

बुकर पुरस्कार विजेता उपन्यास अर्बिटल
सामन्था हार्भेद्वारा लिखित उपन्यास अर्बिटलले गएको वर्ष निकै चर्चा बटुल्यो । त्यसको मुख्य कारण यसले सन् २०२४ को बुकर पुरस्कार जितेको थियो । उक्त उपन्यासमा अन्तरिक्षमा जीवन बिताइरहेका वैज्ञानिकहरूको २४ घण्टे जीवन कस्तो हुन्छ भन्नेबारेमा लेखिएको थियो । उनीहरूले अन्तरिक्षमा पृथ्वी परिक्रमा गर्दै १६ सूर्योदय र १६ सूर्यास्त अनुभव गर्छन् ।
उक्त उपन्यासमा अन्तरिक्षमा बसिरहेका र आफ्नो आधिकारिक काम र जिम्मेवारी वहन गरिरहेका वैज्ञानिकहरूको दैनिकी सँगै मानव जीवन र मानवतामाथि पनि टिप्पणी गरिएको छ । उपन्यासमा जीवनको अनिश्चितता, मानव भावना र अन्तरिक्ष जीवनका चुनौतीका बारेमा टिप्पणी गरिएको छ भने जीवनका नयाँ रूप र आयामप्रति सोच्न गम्भीर बनाउँछ । उपन्यासले धर्म, जातिजस्ता पूर्वाग्रह कति बेइमानीको कुरा हो र जीवन कति महत्त्वपूर्ण हो भनी बताउँछ ।
हामी नेपाली कथाकारहरूले कथा वा उपन्यास लेख्दा पृथ्वीभन्दा बाहिर सोच्न सकेका छैनौँ । पछिल्लो समय केही उपन्यासहरू फरक विषय उठाइरहेका छन् तर साइन्स फिक्सनमा अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
आउनोस्, सुनिता विलियम्सको प्रकरण र अन्तर्राष्ट्रिय स्पेस एजेन्सीमा रहेका वैज्ञानिकहरूको गतिविधिका बारेमा जानकारी लिऔँ र नेपाली भाषामा पनि त्यस्ता कथा बुन्ने प्रयास गरौँ ।
अन्तरिक्षमा अड्किएका सुनिता विलियम्स र बुच विलमोरसँगै अन्य दुई अन्तरिक्षयात्रीहरू स्पेसएक्सको ड्रयागन विमानमार्फत पृथ्वीमा १८ जनवरी राति फर्किए ।
सुनिता र बुच एक हप्ताका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा गएका थिए । तर उनीहरूलाई पृथ्वीमा फर्काउने बोइङ कम्पनीको स्टारलाइनर विमानमा विभिन्न समस्या देखिएका कारण लामो समयसम्म उनीहरू अड्किएका थिए । लामो प्रतीक्षापछि इलन मस्कको कम्पनी स्पेसएक्समार्फत उनीहरू सुरक्षित अवतरण भएका छन् ।
उनीहरू फर्कन १७ घण्टा भन्दा बढी लागेको थियो ।
यो क्याप्सुलमा अन्तरिक्षमा अड्किएका अन्य दुई जना पनि थिए । तीमध्ये रूसका अलेक्जेन्डर गोर्बुनोभ र निक हेग पनि फर्किएका छन् । उनीहरू गएको सेप्टेम्बरमा स्पेसएक्सको ड्रयागन क्याप्सुलबाट स्टेसनमा पुगेका थिए ।
सुनिता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा २८६ दिन बिताए । उनीहरूले हरेक दिन १६ पटक सूर्योदय र सूर्यास्तको अनुभव गर्नुपर्थ्यो । यस्तो अवस्थामा उनीहरूले आफ्नो शरीरलाई व्यवस्थापन गर्न निकै कठिन हुन्थ्यो ।
उनीहरूले ९०० घण्टासम्म शोध गरे र यस अवधिमा उनीहरूले १५० वटा वैज्ञानिक प्रयोग गरेका थिए ।
यसरी लामो समयसम्म कुनै व्यक्ति अन्तरिक्षमा बस्छ भने उनीहरूको शरीरमा केही आश्चर्यजनक परिवर्तनहरू ल्याउन सक्छ । उनीहरूको मांसपेशी, मस्तिष्क आन्द्राका असल ब्याक्टेरियालाई परिवर्तन गर्न सक्छ।
त्यसो त, अन्तरिक्ष यात्राको कठिनाईहरू सुनिता र उनका साथीहरूका लागि नयाँ होइन । उनीहरू अनुभवी अन्तरिक्ष यात्री हुन्। तर अन्तरिक्षको अनौठो, कम गुरुत्वाकर्षणको वातावरणमा लामो समय बस्दा उनीहरूको शरीरलाई प्रभावित गर्न थाल्छ ।
अमेरिकी अन्तरिक्ष यात्री फ्य्राङ्क रुबियोले आइएसएसमा ३७१ दिन बिताएर सबैभन्दा लामो एकल अन्तरिक्ष यात्राको रेकर्ड बनाएका छन्। अन्तरिक्षमा बिताएको अतिरिक्त महिनाहरूले रुबियोले पृथ्वीको ५,९६३ परिक्रमा पूरा गरे, जसमा १५७.४ मिलियन माइल (२५३.३ मिलियन किलोमिटर) यात्रा गरे।
तैपनि, उनी मानवका लागि सबैभन्दा लामो अन्तरिक्ष यात्राको रेकर्डभन्दा करिब दुई महिना कम थिए – रूसी अन्तरिक्ष यात्री वालेरी पोल्याकोभले १९९० को दशकमा मिर अन्तरिक्ष स्टेशनमा ४३७ दिन बिताएका थिए।
र सेप्टेम्बर २०२४ मा, दुई रूसी अन्तरिक्ष यात्रीहरू – ओलेग कोनोनेन्को र निकोलाई चुब – ले आइएसएसमा ३७४ दिन बिताएर आइएसएसमा सबैभन्दा लामो समय बिताउने रेकर्ड तोडे। उनीहरूले सोयुज एमएस-२५ अन्तरिक्ष यानमा अमेरिकी अन्तरिक्ष यात्री ट्रेसी डायसनसँग आइएसएस छोडे, जसले छ महिना आइएसएसमा बिताएका थिए। कोनोनेन्कोले त अन्तरिक्षमा १,१११ दिन बिताएर सबैभन्दा लामो समय बिताउने रेकर्ड बनाएका छन्।
कोनोनेन्को र चुबले आइएसएसमा नयाँ मिसनमा पृथ्वीको ५,९८४ परिक्रमा गर्दा १५८ मिलियन भन्दा बढी माइल यात्रा गरे। तर अन्तरिक्ष स्टेशनको कम गुरुत्वाकर्षण वातावरणमा धेरै समय बिताउनाले उनीहरूको शरीरलाई निकै असर गरेको छ ।
रुबियोको अन्तरिक्षमा बिताएको लामो यात्राले मानवहरूले लामो अवधिको अन्तरिक्ष यात्राको सामना कसरी गर्न सक्छन् र यसले प्रस्तुत गर्न सक्ने समस्याहरूको सामना गर्ने उत्तम तरिकाहरू बारेमा मूल्यवान् जानकारी प्राप्त भयो । सीमित जिम उपकरणहरूसँग व्यायाम गर्दा मानव शरीरलाई कसरी असर गर्छ भन्ने अध्ययनमा सहभागी हुने उनी पहिलो अन्तरिक्ष यात्री हुन्।

अन्तरिक्ष यानलाई समुद्रमा खसालिँदै
ती अध्ययनको नतिजा अहिलेसम्म प्रकाशित गरिएको छैन तर त्यसबारे जानकारी सार्वजनिक भए भविष्यमा ती अनुभव निकै कामलाग्ने छन् । स्पेसएक्सले अबको योजना मंगल ग्रह जाने बताएको छ । त्यहाँ पुग्न अहिलेको विमान तकनिकअनुसार कम्तीमा तीन वर्ष लाग्ने अनुमान गरिएको छ । ती तीन वर्षमा आइएसएसभन्दा निकै सानो विमानमा साराका सारा व्यायाम र अन्य कार्य गर्नु यात्रीका लागि निकै कठिन हुनेछ । यसको अर्थ सानो हल्का व्यायाम उपकरणहरू आवश्यक हुनेछ।
अन्तरिक्षमा रहँदा मानिसको शरीरमा के के असर गर्छ भन्ने विविध जानकारीहरू बटुल्ने प्रयासमा वैज्ञानिकहरू छन् । उनीहरूका अनुसार देखिएका विविध परिवर्तनहरू यस प्रकार छन्ः
मांसपेशी र हड्डीहरूमा आउने परिवर्तन
हाम्रा अंगहरूमा गुरुत्वाकर्षणको निरन्तर तनाव भएन भने अन्तरिक्षमा मांसपेशी र हड्डीको मात्रा छिटो घट्न थाल्छ। भनाइको अर्थ, हड्डी र मांसपेशीहरू सुक्न थाल्छ । सुके भने ढाड, घाँटी र क्वाड्रिसेप्समार्फत् गरिने हाम्रा विविध कामहरू अवरूद्ध हुन थाल्छ । तीनदेखि ६ महिनासम्म अन्तरिक्षमा बस्नेहरूको हड्डी र मासु २० देखि ३० प्रतिशतसम्म घट्न थाल्छ । शुरूवाती चरणमा मान्छेको शरीरबाट चाँडो चाँडो मासु घट्ने गर्छ र पछि त्यो घट्ने क्रम अलि कम हुन्छ ।
यसैगरी, अन्तरिक्ष यात्रीहरूले पृथ्वीको गुरुत्वाकर्षणमा हुने जस्तो यान्त्रिक तनाव हड्डीहरूमा हुँदेन । यसले हड्डीहरू डिमिनरलाइज हुन थाल्छन् र मान्छेले उभिने र अन्य काम गर्ने शक्ति गुमाउँछन्। अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा बिताएको हरेक महिनामा उनीहरूको हड्डीको मात्राको १-२% गुमाउन सक्छन् । छ महिनाको अवधिमा १०% सम्म गुमाउन सक्छन् (पृथ्वीमा, वृद्ध पुरुष र महिलाहरूले हरेक वर्ष ०.५%-१% को दरले हड्डीको मात्रा गुमाउँछन्)। त्यसैले पनि कुनै अन्तरिक्षयात्रु पृथ्वीमा झर्यो भने ऊ हिँड्न अक्षम हुन्छ । ऊ हिँड्ने प्रयास गर्यो भने उसको हड्डी भाँचिने जोखिम हुन्छ । त्यसैले उसलाई एउटा सानो बच्चालाई जस्तो गोडा नटेकाई ह्विल चेयरमा राखिन्छ ।
अन्तरिक्षमा लामो समय बस्ने वैज्ञानिकहरू पृथ्वीमा फर्किएपछि हड्डीको मात्रा सामान्य हुन चार वर्षसम्म लाग्ने देखिएको छ ।
त्यसैले पनि शारीरिक कमजोरी हुन दिन अन्तरिक्ष यात्रीहरूले आइएसएसमा प्रतिदिन अढाई घण्टा व्यायाम र गहन प्रशिक्षण गर्छन्। यसमा आइएसएसको “व्यायामशाला”मा व्यायाम उपकरण प्रयोग गरेर स्क्वाट, डेडलिफ्ट, रो र बेन्च प्रेस गर्ने, ट्रेडमिलमा दौडनेदेखि एक्सरसाइज बाइकमा नियमित व्यायाम गर्ने गरिन्छ । हड्डीलाई यथासम्भव स्वस्थ राख्न मद्दत गर्न आहार र औषधीहरू पनि खाने गर्छन् ।
तर हालैको एक अध्ययनले अन्तरिक्षमा गरिने व्यायाम प्रणालीले पनि मांसपेशीको कार्य र आकारमा हुने ह्रासलाई पर्याप्त रोक्न सकेन भनेर देखाएको थियो। यसका लागि पनि अन्य पूरक अभ्यासहरू गर्न सुझाव दिइएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा समय व्यतित गर्दै वैज्ञानिकहरू
उनीहरूको शरीरमा गुरुत्वाकर्षणको कमीले अन्तरिक्ष यात्रीहरूले आइएसएसमा बिताएको समयमा उनीहरूको ढाडको हड्डी अलिकति लामो हुनाले उनीहरू अलिकति अग्लो हुन सक्छन्। यसले अन्तरिक्षमा पुग्दा ढाड दुख्ने समस्या हुन्छ भने पृथ्वीमा फर्किएपछि स्लिप डिस्क जस्ता समस्याहरू ल्याउन सक्छ। पृथ्वीमा फर्किनुअघि आइएसएसमा स्वास्थ्यसम्बन्धी जाँच गर्दा रुबियोले उनको ढाडको हड्डी बढिरहेको बताएका थिए । पृथ्वीमा जब यान झर्छ र जमिनमा वा पानीमा झर्छ, त्यो बेला उनीहरूलाई चोट लाग्न सक्ने सुझाव दिएका थिए ।
रूबियोले भनेका थिए, “मलाई लाग्छ, मेरो ढाडको हड्डी अलिकति बढेको छ । यसले मेरो सीट लाइनरमा बस्न अप्ठेरो भएको छ । त्यसैले म धेरै हलचल गर्नु हुन्न ।”
तौल घट्ने
यद्यपि अन्तरिक्षमा तौलको धेरै मतलब हुँदैन । माइक्रोग्राभिटी वातावरणले आइएसएसमा रहँदा बस्दा नगाँसिएको वा नटाँगिएको कुनै पनि चीज स्वतन्त्र रूपमा तैरन सक्छ । मान्छे पनि तैरिन्छ । यस्तो बेलामा कक्षमा स्वस्थ तौल वा मान्छेको वजन कायम राख्न चुनौतीपूर्ण हुन सक्छ। त्यसो त नासाले यात्रुका लागि पौष्टिक खानाको विविधतापूर्ण श्रृंखला तयार पारेको छ । खान्कीमा हालै आइएसएसमा उमारिएका केही सलादका पातहरू समावेश गरिएका छन् । तर यसले अन्तरिक्ष यात्रीको शरीरलाई असर गर्न सक्छ। नासा अन्तरिक्ष यात्री स्कट केलीले आइएसएसमा ३४० दिन बिताएर दीर्घकालीन अन्तरिक्ष यात्राको प्रभावको सबैभन्दा व्यापक अध्ययनमा सहभागिता जनाएका थिए । जबकि उनको जुम्ल्याहा भाइ पृथ्वीमा नै थिए । उनले अन्तरिक्षमा हुँदाका बेला शरीरको तौलको ७% गुमाएका थिए । उनका जुम्ल्याहा भाइले उही मात्रामा खान्की खाँदा, उस्तै व्यायाम गर्दा तौलमा कुनै फरक परेको थिएन ।
दृष्टि
पृथ्वीमा, गुरुत्वाकर्षणले हाम्रो शरीरमा रगतलाई तलतिर धकेल्न मद्दत गर्छ जबकि मुटुले यसलाई फेरि माथि पम्प गर्छ। तर अन्तरिक्षमा, यो प्रक्रिया गडबड हुन्छ (यद्यपि शरीरले केही अनुकूलन भने गर्छ नै) । अन्तरिक्षमा रहँदा रगत सामान्य भन्दा बढी मात्रामा टाउकोमा जम्मा हुन सक्छ। आवश्यकताभन्दा बढी रगत टाउकोमा पुग्दा केही रगत आँखाको पछाडि र अप्टिक नर्भ वरिपरि जम्मा हुन सक्छ । यस्तो अवस्थामा मान्छेको हेर्ने क्षमतामा केही परिवर्तनहरू ल्याउन सक्छ । खासगरी मान्छेको हेर्ने तीक्ष्णताको कमी र आँखामा संरचनात्मक परिवर्तनहरू पनि आउन सक्छ । यी परिवर्तनहरू अन्तरिक्षमा केवल दुई हप्तापछि सुरु हुन सक्छन् तर समय बित्दै जाँदा आँखाको जोखिम बढ्न थाल्छ । केही दृष्टि परिवर्तनहरू अन्तरिक्ष यात्रीहरू पृथ्वीमा फर्किएको करिब एक वर्षभित्र पुनःस्थापित हुन सक्छ तर अरू कतिपय समस्याहरू स्थायी रूपमै रहिरहन सक्छन् ।
ग्यालेक्टिक कस्मिक किरणहरू र ऊर्जावान् सौर्य कणहरूको सम्पर्कमा आउनाले आँखाका विभिन्न समस्याहरू पनि ल्याउन सक्छ। पृथ्वीको वातावरणले हामीलाई यिनीहरूबाट सुरक्षा दिन्छ तर आइएसएसमा कक्षामा पुगेपछि यो सुरक्षा हराउँछ। यद्यपि अन्तरिक्ष यानले अतिरिक्त विकिरणबाट बच्न विभिन्न सुरक्षा उपकरणहरू पनि सँगै लगेको हुन्छ । आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूले कस्मिक किरणहरू र सौर्य कणहरूले उनीहरूको रेटिना र अप्टिक नर्भमा हान्दा आँखामा चम्कने प्रकाशको गुनासो गर्ने गरेका छन् ।
न्यूरल शफलिङ
प्रायः यस्ता वैज्ञानिक प्रयोगमा जुम्ल्याहाहरू प्रयोग गरिन्छ । जस्तो कि केली र उनका भाइलाई पनि यस्तो प्रयोगमा सहभागी गराइएको थियो । केली अन्तरिक्षमा रहँदा उनको संज्ञानात्मक प्रदर्शनमा केही परिवर्तन भएको पाइयो । उता पृथ्वीमा रहेका उनका भाइको भने संज्ञानात्मक (बुद्धिमता) अपेक्षाकृत उस्तै रह्यो। अन्तरिक्षमा केलीको संज्ञानात्मक प्रदर्शनको गति र सटिकतामा कमी थियो । त्यस्तो कमी भने उनी पृथ्वीमा फर्किएको लगभग छ महिनासम्म जारी थियो । सम्भवतः उनको मस्तिष्कले पृथ्वीको गुरुत्वाकर्षण र उनको घरमा भएको धेरै फरक जीवनशैलीमा अनुकूलन गर्न समय लागेको हुनसक्छ ।
२०१४ मा आइएसएसमा १६९ दिन बिताएका रूसी अन्तरिक्ष यात्रीको अध्ययनले पनि मस्तिष्कमा केही परिवर्तनहरू भएको देखाएको छ। जसका कारण मस्तिष्कको न्युरल कनेक्टिभिटीमा केही परिवर्तनहरू देखियो । यसले हाम्रो बुझ्ने क्षमतामा परिवर्तन देखियो ।
हालैको एक अध्ययनले दीर्घकालीन अन्तरिक्ष मिसनहरूमा हुन सक्ने मस्तिष्क संरचनामा अन्य परिवर्तनहरूबारे चिन्ता गर्न थालिएको छ । मस्तिष्कमा राइट ल्याटरल र थर्ड भेन्ट्रिकल (सेरेब्रोस्पाइनल तरल भण्डारण गर्न, मस्तिष्कलाई पोषण प्रदान गर्न र फोहोर फाल्न जिम्मेवार) सुन्निने गरेको पाइएको छ । र, त्यो सामान्य अवस्थामा फर्किन तीन वर्षसम्म लाग्न सक्छ।
असल ब्याक्टेरिया
पछिल्ला वर्षहरूमा गरिएको अनुसन्धानले के पनि देखाएको छ भने राम्रो स्वास्थ्यका लागि महत्त्वपूर्ण कुञ्जी भनेको हाम्रो शरीरमा हुने सूक्ष्मजीवहरूको संरचना र विविधता पनि एक हो। माइक्रोबायोटा भनिने यी सूक्ष्मजीवीहरूले हाम्रो खाना पचाउने तरिका, हाम्रो शरीरका घाउ वा सुन्निने प्रक्रियाको र हाम्रो मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरामा पनि असर गर्न सक्छ।
केलीलाई आइएसएसमा यात्रा गरेपछि जाँच गर्दा शोधकर्ताहरूले उनको आन्द्रामा पाइने ब्याक्टेरिया र फंगसमा अन्तरिक्षमा जानुअघि भन्दा निकै परिवर्तन भएको पाए। यो कुराले वैज्ञानिकहरू चकित भएनन् किनभने उनले खाने खान्की धेरै फरक हुन्छ । उनले जति दिन अन्तरिक्षमा बिताइन्, ती दिनका कारण मानिसहरूमा परिवर्तन हुन्छ नै । साथै अन्तरिक्षमा विकिरणको सम्पर्कमा रहनु पर्ने हुन्छ । पानी प्रयोग गर्दा पनि त्यो रिसाइकल गरिएको हुन्छ । यी यावत कारणले हाम्रो पेटमा रहेका असल ब्याक्टेरियाहरूको कमी हुन पुग्छ । यस्तै यसबीचमा हुने शारीरिक गतिविधिमा परिवर्तनले पनि भूमिका खेल्न सक्छ।
छाला
हालसम्म पाँच जना नासाका अन्तरिक्ष यात्रीहरूले ३०० दिनभन्दा बढी समय कक्षमा बिताएका छन् । तीमध्ये केलीमाथि गरिएको अध्ययनले अन्तरिक्षमा छालाको अवस्था कस्तो हुँदोरहेछ भन्ने देखाएको छ । उनी अन्तरिक्ष स्टेशनबाट फर्किएको लगभग छ दिनसम्म उनको छालामा संवेदनशीलता कायम थियो । शोधकर्ताहरूको अनुमान छ, उनी अन्तरिक्षमा रहँदा छालाको कुनै एक्सरसाइज नभएका कारण छाला ज्यादै संवेदनशील भएको हुनसक्छ ।
जीनहरू
अन्तरिक्षमा लामो समय रहँदा हाम्रो डिएनए र जीनमा केही फरक पर्छ भन्ने अध्ययन गर्नु पनि महत्त्वपूर्ण कुरा थियो । डिएनएको प्रत्येक स्ट्रान्डको अन्त्यमा टेलोमेयर भनिने संरचनाहरू हुन्छन्, जसले हाम्रो जीनहरूलाई क्षतिबाट बचाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। हामी बूढो हुँदै जाँदा यी टेलोमेयरहरू छोटा हुन्छन् । तर केली र अन्य अन्तरिक्ष यात्रीहरूमा गरिएको अनुसन्धानले अन्तरिक्ष यात्राले यी टेलोमेयरहरूको लम्बाइ परिवर्तन गर्ने देखाएको छ।
“सबैभन्दा आश्चर्यजनक कुरा त अन्तरिक्ष यात्राको समयमा टेलोमेयरहरू निकै लामो भएको पाइएको थियो,” कोलोराडो राज्य विश्वविद्यालयमा पर्यावरणीय र रेडियोलोजिकल स्वास्थ्यका प्रोफेसर सुसान बेलीले भनिन् । उनी केली र उनका भाइको अध्ययन गर्ने टोलीको अगुवा थिइन् । उनले अन्य १० असम्बन्धित अन्तरिक्ष यात्रीहरूसँग छ महिनाको छोटो मिसनमा सहभागी भएर छुट्टै अध्ययन गरेकी छिन्। सबै चालक दल सदस्यहरूको लागि पृथ्वीमा फर्किएपछि टेलोमेयरको लम्बाइ चाँडै छोटो हुनु बडो आश्चर्यको कुरा रहेको उनी बताउँछिन् ।
लामो समयसम्म अन्तरिक्षमा बिताउनेहरूको डिएनएमा क्षति पुग्न थाल्ने देखिएको छ ।
जुन २०२४ मा, एक नयाँ अध्ययनले पुरुष र महिला अन्तरिक्ष यात्रीहरूको प्रतिरक्षा प्रणालीले अन्तरिक्ष यात्राको प्रति कसरी प्रतिक्रिया दिन्छ भन्ने बारेमा केही सम्भावित भिन्नताहरू उजागर गर्यो। स्पेसएक्स इन्स्पिरेसन ४ मिसनको चालक दलबाट प्राप्त नमूनाहरूबाट जीन अभिव्यक्ति डाटा प्रयोग गरेर, यसले प्रतिरक्षा प्रणाली, उमेर बढ्ने र मांसपेशी वृद्धिसँग सम्बन्धित १८ प्रोटिनहरूमा परिवर्तनहरू भएको देखिएको थियो ।
अघिल्ला मिसनहरूमा ६४ अन्य अन्तरिक्ष यात्रीहरूको जीन गतिविधिको तुलना गर्दा, अध्ययनले उडान अघि भन्दा तीन प्रोटिनहरूको अभिव्यक्तिमा परिवर्तन पाएका थिए । पुरुषहरू अन्तरिक्ष यात्राप्रति अधिक संवेदनशील देखिए, उनीहरूको जीन गतिविधिमा अधिक व्यवधान भएको र पृथ्वीमा फर्किएपछि सामान्य अवस्थामा फर्किन लामो समय लिएको देखियो।
विशेष गरी, शोधकर्ताहरूले इन्टरल्युकिन-६ भनिने दुई प्रोटिनहरूको जीन गतिविधि पाए, जसले शरीरमा सूजनको स्तर नियन्त्रण गर्न मद्दत गर्छ र इन्टरल्युकिन-८ ले संक्रमण स्थलहरूमा प्रतिरक्षा कोषहरूलाई मार्गदर्शन गर्न उत्पादन गर्छ । ती प्रोटिन महिलाहरू भन्दा पुरूषहरूमा बढी प्रभावित भएको देखियो। फाइब्रिनोजेन भनिने अर्को प्रोटिनले रगत जमाउन भूमिका खेल्छ, पुरुष अन्तरिक्ष यात्रीहरूमा अधिक प्रभावित भएको देखियो।
यस्ता धेरै परिवर्तन हुन्छन्, तिनका बारेमा थप अध्ययन गरेर आजै नयाँ उपन्यास किन नलेख्ने ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

