जावेद अख्तरसँग शबाना आजमी

सफलता मानौँ अल्लादिनको चिराग हो । अचानक नै मानिसहरू ममाथि असल पल्टिन थाल्छन् । संसारै मलाई हिजोसम्म जुन कुरूप लाग्थ्यो, अचानकै यति सुन्दर छ र ? भन्ने लाग्न थाल्छ । वर्ष-डेढ वर्षमै कल्पनातीत सफलता हात पर्छ र लाग्न थाल्छ, यो त केही होइन । अझै केही पाउनु छ । हातमा लागेका माटोहरू अचानक सुनमा परिणत हुन थाल्छन् । हेर्दाहेर्दै पहिलो घर, आफ्नै निजी पहिलो कार । आशाहरू पूरा हुने दिन पनि आउन थाले तर जीवनमा एक किसिमको एक्लोपना त अझै पनि छँदैछ ।

फिल्म ‘सीता और गीता’को सेटमा मेरो भेट हनी इरानीसँग हुन्छ । ऊ खुला दिलकी, तीतो बोल्ने तर निकै हँसमुख स्वभावकी केटी छ । भेट भएको चार महिनामा नै हामी बिहे गर्छौं । मैले बिहेका लागि भनेर आफ्ना बुवाका केही साथीहरूलाई बोलाएको छु तर बाउलाई बोलाएको छैन । (केही घाउ निको पार्न अल्लादिनको चिरागको पनि क्षमता नहुँदोरहेछ ! यस्ता घाउ निको पार्ने काम त समयले मात्र गर्न सक्दोरहेछ !) दुई वर्षमै एक छोरी र एक छोरा जन्मन्छन्, नाम राख्छौंः जोया र फरहान ।

त्यसपछिका ६ वर्षमा लगातार एकपछि अर्को १२ फिल्म सुपरहिट बन्न पुग्छन् । पुरस्कार, प्रशंसा, अखबार-म्यागेजिनहरूमा अन्तरवार्ता, तस्बिरहरू, पैसा र पार्टी, संसारभरिको यात्रा, चम्किला दिन, जगमगाउँदा रातहरू– जिन्दगी एक टेक्निकलर सपना हो र हरेक सपना पनि त झल्याँस्सै पारिदिने र ब्युँझाइदिने हुन्छन् ! यसरी नै ब्युँझाइदिने एउटा फिल्म असफल हुन पुग्छ । यत्तिका वर्षमा पहिलो पटक एउटा फिल्म असफल हुन्छ– (फिल्महरू त्यसपछि पनि असफल भए र पुनः सफल पनि भए तर सफलताको त्यो खुसी र खुसीको त्यो चहक भने हराउन पुग्छ ।)

१८ अगस्त १९७६ मा मेरा बुवाको मृत्यु हुन्छ । उनको मृत्युका नौ दिनअघि मात्र उनको अन्तिम किताबमा हस्ताक्षर गरेर मलाई दिएका थिए । त्यस किताबमा उनले लेखेका थिए- जब म रहने छैन, निकै याद आउने छु ।

उनले ठिकै लेखेका थिए । त्यो बेलासम्म म आफूलाई एक विद्रोही र रिसाहा छोरोका रूपमा थिएँ । तर अब मेरा बाउ रहेनन् त म को हुँ उसो भए ? म आफूले आफैँलाई पुनः नयाँ दृष्टिकोणले हेर्न थाल्छु कि के म जिन्दगीमा के हुन चाहन्थेँ, के गर्न चाहन्थेँ ?

म भित्रभित्रै दुःखी छु भन्ने अरूलाई थाहा छैन तर हिजोसम्म जुन कुराले मलाई खुसी दिन्थे ती सबै कुरा झुटा र देखावटी लाग्न थालेको छ । अब मलाई सारा सफलता र खुसी पाउँदा पनि त्यसबाट कुनै फाइदा छैन भन्न थाल्छु ।

सायरीसँग मेरो सम्बन्ध त जन्मदै थियो, त्यसप्रतिको चाह सधैँभरि रहिरह्यो । हुर्कंदै गर्दा नै मलाई थाहा थियो, मैले चाहने हो भने त्यो गर्न सक्छु, सायरी लेख्न सक्छु तर अहिलेसम्म गरेको छैन । त्यो पनि मेरो चित्त दुखाई र विद्रोहको एक प्रतीक नै थियो । जुन काम गरेर मेरा बाउ प्रख्यात सायर बने, म त्यही किन गरूँ ? तर उनको निधनपछि सन् १९७९ मा पहिलो पटक सायरी लेख्छु र त्यो लेखेर म मेरा बुवासँग सम्झौता गर्न पुग्छु । मानौँ बुवा र मबीच सम्झौतापछि उहाँको विरासत म थामेको होऊँ !

यसैबीच मेरो भेटघाट शबाना आजमीसँग हुन पुग्छ । कैफी आजमीकी छोरी शबाना पनि शायद आफ्नो जरातर्फ नै फर्किएकी छन् । यसो भनौँ, उनले आफ्नो जरो बिर्सिएकी छैनन् । उनलाई पनि यस्ता हजारौँ प्रश्नले सताइरहेका छन्, जसका बारेमा उनले पहिले कहिल्यै सोचेकी थिइनन् । ऊ र म नजिकिन्छौँ र यसमा मलाई कुनै आश्चर्य लाग्दैन । किनभने उनलाई पनि सेरसायरी मनपर्छ, म त त्यसको विरासत लिएरै जन्मिएको थिएँ । उनीसँगको भेटपछि बिस्तारैबिस्तारै मभित्र धेरै कुरा परिवर्तन हुन थाल्छ । फिल्मी संसारमा मेरो पार्टनरसीप थियो, उनीसँगको भेटपछि बिग्रन्छ । मेरा वरिपरि भएका मानिसहरूमा मभित्र भएको यो परिवर्तनका कारण चिन्तित रहेको महसुस गर्न थाल्छु । सन् १९८३ मा म र हनी पारपाचुके गर्छौं ।

(हनीसँग मेरो विवाह दुर्घटनामा पर्छ तर हामीबीचको पारपाचुकेले पनि मित्रतामा कुनै फरक पार्दैन । आमा-बुवाको पारपाचुकेपछि पनि मेरा दुई सन्तानमा कुनै तिक्तता आउन पाएको छैन भने यसमा मेरो कुनै भूमिका छैन, बरू हनीकै चमत्कार बढी छ । आजका दिनमा हनी निकै सफल फिल्म लेखक बन्न पुगेकी छन् र मेरो असल साथी पनि । मैले इज्जत गर्ने निकै कम मानिसहरूमध्ये हनी पनि एक हुन् । उनी मेरो हृदयमा ज्यादै इज्जतिली स्त्रीमध्ये पर्छिन् ।)

मैले एक कदम अघि बढाएँ । त्यो बेला मेरो अवस्था कस्तो थियो भने सारा जीवन होटलमा बिताए पनि आखिरमा अस्पतालमा मर्यो भन्ने कहावत् जस्तै अवस्था थियो मेरो । रक्सी त पहिला म निकै पिउँथेँ तर अब त झनै बढी पिउन थालेँ । मेरो जीवनका कयौँ यस्ता समय आए तर म कहिल्यै त्यति लज्जित भएको थिइनँ, जति यो बेला भएँ । म जीवनको यो समयलाई लज्जास्पद समयका रूपमा लिन्छु । यी केही वर्षमा केही साथीहरूले मलाई सहेकामा तिनीहरूप्रति म ज्यादै कृतज्ञ छु ।

म यत्तिकै मर्न पनि सक्थेँ । म एउटा रक्स्याहाका रूपमा मर्न सक्थेँ । म कुहिएरै मर्न सक्थेँ । तर एक बिहानी कसैले यस्तो कुरा गर्यो र त्यो कुराले मलाई भित्रसम्म यति गहिरो गरी छोयो कि त्यस दिनदेखि मैले रक्सीलाई रत्तिभर नछुने कसम खाएँ र त्यसपछि छोइनँ पनि ।

आज यत्तिका वर्षपछि जब म आफ्नो जीवनलाई फर्केर हेर्दा यस्तो लाग्छ, मेरो जीवन पनि पहाडबाट झर्ने कुनै झरनाजस्तै छ । चट्टानसँग ठोक्किदै, पत्थरमा आफ्नो बाटो खोज्दै, कहिले हुर्रिंदै, कहिले पछारिँदै, अनेकन भुमरी बनाउँदै, तीव्र गतिमा दौडदै र आफ्नै किनाराहरूलाई काट्दै यतिबेला मैदानमा आएर शान्त र गहिरो बन्न पुगेको थिएँ ।

मेरा दुई सन्तान जोया र फरहान हुर्के, ठूला भए र बाहिरी संसारमा आफ्नो पहिलो कदम राखे । तिनका चम्किला आँखामा भोलिको रंगीन सपना मैले देख्न थालेँ । मेरो भाइ सलमान अमेरिकामा एक सफल साइकोएनालिस्ट बनेको छ । उसका कयौँ पुस्तक प्रकाशित छन् । ऊ पनि राम्रो सायरी लेख्छ । उसका पनि साह्रै असल पत्नी छिन् र दुई प्यारा सन्तान छन् ।

उसको जीवनका बाटाहरू पनि कम कठिन थिएनन् तर उसले आफ्नो अथक् मिहिनेत र लगनले चाहेको हरेक त्यो लक्ष्य पायो, जुन त्यसको हकदार पनि थियो । अझै ऊ अघि बढिरहेको छ । ऊ देखेर मलाई गर्व लाग्छ ।

म यतिबेला निकै खुसी छु र शबाना पनि । ऊ मेरी पत्नी मात्र होइन, प्रेमिका पनि हो । उसको सबैभन्दा राम्रो कुरा ऊसित सुन्दर मन छ र मूल्यवान सोच पनि ।

‘म जुन संसारमा रमाउँछु, ऊ त्यस संसारकी स्त्री हो’ भन्ने गीतिअंश वर्षौं पहिले ‘मजाज’ले अरू नै कसैका लागि नलेखेको हुन्थ्यो भने म पक्कै शबानाका लागि लेख्थेँ होला !

यतिबेला जिन्दगी मप्रति खुस छ । जिन्दगीले मलाई सधैँ कृतज्ञ बनाइरह्यो । तर मलाई अझै पनि याद आउँछ, १८ जनवरी १९५३ । लखनउको मावली घर । रोइरहेकी मेरी सानिमाले मेरो साढे ६ वर्षे भाइ सलमान र मलाई हात पक्डेर भित्र लैजान्छिन् । घरको ठूलो, निकै ठूलो कोठा छ । त्यहाँ महिलाहरूको भिड छ । तल भुइँमा मेरी आमालाई राखिएको छ । उनको मृत शरीर ! सेतो कात्रोमा उनलाई बेरिएको छ । अनुहार मात्र खुला राखिएको छ ताकि हामी उनको अन्तिम दर्शन गर्न पाऔँ । मेरी मृत आमाको टाउको छेउमा मेरी बूढी हजूरआमा रूँदारूँदा थाकेकी छन् । उनलाई दुई जना महिलाले सम्हालिरहेका छन् । मेरी सानिमा हामी दुई जना बालकलाई लमतन्न परेकी मेरी आमाछेउ लैजान्छिन् र भन्छिन्, ‘आमालाई अन्तिम बिदाई गर छोरा हो ।’

अघिल्लो दिन मात्र म ८ वर्षको भएको थिएँ । भोलिपल्ट मेरी आमालाई अन्तिम बिदाई गर्नु पर्दैछ । मलाई मृत्यु भन्ने कुरा थाहा थियो । मृत्युमा के हुन्छ भन्ने पनि थाहा थियो । म मेरी आमाको अनुहार गहिरिएर हेर्छु ताकि उहाँको अनुहार मलाई सधैँ उस्तै ताजा, उही अनुहार याद आइरहोस् ।
सानिमा भन्नुहुन्छ, ‘आमालाई हेरेर कसम खा, कसम खा कि जिन्दगीमा म केही बन्छु, केही गर्छु । केही गरेर देखाउँछु आमा भन् !’

म मेरी मृत आमालाई हेरेर त्यो वचन दिन सक्दिनँ । मात्र ट्वाल्ल हेर्न आउँछ, वचन दिन आउँदैन । यत्तिकैमा एक जना महिलाले मेरी आमाको अनुहार श्वेत वस्त्रले छोपिदिन्छिन् । श्वेत वस्त्र के भन्नु ? कात्रोले अनुहार छोपिदिन्छिन् ।

मैले जीवनमा केही गर्न सकिनँ भन्न म सक्दिनँ किनभने केही त म बनेँ । केही त पक्कै गरेर देखाएँ होला तर जति गर्न सक्छु, त्यसको एक चौथाई मात्र गरेँ । त्यति थोरै गरेकामा मलाई यति दिक्क लाग्छ कि प्रायः मलाई यसले बेचैन गराउँछ ।

त्यो कोठा

जावेद अख्तर

जहिल्यै पनि म
जिन्दगीको तप्त घाममा तापिएर
जहिल्यै पनि म
अरूको र आफ्नै पनि झूटबाट थाकेर
सबैसँग झगडा गरेर अनि आफैँसँग हारेर
जसै म त्यो एउटा कोठामा जान्थेँ
त्यो हलुका र गहिरो कत्थई (कत्थाजस्तो) रङको एउटा कोठा
जसले आफ्नो नरम मुठ्ठीमा मलाई यसरी लुकाउँथ्यो
जसरी कुनै आमा
आफ्नो सन्तानलाई आँचलमा लुकाउँछे
प्रेमपूर्वक ठटाउँछे
कति नसुध्रिएको हँ तँ ?
तप्त मध्यदिनमा दौडादौड कति घुमिरहन्छस् हँ !

त्यो कोठा याद आउँछ
कडा र निक्कै भारी
केही अप्ठेरोगरी खुल्ने ढोका
त्यो सिसौको ढोका
जस्तो कुनै अक्कडो बाउजस्तो
आफ्नो खस्रो छातिमा
स्नेहको समुद्र लुकाएझैँ

त्यो कुर्सी
र, त्यससँगैका उसका दुई जुम्ल्याहा बैनी
ती त मेरा साथी हुन्
ओहो, त्यो बदमास बोलक्कड ऐना
उसको मन सफा छ
त्यो बेढंगको दराज
जुन कुनामा उभिएर
एक बूढी नोकर्नीले झैँ
ऐनालाई कराइरहन्थी
त्यहाँको त्यो फूलदान
सानोसानो
ती दुईप्रति हाँस्थ्यो
झ्याल ?
झ्याल त बुझ्झकी छ, ऊ मुस्कुराउँछ
र त्यो हरियो रङको बेल
त्यसको खुस्फुसाहट
किताबहरू
ठीक त्यसैगरी मिलेर बसेका छन्
सेल्फमा र र्याकमा
जसरी मिलनसार साथीहरू होऊन्
तर सबै प्रतीक्षामा छन्
प्रतीक्षामा छन् कि
म केही तिनलाई सोधूँ

सिरानेको के कुरा
ऊ त निद्राको साथी
थकानको चिकित्सक
त्यो नरम दिलको सिराने
जसको काखमा टाउको राखी
छतलाई हेरिरहन्थेँ म
छतको कडी (बिम)हरूमा
थाहा छैन कत्ति धेरै कथाहरूका कडी (किस्ता) हुँदा हुन्
त्यो सानो मेचमा
र अगाडिको भित्तोमा
टाँगिएका तस्बिरहरूले
मलाई आफ्नोपनका साथ प्रेमपूर्वक हेर्ने गर्थे
मुस्कुराउने गर्थे
तिनलाई कतै कुनै शंका थिएन
एक दिन
म तिनलाई यसरी छोडेर जानेछु
म एक दिन यत्तिकै बिलाउनेछु
र, पुनः फर्केर आउने छैन

म यतिबेला जुन घरमा बसिरहेको छु
निकै भव्य छ
तर प्रायः मौन यो कोठामा बसेर
म त्यो कोठालाई सम्झिरहन्छु
कि त्यो कोठो मसँग कत्ति धेरै कुरा गर्थ्यो !