न, गुफाहुँदी लुकेर बस्ने बानीकै नवीन र उन्नत पुनरावृत्ति हो । यसो भए, लुगाको अविष्कारपूर्व, खुला हावा, खुला पानी र हिलो–माटोमा बाँचेको मान्छेमा, फेरि नाङ्गा अङ्गले नाङ्गो प्रकृतिलाई छुन चाहनु, उही आदिम जीवनशैलीको पुनरावृत्ति हो भन्न सकिन्छ ।

मान्छेको हिलोप्रेम एटाभिज्मको उदाहरण हो भन्ने प्रमाण मिथक वा शास्त्रहरूमा पनि पाइन्छ । सुमेरियन मिथमा भगवान् एन्की र देवी निन्माहले मिलेर माटोबाट मान्छे बनाए भन्ने कथा छ । उता ग्रिसेली मिथकमा पनि प्रमिथसले माटैबाट मान्छे बनाए भनिएको छ । बाइबलमा पनि ईश्वरले जमीनको माटो (अदामहा) मै सास फुकेर पहिलो मानव, यानि आदम बनाए भन्ने कथा छ । कुरानमा पनि मान्छे माटैबाट उठेको उल्लेख छ । यता हिन्दु मिथकमा मनुको प्रादुर्भाव पृथ्वीबाट, यानि माटोबाट भएको हो भन्ने कथा छ । अफ्रिकातिर प्रचलित योरुवा मिथमा मान्छेलाई भगवान् ओबातालाले माटैबाट बनाएको कथा छ । बान्टु, चिनिया, माया, नोर्स र इन्का विश्वासमा पनि मान्छेको स्रोत माटै हो भनिएको छ । विज्ञानतिर फर्कने हो भने पनि मावन शरीरको निर्मितिमा प्रयुक्त सबै ठोस तत्त्वको स्रोत, अन्ततोगत्वा, माटो नै हो ।

बाइबल भन्छ, ‘तिमी माटोबाट उठ्यौ, माटैमा जान्छौ ।’ कबीरको वाणी कण्ठै पो छ त— माटी कहे कुंहार से तू क्या रौंदे मोहे, एक दिन ऐसा आएगा मैं रौंदूंगी तोहे ।’ माटैबाट उठेको मान्छेले माटैमा जान खोज्नु, जरो पहिल्याउनु पनि हो । प्लेटोको कुरा तन्काउनु हो भने, उत्पत्तिकालमा फुटेको अण्डाको आधा भागले अर्को आधा भाग खोज्नु जस्तै पनि हो । अनुप जलोटा गाउँछन्, ‘चाँद सा सुन्दर ये तन तेरा मिट्टी में मिल जाएगा…’

प्रकृतिसँगको मान्छेको यो स्पर्श घटदै गएको सत्य हो । कवि जी.एम. होप्किनले त भने, जुत्ताले मान्छे र माटोबीचको स्पर्शलाई तोडिदियो । यो एउटा उदाहारण हो, एउटा रूपक । जुत्ता प्रतिनिधि हो कृत्रिम सुविधाको, जसले मान्छेलाई प्रकृतिसँग सिधै प्रेमालाम गर्नबाट रोकेको छ ।

यो जुत्ता गोडामा रहँदा त ठिकै छ, मनमै आयो, आत्मामै पस्यो र पो धेरै कुरा बिगार्यो । फेरि, लामो समयसम्म सुकाइएको, गैँडाकै छाला परेछ कि क्या हो जुत्तामा, अचेल त धरतीको चिसो फिटिक्कै भेट्दैनन् गोडाले । धरतीको चिसो, माटोको गन्ध र हिलोको मुलायम स्पर्श नपाएको मानव शरीर करीब करीब लुगापसलमा राखिने डम्मी नै हो — सुन्दर तर प्राणहीन ।

हिलो खेलौँ । दुबोमा लडीबुडी गरौँ । पानीमा भिजौँ । रुख चढौँ र सुल्किँदै झरौँ । नत्र, जेरी मेन्डरले भनेजस्तो कृत्रिम वातावरणमा बस्दा बस्दा चेतनामै पर्खाल लागिसक्छ । खुला आँखाले जुनकिरीको ज्योर्तिमय उडान हेरौँ । रुखको सियाँलमा बसौँ र गाऔँ न गीत एकैछिन्—

आऊ बसम् थकाइ माराम् कदमको छायामा

मौरी भुल्यो रसमा, म भुल्यो माया जालैमा… (झलकमान गन्धर्व)