लक्ष्मण श्रेष्ठका क्यानभासमा बाँचेका रङहरू हाम्रा पहिचान हुन् । नेपाली मन र माटोका सौन्दर्यमय सुगन्धहरू हुन् । यथार्थमा उनका रङ–क्यानभासमा हाम्रा पहाडहरू जीवित बनेर स्थापित भएका छन् । ती पहाडहरूमा ग्रामीण छविको सुन्दर विम्ब देखिन्छ । तिनमा नेपाली जीवनको सङ्लो र सग्लो अध्याय भेटिन्छ ।
लक्ष्मण श्रेष्ठका चित्रहरू हेर्दा लाग्छ– क्यानभासमा कुनै गूढ रहस्य लुकेको हुन्छ । त्यो रहस्य शब्दभन्दा पर छ, भावना र बोधको तहमा । उनका तूलिकाले रङहरूको छाल उर्लाउँदा मेरो मानसपटलमा बाल्यकालीन गाउँहरू तैरिन्छन् । पहाडी छविहरू दृष्टिगोचर हुन्छन् । निलो, हरियो, रातो र पहेँलो रङको सम्मिश्रणमा म देख्छु– मेरो आफ्नो जन्मथलोको पहाड, भन्ज्याङहरू, चौतारी, खोल्सामा बगेका विस्मृत असंख्य स्मृतिहरू ।
उनको एउटा विशाल चित्रसँग आँखा जुधाउँदा मलाई मेरो गाउँको बिहानको झल्को आयो । शीतको हल्का तुषारो, पर–पर देखिने हिमाली उज्याला टाकुरा, अनि गाउँले परालको माच, खरका छाना भएका घरहरू । बाँसघारीमा कराइरहेका चराचुरुङ्गी र झ्याउँकिरीको गुञ्जन ।
कलाकार लक्ष्मण श्रेष्ठका तूलिकामा ती दृश्यहरू आफैँ प्रतिविम्बित भएजस्ता लागे । मैले सोंचे– उनका प्रत्येक रङहरूमा बग्ने गाउँहरू हाम्रो पहाडका उकाली र ओरालीका आयामहरू हुन् । चौतारीमा ढाकर बिसाएर चिउँडोमा तोक्मा राखेर सुस्ताइरहेको कुनै बूढो ढाक्रेज्यान जस्तै । कतै गाउँको एकलास पाटोमा एक्लै एउटी आमाको करुण क्रन्दन जस्तै । रोइरहेको समय र समाज । हेरिरहेको समय र समाज । समाधानहीन चुपचाप टोलाएर बसिरहेजस्तो दृश्य ।
उनका चित्रहरू यथार्थवादी छैनन्, तर अनुभूति गर्नसक्ने सपनामयी छन् । त्यो सपनामा मेरा आफ्ना बाल्यकालका गाउँहरू बगिरहेका हुन्छन् । म सम्झन्छु–बिहान–बिहानै फुलेका गुराँसका फूलहरू, बाआमाले सम्झाउनुभएका लोककथाहरू, साँझपख अगेनामा बालेको दाउराको न्यानो धुवाँ ।
वास्तवमा लक्ष्मण श्रेष्ठले रङमा कोरेका नेपालका गाउँघर मेरा स्मृतिका रङहरूजस्तै लाग्छन् । उनीसँगको भेटमा मैले जिज्ञासा राख्दा उनले भनेका थिए– ‘मेरा चित्रहरू नेपालका पहाडका प्रतिविम्ब हुन् । म नेपाल आउँदा खासै कसैसँग भेटघाट गर्दिनँ । तर पहाडतिर नपुगी, एकछिन अलिकति उकालो हिँडेर माथि पुगेर पहाडको उचाइबाट परसम्मका दृश्य हेर्दा मभित्र कला–सौन्दर्यको रोमाञ्चक भाव जाग्छ । म त्यही ऊर्जा लिएर भारत फर्किन्छु ।’
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लक्ष्मण श्रेष्ठसँगको संवाद र संलापमा उनको दृष्टिकोणको गहिराइ पनि मैले महसुस गरेको थिएँ । उनी हरेक दुई तीन वर्षको अन्तरमा नेपाल आउँथे र नेपालका पहाड घुमेर फर्किन्थे । पछिल्लोपटक उनी २०७० सालमा आए । त्यसयता उनी नेपाल आएका छैनन् । त्यहीबेला उनीसँग कलाकार तथा कलासमीक्षक रमेश खनाल र नवेन्द्र लिम्बुसँगै यी पंक्तिकारले याक एण्ड यतिको लबीमा उनीसँग अन्तरङ कुराकानी गरेको सम्झना अझै ताजै छन् । त्यसअघिका सम्झना–सन्दर्भ पनि निकै छन् ।
एकपटक एकजना कलाकार मित्रसँग उनको चित्र हेर्दै थिएँ । उनले सोधे, ‘यो चित्रमा के देख्यौ ?’
मैले सहजै भनें, ‘मेरो घर देख्छु । मेरो गाउँ देख्छु । पहाडका उकाली पनि देख्छु ।’
उनले चकित भएर फर्केर हेरे– क्यानभासमा कुनै निश्चित आकृति थिएन । रङहरूका हल्का चालहरू । तर ती रङहरूभित्र म मेरो बाल्यकालको गाउँ देख्थेँ, जहाँ धुलाम्मे गोरेटो, भिरालो खेतका आलीहरू, अनि आँगनमा खेल्ने मेरा साना–तिना सपना थिए ।
फेरि फर्कने बाटो यथावत छँदै थियो । समयसँगै शहरको जीवनमा हराएको छु । तर जब–जब लक्ष्मण श्रेष्ठका चित्रहरू हेर्छु, मलाई लाग्छ– म फेरि आफ्नो गाउँ फर्किरहेको छु । त्यो गाउँ शब्दमा बाँध्न सकिन्न, तर सहजै अनुभूति गर्न सकिन्छ । उनका रङहरूले मलाई सम्झाउँछ– मेरो आफ्नै भोगाइहरू, मेरो जन्मभूमिको सुगन्ध, मेरो स्मृतिको रूपरेखा ।
साँच्चै, लक्ष्मण श्रेष्ठका चित्रहरू कुनै भूगोल होइनन्, ती अनुभूति हुन् । ती गाउँको सम्झना मात्र होइनन्, ती गाउँ फेरि बाँच्ने आकांक्षा हुन् ।
शून्यदेखि अनन्तसम्म लक्ष्मण श्रेष्ठका भावनाहरू फैलिएका छन् । मुम्बैको व्यस्त र ठूलो शहरमा बस्ने उनी तर उनलाई गाउँको एकान्त मनपर्छ । पहाडको हरियालीले मन छुन्छ । हिमालको पवित्र उचाइले स्पर्श गर्छ । उनी आफ्नो जन्मभूमि नेपालमा यिनै दृश्य देख्न आइरहन्छन् । नेपाल आएर फर्किएपछि उनको जीवनमा नयाँ सोंच–शक्तिको निर्माण हुन्छ । उनी यही प्राप्तिका निम्ति नेपाल आऊ–जाऊ गर्न रुचाउँछन् ।
मुम्बई शहरको हलचलबीच, समुन्द्रले कहिलेकाहीँ जस्तै आत्मीय भाव पोखिरहेको थियो । एउटा चित्रकला पारखीका निम्ति यो शहर बलिउडको चमक–धमकमा सीमित थिएन । यो कलाकारहरूको आत्मसंघर्ष र साधनाको एक केन्द्र । यही शहरमा कति नेपाली हराए तर लक्ष्मण श्रेष्ठले भिन्न पहिचान बनाए । चित्र बनाएरै र त्यसलाई बेचेर नाम कमाए । चित्रको कमाइले उनको बेग्लै चिनारी स्थापित गरायो ।
उनको नाम लिँदा रङहरूले बोल्ने, तिनका रेखाचित्रहरूले गति लिने र क्यानभास आफैं जिउँदो हुने अनुभूति आउँथ्यो । उनी मात्र चित्रकार होइनन्– उनी रङका कवि थिए, जो आफ्नो कूचीले नजोडिएका भावहरूलाई जोड्थे । र, दर्शकलाई ती चित्रहरूमा घोत्लिन लगाउँथे । जब कलाप्रेमी मन उनका चित्रमा डुब्थे अनि त्यहाँ स्वप्निल सौन्दर्यका कलात्मक चेतनाले वशीभूत भएर आह्लादित बन्थे ।
मलाई पहिलोपटक उनको कलाकृतिसँग भेट भएको थियो, पुस्तकका पानाभित्र । तिनका रङहरूको संगीतले मलाई तान्यो । त्यसपछि, कहिलेकाहीँ प्रदर्शनीहरूमा, तिनका चित्रकला समालोचनाहरूमा, अनि एउटा नेपाली कलाकारका रूपमा उनले विश्वभर कमाएको प्रतिष्ठाको चर्चा सुनेर म झन् उत्सुक बन्दै गएँ । मनमा एक किसिमको जिज्ञासा थियो– ‘कसरी एउटा नेपाली कलाकारले अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान बनाए ?’
चारैतिर ठूला क्यानभासहरू– रङका पर्वहरू जस्ता । उनी शान्त मुद्रामा थिए, उनको अनुहारमा गहिराइ थियो, ठीक त्यही गहिराइ, जुन उनको चित्रकलामा झल्कन्थ्यो । उनीसँगको मेरो पहिलो २०५३ सालताका भएको थियो शेर्पा होटलको लबीमा । टाइसुटमा सजिएर उनी समक्ष उपस्थित हुँदा उनी भने सामान्य पहिरनमा देख्दा म आफैं आफूसँग केही लज्जित भएको थिएँ । साधारण, सामान्य व्यक्ति तर बोली र व्यवहार तथा कलाकर्मको मर्म कति गहिरो थियो भन्ने कुरा म बेलाबेला सम्झिँने गर्छु । पहिलो भेटमै उनले कला र जीवनका सन्दर्भमा दार्शनिक संवाद गरेको कुरा सधैं सम्झनामा आइरहन्छ ।
मैले सोधेँ, ‘तपाईंका चित्रहरूमा यस्तो आध्यात्मिकता किन झल्किन्छ ?’
उनी हल्का हाँसे, अनि भने– ‘कला भनेको आकृति कोर्ने प्रक्रिया होइन, यो आत्माको अन्वेषण हो । म रङहरूसँग संवाद गर्छु, र तिनीहरूले मलाई कुनै अनन्त दिशातर्फ लैजान्छन् ।’
मैले उनलाई नेपाल सम्झिएर सोधेँ, ‘तपाईंको नेपाली पहिचानले तपाईंको कलामा कसरी प्रभाव पारेको छ ?’
उनले गम्भीर मुद्रामा जवाफ दिए– ‘मेरो शून्य नेपाल हो । म त्यहाँ जन्मिएँ, हुर्किएँ, त्यहीँका पहाड, नदी, आकाशले मलाई आधार दिए । म जहाँ जाउँ, त्यो शून्य मेरो साथमा आउँछ, र मेरो चित्रकलामा अनन्त बन्न पुग्छ ।’
साँच्चै, लक्ष्मण श्रेष्ठको चित्रकला रङहरूको संयोजन मात्र होइन । ती ध्यानका रूपहरू हुन् । मौन भावनाका लहरहरू हुन । जीवनका लय र प्रकृतिका प्रेमहरू हुन् । तिनमा शब्द थिएन, तर भावना गर्जिरहेका हुन्थे ।
त्यो दिन उनीसँग भेटेर लबीबाट बाहिरिँदा म सोचिरहेको थिएँ– कला भनेको वास्तवमै खोज हो, अस्तित्वको खोज, जीवन र प्रकृतिसँगको खोज । उनले रङहरूसँग आफ्नो अस्तित्व खोजे । अनि हामीजस्ता दर्शकहरूले तिनका क्यानभासमा जीवनको नयाँ आयाम भेट्यौं । बर्षौंको लगानीले सिर्जित उनका सिर्जना बुझ्न तुरुन्तै कहाँ बुझिन्छ र ! त्यसका लागि धैर्य चाहिन्छ ।
८६ वर्षको उमेरमा आज उनी कलाकर्म गर्न छोडेर शायद मुम्बैको आफ्नै निवासमा आराम गरिरहेका होलान् । तर उनका कलाकृतिका लागि अग्रिम बुक गर्ने टाटा कम्पनी वा अन्य व्यवसायीहरू उनका नयाँ चित्र देख्न नपाएर हैरान बनिरहेका होलान् । उमेरका कारण पनि उनी नेपाल नआएको हुनसक्छ ।
लक्ष्मण श्रेष्ठका चित्रहरू हेर्दा यस्तो लाग्छ– रङहरूले प्रश्न सोधिरहेका छन्, अनि हामी तिनका उत्तर खोज्दै अनन्त यात्रामा निस्किरहेका छौं । पहाडका तरेलीहरूमा हराइरहेका हुन्छौं । उचाइका थाप्लोमा पुगेर प्रकृतिको विराट बैभवलाई नियालिरहेका हुन्छौं । उनले लेपन गरेका अनुभूतिमय रङका प्रवाहरूमा हामी आफूले आफैंलाई खोजिरहेका हुन्छौं ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ मंसिर २०८२, सोमबार 









